ब्वाँसाहरूको अत्याचार र भेडाका पाठाहरूको मौनता
जीवनदेखि एकदमै हारेजस्तो लाग्छ कहिलेकाहिँ । यस्तो लाग्छ, अघि लाग्ने बाटाहरूमा कृष्णभीरमा भन्दा कहालीलाग्दो पहिरो गएको छ, पछि हट्ने ठाउँ नै छैन । यस्तो लाग्छ आँखाअगाडि अनन्तसम्म फैलिएजस्तो लाग्ने निवीड अन्धकारको साम्राज्य खडा छ, त्यसले सुरसाको मुख बाएर मलाइ नै खाउँला जस्तो गरिरहेको छ । भयंकर राक्षस र नीलो समुद्रको बिचमा उभिएको छु जस्तो लाग्छ ।
मलाइ अहिले पनि अन्धकारसँग डर लाग्छ, बाल्यकालमा जस्तै । आमालाई थाहा थियो म खाटसँग जोडिएको मेरो कोठाको भित्तातर्फ फर्केर सुत्दा भित्तामा डरलाग्दा आकृतिहरू देख्ने गर्छु ।
हो, ती रातहरूको अन्धकार छिचोल्न नसकिने किसिमको थिएन, ती दुस्वप्नहरू यथार्थ थिएनन् । भीरको छेउमा उभिएको, तल काली बगिरहेको सपनाहरूमा समाउने हाँगो र टेक्ने जमीन नभएपनि विपनामा त थियो नि ! अनि भित्तामा देखिने ती आकृतिहरू शायद दृष्टिभ्रम थिए, यथार्थ नै भए पनि कोठामा उज्यालो छिर्नेबित्तिकै ती आआफ्ना लोकमा गइहाल्थे !
२
तर अहिलेको यो 'तमस'को राजजस्तो विकराल अवस्था त्यतिबेला पक्कै थिएन होला, विश्वकै ज्यादै प्राचीनमध्येको यो देश यस्तो अभूतपूर्व संकटमा त्यस समयमा पक्कै थिएन होला कि ? हो, 'रामराज्य' त थिएन, प्लेटोको आदर्श राज्य पनि थिएन तर त्यस बेलाको वस्तुस्थिति, साहित्य अध्ययन गर्दा, त्यस समयका व्यक्तिहरूसँग कुराकानी गर्दा अहिलेको जस्तो भयावह स्थिति त अवश्य पनि थिएन होला जस्तो लाग्छ ।
यो 'तमसप्रधान' राज्य मैले/हामीमध्ये कतिले बाल्यकालमा देखेको दु:स्वप्न पक्कै होइन, कागजमै भए पनि सार्वभौम हामी नेपालीले भोगेको अन्धयुगको यथार्थ हो । फेरि यथार्थ पनि जीवनका चरणहरू अनुसार फरक फरक पो हुने रहेछ कि ? त्त्यसै समयका हामी केटाकेटीको भोगाइ र हाम्रा बुबाआमाहरू, हजुरबा-हजुरआमाहरूको भोगाइ, हाम्रो यथार्थ र उहाँहरूको यथार्थमा आकाश-पातालको फरक थिएन होला त ? पक्कै थियो होला । तर त्यस बेला अहिलेको जस्तो ज्यादै लामो सुरूङ पारि पनि अन्धकारको एकछत्र राज्य त पक्कै थिएन कि ? आशाका रहलपहल किरणहरू बाँकी थिए कि पारि क्षितिजमा ?
३
यस अन्धयुगमा यस देशमा दुइमुखे शासकहरूले शासन गरिरहेका छन् । शासन गरिरहेका के भनौँ, जात्रा गरिरहेका छन् भन्नु उपयुक्त होला । उनीहरू अभिनय गरिरहेका छन्, हामी दर्शकहरू भने कटु यथार्थ बाँचिरहेका छौँ ।
ती शासकहरूको एउटा मुख/रूप भेडाको जस्तो देखिन्छ: निर्दोष, अबोध र निरीह ।
त्यो मुख, त्यो व्यवहार नानाथरी शक्तिशाली छिमेकीहरू र विदेशी प्रभुहरूका सामु प्रदर्शन हुन्छ जसको आशिर्वाद पाइ सत्ताको अविच्छिन्न भोग गर्न पाइएको छ, देश र देशवासीलाई कुनै सजायको डर बिना लुट्न पाइएको छ । यी छिमेकीहरूलाई, विदेशी प्रभुहरूलाई पटकपटक बहुमूल्य नजराना चढाउनुपर्छ कुनै vassal state ले जस्तै गरी ।
वि सं २००७ को राजनीतिक परिवर्तनलगत्तै कोशी नदी, २०१५ मा गण्डकी, २०४६ को 'राजनीतिक परिवर्तन'पछि महाकाली, २०६२-६३ को तथाकथित 'क्रान्ति'पछि माथिल्लो कर्णाली, अरूण, तल्लो अरूण यसैगरी नजराना चढाएका हुन् 'प्रजातान्त्रिक', 'लोकतान्त्रिक', 'क्रान्तिकारी' युद्ध सरदारहरूले हरितन्नम प्रभुका चरणकमलमा छँदाखाँदाको स्वाधीन राष्ट्र र सार्वभौमसत्तासम्पन्न नेपालीलाई पुस्तादरपुस्तासम्म हानि पुग्ने गरी । अनि विदेशी भूमिमा बस्दा प्रभु/गुरूबाट प्राप्त गास-बास-कपासको ऋण तिर्ने क्रममै त हो विदेशी सेनालाई नेपालको उत्तरी सीमामा चौकी राख्न दिएको ।
ती उपहारहरू दिँदा शासकहरूको भेडो रूप देखिएकै हो अनि नागरिकहरूले ती कुकृत्यहरूको विरोध गर्दा उनीहरू राक्षसावतारमा प्रकट भएको दृष्टान्त छँदैछ ।
हामी फेरि कति धेरै विवेकी, कति धेरै देशभक्त अनि कति वीर भने हाम्रा जीवनदायिनी नदीहरू उपहारमा दिने, यस स्वतन्त्र देशलाई विदेशी सेनाको क्याम्प बनाउन खोज्नेहरूलाई नै महामानव, महान क्रान्तिकारी, महान देशभक्तको पगरी गुथाइदिन्छौँ । अनि यस देशको र देशका 'सार्वभौम' नागरिकको कल्याण नभए कसको हुन्छ ?
शासकहरूको/राज्यको भेडोसमान निरीह स्वरूपबारे अहिलेलाई यत्ति नै ।
४
हाम्रा शासकहरूको अर्को मुख/रूप ब्वाँसोको जस्तो देखिन्छ: क्रूर, कुरूप, रक्तपिपासु ।
सधैँ कुनै न कुनै जात्राजस्तो जीवन बाँचिरहेका हामी व्यवहारमा निरीह तर कागजमा सार्वभौमसत्तासम्पन्न नेपालीले जीवनका हरेक प्रहरमा देख्ने भनेको राज्यको ब्वाँसो अवतार नै हो ।
शासकवर्गको ब्वाँसो रूप कोरोनाभाइरसले अर्थतन्त्र थलिएको बेला रोजगारविहीन नागरिकबाट जरिवानासहित कर असुल्दा देखिन्छ । अर्थतन्त्र ओरालो लागेको बेला बजार भाउ उकालो लाग्दा ब्वाँसो रूप देखिन्छ । नागरिक गास-बास-कपासविहीन भएको बेला शासकहरूले उनीहरूको पेट काटि जम्मा गरिएको राज्यकोषबाट आफ्नालागि सरकारी आवासको र अन्य सरसुविधाको जोहो गर्दा देखिन्छ राज्यको कुरूप ब्वाँसो रूप ।
नागरिकहरूले अधिकार माग्दै शान्तिपूर्ण प्रदर्शन गर्दा राज्य ब्वाँसोभन्दा डरलाग्दो स्वरूपमा सडकमा उत्रिन्छ ।
त्यो दुइमुखी राक्षस कंचनपुरमा सीमा अतिक्रमण हुँदा चुप लाग्छ, नेपाली भूमिमा परचक्रीका सैनिक प्रवेश गरी नेपाली नागरिक मार्दा चुप लाग्छ, सप्तरीमा छिमेकीले कोशी नदी नियन्त्रण गर्ने नाममा थप नेपाली भुमि डुबाइदिँदा चुप लाग्छ, महाकाली नदी निल्दा चूँ सम्म गर्न सक्दैन, लिपुलेक, कालापानी, लिम्पियाधुरामा विदेशी बुट बज्रिंदा नसुनेको जस्तो गर्छ ।
पछिल्लो एक घटनाले नेपाली शासकवर्गकाे क्रूरतम रूप उदाङ्गो पारिदिएको छ ।
करिब दुइ हप्ता अघि नेपाली नागरिक जयसिंह धामी दार्चुला सदरमुकाम जाने क्रममा मालघाटबाट तुइनमार्फत् महाकाली तर्ने क्रममा खसे । उनीसँग साथै लागेका प्रत्यक्षदर्शीहरूका अनुसार मान्छे महाकाली तर्दैछ, तुइन नकाटिदिनुस् भनी अनुनय-विनय गर्दा पनि भारतीय सीमा सशस्त्र बलका जवानले सुनेको नसुन्यै गरी तुइन काटिदिँदा धामी महाकालीमा खसी बेपत्ता भए । नेपाली संचार माध्यमहरूले यस युद्धकालमा गरिने भन्दा पनि क्रूर व्यवहारबारे समाचार सम्प्रेषण गर्दा पनि राज्य निदाइरहेको जस्तो देखियो । शिकारपछिको भोजपश्चात शायद ब्वाँसो पनि यस्तै गर्छ ।
अलि धेरै नै कोकोहोलो भएपछि हाम्रो राज्यरूपी ब्वाँसो जागा भयो । शिकारपछिको भोजपश्चातको सुखद निद्रा खल्बल्याइदिएकोमा रूष्ट ब्वाँसोले संचारमाध्यमहरूलाई सिधै थर्कायो: अनुसन्धान चलिरहेको छ, अण्टसण्ट नलेख्नु, नबोल्नु ।
त्यो खोजबिन कहाँ पुग्यो, सोध्यो भने हामी पूर्णकालीन भेँडाहरूलाई दुइमुखी राक्षसले जिउँदै निलूँला जस्तै गर्छ अनि गर्ने के ? Silence of the lambs अर्थात् भेडाका पाठाहरूको मौनता भनेको यहि त होला नि, होइन ?
यसैगरी यी रक्तपिपासु ब्वाँसाहरूको शासन सही बस्ने कि आफ्नो जीवन, आफ्ना स्वार्थहरू, अधिकारहरूको अनि स्वदेशको रक्षार्थ केहि गर्ने ? सोच्ने अनि केहि गर्ने बेला भएन र ?
के गर्ने भाइ हामीले रमिता मात्र हेर्ने भइयो । माओवादीलाई लुकेर चन्दा दियौं र सरकारलाई दिएको छैन भन्यौं ।हामीले के सम्म गरेनौं आफैंले रातोदिन सराप्ने नेतालाई चुनावको बेला मत दियौं र आउने चुनावमा पनि यिनैको चाकरी गर्दै सत्तामा पठाउछौ र फेरि गाली गर्न शुरुआत गर्छौं । लौ न भाइ र भाइहरु दुईवटा हातमा चारवटा राँको लिएर हामीले हिजो हैन अस्ति देखेको आजको भन्दा केही राम्रो व्यवस्था खोजौ ।
ReplyDeleteअब चेतनाको राँको बालेर उठ्नुपर्छ दाइ। एक पटक मत दिएपछि ५ वर्षलाई ढुक्क भइयो भन्ने किसिमको सोच त्याग्नुपर्छ होला। प्रजातान्त्रिक व्यवस्थामा नेतालाई नागरिकले निरन्तर खबरदारी गर्नुपर्छ नै । मतपत्रमा None of the Above र जननिर्वाचितहरू कर्तव्यच्युत हुँदै जाने महारोग देखिएकोले निर्वाचन कानूनमा right to recall को प्रावधान राख्नु राम्रो हुन्छ कि ? नत्र हाम्रो मत त यिनीहरूलाई देश लुट्ने लाइसेन्स हुने भयो त ।
ReplyDelete