यहाँको सेनाले छिमेकी, दाइ सेनाको प्रमुखलाई मानार्थ जर्नेल मानी सलाम ठोक्छ ।
हुन त हाम्रो सेना प्रमुख पनि दाइ सेनाका मानार्थ जनरल हुन तर के यथार्थमा एउटा ठुलो सेना र सानो सेनाको हैसियत समान हुन्छ जति नै sovereign equality को गफ छाँटे पनि ? कदापि हुँदैन, हुन सक्तैन ।
अनेक थरी राजनीतिक परिवर्तन, अझ क्रान्ति पछि पनि विशेष सम्बन्धका नाममा असमान सम्बन्धको यो भारी हामीले कहिलेसम्म बोक्नु पर्ने हो ? के हाम्रा भाग्यविधाताहरू बताउन सक्नुहुन्छ ?
शाहतन्त्र समेत इतिहास भइसकेको अवस्थामा, अनेकानेक परम्पराहरू, रितिथितिहरू हामीले पोलिखाएको अवस्थामा पशुपतिनाथमा दक्षिण भारतीय भट्टतन्त्र चाहिँ किन कायम रहिरहनुपर्ने हो ? संघीय कर्मनिरपेक्ष गणतन्त्रका हर्ताकर्ताहरूसँग चित्तबुझ्दो उत्तर छ कि ?
लैनचौरको उपसचिव/सहसचिवस्तरको कारिन्दा कुर्ता पजामामा सजिएर चप्पल फटकार्दै यस सार्वभौम देशको सर्वाेच्च जननिर्वाचित प्रतिनिधि अर्थात् प्रधानमन्त्रीलाई भेट्न रातबिरात उनको शयनकक्षमै पुग्छ । के उनका नेपाली समकक्षीले आफ्नो कार्यकालमा एक पटक मात्रै पनि उक्त छिमेकी देशका प्रधानमन्त्रीको त कुरै छाडिदिऊँ के विदेशमन्त्रीलाई सम्म पनि भेट्न सक्छन् ?
यसै गरी छिमेकी देशको मूलतः राज्यसंरक्षित आपराधिक चरित्रको गुप्तचर निकायको प्रमुख अकस्मात यस सार्वभौम देशको सरकार प्रमुखलाई अकस्मात भेट्न आउँछ । रातिदेखि मध्यरातिसम्म चलेको उक्त अति गोप्य भेटघाटमा कुन कुन विषयमा कुरा भए, केही पनि बाहिर आउँदैन ।
सरकारका प्रवक्तालाई अनेकानेक विषयमा धाराप्रवाह पटरपटर गर्न आउँछ तर यस्तो महत्वपूर्ण, गुपचुप भएको भेटघाट –– देश चरम संकटमा फँसेको बेला यस्तै यस्तै गोप्य भेटहरूमा नेपाल र नेपालीलाई पुस्तौँपुस्तासम्म असर पार्ने किसिमका दुरभिसन्धिहरू हुने गरेको इतिहास साक्षी छ –– बारे नेपालीजनलाई सही सूचना प्रवाह गर्नुपर्छ भन्ने दायित्वबोध सम्म हुँदैन ।
यस गुपचुप भेटघाटबारे बजारमा नानाथरी हल्ला चल्छन्, राजनीतिक पण्डितहरू, उपबुज्रुकहरू कुर्लिन्छन् तर सरकार सधै झैँ ‘बोलबोल मछली मुखभरी पानी’ मुद्रामा रहिरहन्छ, रहिरहन अभिशप्त छ किन ?
हाम्रा कतिपय तथाकथित राष्ट्रसेवकहरूको पेट हामीले खाइनखाइ बुझाएको करले मात्रै भरिँदैन, सरसुविधाको जोहो गर्न त त्यति तलबले पुग्ने कुरै भएन । त्यसैले खासगरी कतिपय विश्वासपात्रहरू लैनचौरको भत्ता थाप्छन् छिमेकीको ताबेदारी गरे वापत् अनि आफ्ना छोरानातिहरूलाई छात्रवृत्ति दिलाउन देशहितविरूद्ध संझौता गर्छन् भनिन्छ । तिनका राजनीतिक मालिकहरूको त के कुरा भयो र ?
सत्ताका लागि, शक्तिका लागि, प्रभुभक्तिका लागि तिनीहरूले उपहारमा दिएका हाम्रा जीवनदायिनी नदीनालाहरूको फेहरिस्त लामो छ, अझ लामो हुँदैछ ।
शक्तिमा रहिरहन पाउनुपर्यो, कोशी, गण्डकी, कर्णाली, महाकाली, राप्ती, अरूण, तल्लो अरूण, डण्डा खोलादेखि धोबीखोलासम्म जे जति पानीका स्रोतहरू छन्, ती सबै उपहारमा दिन सकिन्छ । अहिले त कस्तो अवस्था छ भने संसदको स्वीकृति नलिइकनै छिमेकका प्रिय नेताहरूलाई जन्मदिनको उपहारस्वरूप एक एक गरी सुम्पिन सकिन्छ ।
सत्तामा रहिरहन पाउने शर्तमा विदेशी सेनालाई नेपालभित्र क्याम्प बनाउन दिएर राष्ट्रिय स्वाधीनताको चीरहरण भएको टुलुटलु हेरिबस्न सकिन्छ । फेरि यस्तो कार्य गर्न निरंकुश, प्रतिगामी राजनीतिक नेतृत्व चाहिँदैन, एकदमै प्रजातान्त्रिक, मानवाधिकार र प्रजातन्त्रका लागि दशकौँ कारावासमा बिताएको विलक्षण स्वप्नद्रष्टा तथाकथित जननायक/युगनायक नै चाहिन्छ ।
यतिविधि कुकर्म/दुष्कर्म गरिसकेपछि जनस्तरमा देशभक्तिको भावना कायम राखिराख्न, देशभक्तिको खाँडो जगाइराख्न बेलाबेलामा केही सस्ता खाले सडक नाटकहरू मंचन गरिराख्नु भने पर्छ ।
जस्तै दशकौँदेखि ठुल्दाइले कब्जा गरिराखेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई नेपालको नक्सामा समावेश गरेजस्तो गर्ने । तर उक्त भूभाग समावेश गरिएको नेपालको राजनीतिक नक्सा प्रचलनमा नल्याउने, पाठ्यपुस्तकमा समावेश नगर्ने ।
आफैले देश तल पर्ने संझौता गर्ने तर आफ्नै दलका युवादस्ताहरूलाई तिनै सन्धि–संझौताविरूद्ध सडक नाटक मंचनका लागि परिचालित गर्ने । सिताराम टाइपका रथयात्रा निकाल्ने तर छिमेकीले निरन्तर नेपाली भूमि मिचिरहँदा समेत, सिमांचलका नेपालीहरूमाथि लाठी बर्साउँदा, गोली चलाउँदासमेत चूँसम्म नबोल्ने ।
सार्वजनिक खपतका लागि देशभक्तिको नारा उराल्ने तर देशहितमा सिन्कोसम्म नभाँच्ने । बरू सत्तामा, शक्तिमा रहिरहन अँध्यारा कोठाहरूमा, संदिग्ध पात्रहरूसँग नानाथरी प्रतिबद्धता गर्ने, देश र जनताविरूद्ध संझौता गर्ने अनि देशलाई र पुस्तौँपुस्तासम्म नेपालीजनलाई ‘अन्धयुग’ उपहारमा दिने ।
कोरोनाकहरले पीडित नेपालमा यसै समयमा ठुल्दाइको तिनै सेना –– जल, स्थल र वायु सेना –– संहालेका अति शक्तिशालाी जनरल आउँदैछन् । चारण, भाटहरूले भनेजस्तो तिर्थयात्रा गर्नका लागि मात्रै ती जनरल पक्कै नेपाल आउँदै छैनन्, भूराजनीति, भूरणनीति त हामी नेपालीले पनि बुझेका छौँ ।
चिन–भारत सम्बन्ध तनावपूर्ण रहेको, विश्वको एकल महाशक्ति आर्थिक, राजनीतिक, सैनिक वर्चस्व तथा एकछत्र राज गुम्ने देखि अत्यन्त चिन्तित रहेको अनि नेपालको संसद सहस्राब्दि चुनौति संझौता पारित गर्न दबावमा रहेको बेला जनरल विपिन रावतको भ्रमणको पूर्वसन्ध्यामा र भ्रमणका बेला कस्तो प्रकारको खिचडी पाकिरहेको होला, पाक्ने होला ? कोरोनाभाइरस नियन्त्रणका नाममा जारी गरिएको निषेधात्मक आदेशको गलत फाइदा उठाउँदै कतै नेपाल र नेपालीविरूद्ध अर्को गंभीर षडयन्त्र रचिँदै त छैन ?
सार्वभौम नेपाली नागरिकलाई जान्न पाउने अधिकार छ ।
तर के गर्ने ? बिग्रेको रेडियो झैँ बोलेर नथाक्ने सरकार यस गंभीर विषयमा मौन छ ।
यो मौनता सरकारको (खासगरी सरकार प्रमुखको) नियमित बकबक भन्दा कति हो कति अर्थपूर्ण छ ।
Please watch my SoftTech videos too: https://www.youtube.com/watch?v=gaOjzWOCscE
https://www.youtube.com/watch?v=R1X85R3Tyr0&t=538s
https://www.youtube.com/watch?v=hyyoMw6XBRk&t=574s
Comments
Post a Comment