प्रिन्सटन जान परो, लौन सरकार !
- देवेन्द्र गौतम मूर्ख हुन पनि कम्ता दु:ख हुँदो रहेनछ पाठकवृन्द ! यहाँहरूलाई यस सम्बन्धी अनुभव छ कि छैन कुन्नि ? छ भने पंक्तिकारसँग शेयर गर्दा हुन्छ, दु:ख कम भएको आभाषसम्म हुनेछ । दिनरात, साँझबिहान 'गोविन्दम्' भजे पनि चर्मचक्षु मात्रै हो र प्रज्ञाचक्षु समेत छोपीबसेको अज्ञानको बाक्लो कुहिरो हट्दै हट्दैन भन्या । उमेर अनि कम्तिमा पनि अनुभवजन्य 'ज्ञान' बढ्दै जाँदा (किताबी ज्ञानको त के कुरा गर्नु र ? एक से एक विद्वानहरूले ठेलीका ठेली रित्याइसकेछन्, हामीलाई त सग्ला, अङ्गभङ्ग भएका अक्षर पनि बाँकी नाइ) यो कुहिरो पनि फाट्दै जाला भनेको, कुहिरो त झनझन बाक्लिँदो पो छ त ! फेरि यही कुहिरोमा रूमल्लिँदा रूमल्लिँदै जीवन सकिन्छ कि भन्ने कत्रो चिन्ता आफूलाई ! पाठकहरूलाई पिरोलेको छ/छैन कुन्नि यस्तो चिन्ताले ? छैन भने ढुक्क हुनुहोस्, किन नदुखेको टाउको डोरीले कसेर दुखाउनुहुन्छ ? कथं तलमाथि पर्यो भने त बर्बाद हुन्छ नि फेरि ! यहाँहरू कम्तिमा पनि ज्ञानी हुनुहुँदोरहेछ, दैवज्ञ नै त कसरी भनूँ र खै ? अज्ञानको बाक्लो कुहिरो सम्बन्धमा म थप सोच्दा भया: जलबिन्दु, मोतीयाबिन्द...