अझै पनि यिनै पंगुहरूबाटै शासित हुने कि केहि गर्ने ?

आज नेपाल र नेपालीलाई सधैँ दुखिरहने अनि कहिल्यै निको नहुने जस्तो लाग्ने एउटा घाउको चर्चा गर्नेछु ।

प्रथमत: निश्चित प्रकृतिका केहि घटनाहरू पुन:स्मरण गरौँ ।

जेठ ११, २०६७: धनपालथान गाउँपालिका-२, मोरङका ५५ वर्षीय नेपाली नागरिक वासुदेव साहलाई भारतीय सीमा सशस्त्र बल (एसएसबी) का निरीक्षक हितेंद्र सिंहले दशगजामा गोली हानी मारेको । खानेतेल व्यवसायी र सिंहबिचको झगडा भइरहेको बेला छुट्याउन गएको बेला उनलाई बायाँ छातिमुनि गोली लागेको, उपचारका क्रममा कोशी अंचल अस्पतालमा मृत्यु भएको । राष्ट्रिय मानवाधिकार आयोगको छानबिनले पनि भारतीय सुरक्षाकर्मी सिंहले नेपाली नागरिकको हत्या गरेको निष्कर्ष निकालेको ।

मंसिर ९, २०७२: एसएसबीले बिहान ६ बजे नेपालको हरिपुर, सुनसरी जिल्लामा प्रवेश गरी गोली चलाउँदा ४ नेपाली नागरिक -- हरिपुर ७ का अशोक यादव, मनोज यादव, सरोज यादव र नरेश यादव -- घाइते भएका थिए । 
मंसिर १३, २०७२: एसएसबीका १३ हतियारधारी जवान झापा जिल्लाको केचनामा प्रवेश गरेका । स्थानीयले घेरा हालेपछि नेपाल प्रहरीले नियन्त्रणमा लिएको, ७ घण्टापछि नेपाली पक्षले बिना कुनै कारबाही, बिना कुनै नसिहत ती जवानलाई भारतीय पक्षलाई बुझाइदिएको । दुइ दिन अघि सोही क्षेत्रमा सुपारी तस्करलाई लखटने नाममा एसएसबीले दर्जनौँ राउण्ड हवाइ फायर गरेको ।
बैशाख १२, २०७३: डोटी र अछामको सिमाना चौखुट्टेमा पाँच भारतीय सुरक्षाकर्मी हतियारसहित समातिएका थिए । नेपाली पक्षले बिना कुनै कारबाही ती सुरक्षाकर्मीलाई छाडिदिएको ।
फागुन २७, २०७३: भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपालको कंचनपुर प्रवेश गरी भारतीय ज्यादतीविरुद्ध प्रदर्शन गरिरहेका नेपालीहरूलाई लक्षित गरी गोली चलाउँदा पुनर्वास, कञ्चनपुरका ३० वर्षीय गोविन्द गौतम मारिए । नेपाली भूमिमा कंचनपुर नगरपालिकाले कल्भर्ट बनाएकोमा भारतीय पक्षले विरोध जनाएको थियो । भारतीय पक्षले आफूहरूको असहमति हुँदाहुँदै कल्भर्ट नबनाउन नेपाली पक्षलाई धम्की दिइरहेको थियो ।

घटनाको एक दिनअघि एसएसबीको टोली नेपाल प्रवेश गरी कुटपिट गर्दा पत्रकार हेमन्त न्यौपाने सहित केही स्थानीय घाइते भएका थिए । ज्यादतिको विरोधमा कल्भर्ट निर्माणस्थलमा भेला भएर विरोध प्रदर्शन गर्दै गर्दा भारतीय र नेपालीहरूबिच दशगजामा ढुंगा हानाहान भयो, नेपालीले भारतीयलाई लखेटे ।

मामला यत्तिमै सकिएन । एकैछिनमा एसएसबीको फौज नेपाल प्रवेश गरी गोली चलाउँदा गोविन्द गौतम गम्भीर घाइते भए, अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भयो । भारतीयको कुटाइबाट प्रहरी निरीक्षक राम खत्री घाइते, स्थानीय सुरेश थापाको टाउकोमा चोट लाग्यो । 

घटनापछि नेपालतिर भागदौड मच्चिएको मौका छोपेर भारतीय पक्षले स्थानीय श्याम गुरुङको पसल तोडफोड र लुटपाट गरेको थियो । पसलमा रहेका सरसामान, खसीबाख्रा र मोटरसाइकल समेत भारतीय पक्षले लुटेको आरोप।

साउन, २०७३: तिलाठी कोइलाडी गाउँपालिका, सप्तरीमा भारतले दशगजा मिचेर बाँध बनाएको । नेपालीपक्षले पटक पटक उक्त बाँध नबनाउन आग्रह गर्दा पनि भारतले बेवास्ता गरेपछि नेपाली र भारतीय नागरिकबिच झडप भएको । उक्त घटनामा सप्तरी जिल्ला विकास समितिका पूर्व सदस्य देवनारायण यादव लगायत घाइते ।
यसैगरी भारतले अन्तराष्ट्रिय अभ्यासहरूको उल्लङ्घन गर्दै नेपालको विरोधका बाबजुद नदीहरूको प्राकृतिक बहाव रोकिने गरी बाँकेमा लक्ष्मणपुर र कलकलवा, कपिलवस्तुमा महलीसागर, रुपन्देहीमा रसियावाल खुर्दलोटन, नवलपरासीमा लिटल गण्डक, रौतहटमा वाग्मती-लालबकैया लगायतका बाँध तथा तटबन्धहरू बनाउँदा नेपाली भूभाग डुबेको, नेपालको राष्ट्रिय सार्वभौमिकता खुम्चिएको छ । सुस्ता, महेशपुर, लिपुलेक-लिम्पियाधुरा-कालापानी आलो घाउ बनेर वर्षौंदेखि दुखिरहेको छँदैछ ।
जेठ १८, २०७४: भारतीय सुरक्षाकर्मीद्वारा सिलगढी नगरपालिका, लड़ागड़ा, दिपायलसम्मै पुगेर मध्यरातमा आफ्नै घरमा सुतिरहेका नेपाली नागरिक लाल बहादुर आउजी कुटिएका थिए । आउजी चोरीमा संलग्न भएको भारतीय सुरक्षाकर्मीको आरोप थियो । आउजीलाई हातखुट्टा बाँधेर भारत लैजान लाग्दा स्थानीयले होहल्ला गरेपछि जिल्ला प्रहरी कार्यालय, डोटीले घटनामा संलग्न ३ भारतीय सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएको । नेपाली पक्षले घटनामा संलग्न भारतीय  सुरक्षाकर्मीलाई विना कारबाही छाडेको थियो । 

साउन ५, २०७६: एसएसबीले पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा नाली खनेर नेपालीलाई हिंडडुल गर्न रोक लगाएको । नेपालीले विरोध गरेपछि नाली पुरेको । नेपालको सरहदभित्र सन्दकपुर गाउँपालिकामा बाटो निर्माण गर्दा गैरीबास-कमलपोखरी पर्यटन पदमार्गका अध्यक्ष उमेश गुरुङले ३ पटक भारतीय सुरक्षाकर्मीलाई स्पष्टिकरण दिनुपरेको । 

जेठ १६, २०७७: नेपालको सरहदभित्र वीरगंज-ठोरी हुलाकी सडकखण्डमा निर्माण गरिएको ठुटेखोलाको पुल संचालनमा ल्याउन खोज्दा एसएसबीका हतियारधारी सुरक्षाकर्मी आइ अवरोध गरेका । स्थानीयले भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेका थिए ।

असार २२, २०७७: बेलौरी नगरपालिकाको पचुइ, कञ्चनपुरमा एसएसबीसहितको भारतीय नागरिकको हुलले हुलाकी राजमार्ग कालोपत्रे गर्ने कार्यमा अवरोध पुर्याएको । 

जेठ, २०७८: एसएसबीले दोधारा–चाँदनी नगरपालिकाको सुन्दरनगरका नारायण अधिकारीलाई आफ्नो खेतमा बेसार खेती लगाउन रोक लगाएको । अधिकारी परिवारले बेसार लगाएको जग्गाको धनीपुर्जा आफूहरूसँग रहेको दाबी गरेको छ ।

असार २०, २०७८: कञ्चनपुरको पुनर्वास–११, डोकेबजारमा एसएसबीको गौरीफन्टामा कार्यरत एक जवानले रूखको छहारीमा बसेका तीन महिलालाई दुर्व्यवहार गरेको नेपाल प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

साउन १६, २०७८:  व्यास गाउँपालिका–२, मालगाउँ, दार्चुला जिल्लाका नेपाली नागरिक जयसिंह धामी नेपालको मालघाटबाट तुइनको प्रयोग गरी महाकाली तर्दै थिए ।

उनलाई वैदेशिक रोजगारीमा जानका लागि आवश्यक प्रक्रिया शुरू गर्न दार्चुला सदरमुकाम खलंगा हुँदै काठमाण्डौ जानु थियो । नेपाली भूमि हुँदै खलंगा पुग्न बाटोघाटोको  दुरावस्थाका कारण असंभवप्राय: भएकोले भारतीय भूभाग हुँदै खलंगा जानुपर्ने बाध्यता धामीलगायतका हजारौँ नेपालीहरूलाई छ । प्रत्यक्षदर्शीहरूका अनुसार एसएसबीका एक जवानले उनीहरूले मानिस नदी तर्दैछ, तुइन नकाटिदिनुस् भनी अनुनयविनय गर्दा पनि सुनेको नसुन्यै गरी तुइन काटिदियो । वर्ष ३० का, लाउँलाखाउँला उमेरका धामी महाकालीमा खसी वेपत्ता भए ।
नेपाली नागरिक धामीमात्र होइन हजारौँ भारतीय नागरिक खुला सीमा काटी, बिना कुनै रोकटोक नेपाल प्रवेश गर्छन् दैनिकजसो । नेपाली नागरिक धामीको व्यवहारप्रति सशंकित हुनुपर्ने कुनै आधार भएको भए भारतीय पक्षले नदी तर्ने बित्तिकै उनलाई नियन्त्रणमा लिएर सोधपुछ, केरकार गर्न सक्थ्यो ।  
नेपालले युद्धरत पक्षले पनि नगर्ने किसिमको सर्वथा निकृष्ट एवं नृशंस व्यवहार भारतीय नागरिकलाई गरेको दृष्टान्त छैन । प्रत्यक्षदर्शीहरूको बयानलाई आधार मान्ने हो भने त संसारको सबैभन्दा ठुलो प्रजातन्त्र भएकोमा गर्व गर्ने, नेपाललाई प्रजातन्त्र र मानवाधिकारको पाठ पढाएर नथाक्ने भारतले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी अध्यक्ष भइ कार्य गरिरहेको बेला कुनै pariah state ले समेत नगर्ने किसिमको निकृष्ट व्यवहार पो प्रदर्शन गर्यो त पुन: एक पटक । निहित स्वार्थका खातिर नेपाल सरकारले प्रत्यक्ष्यदर्शीहरूको बयानलाई पत्याओस्, नपत्याओस्, नेपाली नागरिकले उक्त बयानप्रति अविश्वास गर्नुपर्ने कुनै कारण देखिँदैन ।
नेपाल-भारतबिच १,८८० कि मि लामो सीमा छ । भारतीय एसएसबी ३/३ कि मिको दूरीमा तैनात छ । उनीहरूको संख्या ठुलो छ, बन्दोबस्ती राम्रो छ, अत्याधुनिक हातहतियारले लैंस छन् । सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति छ, ६४ वटा सीमा प्रहरी चौकी छन् । सीमा सुरक्षाको मुख्य जिम्मेवारी बहन गरिरहेको सशस्त्र प्रहरी बलका बोर्डर आउटपोष्टहरू ७ देखि दश कि मि को दूरीमा छन् । बेलाबेलामा सीमामा खटिएका नेपाली सुरक्षाकर्मीहरूलाई ओत लाग्ने ठाउँ समेत नभएको जस्ता दु:ख लाग्ने किसिमका समाचारहरू आइरहन्छन् । 
भारत १५,१०६ कि मि लामो स्थल सिमाना र ७,५१६ कि मि लामो कोष्टलाइन मार्फत् विभिन्न देशहरूसँग जोडिएको छ । तीमध्ये पाकिस्तान र बंगलादेश त भारत टुक्रिएरै निर्माण भएका हुन् ।
हाम्रा कतिपय नेताहरू आफ्नो व्यक्तिगत स्वार्थको रोटी सेक्नका लागि नेपाल-भारत सम्बन्धलाई रोटीबेटीको सम्बन्ध, विशेष सम्बन्ध, विशिष्ट सम्बन्ध आदि आदि भनेर थाक्दैनन् । नेपाल-भारत सम्बन्ध भन्दा पनि उदाहरणीय सम्बन्ध त भारतको पाकिस्तान र बंगलादेशसँग हुनुपर्ने होइन र ? अझ भारत र चिन त जवाहरलाल नेहरूको शब्दमा भाइ-भाइ पो हुन् त । वास्तवमा भारत त त्यस साम्राज्यको उत्तराधिकारी हो जसले नेपाल-अंग्रेज युद्धका क्रममा युद्धका सबै नियमहरू उल्लङ्घन गरी, अन्यायपूर्ण तरिकाले ठुलो भूभाग कब्जा गरी विशाल नेपाललाई अंगभंग बनायो । 
इतिहासको घाउ अझ धेरै नकोटयाऊँ यहाँ ।
नेपाल-भारतको जस्तै सम्बन्ध त संयुक्त राज्य अमेरिका र क्यानडाबिच पनि होला, संयुक्त राज्य अमेरिका र मेक्सिकोबिच अनि संयुक्त राज्य अमेरिका र क्युबाबिच पनि होला कि ? जिज्ञासा उठ्नु स्वाभाविकै हो । आखिर यी देशहरू पनि एकअर्काका छिमेकी नै त हुन् नि, होइन ?
यी मध्ये नेपाल-भारत सम्बन्ध संयुक्त राज्य अमेरिका र मेक्सिकोबिचको जस्तो पो होला कि ?  
भारतको तुलनामा हाम्रा सुरक्षा संयन्त्रहरू कमजोर हुनु अचम्मको कुरा होइन । तर देशहरू आकारमा साना र ठुला भए पनि सार्वभौमिकताका आधारमा समान हुन्छन् । 
जुनसुकै रूप र रंगको भए पनि हाम्रो राजनीतिक नेतृत्व, हाम्रो कर्मचारीतन्त्रले राजनीतिक, कूटनीतिक तहमा यस्ता ज्यादतीहरूको विरोध गर्नुपर्ने हो । देशका रक्षा, सुरक्षा तथा जासूसी संयन्त्रहरूले निदाएका वा निदाएको बहाना गरिरहेका राज्यका यी सर्वोच्च निकायहरूलाई जगाउनु पर्ने हो, तर त्यस्तो भएको देखिँदैन । 
सबैलाई खाइपाइ आएकोमा कटौती हुन्छ कि भन्ने डर छ, तथाकथित प्रभूको कोपभाजनमा परिन्छ कि भन्ने डर छ, एकचोटि सत्ताच्यूत भइसकेपछि पुन: सत्तामा पुग्होन नपाइएला कि भन्ने डर छ । स्वास्थोपचारदेखि छोराछोरी, नातिनातिना, पनातिपनातिनाको शिक्षादीक्षासम्म प्रभूकै भर छ । 
यस्तो अवस्थामा यस्तो नेतृत्वले व्यक्तिगत, पारिवारिक तथा गूटगत स्वार्थ बाहेक केहि हेर्दैन, राष्ट्रिय स्वार्थ त धेरै परको कुरा भयो  ।
त्यसो भए आम नागरिकले गर्ने के त ? व्यक्तिगत, गूटगत राजनीतिक नेतृत्वको भर पर्न छोडेर अब नेपालको राष्ट्रिय स्वार्थ र सार्वभौमिकताप्रति  संवेदनशील राजनीतिक पात्रहरूको खोजी तथा समर्थनमा लाग्ने हो कि ? विद्यमान राजनीतिक प्रणालीले यस्तै पंगुहरू, बुख्याँचाहरू, दास नेतृत्व मात्रै जन्माउने हुँदा प्रणाली तथा यसलाई चलाइरहेका पंगुहरू र बुख्याँचाहरूको विस्थापन गर्नतर्फ पो लाग्ने हो कि ? 
ढिलो नगरौँ किनभने हाम्रा पुर्खाहरूले रगत, पसिना र आँसु बगाइ, खाइनखाइ निर्माण गरेको यो देशको छिमेकमा रहेका स्वतन्त्र राज्यहरूको अस्तित्व ज्यादै छोटो समयावधिमा नानाथरी दुरभिसन्धिमार्फत, manufactured consent मार्फत नामेट पारिएको इतिहास छ ।  

लिंकहरू: 

https://www.onlinekhabar.com/2021/08/1001392

https://annapurnapost.com/news/158782

https://deshsanchar.com/2021/08/05/540650/

https://www.theguardian.com/us-news/2017/feb/01/donald-trump-us-mexico-relations-history

Comments

Popular posts from this blog

पहाडमें क्या रक्खा है? सबकुछ रक्खा है भइ

दुई दिनको जिन्दगी र युगीन प्रश्नहरू

हावामा पैसा