निवीड अन्धकारको राज्यमा गुरूपूर्णिमा
निवीड अन्धकारकाे एकछत्र शासन चलेकाे बेला तारा टिलपिल गरेकाे देख्नु पनि दुर्लभ हुन्छ (गुरूपूर्णिमाकाे छेक पारेर नयाँ केही लेख्न नसकेकाेले एउटा पुरानाे लेख पुनः प्रकाशित गरेकाे छु, सन्दर्भ मिलाएर पढिदिनुहाेला पाठकगण) संस्कृत शब्द गुरूको महिमा साँच्चै अपरम्पार छ, सद्गुरूको महिमा जस्तै । संस्कृत–नेपाली शब्दकोशले यस शब्दको १५ थरी परिभाषा दिएको छ । यसैबाट स्पष्ट हुन्छ यो शब्द कति गुरूगम्भीर छ । ती पन्ध्रथरी परिभाषा मध्ये एउटाले गुरूलाई अज्ञानको नाश गर्ने व्यक्तिको रूपमा अथ्र्याएको छ, अविद्यारूपी अन्धकार नष्ट गर्ने व्यक्ति भनेको छ । इतिहास साक्षी छ, नेपाली समाजले ज्ञानलाई असाध्यै महत्व दिँदै आएको हो । अज्ञानको निविड अन्धकारबाट मुक्त गरेर समाजलाई ज्ञानले प्रकाशित गर्ने व्यक्तिलाई सम्मान गर्ने चलन हामीले विरासतमै पाएका हौँ । दुःखको कुरा हामीले यो गौरव गर्न लायक परम्परालाई कायम गर्न सकिरहेका छैनौँ । पश्चिमाहरूले नलेज–बेस्ड सोसाइटी अर्थात् ज्ञानमा आधारित समाजको महिमागान गर्नुभन्दा धेरै अघिदेखि नै हाम्रा अग्रजहरूले ज्ञानप्राप्तिका लागि जस्तोसुकै कष्ट उठ...