दु:खको बजार र सम्यकमार्ग
देवेन्द्र गौतम असार २०८३ का अन्तिम दिनहरू। स्वयम्भू महाचैत्यसम्म पुग्ने इच्छा जागेकोले एक रायेँ डोको (पश्चिम नेपालमा डोकाहरूमध्ये सबैभन्दा ठुलो डोकोलाई रायेँ डोको भनिन्छ) प्रश्न बोक्दै भगवानपाउ आइपुगेको छु, खलखली पसिना काढदै। हिमालयक्षेत्र र प्रकारान्तरले विश्वभरि नै बुद्धधर्म फैलाउन महत्वपूर्ण भूमिका खेलेका पद्मसंभव अर्थात् गुरू रिम्पोछेको भव्य मूर्ति छेवैमा विराजमान छ। सडक पारीबाटै पद्मसंभवका आँखाको भाव पढ्न खोज्छु। झलक्क हेर्दा क्रोध छचल्किए जस्तो लागे पनि अलि गहिरिएर हेर्दा करूणा छचल्किएजस्तो लाग्छ। आफ्ना मनका भावहरू देखिने ऐना पो रहेछन् कि त हाम्रा मूर्तिहरू? आफूभित्रका नीच प्रवृत्तिहरू (baser instincts) माथि विजय प्राप्त गर्न त मारको प्रलोभनबाट अविचलित शाक्यमुनि बुद्धको भूमिस्पर्श मुद्रा नै उपयुक्त लाग्छ मलाइ। तपाइँहरूलाई नि? जे होस्, बुद्धवचनमा, बुद्धशिक्षामा केन्द्रित हुनु नै उचित होला अज्ञानवनमा थप भौँतारिनुभन्दा किनभने यो दुःखको अर्को कारण हुन सक्छ क्रोधका अलावा। शाक्यमुनि बुद्धले दुःखको कारण मात्र देखाउनुभएन, त्यसबाट मुक्त हुने बाटो पनि देखाउनुभयो। त्य...