कर्कलाको पातमा अडिएको जीवन

आज कर्कलाको पातमा बडो असजिलो गरी अडिएका पानीका थोपहरूबारे थोरै लेख्दैछु |

के तपाईंका पाइलाहरूले कहिल्यै झमझम पानी परेको रातपछिको ओसिलो बिहान निथ्रुक्कै भिजेको जमीन टेकेका छन् ? आँखाहरूले बादल निख्रिएर धर्ति भिज्दा कर्कलाको पातहरूमा कसै गरी अडिन सकेका पानीका थोपाहरू भेटेका छन् ? के ती पातहरूमा अडिएका मोतीका दानाजस्ता पानीका थोपाहरूले तपाईंको मन-मुटु झंकृत भएको छ ? के तपाईंहरूलाई व्यर्थ लाग्ने यस्ता दृश्यहरूमा भुलेर समय खेर फाल्ने फुर्सद छ ? छैन कि ? तपाईंहरूलाई फुर्सद होला नहोला, मलाइ भने छ | 

'देश बनाउने' किसिमका ठुलाठुला ठेक्का, किरोड़ीमलहरूले गर्ने किसिमको व्यापार-व्यवसाय, वृत्तिविकासको मुसेदौड वा राजनीतिको छिनाझपटीबाट धेरै टाढा रहेकाहरूलाई यस्तै दृश्यहरू मोहक लाग्छन् शायद | त्यसैले त म घरको छतमा राखिएका क्यरीहरूमा हुर्कँदै गरेका कर्कलाका पातहरूमा अडिएका पानीका थोपाहरूमा अप्रतीम सौन्दर्य देख्छु | के मानिसले यसभन्दा सुन्दर कलाकृति रचना गर्न सक्छ ?

यहाँहरूमध्ये कतिपयलाई सौन्दर्यका छटाहरू हेर्न प्यारिस, लण्डन, ब्यांकक, रोम, मनाली वा अमेज़नको जंगलनै पुग्नुपर्छ कि ? पक्तिकारजस्ता मध्यमवर्गीय 'लेखंदासहरू'लाई त्यस्तो केहि गर्नुपर्दैन | उनीहरूलाई सौन्दर्यपान गर्न घरको छतमा उक्लिने पाउकष्ट गरे पुग्छ | चाहिन्छ त अलिकति जाँगर अनि समय | 

मलाइ हरेक दिन कंक्रिटको बाक्लो जंगलभन्दा थोरै पर, ध्यानस्थ भइ बसेको सधै हरियो रहने नागार्जुन पहाड हेरेर भावविभोर, आत्मविभोर हुन प्रशस्त समय छ | हरेक बिहान चियासँग बादल र पहाडको प्रेमालाप हेरेर आनन्दित हुन पर्याप्त समय छ | बादलहरू चलायमान छन्, म पहाडजस्तै अवकाशप्राप्त छु अचेल | 

जीवनमा मसँग खुशी हुनुपर्ने थुप्रै कारणहरू छन् | म छु | पहाडहरू छन् | जंगलहरू छन् | बादलका रंगीबिरंगी बुट्टाहरू छन् |जून-ताराहरू छन् | नदीनालाहरू छन् | सौन्दर्यका अनेकानेक छटाहरू छन् | ज्यादै खुसीको कुरा त के भने निश्चित भौतिक दूरीमा रहेर यी छटाहरूको सौन्दर्यपान गर्नका लागि सरकारलाई कुनै किसिमको कर बुझाउन पर्दैन | दक्षिण एशियाकै सबैभन्दा बोझिलो करको भारी बोकिरहेका हामीहरूलाई यो कम्ता खुशीको विषय होइन | 

ज्यादै ज्यादै ज्यादै खुशीको कुरा थप्छु है त: यतिखेर मसँग यी सबै छटाहरूको सौन्दर्यपान गर्न पर्याप्त समय छ | 

कम्तीमा मलाइ चाहिं यस्तो लाग्छ | 

तर के थाहा ? भोलि मेरो आँखा अगाडिको सुन्दर पहाडमा पनि यति पस्न सक्छ | ओम्नी पस्न सक्छ | कुरूप रिसोर्टरूपी कंक्रिटको जंगलको बिस्तार हुन सक्छ प्रकृतिकै काख विरूप पार्ने गरी | त्यहाँ अनेक थरि आस्थाका केन्द्रहरू उभिन सक्छन् |  

देशलाई खाली माटो, ढुँगा, बालुवा, काठ, दार लगायतका निर्माण सामग्रीहरूको थुप्रो ठान्नेहरूले यी पहाडरूलाई बेचिदिए भने नि ? म मेरा आँखा अगाडि प्रकृति खण्डहर भएको कसरि देख्न सक्छु ? तर अनमोल मणिहरू कौडीको भाउमा बिक्ने जुन राजनीतिक प्रणाली हामीले 'ठुला दु:ख'ले आर्ज्याका छौँ, त्यहाँ यो सबै नहोला भन्न सकिन्न | त्यसो भए गर्ने के त ? अहिले बाटो भेटिरहेको छैन, त्यसैले कर्कलाको पातमा अडिएक जीवनका थोपाहरू - पानीको अर्को नाम जीवन हो - तर्फ फर्किन्छु |  किनभने म पानीका थोपाहरूको सौन्दर्यले वशिभूत भएको छु | 

जन किट्सले लेखेका छन् नि : A thing of beauty is a joy forever. पानीका अप्रतीम सौन्दर्ययुक्त थोपाहरूले मलाइ अर्को कुरूप कुरा पनि सम्झाउँछन् | त्यो हो जीवनको क्षणभंगुरता | ती थोपाहरूजस्तै जीवनलाई पनि हावाको एक झोंका त हो चाहिने बज्रिएर टुक्राटुक्रा हुन |
कर्कलाका निधारमा उम्रिएका जस्ता लाग्ने ती सुन्दर थोपाहरू हेर्दै मा जीवनको गीत गुनगुनाउँछु, झस्किन्छु र संहालिन खोज्छु: 

रात्रिर्गमिष्यति भविष्यति सुप्रभातम्
भास्वानुदेष्यति हसिष्यति पङ्कजश्रीः ।
इत्थं विचिन्तयति कोशगते द्विरेफे
हा हन्त हन्त नलिनीं गज उज्जहार ॥

अर्थ: रात बित्नेछ, बिहान हुनेछ | सूर्य उदाउनेछन्, कमल फक्रिनेछ अनि म बाहिर निस्कनेछु | यस्तै सोचेर भमरो कमलको फूलभित्र प्रवेश गरेको थियो | तर बिहान हुन नपाउँदै त्यस फूललाई हात्तीले खाइदियो, भमराको इहलीला समाप्त भयो | साँच्चै यहि अनिश्चय, यहि क्षणभंगुरतामा त लुकेको छ नि जीवनको सम्पूर्ण सौन्दर्य, होइन र ?

- देवेन्द्र गौतम

Comments

Popular posts from this blog

जाजरकोट भूकम्प, हजुरआमाका सिलोक र राउन्नेको पाप

Welcome to the countryside: This is not a one-horse town!

The Year of the Yeti