विजय हासिल गर्छौँ कि यस पटक ?
१. हरेक समाजमा केही अतिप्रतिभाशाली प्रतिभाहरू हुन्छन् । जनघनत्वका दृष्टिले त्यस्ता प्रतिभाहरू हाम्रै समाजमा, हाम्रै देश नेपालमा पो बढी छन् कि ? पंक्तिकारले यस्तो अनुमान किन गरेको हो भने यो देश बडो गजबको छ, अजबको छ । हामीजस्ता प्रतिभाशाली जन्तुहरूका कारण नै यो देश विश्वमै अजबको, गजबको, विशिष्ट मानिएको हो । हामी प्रतिभाशाली पनि कस्ता भने देवकोटालाई घाँस ख्वाउने प्रवृत्तिका, राँची लाने प्रवृत्तिका । उखानै छ निः काशी कश्मीर अजब नेपाल । हामी कस्ता भने आफ्नै देशको सिमा रक्षा गर्न नसक्ने तर बाँकी विश्वमा भने शान्ति कायम गर्ने ठेक्का नै लिने किसिमका । बौद्धिक भनिएकाहरू पनि लाहुरे प्रकृतिकाः कोही उत्तर फर्केका, कोही दक्षिण ढल्केका, कोही पश्चिम फर्केका, टेक्ने जमीन नभएका, समाउने हाँगा नभएका जस्ता । कस्ता भने उनीहरूको नजिक पर्दा नानाथरी विदेशी नोटहरूको गन्ध आउने । अनुहार नेपाली तर पालनपोषण, रसदपानीको व्यवस्था अन्तैबाट हुने गरेको । यस्तो भएपछि विचारमा माटोको सुवास कहाँबाट आओस्? साँच्चै, मनमा देश बसेको छैन भने त बौद्धिकता दलालीबाहेक के नै हुन्छ र ?
यस देशको परिचय कायम राखी अघि बढ्नलाई पनि अझ बढी अजबको, अझ बढी गजबको रहिरहनुपर्ने गुरूतर दायित्व हामीमाथि थपिएको छ, आगामी पुस्ताहरूमा पनि क्रमशः थपिँदै जानेछ । यस्तो दायित्व बहन गर्ने क्रममा हामी फेरि जंगल पस्नुपर्ने, रूखका बोक्रा लगाउनुपर्ने, धनुकाँडले शिकार गर्नुपर्ने, slash and burn खेती प्रणालीमा फर्किनुपर्ने, चकमक र दर्शनढुङ्गा घोटेर आगो पार्नुपर्ने भयो भने पनि अचम्म नमाने हुन्छ । अजबको, गजबको रहिरहनको लागि यति त गर्नैप¥यो, कि कसो ?
यस देशको परिचय कायम राखी अघि बढ्नलाई पनि अझ बढी अजबको, अझ बढी गजबको रहिरहनुपर्ने गुरूतर दायित्व हामीमाथि थपिएको छ
यसै पनि सन् २०१५ को गोरखा महाभूकम्पले गरेको, गर्न सक्ने महाविनाशलाई दृष्टिगत गरी, आफ्नै घरलाई धराप ठान्नुपर्ने बाध्यतामा परी पालमुनि आएकै हौँ, झुपडीमै आएकै हौँ, अरू त अरू स्वयं सिंहदरबार नै टेन्टमुनि बास बस्न गएकै हो । त्यसमाथि विश्वव्यापी कोरोनाभाइरस महामारीले त प्राकृतिक नियमहरूको परिपालन गर, कंक्रिटको जंगललाई प्राकृतिक जंगलको छेवैसम्म नपु¥याऊ नत्र जंगली जनावरहरूको शरीरमा रहेका कतिपय जिवाणु, विषाणु तिमीहरूको शरीरमा प्रवेश गरेर मानवजातिलाई नै सखाप पार्लान् नि भनेजस्तै छ ।
यस्तो अवस्थामा मानव जाति पुनः प्रकृतितर्फ फर्किने क्रम शुरू भयो भने के आश्चर्य भयो र ? यस्तो अवस्थामा ढुङ्गे युग कति नै टाढा पर्छ र ? बरू संसारकै पहिलो ढुङ्गे युगतर्फ अग्रसर देशको परिचय आर्जन गर्नका लागि फटाफट अग्रगामी, गौरवशाली पाइलाहरू चाल्ने कि ?
संसारकै पहिलो ढुङ्गे युगतर्फ अग्रसर देशको परिचय आर्जन गर्नका लागि फटाफट अग्रगामी, गौरवशाली पाइला चाल्ने कि ?
तानाशाह फर्डिन्यान्ड मार्कोसले फिलिपिन्समा विदेशी पर्यटक आफ्नो देशमा ल्याउनका लागि एक किसिमको चटक नै गरेका थिए भन्ने कतै पढेको/सुनेको हो पंक्तिकारले । उनैको योजना अन्तर्गत प्रचार गरियोः फिलिपिन्समा नयाँ किसिमका जनावरहरू फेला परेका छन् । तिनीहरूको चर्तिकला पनि देखाइयो संचार माध्यमहरूमा, पर्यटकहरू पनि आए झूटको पटाक्षेप नहुँदासम्म त ।
वास्तवमा गरिएको के थियो भने मानिसहरूलाई नै जंगली जनावरहरूजस्तो बनाइ, त्यस्तै किसिमका भुत्ला भएका कपडाहरू लगाउन लगाइ, जनावरहरूको चालढाल, आनीबानी सिकाइ पर्यटकहरूलाई मनोरञ्जन दिन जंगलहरूमा छाडिएको थियो ।
मानिसहरूलाई जंगली जनावरहरू जस्तो बनाइ, जनावरहरूको चालढाल, आनीबानी सिकाइ पर्यटकहरूलाई मनोरञ्जन दिन जंगलहरूमा छाडिएको थियो ।
बोक्रे बौद्धिकता प्रदर्शन गर्नुभन्दा, लठैतका कोटाहरूमा सरकारी जागिर, संस्थानको जागिर हात पारेर योग्यतातन्त्रको धाक लगाउनुभन्दा त बरू पर्यटन प्रवद्र्धन गर्नतिर पो लाग्ने हो कि फिलिपिनी शैलीमा ?
विश्वविद्यालयहरूमा भर्ना हुने, बाहुबली बनेर र नेता बनेर समग्र शिक्षा प्रणाली ध्वस्त पार्दै निस्कने, अग्निको कथाका प्रेरणास्रोतहरू जस्ता अतिप्रतिभाशालीहरूलाई बरू यतातिर परिचालन गरे कसो होला ? सरकारले उहाँहरूको बारेमा के सोचेको छ कुन्नि ?
बोक्रे बौद्धिकता प्रदर्शन गर्नुभन्दा, लठैतका कोटाहरूमा सरकारी जागिर, संस्थानको जागिर हात पारेर योग्यतातन्त्रको धाक लगाउनुभन्दा पर्यटन प्रवद्र्धन गर्नतिर लाग्ने कि मार्कोस शैलीमा ?
पंक्तिकारको अतिप्रतिभाशाली महात्म्य अझै सकिएको छैन । वास्तवमा आफ्नो विषयबाहेक अतिप्रतिभाशालीहरूले नजानेको कुनै विषय हुँदैन । तिनीहरू भक्त भानुभक्तमा बालकृष्ण समले उ बेला जुम्लामा आँप फलाएजस्तै अनेक चमत्कार गर्न सक्छन्, यद्यपि ती चटके भने होइनन् । तिनीहरूका अगाडि बडेबडे विद्वानहरू, विज्ञहरू, मनिषीहरू हार खान्छन् । त्यतिखेर बराबिचराहरूको कर्तव्य हुन्छ त्यस्ता प्रतिभाशाली व्यक्तिहरूले भक्तहरूमाझ व्यासासनमा बसेर बडेबडे प्रवचन दिइरहेका बेला हात जोडनु, बेलाबेलामा जयजयकार गर्नु, फूल चढाउनु, होमा हो मिलाउनु, अट्टहासमा अट्टहास थप्नु, नैवेद्य बाँडनु आदि ।
यस्ता प्रतिभाहरूसँग साक्षात्कारको सुअवसर प्राप्त भएको बेला पंक्तिकारचाहिँ आफ्नो समय बर्बाद नगरी बाटो लाग्ने गरेको छ ज्ञानको महासागरमा डुबिने डरले । त्यसै पनि लोटामा समुद्र कसरी अटाउन सक्छ र ?
२. लठैतहरुको, हनुमान, हनुमतीहरूको पूजा हुने समाजमा/देशमा ज्ञानको, विज्ञताको, विद्वताको कदर हुने आशा गर्नुभएको छ भने तपाइँको भविष्य बडो अन्धकारमय छ । जोकको भरमा चलेको देशमा बौद्धिकता चल्दैन । चेतना भया ? भया भने उठ्ने र परिस्थिति सामान्य हुन थालेपछि बाटो लागिहाल्ने कि ? अहिल्यै भने डिभी परेकै छ भने पनि, महाशक्तिराष्ट्रका महाशक्तिशाली राष्ट्रपतिले नै तपाइँ आइदिनुपरो लौन भनेकै छन् भने पनि गुण्टा कसिहाल्नु उपयुक्त नहोला । खाडीको मरूभूमिले बोलाइरहेको छ नै भने पनि त्यतैतिर लाग्नु पनि बुद्धिमानी नहोला । यसबेला बरू नाट्यसम्राटकै भाषामा ‘चुत्थै देश भए पनि’ यहीँ बसिरहनु ठिक हुन्छ । यहाँनेर थपिहालूँः शासन व्यवस्था तुच्छ हुन सक्छ, त्यसलाई हाँक्ने व्यक्ति चुत्थो हुन सक्छ तर स्वदेश त महान हुन्छ । आलोचना व्यवस्था हाँक्ने व्यक्तिहरूको हुनुपर्ने हो तर यहाँका धेरै टोले ‘बौद्धिकहरू’ले समेत देशलाई गाली गरेर बोक्रे बौद्धिकता प्रदर्शन गरेको देखिन्छ ।
शासन व्यवस्था तुच्छ हुन सक्छ, त्यसलाई हाँक्ने व्यक्ति चुत्थो हुन सक्छ तर स्वदेश त महान हुन्छ । यहाँका धेरै टोले ‘बौद्धिकहरू’ले समेत देशलाई गाली गरेर बोक्रे बौद्धिकता प्रदर्शन गरेको देखिन्छ ।
फेरि शासकहरूलाई गाली गर्नु अघि ऐनामा आआफ्नो अनुहार पनि हेर्ने हो कि निर्वाचित गरेको तपाइँ हामीले नै होरहोइन पक्का गर्नलाई ? बरू अर्कोपटक केही छाक मासु–भात–पेय पदार्थ, ठेक्कापट्टा, लोभलाग्दो सरकारी जागिर आदिको प्रलोभनमा पर्नुभन्दा भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारी, राष्ट्रिय सार्वभौमिकताको रक्षा, कानूनी राज्यको प्रत्याभूतिको माग गर्ने ? अमूल्य मत लिलाम बढाबढमा बेचेर तिनै पुराना, असफल पात्रहरूलाई जिम्मा लगाएर कर्तव्य निर्वाह गरेको स्वाँग पार्ने छुट कसैलाई पनि छैन, हुनु हुँदैन ।
आरडिटीको भर छैन, पिसिआर सर्वसुलभ छैन, कतिपय बराबिचरा चिकित्साकर्मीहरू व्यक्तिगत सुरक्षा कवचको अभाव खेपेरै भए पनि कोरोनाभाइरसविरूद्ध लडिरहेका छन् १८ औँ शताब्दीमा घरभित्रकै भेदीको सहयोगले अंग्रेजले पानीको आपूर्तिसमेत अवरूद्ध गरिदिएको अवस्थामा पनि भोकतिर्खाले ग्रस्त नेपाली सैनिक तथा आमनागरिकहरू खुकुरीको भरमा त्यसबेलाका आधुनिक हतियारले युक्त अंग्रेज सैनिकविरूद्ध बहादुरीपूर्वक लडेजस्तै लडिरहनुभएको छ ।
हामीहरूमध्ये धेरैजसो सँग बेसार पानी घुटकाउनु, हाछ्युँ गरेर भाइरस फ्याँक्दिनु, थला नपरेसम्म त्यस ‘राक्षस’ सँग लड्नुबाहेक विकल्पहरू नै के छन् र ?
विश्व स्वास्थ्य संगठनले हावाबाट समेत कोरानाभाइरस सर्न सक्ने घोषणा गरेको परिप्रेक्ष्यमा, आन्तरिक मतभेदहरू र विदेशी स्वार्थका कारण धरापमा परेको सरकार आफ्नै अस्तित्व रक्षामा व्यस्त रहेको बेला हामीहरूमध्ये धेरैजसो सँग बेसार पानी घुटकाउनु, हाछ्युँ गरेर भाइरस फ्याँक्दिनु, थला नपरेसम्म त्यस ‘राक्षस’ सँग लड्नुबाहेक विकल्पहरू नै के छन् र ?
जुलियस सिजरले लन्दन आक्रमण गर्नु अघि सैनिकहरू ओसार्न प्रयोग गरिएका सबै बेडाहरू नष्ट गर्न लगाएका थिए रे । उनको विश्वास थियोः भाग्ने विकल्प उपलब्ध नभएको अवस्थामा सैनिकहरूले कुनै कसर नराखी युद्ध लड्नेछन् । आखिर भयो पनि त्यस्तै अनि सिजर लन्दन कब्जा गर्न सफल भए ।
यतिखेर हामीसँग पनि भाग्ने विकल्प छैन । संसारभरका रोजगार बजारहरू बन्द जस्तै छन्, कतिसम्म भने थ्रि डी (डर्टी, डिफिकल्ट, डेन्जरस) प्रकृतिका रोजगारीका अवसरहरू समेत उपलब्ध छैनन् । सरकार आफै विपदको भुमरीमा फँसेको जस्तो छ ।
कोरोनाभाइरस जस्तो अदृश्य शत्रुसँग जय गोरखकालीको गगनभेदी नारा लगाउँदै, ३३ कोटी देवताको आवाहन गर्दै रोग प्रतिरोधी क्षमता जगाइ लडनुबाहेक अर्को विकल्प छैन ।
यस्तो अवस्थामा कोरोनाभाइरस जस्तो अदृश्य शत्रुसँग जय गोरखकालीको गगनभेदी नारा लगाउँदै, ३३ कोटी देवताको आवाहन गर्दै हाम्राभित्र रहेको वा रहेको विश्वास गरिएको अप्रतीम रोग प्रतिरोधी क्षमता जगाइ लडनुबाहेक अर्को विकल्प छैन । भाग्ने विकल्प उपलब्ध नभएको यस युद्धमा सिजरले जस्तै हामीले पनि विजय प्राप्त गर्छौँ कि ?
देवेन्द्र गौतम
Comments
Post a Comment