निवीड अन्धकारको राज्यमा गुरूपूर्णिमा
निवीड अन्धकारकाे एकछत्र शासन चलेकाे बेला तारा टिलपिल गरेकाे देख्नु पनि दुर्लभ हुन्छ
(गुरूपूर्णिमाकाे छेक पारेर नयाँ केही लेख्न नसकेकाेले एउटा पुरानाे लेख पुनः प्रकाशित गरेकाे छु, सन्दर्भ मिलाएर पढिदिनुहाेला पाठकगण)
संस्कृत शब्द गुरूको महिमा साँच्चै अपरम्पार छ, सद्गुरूको महिमा जस्तै । संस्कृत–नेपाली शब्दकोशले यस शब्दको १५ थरी परिभाषा दिएको छ । यसैबाट स्पष्ट हुन्छ यो शब्द कति गुरूगम्भीर छ ।
ती पन्ध्रथरी परिभाषा मध्ये एउटाले गुरूलाई अज्ञानको नाश गर्ने व्यक्तिको रूपमा अथ्र्याएको छ, अविद्यारूपी अन्धकार नष्ट गर्ने व्यक्ति भनेको छ ।
इतिहास साक्षी छ, नेपाली समाजले ज्ञानलाई असाध्यै महत्व दिँदै आएको हो । अज्ञानको निविड अन्धकारबाट मुक्त गरेर समाजलाई ज्ञानले प्रकाशित गर्ने व्यक्तिलाई सम्मान गर्ने चलन हामीले विरासतमै पाएका हौँ । दुःखको कुरा हामीले यो गौरव गर्न लायक परम्परालाई कायम गर्न सकिरहेका छैनौँ ।
पश्चिमाहरूले नलेज–बेस्ड सोसाइटी अर्थात् ज्ञानमा आधारित समाजको महिमागान गर्नुभन्दा धेरै अघिदेखि नै हाम्रा अग्रजहरूले ज्ञानप्राप्तिका लागि जस्तोसुकै कष्ट उठाउने गरेका दृष्टान्त बग्रेल्ती छन् । गुरूकुलमै दासझैँ घोटिएर, गुरूका गाइवस्तु चराएर, ज्यान हत्केलामा राखेर, खेतबारीमा काम गरेर बडो दुःखले शिक्षा आर्जन गरेकाहरूको वृत्तान्त हामीमध्ये कतिले पढेकै हौँला । देशमा शिक्षार्जनको उचित अवसर नभएको बेला ‘आटो खाने पाटो’ बेचेरै भए पनि खाइनखाइ काशी, वनारस गएर विद्यार्जन गरेको पुस्ता अझै जीवित छँदैछ । अझैपनि बाबुआमाले दशनंग्रा खियाएर आफ्ना सन्ततिलाई विद्यावारिधिसम्म गराउने गरिरहेकै छन् ।
संभ्रान्तहरूको त कुरै भएन । उनीहरूका लागि त देशविदेशका प्रतिष्ठित विद्यालय, महाविद्यालय अनि विश्वविद्यालयका ढोका सदा खुला छन् ।
ज्ञानआर्जनको गौरवशाली परम्परा भएको हाम्रो समाजले वर्तमानमा भने शिक्षाको स्रोतको अर्थात् शिक्षकको अनि आफूले ज्ञानआर्जन गर्ने शिक्षणसंस्थाको उचित कदर गर्न नसकेको, गर्न नचाहेको अनुभूति हुन्छ । आफूले भनेजति अंक नपाएपछि विश्वविद्यालयका विद्यार्थीले विभागविशेष जलाउने अनि ‘अग्निको कथा’को भावभूमि तयार गर्ने, पुस्तकालय तोडफोड गर्ने, विश्वविद्यालयलाई राजनीतिको केन्द्र बनाइ नेता, गुण्डानायक उत्पादन गर्ने अचम्मको परम्पराको शुरूवात भएको हामीले देखेका छौँ ।
विद्यार्थी त आलाकाँचा भए, तातो रगत उम्लिरहेको बेला आवेशमा आएर गर्नुनगर्नु गरे रे । दुःखको कुरा त तिनलाई बाटो देखाउने दायित्व पाएका शिक्षकहरू पनि ज्ञानले समाजलाई आलोकित गर्नुको सट्टा व्यक्तिगत÷पेशागत स्वार्थपूर्तिमै रुमल्लिइरहेका छन्, दलविशेषको चाकडीमै रुमल्लिइरहेका छन् उच्च प्राज्ञिक पदहरू प्राप्त गर्न, आफ्नो दुनो सोझ्याउन । त्यसै कारणले पनि हो कि प्राचीन ज्ञाननगरी वनारसको भन्दा ठिक उल्टो परम्परा, चालचलन यहाँ हावी भएको ? त्यहाँ गुरूलाई श्रद्धाले ढोगिन्छ, यहाँ गुरूलाई दुत्कारिन्छ, अपहेलित, अपमानित गरिन्छ ।
अर्कोतर्फ अध्यापन भन्दा बढी राजनीति गर्नु, कक्षाकोठामा भन्दा आफ्ना पेशागत स्वार्थपूर्तिका लागि आमरण अनशन बस्नु अध्यापकहरू, प्राध्यापकहरूको आम प्रवृत्ति भएको छ ।
आफ्नो पदको गरिमा कायम गर्न नसकेपछि समाजले किन इज्जत देओस् ?
विश्वविद्यालय, महाविद्यालयको अवस्था यस्तो छ, विद्यालयहरूको अवस्था पनि कम दुःखलाग्दो छैन । निजी विद्यालयहरूको शुल्क वर्षेनी उकालो लाग्यालाग्यै छ, सर्वोच्च अदालतको आदेशले पनि शुल्कवृद्घि रोक्न सकेको छैन, अनुभवी शिक्षकहरूको अभाव खट्किँदो छ, एउटा शैक्षिक वर्षभरि पनि नपढाइ विद्यालय छोड्ने आमप्रवृत्ति छ, शिक्षकमा विज्ञताको अभाव हुँदा, ज्ञानलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने सिप नहुँदा सिकाइ प्रभावकारी हुन सकेको छैन, समग्र शिक्षाको गुणस्तर खस्केको छ ।
विद्यालय संचालकहरूको, अध्यापकहरूको अनि उच्चशिक्षा अध्ययनरत विद्यार्थीहरूको यस्तो प्रवृत्तिले आमजनमा शिक्षाप्रति वितृष्णा जगाउँछ, समाजलाई अधोगतितर्फ लैजान्छ, लगिरहेकै छ ।
‘पढीगुनी के छ काम, हलो जोते मामै माम’ बोलको पुरानो गीत गाउँदै युवापुस्ता लागिरहेको छ मरूभूमिमा खेती गर्न आफ्नो खेतबारी वृद्घ अभिभावकको जिम्मा लगाएर, कक्षाकोठा राजनीति गर्ने शिक्षक अनि विद्यार्थी नेताको जिम्मा लगाएर । अंग्रेजीमा एउटा भनाइ छ इग्नोरेन्स इज अ ब्लिस ह्वेर नलेज इज अ कर्स अर्थात् जहाँ अज्ञानलाई वरदान मानिन्छ त्यहाँ ज्ञान श्रापतुल्य हुन्छ । हाम्रो देश कतै अज्ञान वरदानतुल्य हुने ठाउँ त बन्दै छैन ? बेलैमा सोचौँ ।
ज्ञानको कदर गर्ने विशिष्ट (अवशिष्ट?) परम्परा भएको समाजको यो अधःपतन साँच्चिकै दुःखलाग्दो छ । वर्षको एक दिन गुरूपुजा गरेर मात्रै पतनमा पूर्णविराम लाग्ने छैन, महाभूकम्पपछि ढुंगेयुगतर्फ तिब्रगतिमा चलिरहेका हाम्रा पाइला रोकिने छैनन् ।
Comments
Post a Comment