पिनासग्रस्त टाउकोमा देश दुख्छ
पिनासले हत्तु पारेको छ तर विचारका किरा सल्बलाउन छोडेका छैनन् । दिमाग टनटनी दुखिरहेको छ मनभरि निकास नपाएको देश दुखेजस्तै । लेख्न नसकेको धेरै भयो, आज विचारको बाँध फुट्छ कि, मेरो मनमस्तिष्क संग्लिएर आउँछ कि, कुनै दिन असामयिक निधन भएर पत्रिकाका पानामा प्रकट भएँ भने पनि यिनै विचारमार्फत् बाँचिरहन्छु कि? विचार र व्यवहारले औसत कदको म, सगरमाथाहरूबिचको पहाडी थुम्को म जसोतसो शिर ठाडो पारेर उभिन प्रयत्नरत् छु एउटा शान्त कुनामा । शक्तिशाली बुलडोजरले देखेनन् भने, दुई ढुङ्गाबिचको तरुलरूपी पुरै देश डाइनामाइट हुँदै दुई विशाल देशलाई जोड्ने गतिशील सडक भएन भने बाँचिरहुँला नि छातीमा अनेक थरी फूल फुलाउँदै, गाइवस्तु चराउँदै अनि आफ्नो छातीमा केटाकेटीका सुकोमल पाइतालाको आभाष पाएर मातृत्वको वर्णनातीत अनुभव गर्दै । जीवन किन यति दुष्कर भएको होला? किन भीरमा फलेको चिचिण्डोजस्तो भएको होला जीवन मेरा लागि? यो मेरो भाग्य, नियति वा लाचारी के होला? किन मैले हरेक प्राप्तिका लागि धेरै बढी सङ्घर्ष गर्नुपर्ने? हरेक बिहान जीवन शुरु गर्दा लाग्छ अजङ्गको पहाड टाउकोमा बोकेर उठिरहेछु । यस्तैयस्तै प्रश्न फणा उठाएर...