वयं रक्षाम: आदिपुरूषको सन्दर्भमा
वयं रक्षाम: आदिपुरूषको सन्दर्भमा
देवेन्द्र गौतम
सोना और खून जस्तो प्रसिद्ध उपन्यासमात्र होइन वयं रक्षाम: जस्तो सानो तर खँदिलो ऐतिहासिक उपन्यास पनि लोकलाई दिएर गएका छन् आचार्य चतुरसेनले।रावणलगायतका राक्षसहरूको राम सेनासँग किन युद्ध भयो भन्ने बारे उक्त कृतिमा उल्लेख छ।
इतिहासप्रति जिज्ञासा राख्नेहरूका लागि उक्त उपन्यास राम्रो खुराक हुन सक्छ।
देशको, जातिको इतिहास, संस्कृति, धर्म, परम्परा, रितिरिवाजप्रति जुन तहको अपनत्वको अभाव वर्तमानमा देखिएको छ, अकिंचनहरूको बाल्यकालमा त्यस्तो अवस्था थिएन।
प्रत्येक बिहान नुहाइधुवाइ गरिसकेपछि हजुरआमाले वाचन गर्ने रामायणका सिलोक (पश्चिम नेपालको जनजिब्रोले श्लोकलाई सिलोक बनाइदिन्छ)ले पनि मर्यादापुरूषोत्तम रामको, राम-रावण युद्धको पृष्ठभूमिबारे केहि जानकारी दिएकै हुन्थ्यो।
वयं रक्षाम:, हजुरआमाका शिलोक, रामायण लगायतका ग्रन्थहरूको आंशिक अध्ययन गर्दा सत्ययुगपछिको त्रेतायुगको त्यो कालखण्डबारे केहि जानकारी प्राप्त हुन्छ, अन्वेषणको ससानो गोरेटो बन्छ।
करिब-करिब पाइलामात्रै अट्ने त्यो गोरेटोमा हिँड्दा राजा दशरथमा पनि अन्यान्य राजा-महाराजाहरूमा जस्तै गुण-दोष देखिन्छन्। गणतन्त्रका महाराजहरूलाई जसरी तिनका चारण, विरूदावलीविद, प्रशस्तिकारहरूले उनीहरूका कमीकमजोरी ढाकछोप गरी जति महिमागान गर्छन्, त्यति त वाल्मिकी, तुलसीदास र भानुभक्तहरूले पक्कै गरेका छैनन् दशरथको र रामको पनि।
हो, शिकारको सोख राजा दशरथमा पनि छ। उनी शिकार खेल्न हालको आँधीखोला गाउँपालिका, स्यांग्जामा आएका छन् त्रेतायुगको कुनै दिन।
विधिको विधान भनूँ वा कमजोर निशाना उनले हानेको वाण मृगलाई नलागी एक अन्धाअन्धी जोडीका एकमात्र सन्तान श्रवणकुमारलाई लाग्छ, उनको तत्क्षण मृत्यु हुन्छ।
प्रसङ्गवश एउटा जिज्ञासा उब्जिन्छ नै। गाडी नचल्ने, समतल भूमिमा रथसम्म चल्ने त्यस समयमा दशरथ कहाँबाट पहाडको काखमा शिकार खेल्न आए होलान्? अहिलेको सीमापारिको अयोध्याबाट कि अयोध्यापुरी, ठोरीबाट?
हरि अनन्ता, हरिकथा अनन्ता। अर्थात् जसरी विष्णुका असंख्य रूपहरू छन्, त्यसैगरी उनका कथाहरू पनि असंख्य छन्। यसै भनेर चित्त बुझाउने त होला नि पाठकवृन्द, होइन?
आफ्नो एकमात्र सहारा गुमाउनुपर्दा ती जोडीले आँसुका बलिन्द्र धारा बगाउँछन्। तिनकै आँसुले बनेको हो भनिन्छ अन्धाअन्धी दह जुन स्याङ्गजा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित छ।
शान्त, सुरम्य वातावरण अनि हिमालको शितलता पाएकोले पनि होला उक्त ऐतिहासिक स्थल पर्यटकहरूमाझ लोकप्रिय हुँदैछ।
कसरी जोडिएको छ त उक्त दह दशरथको दु:खसँग अनि रामायणसँग? संक्षिप्त चर्चा गरूँ। आफ्ना छोराको मृत्युमा विलाप गर्दै ती जोडीले श्राप दिन्छन्: तिमीले पनि हामीले जस्तै पुत्रशोकमा परी मृत्युवरण गर्नु परोस्। दशरथले आफ्नो राज्यकालमा कति मृग मारे, तिनको आँसु उनलाई लाग्यो लागेन कसले लेखो राख्ने खै?
जे होस्, कथा अघि बढ्दै जाँदा देखिन्छ दशरथ र उनका जेठा छोरा रामको जीवनका मोडहरूमा प्रकट भइरहने साँच्चिकैका र मायावी मृगहरूले आसन्न दुखान्त र वियोगको संकेत गरेको।
राजा दशरथका चार रानीमध्ये जेठी रानी कौशल्याको कोखबाट शान्ता (राजकुमारी) र राम, सुमित्राको कोखबाट लक्ष्मण र शत्रुघ्न र कैकेयीको कोखबाट भरतको जन्म भएको मानिन्छ।
स्वाभाविक क्रमानुसार दशरथपछि अयोध्याको गद्दीका उत्तराधिकारी मर्यादापुरूषोत्तम राम नै हुनुपर्ने हो।
तर इतिहास कहाँ सधैँ सिधा बाटोमा अघि बढछ र?
युद्धहरूमा कैकेयीले ज्यान हत्केलामा राखेर राजा दशरथको प्राणरक्षा गरेकी हुन्छिन्, यसै कारण दशरथकी सर्वाधिक प्रिय रानीको रूपमा स्थापित हुन्छिन्। कान्छी रानीको बुढा हुँदै गएका राजामाथि त्यसै पनि बलियो पकड हुने भइहाल्यो।
यसै सम्बन्धका आडमा सेविका मन्थराको समेत कुरा सुनेर कैकेयीले दशरथलाई वाचा बँधाएकी छिन्: भरत राजा हुनुपर्छ अनि रामलाई हुनुपर्छ १४ वर्षको वनवास। इक्ष्वाकुनन्दन, दशरथका जेठा छोराको रूपमा रामले गर्नुपर्ने केहि कार्यहरू जस्तै आसुरी, राक्षसी शक्तिहरूको विनाशका लागि पनि उनको वनगमन अनिवार्य छ।
पिता दशरथको आज्ञा शिरोपर गर्दै राम दण्डकारण्य जान्छन्, साथै लाग्छन् पत्नी सिता र भाइ लक्ष्मण भरतलाई राजगद्दी सुम्पेर।
एक दिन राम लक्ष्मणलाई सितारक्षार्थ रामझुपडीमै छोडेर शिकार खेल्न जान्छन्। ढिलोसम्म उनी नफर्केपछि सिता चिन्तित हुन थाल्छिन, लक्ष्मणलाई दाइको खोजखबर गर्न जान अह्राउँछिन्। शुरूमा लक्ष्मण आनाकानी गर्छन्, सितारक्षार्थ रामले कुटीमै खटाएकोले त्यसो गर्नु स्वाभाविकै पनि होला। तर सितालाई शङ्का लाग्छ: कतै लक्ष्मणले मप्रति कुदृष्टि राखेका पो हुन् कि? यस्तै आरोप सिताले लगाएपछि कुटी परिसरमा एउटा रेखा कोरिदिन्छन्, यो रेखा कसै गरी पनि ननाघ्नुहोला है भनी अर्थ्याएर दाइको खोजीमा लाग्छन्। लक्ष्मणले सितारक्षार्थ कोरिदिएको त्यहि रेखालाई लक्ष्मणरेखा भनिन्छ।
उता आखेटका क्रममा रामले सुनौलो मृग देख्छन् अनि त्यसको पछि लाग्दा कुटीभन्दा धेरै पर पुग्छन्। वास्तवमा त्यो मायावी मृग थियो, रावणको षडयन्त्रको एक अंश थियो। रामलाई मृगको खोजीमा अल्मल्याइ रावण जोगीको भेषमा प्रकट हुन्छ कुटी परिसरमा। सिता भिक्षा दिन तत्पर हुन्छिन् तर लक्ष्मणरेखा ननाघी। जोगी मान्दैन, भिक्षा नलिने, श्राप दिने धम्की दिन्छ। भिक्षा दिन लक्ष्मणरेखा नाघ्नेबित्तिकै अपहरणमा परिहाल्छिन् उनी।
अपहरणको पृष्ठभूमिको संक्षिप्त चर्चा गरूँ।
राम-लक्ष्मण-सिता निर्वासनको कुनै एक दिन। दुइ सुन्दर राजकुमार-राम-लक्ष्मण-वनविहार गरिरहेको बेला संयोगवश सुर्पणखा प्रकट हुन्छिन्। उनी रामको रूपाकृति देखेर मोहित हुन्छिन्, विवाहको प्रस्ताव गर्छिन्, यस्तै बोल्छ कथा। राम क्रूर ठट्टा गर्न प्रेरित हुन्छन्, मर्यादापुरूषले मर्यादा उल्लङ्घन गर्दै लक्ष्मणलाई ती राक्षसकन्याको नाक काटिदिन आदेश दिन्छन्। लक्ष्मणले दाइको आदेश शिरोपर गर्छन्।
विलाप गर्दै सुर्पणखा दाइ रावणलाई आफूमाथि भएको अत्याचार सबै सुनाउँछिन्।
शास्त्रहरूले पनि स्त्रीको अपमान वर्जित गरेका छन्, त्यो वीरोचित कर्म होइन भनेका छन्।
जमीन, स्त्री र धन-दौलत प्राप्तिका लागि युद्ध गरिन्छ भन्ने शास्त्रीय मत छ। सुर्पणखाको अपमान सम्पूर्ण जातिकै अपमान थियो, स्त्रीशक्तिकै अपमान थियो, यही अपमानले सिताहरणको, राम-रावण युद्धको बिउ रोपिदियो।
रावण राक्षस जातिका हुन्, उनी पुलत्स्य ऋषिका नाति, विश्रवा ऋषिका छोरा हुन्, हाँगाबिँगा खोज्दै जाँदा उनी ब्रह्माका दरसन्तान हुन्।
राक्षस शब्दको अर्थ हुन्छ: जसबाट रक्षा गर्नु परोस्। उनीहरूको गगनभेदी नारा नै छ: वयं रक्षाम: अर्थात् हामी रक्षा गर्छौँ।
यो हामी भन्ने भावनाले नै अन्तत: परिवार, कुल, समुदाय, समाज र देश हुँदै विश्व-ब्रह्माण्ड समेट्ने हो। हामी भन्ने भावना नभए त परिवार, कुल, समुदाय, समाज, विश्व-ब्रह्माण्ड केहि पनि हुँदैन। उदार हुन सके यसले चराचर जगतका सबैलाई समेट्छ, वसुधैव कुटुम्बकम् जस्तो उदात्त भावनालाई जन्म दिन सक्छ। यस्तै मन्त्रोच्चारण गरी, लोकलाई वशीभूत पारी रामनाम जपना पराया माल अपना चरितार्थ गर्नेहरूसँग सतर्क रहन सकेन भने नेपाली लोकले काला बादलले नपाएको दु:ख पाउने निश्चित छ। वयं रक्षाम: र वसुधैव कुटुम्बकम् जस्ता उदात्त मन्त्रहरूको मर्म आत्मसात गर्न नसक्दा तपोभूमि, देवभूमि, पुण्यभूमि नेपाल र विश्वका अन्य भूभागहरूमा अशान्ति, अस्थिरता, भ्रष्टाचार, काटाकाट, मारामार व्याप्त छ।
कल्पनाका धनी कलाकार, लेखक, इतिहासकारहरूले जातिविशेषलाई (खासगरी विजातिलाई) दुष्ट, असभ्य अर्थात् सभामा बस्न अयोग्य, अपराधी देखाइ आफू र आफ्नाहरूको देवत्वकरण गर्न कुनै कसर बाँकी राख्दैनन्। त्यसै कारण पनि राक्षस भन्ने बित्तिकै सिङ, दाह्रा, नङ्ग्रा भएको, ठाडाठाडा रौँसहितको डरलाग्दो आकृति हाम्रा सामु प्रकट भइहाल्छ।
अनि देव, सुर भन्नेबित्तिकै मनोहर, मणिमाणिक्यले सुसज्जित, सफा वस्त्रधारी आकृतिहरू दिव्य मुस्कान छर्दै प्रकट भइहाल्छन्।
सुर्पणखाको अपमान पछि त्यसलाई सम्पूर्ण जातिको अपमान सम्झी राक्षसहरू आफ्नो जातिको रक्षा गर्न गोलबद्ध भए, युद्धको मोर्चा कसे उनीहरूले। आफ्नो जातिको, सामूहिक आत्मसम्मानको रक्षा गर्नु उनीहरूको परमधर्म थियो अनि त्यसको पालन गर्नु उनीहरूको परमकर्तव्य थियो, त्यसैले ‘भगवान’ ले नै अपमान गरे, के गर्ने त? भनेर मुट्ठी बाँधेर बसेनन् उनीहरू। यस क्रममा उनीहरूबाट सिता अपहरणजस्तो अक्षम्य अपराध भयो तर रामपक्षबाट पनि उत्तिकै जघन्य अपराध भएको सुर्पणखा प्रकरणले देखाएकै छ।
राक्षसजातिको एक हाँगो चाहिँ वयं यक्षाम:को मन्त्र जप्थ्यो अर्थात् ‘प्रभू’को, सत्ताधारीहरूको, बलियाबाङ्गाहरूको भक्ति गर्थ्यो, उनीहरू यक्ष भनी चिनिन्थे।
सहोदर भाइ विभीषणले लंकाको सिंहासनको लोभमा आफ्नै दाइको प्राणशक्ति नाइटोमा लुकेको गुह्य रामसमक्ष खोलिदिएपछि, अझ भनौँ आफ्नै भाइ आफूविरूद्ध लागेपछि रावणको विनाश नहुने कुरै भएन। जति सुख प्राप्त गरे पनि, प्रभूकृपाले ऐश्वर्यलाभ गरे पनि राज्यशक्तिका लागि, सत्ताका लागि सहोदरकै गुह्य खोली उसको, परिवारको र स्वदेशकै नाश गर्ने विभीषणप्रवृत्ति लोकमा निन्दित छ, रहिरहनेछ।
जुन देशमा सहोदर भाइले सत्ता र शक्तिको लोभमा परचक्रीका सामू दाइको प्राणरहस्य खोलिदिन्छ, सुनैसुनले बनेको भए पनि त्यस्तो देशमा बस्नु हुँदैन भनेर त होला लक्ष्मण र विभीषणले कर गर्दा पनि राम अयोध्या नै फर्के जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीको मन्त्र जप्दै। त्यसैले त होला सिक्किमलाई भारतमा विलय गर्न ज्यादै महत्वपूर्ण भूमिका खेलेका काजी लेण्डुप दोर्जेलाई उद्देश्य पूरा भएपछि प्रधानमन्त्री इन्दिरा गान्धीले भेट गर्नसमेत अस्वीकार गरेकी। उनका अघि सिक्किम विलयमा महत्वपूर्ण भूमिका खेलेका अर्का नेता रामचन्द्र पौडेलको हैसियत नै के थियो र?
हुन त पुरूषार्थविहीन व्यक्ति र जातिका लागि भज गोविन्दम् भज गोविन्दम् गोविन्दम् भज मूढमते बाहेक अर्को कुनै गति उपलब्ध छैन पनि।
वर्तमान समयमा वयं यक्षाम:को अझ विकृत रूपले यस देशलाई दिनपरदिन गाँज्दै लगेको छ। त्यो हो वयं भक्षाम: अर्थात् हामी खान्छौँ। आफूआफू मिलिजुली खान्छौँ, बाँडीचुँडी खान्छौँ यो देश, नेपाली लोकलाई चाहिँ भोकै राख्छौँ।
विक्रम संवत २००७ सालदेखि अपवादबाहेक नित्यनिरन्तर चलिरहेको जीवनदायिनी नदीहरूको गोदान, लाउडा, धमिजा, एलसी, चाइना साउथवेष्ट, क्यान्टोन्मन्ट, यति, ओम्नी, भुटानी शरणार्थी लगायतका काण्डहरूले देखाएका छन् यस देशका औँलामा गन्न सकिने नेताहरू र उच्चपदस्थ कर्मचारीहरू बाँकी लोकलाई चीरकालसम्म शोक, भोक र रोगमा पिल्सिन विवश पार्दै आफू, आफ्ना परिवारजन र प्रियजनहरूको भरणपोषणका लागि पुरै देश निल्न उद्यत देखिएका छन्।
शासकवर्गले संपूर्ण देशलाई बपौती संझी वयं भक्षाम: को नारा चरितार्थ गरिरहेको यस कठिन समयमा बाँकी लोक वयं रक्षाम: को नारामा संगठित भइ समुदाय, समाज र देशको रक्षार्थ उभिन ढिला भइसक्यो, रामको भेष धरेर कुकर्म गर्नेहरूविरुद्ध, ब्रह्मराक्षसहरूविरुद्ध जाग्न ढिला भइसक्यो सृष्टिको पहिलो किरण छरिएको यस दिव्यभूमिमा।
तिब्रगतिमा बदलिँदो वैश्विक परिस्थिति, छिमेकीहरूको बढ्दो प्रभाव, युद्धको त्रासदीबिच भ्रष्टाचार, कुव्यवस्था, अस्थिरताबिच जसोतसो सासमात्रै फेरिरहेको यस देशको प्राणरक्षार्थ तराइ, पहाड र हिमालका नेपाली वयं रक्षाम: को भावनालाई आत्मसात गरी, रामको अमर उद्गार अर्थात् जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठुली हुन् भन्ने गुरूमन्त्रलाई आत्मसात गरी, तराइ, हिमाल, पहाडका हामी नेपाली एकजुट हुन सके यो देश जोगिएला। यस देशका सिमाहरूलाई सिसाकलमका रेखाहरूलाई मेटाउ (eraser) ले मेटाए जसरी मेटाउँदै अघि बढिरहेको आसुरी शक्तिले आफ्नो संसदमा विवादास्पद नक्सा टाँसेर होस् वा चलचित्र-विशेषमार्फत सिता जन्मभूमि सम्बन्धमा विवाद सिर्जना गर्न खोजेर होस् आफ्ना महत्वाकांक्षाहरू स्पष्ट पारेकै छ।
भारतमै पनि रामायणजस्तो शिष्ट भाषामा लेखिएको ग्रन्थमा आधारित भनिएको चलचित्र 'आदिपुरूष'मा हनुमानजस्ता ११ रूद्रमध्येका एक रूद्र, ज्ञानी व्यक्तित्वका मुखबाट 'टपोरी'ले बोल्ने किसिमको संवाद बोल्न लगाइएको, सुनको लंकालाई कालो देखाइएको, चलचित्रकलामा ध्यानै नदिइ, त्रेतायुगको परिवेशको विचारै नगरी हलिवूडको सिको गरी चलचित्र बनाइ खास गरी हिन्दूहरूको भावनामा ठेस पुर्याइएको आक्षेप लागेको छ निर्देशकद्वय ओम् राउत र मनोज मुन्तशीर शुक्लामाथि।
हिमाल, पहाड, तराइका हाम्रा पुर्खाहरूले अनेक दु:ख-कष्ट सहेर नेपाल बनाएका हुन्, जोगाएका हुन्। राष्ट्रको रूपमा हामी सङ्कटमुक्त कहिल्यै थिएनौँ, अहिले त हाम्रो सङ्कट झनै गहिरिएको छ, शासकहरूलाई आफ्ना क्षुद्र स्वार्थहरूको मात्र चिन्ता छ। परचक्रीहरू यस देशलाई आआफ्ना सैन्यगुटमा आवद्ध गराउन वा देशको अस्तित्व नै नामेट पार्न लागिपरेको बेला हामी अर्थात् नेपाली लोक किंकर्तव्यविमूढ देखिएका छौँ। वयं रक्षाम:को मूलमन्त्रले प्रेरित भएर, पुर्खाहरू झैँ एकजुट भएर, अनेक दु:खकष्ट सहेर यस देशको अस्तित्व जोगाउन अनि यसलाई अझ सुदृढ बनाउन सकेछौँ, विश्वबाट लिन भन्दा पनि विश्वलाई दिन सक्ने अवस्थामा पुगेछौँ भने घन्काउँला नि हामी पनि कुनै दिन वसुधैव कुटुम्बकमको नारा।
त्यतिखेर पनि मुखमा रामराम बगलीमा छुरा चाहिँ हुने छैन है हाम्रो।
Comments
Post a Comment