एक भुल्को कविता

 एक  भुल्को कविता

 

 

देवेन्द्र गौतम

जीवनको दुर्गम भेगमा

दुइ दिनको यात्रा पनि धेरै लामो भो

तर अब म जान्छु प्यारो छोरा

 

 

ढुङ्गामाटोको शरीर हो

कहिलेकाहिँ बिसंचो होला

त्यतिबेला एक सुराही कविता

राम्ररी उमालेर स्वाट्टै पार्नू

तिर्खा लागे एक पेट कविता

घटघटी पिउनू, नपुगे

निर्जन वनको झरनामा जानू

निर्झर आँसुसँगै मन लागेजति पिउनू

एक खोला, एक झरना, एक सागर

एक महासागर, एक आकाश, एक धर्ति रोएर फर्किनू

निर्वाण नजिक-नजिकै पुगौला कि?

 

भोक लागेमा

दुइ-तीन मुठ्ठी कथा, कविता

निबन्ध, निर्बन्ध, लघुकथा, गीत आदि

प्रेसर-कुकरमा ३-४ सिठ्ठी लगाएर

दिनमा २-३ पटक खानू

ए साँच्चै, ग्यास सिलिण्डर रित्तै होला

दाउरा झरीमा रूझेर ओस्सिएका होलान्

के गर्नू म थला परें, तिम्रालागि केही गर्न सकिन

केही छैन मेरो साहसी छोरा

आफूभित्र दन्किएको भोकको आगो अनि 

विद्रोहको ज्वालाले तिम्रो खाना पाकिहाल्छ

 

बरू कहिलेकाहिँ मुख बार्नू

धेरै साहित्यले स्वास्थ्य बिगार्छ छोरा

Comments

Popular posts from this blog

हावामा पैसा

बेलैमा दलहरूको बुद्धि पलाओस्

दुई दिनको जिन्दगी र युगीन प्रश्नहरू