भूराजनीतिक झेली खेलहरूतर्फ नेपाली लोकको ध्यान जाओस्
भदौ ४ गतेको साँझ , चांगलिमिथांग रंगशाला , थिम्पु , भुटान। भुटान भन्नेबित्तिकै पीडाका शीतलहरहरूले मनमुटु बिथोलिहाल्छन्। नेपालीभाषी , नेपालीमूलका एकलाख भन्दा बढी नेपालीहरू जन्मथलोबाट लखेटिएर शरणार्थी भइ बस्नुपरेको कालो अध्याय सम्झिन्छु। के नै अपराध गरेका थिए र तिनले ? प्रजातन्त्र र मानवाधिकार त मागेका थिए। विज्ञानप्रविधि , नवचेतना , विश्वव्यापी इन्टरनेट संजालको यस युगमा पनि मातृभाषामा बोल्न , लेख्न , आफूले मन पराएको पोशाक लगाउन पाउनुपर्छ भन्नु ठुलो अपराध हुँदोरहेछ अझ त्यो पनि त्यस भूखण्डको नजिक जो आफूलाई संसारकै सबैभन्दा ठुलो लोकतन्त्र अनि लोकतन्त्रको जननी भन्नुमा गर्व गर्छ। शासकलाई अस्तित्वको सङ्कटको आभाष भएपछि केको प्रजातन्त्र , केको मानवाधिकार ? राज्य बर्बर दमनमा उत्रियो दक्षिण भुटानमा , त्यहाँस्थित नेपालीभाषीहरूका घरहरूमा आगो लगाइयो , बलात्कारलाई युद्धको अस्त्रको रूपमा प्रयोग गरियो अनि एक लाखभन्दा बढी निहत्था नेपालीजनलाई इण्डियन भूमितर्फ लखेटियो , त्यहाँबाट पनि बल प्रयोग गरी ती विस्थापित जनलाई लखेटियो अनि ती विवश जन नेपालमा शरण माग्न आइपुगे मेची तरेर। सुशासन...