प्रिन्सटन जान परो, लौन सरकार !

- देवेन्द्र गौतम

मूर्ख हुन पनि कम्ता दु:ख हुँदो रहेनछ पाठकवृन्द ! यहाँहरूलाई यस सम्बन्धी अनुभव छ कि छैन कुन्नि ? छ भने पंक्तिकारसँग शेयर गर्दा हुन्छ, दु:ख कम भएको आभाषसम्म हुनेछ । 

दिनरात, साँझबिहान 'गोविन्दम्' भजे पनि चर्मचक्षु मात्रै हो र प्रज्ञाचक्षु समेत छोपीबसेको अज्ञानको बाक्लो कुहिरो हट्दै हट्दैन भन्या । 

उमेर अनि कम्तिमा पनि अनुभवजन्य 'ज्ञान' बढ्दै जाँदा (किताबी ज्ञानको त के कुरा गर्नु र ? एक से एक विद्वानहरूले ठेलीका ठेली रित्याइसकेछन्, हामीलाई त सग्ला, अङ्गभङ्ग भएका अक्षर पनि बाँकी नाइ) यो कुहिरो पनि फाट्दै जाला भनेको, कुहिरो त झनझन बाक्लिँदो पो छ त !

फेरि यही कुहिरोमा रूमल्लिँदा रूमल्लिँदै जीवन सकिन्छ कि भन्ने कत्रो चिन्ता आफूलाई ! पाठकहरूलाई पिरोलेको छ/छैन कुन्नि यस्तो चिन्ताले ?

छैन भने ढुक्क हुनुहोस्, किन नदुखेको टाउको डोरीले कसेर दुखाउनुहुन्छ ? कथं तलमाथि पर्यो भने त बर्बाद हुन्छ नि फेरि ! यहाँहरू कम्तिमा पनि ज्ञानी हुनुहुँदोरहेछ, दैवज्ञ नै त कसरी भनूँ र खै ?        

अज्ञानको बाक्लो कुहिरो सम्बन्धमा म थप सोच्दा भया: जलबिन्दु, मोतीयाबिन्दु लगायतका आँखासम्बन्धी रोगहरूको सहज उपचार उपलब्ध हुने अस्पताल भएजस्तै अज्ञानको पनि सहज उपचार हुने अस्पताल भए हुने नि हगि ! 

यस्तै अस्पताल सात प्रदेशमै स्थापना भइदिए, अझ त्यहाँ नि:शुल्क उपचारको व्यवस्थासमेत भइदिए पंक्तिकारजस्ता अज्ञानशिरोमणिहरूको जीवन कम्ता सहज हुँदैनथ्यो होला ।

हुन त पंक्तिकारको मगजमात्रै अज्ञानको कुहिरोले ढाकेको पनि हुनसक्छ अर्थात् यो सार्वजनिक स्वास्थ्य समस्या नहुन सक्छ। त्यसो हो भने सरकारले उपचारका लागि पंक्तिकारलाई विदेश पठाइदिए हुने (के गर्ने, डिभीको माम्लोमा महाशक्ति राष्ट्रले विश्वास गरेन) ! हुन त पंक्तिकार सरकार, प्रतिपक्षी, विद्रोही पक्ष कसैको पनि मनले खाएको व्यक्ति होइन, तैपनि केहि भइहाल्छ कि, यो बर्ख गोरू ब्याइहाल्छ कि ? 

स्वास्थ्योपचारका लागि विदेश भ्रमणको चाँजो मिले त यसो प्रिन्सटन विश्वविद्यालयसम्म पनि पुगेर आउनुहुन्थ्यो एक बारको जुनीमा । किन भन्नुहोला ? उपयुक्त खण्डमा स्पष्ट पार्ने नै छु, पढ्दै जानुस् न पाठकहरू दिक्कै लागे पनि ।               

अब मूढमति भएपछि मस्तिष्कभरि प्रश्नै प्रश्न हुने क्या । यो मस्तिष्कमा पनि विश्वब्रह्माण्ड नै अटाउने के फेरि कसैकसैको त । त्यस्तो भइदिए पो हुन्छ । के गर्ने टाउको फेर्न नमिल्ने रैछ आजको युगमा । नत्र त मरणोपरान्त अङ्गदान गर्नेहरूले टाउको पनि दान गर्दा हुन् नि हगि !

त्यस्तो हुने भए त शल्यक्रिया गरेर रोज्जाको टाउको राख्नुहुन्थ्यो नि !  

परापूर्वकालमा चाहिँ जीवन नै संकटमा परेको बेला टाउको प्रत्यारोपण गर्न मिल्ने काइदाको प्रविधिको विकास भइसकेको रहेछ । कालक्रममा त्यो प्रविधि लोप भएको पो हो कि ? विज्ञजनहरूलाई थाहा होला ।  

उक्त प्रविधिसम्बन्धी विज्ञताको अभावमा ज्यादै संक्षिप्त चर्चा गर्न पंक्तिकार यहाँहरूलाई त्यस दिव्ययुगतिर लैजान चाहन्छु जुन बेला शिव-पार्वतीनन्दन भगवान गणेशको जन्म भएको थियो ।

देवीदेवताहरू, ग्रहनक्षत्रहरू, ऋषिमुनिहरू, अप्सराहरू जस्ता विशिष्ट/अतिविशिष्ट आगन्तुकहरू उपस्थित हुने उक्त भव्य समारोहमा आफू पनि भव्य भएर जानुपर्छ भन्दै नक्कल पार्न दिनभर लगाउने हो भने, नयाँ सुट, गजबको टाइ, टिलिक्क टल्किने जुता अनि मगमग वास्ना आउने, आफूलाई औधी मनपर्ने अत्तरको खोजीमा शहरका गल्लीगल्ली चाहार्ने र मोलमोलाइ गर्ने सुर हो भने त भो, पंक्तिकार एक्लै कैलाशतिर हिँड्यो है पाठकहरू । अब अलि फाष्ट फरवार्ड गरूँ है, टाढा जानु छ नि त, उकालो बाटोमा बिसाउँदै बिसाउँदै जानुपर्छ नत्र धम्की बढ्छ के । 

टाइम ट्रावल गरी फर्केर हेर्दा भगवान गणेशको जातककर्म भव्यताका साथ, बिना बाधा-अवरोध, बडो सङ्गीतमय वातावरणमा, मन्त्रोच्चारण र पुष्पवृष्टिका बिच भइरहेको थियो । मन्दमन्द सुगन्धि पवन प्रवाहित भइरहेको थियो, ग्रहनक्षत्रादि र वसन्तादि ऋतुहरू पनि स्वाभाविक गतिमै गतिमान थिए, तिन त्रिलोक, चौध भुवनमै उल्लासमय वातावरण थियो । 

मर्यादाक्रमानुसार उपस्थित महानुभावहरूले नवजात शिशुलाई हेर्दै मन्त्रमुग्ध हुने क्रम सुचारू थियो । 

विशिष्ट पाहुनाहरूको भिडमा एक पात्र मुन्टो निहुर्याएर बसिरहेका थिए । जगज्जननी पार्वतीले उनलाई देखिहालिन् । 

शनि पो रहेछन् उनी त !

शनिलाई आफ्नो दृष्टि मै हुँ भन्नेहरूमाथि पर्दा के हविगत हुन्छ थाहा थियो, झन् नवजात शिशुमा पर्दा के होला, शायद यस्तै सोची आफूलाई कसै गरी सम्हाली बसेका थिए ।  तर जगज्जननीको जिद्दीका अघि उनको के लाग्थ्यो र ?

जसै शनिको आँखा शिशुमा पर्यो, जे नहुनु थियो त्यहि भयो अर्थात् गणेशको शिरोच्छेदन भयो।  अनि त के थियो ? भव्य समारोहमा आँसुको खोलो बग्यो, जगज्जननीको शोकले सीमा नाघ्यो।  

जे हुनु भइगयो, अब रोएर त भएन ।  शिशुको प्राणरक्षाको उपाय गर्नुपर्यो -- धन्न उक्त दिव्ययुगमा शिरोच्छेदन हुँदैमा जातकको तत्काल मृत्यु भइहाल्ने रहेनछ ! 

देवाधिदेव महादेव उत्तर दिशातर्फ हान्निए, उनको जम्काभेट वुली म्यामथ (हात्तीको पुर्खा) सँग भयो । के जाति आयुध प्रहार गरी उनले हात्तीको शिरोच्छेदन गरे, हान्निँदै घर फर्के र म्यामथको शिर आफ्ना सुपुत्र गणेशको धडमा प्रत्यारोपित गरिदिए ।  

अब शिवजीका ससुरा, सतीदेवीका बुबा दक्षप्रजापतिको बोकाको टाउको सक्कली हो कि प्रत्यारोपित हो, पंक्तिकार अन्धकारमै छ। प्रत्यारोपित हो भने विधि के हो ? प्राचीन ग्रन्थहरूमा वर्णित यस्तो 'शल्यक्रिया' कसरी गरिन्छ, आधुनिक चिकित्सा विज्ञानले व्याख्या गरिदिए पंक्तिकारका आँखा ढाकिबसेको अज्ञानको कुहिरो अलि फाट्थ्यो कि ? 

अहिलेलाई ठुला 'मान्छे'का सन्तानको जीवनरक्षाका लागि त्यस बेला पनि त्यस्तो विशिष्ट प्रविधि उपलब्ध रहेछ भनी मानेर अघि बढूँ त 'जूनकिरीझैँ ज्योति बाल्दै' ? 


प्रसङ्ग आइहाल्यो 'ठुला मान्छेको' । 

बाल्यकालदेखि नै पंक्तिकारको ससानो मस्तिष्कमा 'ठुला मान्छे' सम्बन्धमा प्रश्नहरू अटेसमटेस भइबसेका छन् । 

खास गरी बुबाआमा र अन्य मान्यजनबाट दशैँको टिका लगाउँदा, दिदीहरूका हातबाट तिहारको टिका लगाउँदा वा ढोग्दा 'धेरै पढेस, ठुलो मान्छे भएस्' भन्ने किसिमका शुभाशिषको वृष्टि हुन्छ । 


ती ठुला मान्छे को हुन् ? के हुन् ? के कति कारणले ती ठुला भनिएका हुन् ? पंक्तिकारलाई मालुम नाइँ।  

वास्तवमा यो ज्यादै नै पेचिलो प्रश्न हो। प्राचीन साहित्यको अध्ययन गर्दा सङ्केत पाइन्छ: आफ़ूहरूमध्ये को सबैभन्दा महान भन्ने विवादले ठुलो ब्रह्मा, विष्णु, महेश्वरलाई नै लपेटेको थियो।     


पंचायती प्रजातन्त्रको सूर्य धपधपी बलेको बेला अर्थात् जीवनको उषाकालमा राजारानी पो ठुला मान्छे रहेछन् कि जस्तो लाग्थ्यो । कम्तिमा पनि हामी केटाकेटीलाई चाहिँ सर्वशक्तिमान शासक अमर हुन्छन्, उनको पराक्रमको कुनै सीमा हुँदैन, उनले गर्न नसक्ने केहि हुँदैन जस्तो लाग्थ्यो । 

पुस १४ का दिन शिक्षकहरूको निर्देशनमा जानी/नजानी, गल्ती पो होला कि भनी डराइ डराइ नै सही 'हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ' का 'गगनभेदी' नारा उराल्दै गाउँ परिक्रमा गर्थ्यौँ, 'हाम्रो राजा अमारोस्, पंचायती व्यवस्था अमारोस् (अमर रहोस्)' भट्ट्याउँथ्यौँ।   

परिवर्तनको लहरका अगाडि हामीले डराइ डराइ भट्याएका नाराको केहि जोर चलेन। व्यवस्था त गयो गयो, राजसंस्थाका असीमित जस्ता लाग्ने अधिकारहरूलाई समेत एकदमै सीमित गरिदियो । 


त्यसपछि एकथरी 'क्रान्तिनायकहरू'को जगजगीको युग शुरू भयो, लोकले उनीहरूलाई नै ठुला मान्छे ठान्न थाल्यो ।

तर एक दशक बित्दानबित्दै उनीहरू पनि प्रायोजित पात्र साबित भए । जनताको रगत,पसिना, आँसु पिएर शक्ति आर्जन गर्दै ती भ्रष्टाचारमा आकण्ठ डुबे, नेपाल र नेपालीको भविष्य अन्धकारमय पारेर कति पात्र अस्ताए, कति अझै राजनीतिमा सक्रिय छन् ।  


शायद उनीहरूलाई अझै कमाउन पुगेको छैन, नेपाल र नेपालीको भविष्य अझ अन्धकारमय बनाउने धोको पुरा भएकै छैन तिनीहरूको, त्यसैले त अनेक थरि षड्यन्त्रका दस्तावेजहरूमा सही धस्काउन ती लालायित भइबसेका छन् । 

यसै बिचमा एक दशक लामो युद्ध चल्यो, देशमा रगतको खोलो बग्यो, भौतिक पूर्वाधारको ठुलो क्षति भयो, मानवीय संवेदना मरेर गए जस्तो भयो। अन्तत: हिंसात्मक द्वन्द्व शान्ति सम्झौतामा गएर टुङ्गियो। हामीमध्ये कतिपयले युद्ध सरदारहरूलाई नै ठुला मान्छे ठान्यौँ । 


कालक्रममा उनीहरू पनि अनेक थरी विवादहरूमा मुछिए, उनीहरू पनि दुधले धोइएका होइन रहेछन् भन्ने स्पष्ट हुँदै गयो । 

परिवर्तनका नाममा जनताको रगत र आँसुको खोलो बगाउने तर सत्तासीन भइसकेपछि भ्रष्टाचार र बेथिति बढाउनेलाई ठुला मान्छे भन्ने हो भने त हाम्रा रङ्गीबिरङ्गी नेताहरूजस्ता ठुला मान्छे त अन्त कहाँ पाइएलान् र खै ?


ल, राजनीतिज्ञहरू ठुला मान्छे होइन रहेछन् रे । त्यसो भए कर्मचारीतन्त्रको उच्च ओहदामा आसीन भइ भ्रष्टाचार गरी प्रशस्त धनसम्पत्ति जोडेकाहरूलाई नै ठुला मान्छे मान्ने त, इमान्दार अधिकारीहरूलाई चटक्क बिर्सेर ? 

त्यसो भए त जुन जिल्लामा सरूवा भएर गयो, त्यहिँ जग्गाजमीन जोड्ने, महल ठड्याउने, सात पुस्ताका लागि पुग्ने गरी कमाउने, कर्मचारीवृत्तमा (व्यङ्ग्यार्थमा) 'पृथ्वीनारायण शाह'हरू  भनी चिनिनेहरू नै ठुला मान्छे हुन् त ? 

अझ उद्योग, व्यापार, व्यवसाय संचालन गर्ने नाममा राज्यका हर्ताकर्ताहरूसँग साँठगाँठ गरी कर छलेर, जनता ठगेर धन कमाउनेहरूलाई पो ठुला मान्छे हुन् कि त ? 'राम राम जपना, पराया माल अपना' जीवनको मूलमन्त्र भएका र सिद्धान्तलाई व्यवहारमा उतार्न कहिल्यै नचुक्ने सबैलाई सोलोडोलो रूपमा ठुला मान्ठा भन्दिए पनि हुने हो कि ?    


राष्ट्रिय सीमाना भन्दा पर गएर हेर्दा डि सी करेन्ट लगायतका युगान्तकारी प्रविधिहरू आविष्कार गरेर पनि चरम गरिबीमा जीवन बिताउन बाध्य निकोला टेष्लालाई ठुला मान्छे मानौँ कि टेष्लाको आर्थिक शोषण गरेको आरोप लागेका, टेष्लाको हविगतका प्रमुख कारक मानिएका वैज्ञानिक/लगानीकर्ता थोमस अल्बा एडिसनलाई ठुला मानौँ ?  


पंक्तिकारको स्वाभिमानले त टेष्लालाई नै धेरै माथि देख्छ । 


स्टिव जब्सलाई ठुला मानौँ, स्टिव वज्नीयाकलाई कि बिल गेट्सलाई ?


कसलाई महान मानौँ, कसलाई महानतम मानौँ ?


वास्तवमा 'ठुला मान्छे' सम्बन्धी टोल, समुदाय, पारिवारिक तहका छलफलहरूमा मन लागीनलागी सहभागी हुँदा/बनाइँदा अनि उल्लिखित विषयसम्बन्धी केहि साहित्य उदरस्थ गरिसकेपछि पंक्तिकारको मथिङ्गल हल्लिएको छ। 


त्यसैले उ प्रिन्सटन जान चाहन्छ । 


फेरि प्रिन्सटनकै कुरो ! किन जाने परो त्यहाँ ?


(नेपथ्यबाट आवाज आउँछ: थपक्क घर बस्नु, बरू एउटा राम्रो, टिकाउ जागिर खोज्नु, जान पर्या छैन प्रिन्सटन सृन्सटन) 


पंक्तिकार आफैलाई सम्झाउँछ: प्रिन्सटन विश्वविद्यालयमा अल्बर्ट आइन्स्टाइनको मस्तिष्क संरक्षण गरिराखिएको छ । 

भनिन्छ, थियोरी अभ रिलेटीविटी, फोटोइलेक्ट्रिक इफेक्ट र यूनिफाइड फिल्ड थियोरीका सिद्धान्तकार वैज्ञानिक आइन्स्टाइनले मानव मस्तिष्कीय क्षमताको १० प्रतिशत प्रयोग गरी कीर्तिमान कायम राखेका थिए रे । हामीहरू दिमागको प्रयोग ज्यादै कम गर्छौँ, त्यसैले यो एकदमै प्रगतिशील गतिमा खिइँदो छ। 


पंक्तिकारको आशा चाहिँ के भने यो खिया लागेको, सोच्ने काम जति नेतालाई छोडिदिइसकेको, खाली निर्देशित हुन मात्र जान्ने यस मस्तिष्कमा कसै गरी थोरै मात्र भए पनि आइन्स्टाइनको मस्तिष्क प्रत्यारोपण गर्न पाए ज्योतिर्लिङ्गजस्तै आदि-अन्त्य फेला पार्न नसकिने किसिमका यी 'ठुला मान्छे' को हुन् ? के खाएर ठुला भएका हुन् ? 'हुकुम-प्रमाङ्गी' का आधारमा ठुला भएका हुन् कि आफ्नै बलबूतामा ? भन्ने जस्ता केहि थान मूर्ख प्रश्नहरूको उत्तर पो प्राप्त हुन्थ्यो कि ? 


के थाहा ? आइन्स्टाइनकै मस्तिष्कको सहायताले शिरोच्छेदित गणेशमा म्यामथको टाउको प्रत्यारोपण प्रविधिको रहस्य पनि खुल्थ्यो कि बा ?


उम्मीद पे ये दुनिया कायम है ।  का समझे ?


Comments