लोक जाग्न ढिला भइसक्यो
नेपाल कला परिषद भवन , बबरमहल । भवनको प्रवेशद्वारमा दायाँबायाँ स्वागतार्थ वा रक्षार्थ खडा छन् ढलोटका दुइ शार्दूल । तिनका गलामा पुष्पहार र घण्टी सुशोभित छन् । तिनका आँखामा हिंस्रकता छैन , बालसुलभ चंचलता छ । जिब्रो निकालेका छन् तिनले , काठमाण्डुको उखर्माउलो गर्मीले तिनलाई पनि आच्छुआच्छु पारेको पो हो कि ? पृष्ठभूमिमा छ नेपाल ललितकला प्रदर्शनी २०२३ को ससानो स्ट्याण्डी । भर्खरभर्खरै सेतो रङ्ग पोतिएको भित्तामा काला अक्षरहरूमा केहि नामहरू उत्कीर्ण छन् । भित्तामा कला संग्रहालयको विन्यास कसरी गरिएको छ , केकस्ता प्रकृतिका कलाकृतिहरू कहाँ , कसरी राखिएका छन् , उल्लेख गरिएको छ । कलाको सरकारी दरबारमा नयाँ नेतृत्व आएको संकेत पनि होला त्यो । वास्तवमै writing on the wall ले केहि न केहि त पक्कै बोलेको छ , तर लेखनीको विषय ललितकला प्रदर्शनी भएको हुँदा प्रदर्शनीमै केन्द्रित होऊँ है त । पहिलो तलाको करिडोरमा ध्यानस्थ मंजुश्री भेटिएका छन् , पर्यवेक्षक भावमा उनले परिषदको सूक्ष्म अवलोकन गरिरहेको प्रतीत हुन्छ । पहिलो तलामा मैथ...