देश खाने कथा - भाग १

यति मीठो संगीत त नानाथरी विदेशी मुद्राहरूको खनखन नै हुनुपर्छ

साला पहाड में क्या है ?
पूर्वसरकारवालाहरूलाई लाग्यो: पहाडहरू प्रभुलाई अर्पेर उऋण हुने, केहि बचत भएछ भने चुनावलाई भरथेग हुन्छ
तिर्न त खोज्नुभएकै हो नि उहाँहरूले महाकाली, माथिल्लो कर्णाली, अरूण तेस्रो , तल्लो अरूजस्ता जीवनदायिनी नदीहरू सार्वभौम संसदलाई छलेर दान दिनुभएकै थियो । तर त्यतिले पुगेन भन्ने खबर आयो पारिबाट शायद । अनि चढाउनुपरेन त अविकासका प्रतीक, यथास्थितिका प्रतीक, प्रतिगमनका प्रतीक दम्भी पहाडहरूलाई प्रभुका चरणकमलमा ?
यसो गर्दा पहाडहरू विकासको क्रममा हुने विनाशलीलाबाट जोगिएका छन् । हाम्रोमा भने यात्राका क्रममा यौटै पहाडको कैयौँ पटक 'कैलाश प्रदक्षिणा' गर्नुपर्ने बाध्यता छँदैछ
रूखबाटै रूखको शत्रु ऐजेरू उत्पन्न हुन्छ भने पहाडको छातिबाटै पहाडविरोधी शक्ति जन्मिनु कुन आश्चर्य भो र ? जिउँदाजाग्दा उदाहरण त हाम्रा नानाथरी नेताहरू नै छन् । यस पहाडविरोधी भावनाको जड हो: पहाडहरूले नेपालको विकासमा बाधा पुर्याएका छन् भन्ने गलत धारणा
हाम्रा विकाससम्बन्धी धारणाहरू असाध्यै त्रुटिपूर्ण छन् । सडक निर्माणलाई मात्रै विकासको पर्यायवाची मान्छौँ हामी धेरैजसो गाउँपालिकाका अध्यक्षहरू डोजर मालिक छन् , उनीहरू डोजराध्यक्ष्यका नामले लोकमा 'सुप्रसिद्ध 'छन्
पहाडका कुनाकाप्चामा बाटो पुग्नु मात्रै विकास होइन । यदि त्यसैलाई विकास मान्ने हो भने त नेपालले विकासमा छलांग मारिसकेको छ पहाडहरूको कमजोर, अस्थिर भूबनोटको ख्यालै नगरी जता पायो त्यतैबाट बाटो लगेर सरकारहरू मालामाल भएका छन् , डोजराध्यक्ष्यहरू मालामाल भएका छन् , ठेकेदारहरू मालामाल भएका छन्, योजनाविद्हरू मालामाल भएका छन्, नेताज्यूहरू नवकुबेर भएका छन् जथाभावी बाटो खोल्दा कमजोर भूबनोट भएका पहाडहरू झन् अस्थिर हुँदै गएका छन्, भूक्षय, पहिरोका घटनाहरू बढ्दै गएका छन्, पानीका मूलहरू पुरिन गइ गाउँघरमा खानेपानीको अभाव हुन थालेको छ, रैतीहरूको बहिखातामा दुक्खको खात बढ्दै गएको
बोलबोल मछली मुखभरी पानीको अवस्था छ । बोले ठाडै विकासविरोधी भइहालिन्छ, अनि गर्ने के ?
पहाडहरूलाई बालुवा, ढुँगा, माटो, काठ आदि निर्माण सामग्रीहरूको थुप्रो मात्र ठान्ने पहाडको छाती फोरी निस्केका उच्चपदस्थ देशद्वेषी सन्ततिहरूबाट वातारणमैत्री दिगो विकासको आश गर्दा निराशा मात्रै हात लाग्ला कि ?
नयाँ सरकारबाट पहाडका घाउमा मलहम लगाउने काम होला त ?

हुन त यस सरकारका पनि थुप्रै बाध्यताहरू होलान् । आम्दानीका स्रोतहरू सीमित होलान्, खाने मुखहरू प्रशस्तै होलान् विकास निर्माणमा ठुलो योगदान गर्न आतुर ठेकेदारहरू होलान् । असाध्यै विकासप्रेमी डोजराध्यक्षहरू होलान्, विकासका लागि मरिमेट्ने युवा तथा वृद्ध नेता तथा कार्यकर्ताहरू होलान्
उनीहरूलाई निराश पार्न 'राजधर्म'ले दिंदैन , के गर्ने ?
फेरि यस सरकारका तालुकवालाहरूले पनि जोगी हुनलाई राजनीति गरेको त होइन नि, कि कसो ?

लाहुरेसँगको लामो उठबस अनि अच्छा लेकिन सुन्दा सुन्दा हिन्दी बुझ्ने र बोल्न पनि जान्ने भैसकेको भए पहाडले मनमनै भन्यो होला: बहुत कुछ है साले मेरे अन्द

मिन बहादुर विष्टको प्रसिद्ध कविताको प्रत्युत्तरमा पहाडले मनमनै बोलेको एक लाइनले के पी शर्मा ओली सरकारलाई ज्यादै प्रभावित पारेछ कि क्या हो ?

पहाडका आँत फोरेर निस्कने नदी, खोलाहरूका किनारैकिनार हिंडदा तिर्खा लागेर पानी पिउन निहुरिंदा पहाडको फेंदीमा नानाथरी मुद्राहरूको खनखनजस्तो सुनिन्छ । पंक्तिकारलाई पहिला पहिला त छालहरू ढुँगामा ठोकिंदा संगीत उत्पन्न भएजस्तो लाग्थ्यो । केश फुल्दै गएपछि चाहिं त्यो संगीत झन् सुमधुर लाग्न थालेको छ । कविशिरोमणि लेखनाथ पौड्यालकै भाकामा 'त ' वर्गका अन्तिम २ वर्णको महत्व अलि ढिलै भए पनि जान्न सक्ने भएपछि म आफैलाई संझाउन थालेको छु : यति मीठो संगीत त नानाथरी विदेशी मुद्राहरूको खनखन नै हुनुपर्छ

निर्जीव ढुङ्गाहरूमा पानीका छालहरू ठोकिँदा यति मीठो धुन सिर्जना हुनु असंभव लाग्न थालेको छ । कतै मेरो हृदय वातावरणीय अत्याचारका कारण मरूस्थल हुँदै गएका पहाडहरू झैं हुँदै गएको पो हो कि ?

ललिता निवास काण्डका एक 'नायक' अर्थात् तत्कालीन अर्थमन्त्रीलाई पहाडका कन्दराहरूबाट निस्कने त्यस खनखनले निदाउनै दिएनछ क्यारे । अनि उहाँले विलम्ब नगरी ल्याइहाल्नुभो ओली सरकारको बजेट तथा नीति तथा कार्यक्रममार्फत् चुरेदेखि सिद्धबाबासम्मका पहाडहरूको उत्खनन गरी देशलाई 'सिंगापुर' बनाउने 'महत्वाकांक्षी' योजना । यसमा सन्ततिका लागि कमाइदिनुपर्ने बाध्यता नभएका , 'नाफाको जिंदगी बाँचिरहेका' सरकार प्रमुखको स्वीकृति नहुने कुरै भएन आखिर आफ्ना सेनामेना पनि संतानसरह नै त हुन , बाबा भन्छन् , ठेक्कापट्टा मिलाइदिनै पर्यो

अर्को निर्वाचनका लागि खर्चवर्च पनि त जुटाउनुपरो, कि कसो ? जोगी हुनलाई जेलनेल सहेर राजनीति गरेको पनि त होइन नि, होइन ? फेरि आफै हरिकंगाल भए सुखी नेपाल, संवृद्ध नेपालीको नारा कसरी सार्थक होला र ?

उहाँहरूको योजना त पक्कै पनि नेपालका पहाडहरूलाई कौडीका भाउमा बेचेर सीमापारि कयौँ सिंगापुरहरू बनाउने प्यारो छिमेकीको योजनामा सहयोग पुर्याउने नै थियो । योजना त सीमापारि बाँध, तटबन्ध, बराज र अग्ला सडकहरू बनाउन दिइ यता आफ्नै नागरिकहरूको उठिबास लगाउने नै थियो

किन त्यसो गर्नुपरेको भन्नुहोला । साहु अर्थात् प्रभुको खाएपछि ब्याजसहित तिर्नु परेन ? संघर्षकालमा र त्यसपछि प्रभुको जेजति खाइएको छ, देश र देशवासीविरुद्ध जेजस्ता दुरभिसन्धि गरिएको छ, त्यसवापत हिसाब चुकाउन त पर्यो नि, होइन र ?

खान पनि कति खानुभएको रहेछ उधारोमा ,'देश र जनता का ' लागि लडने क्रममा ?

अहिले सोचिल्याउँदा लाग्छ खान पनि कति खानुभएको रहेछ उधारोमा ,'देश र जनता का ' लागि लडने क्रममा ?

जे होस्, उधारोमा खाएपछि जसरी पनि चुक्ता गर्नु नै थियो । दान दिनलाई नदी, खोलाहरू बाँकी थिएनन्, अब परेन फसाद ?

केहीबेर सोचेपछि उहाँहरूको मस्तिष्कमा उत्कृष्ट विचार फुर्यो सोच्नुभो विकासविरोधी , घमण्डले आकाश छुन खोज्ने अनि हामीहरू अर्थात् ढुंगे युगतर्फ गौरवशाली पाइला चालिरहेको आधुनिक गणतन्त्रका इन्द्रहरूको सधैँ मानमर्दन गर्ने , मान्छे नगन्ने, आउँदा जाँदा कहिल्ये झुकेर सलाम नगर्ने यी पहाडहरू प्रभुलाई अर्पेर उऋण हुने । केहि बचत भएछ भने राम्रै भो, चुनावलाई भरथेग हुन्छ

त्यसो त निवर्तमान सरकारलाई मात्रै पहाडहरू बिझेका होइनन् । वास्तवमा परापूर्वकालदेखि नै नानाथरी शासकहरूका आँखामा पहाडहरू बिझेको बिझ्यै छन्

'रघुवंशम्' मा महाकवि कालिदास लेख्छन्: परापूर्वकालमा पहाडहरूका पखेटा हुन्थे । ती उडदा सूर्यको गति नै अवरुद्ध हुन्थ्यो

पहाडहरूको यस्तो चालाले अति कुपित देवराज इन्द्रले पहाडका पखेटा काटिदिए । त्यहि बेलादेखि पहाडहरू स्थिर भइ बसेका रे

पहाडहरूको यो स्थिरता, गर्वले आकाश छुन खोज्ने उन्नत शिर नै पनि नवगणतन्त्रका इन्द्रहरूका आँखामा असाध्यै बिझाएको । त्यसैले उनीहरू देवराज इन्द्रले जस्तै पहाडहरूको पुन: मानमर्दन गर्न चाहन्छन् । उत्खननका नाममा पहाडहरूलाई खण्डहरमा परिणत गर्दा प्रभुको ऋण तिरिन्छ, आफ्ना क्रशर उद्योग संचालक तथा निर्माण सामग्री आपूर्तिकर्ता ठेकेदार कार्यकर्ताहरूले चुनाव खर्च पनि उठाइदिन्छन् भने त अति उत्तम भैगो नि

यहाँनिर उल्लेख गरिहालूँ: कतिपय महान आत्माहरूलाई पहाडका दाजुहरू अर्थात् हिमालयहरूको महानता अझ बढी बिझ्छ । हामीहरूमध्ये कतिपयलाई जस्तो टाढाबाटै पर्वतराजहरू हेरेर मन्त्रमुग्ध हुँदै २-४ पंक्ति कोरेर पुग्दैन उहाँहरूलाई । बरू यी उच्च पर्वत्मलाहरूलाई त आफ्ना पौरखहरूको कीर्तिस्तम्भ बनाउनु पर्छ , तब न जीवन सार्थक हुन्छ

उहाँहरूलाई लाग्छः यी जो ८००० फिट वा सोभन्दा अग्ला पहाडहरू उभिएका छन्, तिनले हाम्रो महानतालाई चुनौति दिइरहेका छन्, त्यसैले आफ्नै पौरखले वा शेर्पाको बुईं चढेरै भएपनि तिनीहरूका शिरमा हाम्रो महानताको झण्डा गाडनैपर्छ

प्राचीन साहित्यहरूले हिमालहरूलाई रत्नागार अर्थात् रत्नहरूको खानी भनेका छन् । हिमालय पर्वतका भाइहरू अर्थात् पहाडरू पनि खनिजहरूका खानी नै हुन् । हाम्रो छिमेकी चिनले पृथ्वीमा बिरलै पाइने धातुहरू (Rare Earths) उत्खनन तथा प्रशोधन गरेर विदेश निर्यात गरी अरबौँ कमाउँछ । हामी हाम्रा पहाडहरू कौडीका भाउमा 'बेचेर' वातावरणीय विनाश निम्त्याउँछौँ, हरितन्नम हुन्छौँ

त्यसो त पहाडरूलाई संवृद्धिको स्रोत मान्ने देशहरू पनि थुप्रै छन् । छिमेकी देश भारत, चिन स्विजरल्याण्ड, फ्रान्स, अष्ट्रीया, इटली, संयुक्त राज्य अमेरिका लगायतका देशहरूले पहाडहरूको संरक्षण गरेर, तिनलाई पर्यटकीय आकर्षणको रूपमा विकास गरेर प्रशस्तै कमाएका छन्

चिन र अन्य कतिपय देशहरूले पहाडहरूलाई सग्लो राखी, मुनिबाट सुरुङ खनी वा viaducts हरू मार्फत् सडकखण्डहरू जोड्ने गरेका छन्

ज्ञान रूने, विज्ञान छाती पिटेर रूने, गरिबी हाँस्ने देश हाम्रै हो, अन्त कतै खोज्न जाने पर्दैन

पहाडहरूको संरक्षण गर्न नसक्ता हामी अर्थात् कुनै बेलाको अति संवृद्ध देश अहिले ज्ञान रूने, विज्ञान रूने अनि गरिबी हाँस्ने देश भएका छौँ । यति ठुलो उपलब्धि हासिल गर्नका लागि हामीले ठुला दुख खेपेका छौँ, त्यसैले गर्व गर्न सिकौँ

 

 

Comments

Popular posts from this blog

जाजरकोट भूकम्प, हजुरआमाका सिलोक र राउन्नेको पाप

Welcome to the countryside: This is not a one-horse town!

The Year of the Yeti