पिनासग्रस्त टाउकोमा देश दुख्छ
पिनासले हत्तु पारेको छ तर विचारका किरा सल्बलाउन छोडेका छैनन् । दिमाग टनटनी दुखिरहेको छ मनभरि निकास नपाएको देश दुखेजस्तै । लेख्न नसकेको धेरै भयो, आज विचारको बाँध फुट्छ कि, मेरो मनमस्तिष्क संग्लिएर आउँछ कि, कुनै दिन असामयिक निधन भएर पत्रिकाका पानामा प्रकट भएँ भने पनि यिनै विचारमार्फत् बाँचिरहन्छु कि?
विचार र व्यवहारले औसत कदको म, सगरमाथाहरूबिचको पहाडी थुम्को म जसोतसो शिर ठाडो पारेर उभिन प्रयत्नरत् छु एउटा शान्त कुनामा । शक्तिशाली बुलडोजरले देखेनन् भने, दुई ढुङ्गाबिचको तरुलरूपी पुरै देश डाइनामाइट हुँदै दुई विशाल देशलाई जोड्ने गतिशील सडक भएन भने बाँचिरहुँला नि छातीमा अनेक थरी फूल फुलाउँदै, गाइवस्तु चराउँदै अनि आफ्नो छातीमा केटाकेटीका सुकोमल पाइतालाको आभाष पाएर मातृत्वको वर्णनातीत अनुभव गर्दै ।
जीवन किन यति दुष्कर भएको होला? किन भीरमा फलेको चिचिण्डोजस्तो भएको होला जीवन मेरा लागि? यो मेरो भाग्य, नियति वा लाचारी के होला? किन मैले हरेक प्राप्तिका लागि धेरै बढी सङ्घर्ष गर्नुपर्ने? हरेक बिहान जीवन शुरु गर्दा लाग्छ अजङ्गको पहाड टाउकोमा बोकेर उठिरहेछु ।
यस्तैयस्तै प्रश्न फणा उठाएर खडा छन् र डसिरहेछन् सधैँझैँ मस्तिष्कको मृत्यु हुन लागेको अन्तिम आभाष हुनहुन लाग्दा पनि । बुद्घिले भरिएका ‘ठूलेहरू’ ठूल्दाइहरूको हुकुम तामेल गर्दै ठूल्ठूला गल्ती गर्न व्यस्त भएको बेला म ससाना जीवनजन्य समस्यामा अल्झिएको छु अनि अक्षरमा अमरत्व खोज्न लागिपरेको छु (ठूल्दाइहरू मलाइ माफ गर्नुहोला है मेरो धृष्टताका लागि, यहाँहरूको महानतामा धक्का पु¥याउनु मेरो उद्देश्य होइन ) । किन यो एकछिन विश्राम लिन सक्तैन अनि किन मलाइ एकैछिनको मृत्यु अर्थात् निद्रा वरदान दिन सक्तैन कुनै मूर्तिमा अनि तस्विरमा यत्रतत्रसर्वत्र देखिने तर मेरो अन्तर्मनले, मेरो जीवनले कहिल्यै नस्विकारेको मेरो दुःखमा मात्र हाँसेको देख्ने तिम्रो भगवानले?
यस्तैयस्तै प्रश्नहरूले लखेट्न थालेपछि लाग्छु शान्तिको खोजीमा पशुपतितिर ।
गृहकार्य पूरा गर्न नसकेर शिक्षकको हातबाट सिस्नोपानी खाइरहेजस्तो, बेञ्चमा उभिएको लाचारलाचार विद्यार्थीजस्तो जीवन अनेकानेक प्रश्नको उत्तर नभेटेर कुहिरोको कागझैँ भट्किन्छ, गल्लीगल्ली भौँतारिन्छ, कुसङ्गतमा फँस्छ अनि श्लेष्मान्तक वनको एकान्तमा डेण्ड्राइट सँुघी बस्छ ।
्आर्यघाटमा लाश जलिरहेको छ, माथि वनमा जीवनको विद्रुप खेल चलिरहेको छ, स्वामीहरू यहीँ छन्, ज्ञानका खानीहरू यहीँ छन् अनि यहीँ छन् वानरप्रवृत्तिहरू पनि, वातावरणमा अनवरत् ऊँ नमः शिवाय गुञ्जिरहेछ तर केहीले छुँदैन औडाहा भएको मनलाई । केकस्ता सङ्कटले घेरिएर फसे होलान् महासङ्कटमा श्लेष्मान्तक वनमा बाटो बिराएका ती युवाहरू? राज्यलाई यस्ता गम्भीर प्रश्नसँग छु मतलब? एक्कासि प्रहरीको एक समूह आइपुग्छ र बर्साउन थाल्छ लात, लाठी र गाली । ठूलाठूला बिल्लाधारी अपराधीहरू यो देशको अस्तित्व सखाप पार्ने ‘सत्कार्यमा’ लागेको बेला आफ्नो जीवन सिध्याउन लागेकाहरूले के त्यस्तो अपराध गरेका छन् जसका लागि तिनले पाइलापाइलामा शारीरिक र मानसिक पीडा भोग्नुपर्छ त्यो राज्यबाट जुन अन्यायको प्रतीक भैबसेको छ? राज्यले त यसरी बाटो बिराएकाहरूलाई सन्मार्गमा ल्याउनुपर्ने होइन र? के पिटपाट, ठोकठाक पार्दैमा पथभ्रष्टहरू सुध्रिहाल्छन्?
ती युवाहरूलाई सम्झन्छु अनि तिनीहरूको असफल, नष्टभ्रष्ट जीवन सम्झन्छु । प्रेममा धोका खाए कि तिनले? पारिवारिक विग्रहले नष्ट पा¥यो कि तिनको जीवन? देशमा व्याप्त अव्यवस्था र अशान्तिले गर्दा बरालिए कि युवा मन? गरिबीले डस्यो कि जीवन? भ्रष्टाचारको जालोमा किरासरी फसे कि कठै ती मन? सानोतिनो चोटले कोही आफ्नो जीवन सिध्याउने बाटोमा लाग्दैन, चेतना भया ।
देश सङ्कटमा छ, म सङ्कटमा छु । देश एकातिर छ, मेरा जीवनजन्य समस्या अर्कोतिर छन्, यी दुईबिच कुनै साइनो छैन । एउटा औसत मान्छे म देशका लागि केही गर्न सक्तिन । लोकमानले केही गर्लान्, चारदलका हुकुम प्रमाङ्गीहरूले केही गर्लान् । शायद दाइ जिउँदै भैदिएको भए केही गर्थे कि? कृष्णजन्माष्टमीका दिन जन्मेका मेरा दाइ साह्रै होनहार हुने सम्भावना थियो रे । ज्योतिषीले भनेका थिए रे — बाँच्यो भने यो बालक प्रधानमन्त्री हुन्छ ।
मेरा आँखा अगाडि सिंहदरबारको भित्तामा टाँगिएका तस्विरहरूबाट सशरीर प्रकट हुन्छन् लाचार, प्रतिभाहीन अनुहारहरू, रिमोट कन्ट्रोलले चल्ने चाबी अन्तै भएका खेलौनाहरू । प्रकट हुन्छन् श्लेष्मान्तक वनबाट डेन्ड्राइट सुँघ्दै बाटो बिराएकाहरू, खाडीमा पसिना चुहाउँदै गरेका तमाम अनुहारहरू, भारतका होटलमा भाँडा माझ्दै गरेकाहरू, विदेशीका लागि विदेशी भूमिमा लड्दै गरेका हाम्रा वीरहरू अनि स्वदेशमा गरीबीसँग जुझ्दै गरेका वृद्घ बाआमाहरू । दाइ प्रकट हुँदैनन्, अजन्मा सम्भावनाजस्तै नेपथ्यमै रहिरहन्छन् ती मैले नभेटेका भगवानजस्तै । सपनामा आवाहन गर्छु तर कहिल्यै प्रकट हुँदैनन् ती, तन्त्रमन्त्रयन्त्र भन्दा परै रैछन् क्यारे दाइ । सपनामा सकीनसकी काट्छु एक गियरमा जीवनको नाके उकालो । वातावरणमा यदायदा हि धर्मस्य........................... गुञ्जिरहन्छ, विद्रुप वर्तमान त्यो सुनेर अट्टहास गर्छ अनि म ब्युँझिन्छु पिनासले गाँजेको टाउको, गलाएको शरीर सकीनसकी उठाउँदै । वीर गोर्खालीको आवाहन गर्छु किनभने बाँच्नु एउटा महाभारत भएको छ आजभोलि मेरालागि ।
करिब ७ वर्ष अघि पिनासको रनाहामा परेको बेला लेखेको एउटा गन्थन । महान संपादकहरूको रजगज चलेको यो देशमा यस्ता गन्थन किन छापिन्थे र ?
- देवेन्द्र गौतम
Comments
Post a Comment