Stories from Nepal: Dedicated to Nepal and the Nepalis at home and abroad
अझै पनि यिनै पंगुहरूबाटै शासित हुने कि केहि गर्ने ?
Get link
Facebook
X
Pinterest
Email
Other Apps
-
आज नेपाल र नेपालीलाई सधैँ दुखिरहने अनि कहिल्यै निको नहुने जस्तो लाग्ने एउटा घाउको चर्चा गर्नेछु ।
प्रथमत: निश्चित प्रकृतिका केहि घटनाहरू पुन:स्मरण गरौँ ।
जेठ ११, २०६७: धनपालथान गाउँपालिका-२, मोरङका ५५ वर्षीय नेपाली नागरिक वासुदेव साहलाई भारतीय सीमा सशस्त्र बल (एसएसबी) का निरीक्षक हितेंद्र सिंहले दशगजामा गोली हानी मारेको । खानेतेल व्यवसायी र सिंहबिचको झगडा भइरहेको बेला छुट्याउन गएको बेला उनलाई बायाँ छातिमुनि गोली लागेको, उपचारका क्रममा कोशी अंचल अस्पतालमा मृत्यु भएको । राष्ट्रिय मानवाधिकार आयोगको छानबिनले पनि भारतीय सुरक्षाकर्मी सिंहले नेपाली नागरिकको हत्या गरेको निष्कर्ष निकालेको ।
मंसिर ९, २०७२: एसएसबीले बिहान ६ बजे नेपालको हरिपुर, सुनसरी जिल्लामा प्रवेश गरी गोली चलाउँदा ४ नेपाली नागरिक -- हरिपुर ७ का अशोक यादव, मनोज यादव, सरोज यादव र नरेश यादव -- घाइते भएका थिए । मंसिर १३, २०७२: एसएसबीका १३ हतियारधारी जवान झापा जिल्लाको केचनामा प्रवेश गरेका । स्थानीयले घेरा हालेपछि नेपाल प्रहरीले नियन्त्रणमा लिएको, ७ घण्टापछि नेपाली पक्षले बिना कुनै कारबाही, बिना कुनै नसिहत ती जवानलाई भारतीय पक्षलाई बुझाइदिएको । दुइ दिन अघि सोही क्षेत्रमा सुपारी तस्करलाई लखटने नाममा एसएसबीले दर्जनौँ राउण्ड हवाइ फायर गरेको ।बैशाख १२, २०७३: डोटी र अछामको सिमाना चौखुट्टेमा पाँच भारतीय सुरक्षाकर्मी हतियारसहित समातिएका थिए । नेपाली पक्षले बिना कुनै कारबाही ती सुरक्षाकर्मीलाई छाडिदिएको ।
फागुन २७, २०७३: भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपालको कंचनपुर प्रवेश गरी भारतीय ज्यादतीविरुद्ध प्रदर्शन गरिरहेका नेपालीहरूलाई लक्षित गरी गोली चलाउँदा पुनर्वास, कञ्चनपुरका ३० वर्षीय गोविन्द गौतम मारिए । नेपाली भूमिमा कंचनपुर नगरपालिकाले कल्भर्ट बनाएकोमा भारतीय पक्षले विरोध जनाएको थियो । भारतीय पक्षले आफूहरूको असहमति हुँदाहुँदै कल्भर्ट नबनाउन नेपाली पक्षलाई धम्की दिइरहेको थियो ।
घटनाको एक दिनअघि एसएसबीको टोली नेपाल प्रवेश गरी कुटपिट गर्दा पत्रकार हेमन्त न्यौपाने सहित केही स्थानीय घाइते भएका थिए । ज्यादतिको विरोधमा कल्भर्ट निर्माणस्थलमा भेला भएर विरोध प्रदर्शन गर्दै गर्दा भारतीय र नेपालीहरूबिच दशगजामा ढुंगा हानाहान भयो, नेपालीले भारतीयलाई लखेटे ।
मामला यत्तिमै सकिएन । एकैछिनमा एसएसबीको फौज नेपाल प्रवेश गरी गोली चलाउँदा गोविन्द गौतम गम्भीर घाइते भए, अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भयो । भारतीयको कुटाइबाट प्रहरी निरीक्षक राम खत्री घाइते, स्थानीय सुरेश थापाको टाउकोमा चोट लाग्यो ।
घटनापछि नेपालतिर भागदौड मच्चिएको मौका छोपेर भारतीय पक्षले स्थानीय श्याम गुरुङको पसल तोडफोड र लुटपाट गरेको थियो । पसलमा रहेका सरसामान, खसीबाख्रा र मोटरसाइकल समेत भारतीय पक्षले लुटेको आरोप।
साउन, २०७३: तिलाठी कोइलाडी गाउँपालिका, सप्तरीमा भारतले दशगजा मिचेर बाँध बनाएको । नेपालीपक्षले पटक पटक उक्त बाँध नबनाउन आग्रह गर्दा पनि भारतले बेवास्ता गरेपछि नेपाली र भारतीय नागरिकबिच झडप भएको । उक्त घटनामा सप्तरी जिल्ला विकास समितिका पूर्व सदस्य देवनारायण यादव लगायत घाइते ।यसैगरी भारतले अन्तराष्ट्रिय अभ्यासहरूको उल्लङ्घन गर्दै नेपालको विरोधका बाबजुद नदीहरूको प्राकृतिक बहाव रोकिने गरी बाँकेमा लक्ष्मणपुर र कलकलवा, कपिलवस्तुमा महलीसागर, रुपन्देहीमा रसियावाल खुर्दलोटन, नवलपरासीमा लिटल गण्डक, रौतहटमा वाग्मती-लालबकैया लगायतका बाँध तथा तटबन्धहरू बनाउँदा नेपाली भूभाग डुबेको, नेपालको राष्ट्रिय सार्वभौमिकता खुम्चिएको छ । सुस्ता, महेशपुर, लिपुलेक-लिम्पियाधुरा-कालापानी आलो घाउ बनेर वर्षौंदेखि दुखिरहेको छँदैछ ।
जेठ १८, २०७४: भारतीय सुरक्षाकर्मीद्वारा सिलगढी नगरपालिका, लड़ागड़ा, दिपायलसम्मै पुगेर मध्यरातमा आफ्नै घरमा सुतिरहेका नेपाली नागरिक लाल बहादुर आउजी कुटिएका थिए । आउजी चोरीमा संलग्न भएको भारतीय सुरक्षाकर्मीको आरोप थियो । आउजीलाई हातखुट्टा बाँधेर भारत लैजान लाग्दा स्थानीयले होहल्ला गरेपछि जिल्ला प्रहरी कार्यालय, डोटीले घटनामा संलग्न ३ भारतीय सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएको । नेपाली पक्षले घटनामा संलग्न भारतीय सुरक्षाकर्मीलाई विना कारबाही छाडेको थियो ।
साउन ५, २०७६: एसएसबीले पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा नाली खनेर नेपालीलाई हिंडडुल गर्न रोक लगाएको । नेपालीले विरोध गरेपछि नाली पुरेको । नेपालको सरहदभित्र सन्दकपुर गाउँपालिकामा बाटो निर्माण गर्दा गैरीबास-कमलपोखरी पर्यटन पदमार्गका अध्यक्ष उमेश गुरुङले ३ पटक भारतीय सुरक्षाकर्मीलाई स्पष्टिकरण दिनुपरेको ।
जेठ १६, २०७७: नेपालको सरहदभित्र वीरगंज-ठोरी हुलाकी सडकखण्डमा निर्माण गरिएको ठुटेखोलाको पुल संचालनमा ल्याउन खोज्दा एसएसबीका हतियारधारी सुरक्षाकर्मी आइ अवरोध गरेका । स्थानीयले भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेका थिए ।
असार २२, २०७७: बेलौरी नगरपालिकाको पचुइ, कञ्चनपुरमा एसएसबीसहितको भारतीय नागरिकको हुलले हुलाकी राजमार्ग कालोपत्रे गर्ने कार्यमा अवरोध पुर्याएको ।
जेठ, २०७८: एसएसबीले दोधारा–चाँदनी नगरपालिकाको सुन्दरनगरका नारायण अधिकारीलाई आफ्नो खेतमा बेसार खेती लगाउन रोक लगाएको । अधिकारी परिवारले बेसार लगाएको जग्गाको धनीपुर्जा आफूहरूसँग रहेको दाबी गरेको छ ।
असार २०, २०७८: कञ्चनपुरको पुनर्वास–११, डोकेबजारमा एसएसबीको गौरीफन्टामा कार्यरत एक जवानले रूखको छहारीमा बसेका तीन महिलालाई दुर्व्यवहार गरेको नेपाल प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
साउन १६, २०७८: व्यास गाउँपालिका–२, मालगाउँ, दार्चुला जिल्लाका नेपाली नागरिक जयसिंह धामी नेपालको मालघाटबाट तुइनको प्रयोग गरी महाकाली तर्दै थिए ।
उनलाई वैदेशिक रोजगारीमा जानका लागि आवश्यक प्रक्रिया शुरू गर्न दार्चुला सदरमुकाम खलंगा हुँदै काठमाण्डौ जानु थियो । नेपाली भूमि हुँदै खलंगा पुग्न बाटोघाटोको दुरावस्थाका कारण असंभवप्राय: भएकोले भारतीय भूभाग हुँदै खलंगा जानुपर्ने बाध्यता धामीलगायतका हजारौँ नेपालीहरूलाई छ । प्रत्यक्षदर्शीहरूका अनुसार एसएसबीका एक जवानले उनीहरूले मानिस नदी तर्दैछ, तुइन नकाटिदिनुस् भनी अनुनयविनय गर्दा पनि सुनेको नसुन्यै गरी तुइन काटिदियो । वर्ष ३० का, लाउँलाखाउँला उमेरका धामी महाकालीमा खसी वेपत्ता भए ।नेपाली नागरिक धामीमात्र होइन हजारौँ भारतीय नागरिक खुला सीमा काटी, बिना कुनै रोकटोक नेपाल प्रवेश गर्छन् दैनिकजसो । नेपाली नागरिक धामीको व्यवहारप्रति सशंकित हुनुपर्ने कुनै आधार भएको भए भारतीय पक्षले नदी तर्ने बित्तिकै उनलाई नियन्त्रणमा लिएर सोधपुछ, केरकार गर्न सक्थ्यो । नेपालले युद्धरत पक्षले पनि नगर्ने किसिमको सर्वथा निकृष्ट एवं नृशंस व्यवहार भारतीय नागरिकलाई गरेको दृष्टान्त छैन । प्रत्यक्षदर्शीहरूको बयानलाई आधार मान्ने हो भने त संसारको सबैभन्दा ठुलो प्रजातन्त्र भएकोमा गर्व गर्ने, नेपाललाई प्रजातन्त्र र मानवाधिकारको पाठ पढाएर नथाक्ने भारतले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी अध्यक्ष भइ कार्य गरिरहेको बेला कुनै pariah state ले समेत नगर्ने किसिमको निकृष्ट व्यवहार पो प्रदर्शन गर्यो त पुन: एक पटक । निहित स्वार्थका खातिर नेपाल सरकारले प्रत्यक्ष्यदर्शीहरूको बयानलाई पत्याओस्, नपत्याओस्, नेपाली नागरिकले उक्त बयानप्रति अविश्वास गर्नुपर्ने कुनै कारण देखिँदैन ।नेपाल-भारतबिच १,८८० कि मि लामो सीमा छ । भारतीय एसएसबी ३/३ कि मिको दूरीमा तैनात छ । उनीहरूको संख्या ठुलो छ, बन्दोबस्ती राम्रो छ, अत्याधुनिक हातहतियारले लैंस छन् । सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति छ, ६४ वटा सीमा प्रहरी चौकी छन् । सीमा सुरक्षाको मुख्य जिम्मेवारी बहन गरिरहेको सशस्त्र प्रहरी बलका बोर्डर आउटपोष्टहरू ७ देखि दश कि मि को दूरीमा छन् । बेलाबेलामा सीमामा खटिएका नेपाली सुरक्षाकर्मीहरूलाई ओत लाग्ने ठाउँ समेत नभएको जस्ता दु:ख लाग्ने किसिमका समाचारहरू आइरहन्छन् । भारत १५,१०६ कि मि लामो स्थल सिमाना र ७,५१६ कि मि लामो कोष्टलाइन मार्फत् विभिन्न देशहरूसँग जोडिएको छ । तीमध्ये पाकिस्तान र बंगलादेश त भारत टुक्रिएरै निर्माण भएका हुन् ।हाम्रा कतिपय नेताहरू आफ्नो व्यक्तिगत स्वार्थको रोटी सेक्नका लागि नेपाल-भारत सम्बन्धलाई रोटीबेटीको सम्बन्ध, विशेष सम्बन्ध, विशिष्ट सम्बन्ध आदि आदि भनेर थाक्दैनन् । नेपाल-भारत सम्बन्ध भन्दा पनि उदाहरणीय सम्बन्ध त भारतको पाकिस्तान र बंगलादेशसँग हुनुपर्ने होइन र ? अझ भारत र चिन त जवाहरलाल नेहरूको शब्दमा भाइ-भाइ पो हुन् त । वास्तवमा भारत त त्यस साम्राज्यको उत्तराधिकारी हो जसले नेपाल-अंग्रेज युद्धका क्रममा युद्धका सबै नियमहरू उल्लङ्घन गरी, अन्यायपूर्ण तरिकाले ठुलो भूभाग कब्जा गरी विशाल नेपाललाई अंगभंग बनायो । इतिहासको घाउ अझ धेरै नकोटयाऊँ यहाँ ।नेपाल-भारतको जस्तै सम्बन्ध त संयुक्त राज्य अमेरिका र क्यानडाबिच पनि होला, संयुक्त राज्य अमेरिका र मेक्सिकोबिच अनि संयुक्त राज्य अमेरिका र क्युबाबिच पनि होला कि ? जिज्ञासा उठ्नु स्वाभाविकै हो । आखिर यी देशहरू पनि एकअर्काका छिमेकी नै त हुन् नि, होइन ?यी मध्ये नेपाल-भारत सम्बन्ध संयुक्त राज्य अमेरिका र मेक्सिकोबिचको जस्तो पो होला कि ? भारतको तुलनामा हाम्रा सुरक्षा संयन्त्रहरू कमजोर हुनु अचम्मको कुरा होइन । तर देशहरू आकारमा साना र ठुला भए पनि सार्वभौमिकताका आधारमा समान हुन्छन् । जुनसुकै रूप र रंगको भए पनि हाम्रो राजनीतिक नेतृत्व, हाम्रो कर्मचारीतन्त्रले राजनीतिक, कूटनीतिक तहमा यस्ता ज्यादतीहरूको विरोध गर्नुपर्ने हो । देशका रक्षा, सुरक्षा तथा जासूसी संयन्त्रहरूले निदाएका वा निदाएको बहाना गरिरहेका राज्यका यी सर्वोच्च निकायहरूलाई जगाउनु पर्ने हो, तर त्यस्तो भएको देखिँदैन । सबैलाई खाइपाइ आएकोमा कटौती हुन्छ कि भन्ने डर छ, तथाकथित प्रभूको कोपभाजनमा परिन्छ कि भन्ने डर छ, एकचोटि सत्ताच्यूत भइसकेपछि पुन: सत्तामा पुग्होन नपाइएला कि भन्ने डर छ । स्वास्थोपचारदेखि छोराछोरी, नातिनातिना, पनातिपनातिनाको शिक्षादीक्षासम्म प्रभूकै भर छ ।यस्तो अवस्थामा यस्तो नेतृत्वले व्यक्तिगत, पारिवारिक तथा गूटगत स्वार्थ बाहेक केहि हेर्दैन, राष्ट्रिय स्वार्थ त धेरै परको कुरा भयो ।त्यसो भए आम नागरिकले गर्ने के त ? व्यक्तिगत, गूटगत राजनीतिक नेतृत्वको भर पर्न छोडेर अब नेपालको राष्ट्रिय स्वार्थ र सार्वभौमिकताप्रति संवेदनशील राजनीतिक पात्रहरूको खोजी तथा समर्थनमा लाग्ने हो कि ? विद्यमान राजनीतिक प्रणालीले यस्तै पंगुहरू, बुख्याँचाहरू, दास नेतृत्व मात्रै जन्माउने हुँदा प्रणाली तथा यसलाई चलाइरहेका पंगुहरू र बुख्याँचाहरूको विस्थापन गर्नतर्फ पो लाग्ने हो कि ? ढिलो नगरौँ किनभने हाम्रा पुर्खाहरूले रगत, पसिना र आँसु बगाइ, खाइनखाइ निर्माण गरेको यो देशको छिमेकमा रहेका स्वतन्त्र राज्यहरूको अस्तित्व ज्यादै छोटो समयावधिमा नानाथरी दुरभिसन्धिमार्फत, manufactured consent मार्फत नामेट पारिएको इतिहास छ । लिंकहरू:
देवेन्द्र गौतम लक्ष्मी चंचलाश्री हुन्छिन् अर्थात् ऐश्वर्यकी देवी एकै ठाउँ बस्दिनन् भनिन्छ। एकसेएक अर्थशास्त्री भएको अनि उहाँहरू सबै डलरको पहाडमुनि ( डलर थुप्रियो , अब के गर्ने ? भन्ने किसिमका चित्रविचित्र समाचारहरू आइरहेको परिप्रेक्ष्यमा ) राष्ट्रिय अर्थतन्त्रलाई गति दिन खाइनखाइ खटिइरहेकाे यस देशको यस कालखण्डमा अकिञ्चनले उपरोक्त विषयमा धेरै बोल्नु / लेख्नु मनासिव नहोला किन पनि भने ऊसमेत सम्बद्ध निजी संचार क्षेत्र हरितन्नम अवस्थामा छ त्यहाँ रजगज गरिरहेका केही हात्ती , गैँडा , बाघ , चितुवा , डाइनोसरहरूलाई बिर्सिदिने हो भने। त्यसै पनि यस भेकका विशुद्ध कलमजिवीहरूको कहिले दाहिना थिइन् र लक्ष्मी जाली तम्सुक लेखकहरूलाई कलमजिवी नमान्ने हो भने ? जे होस् , देखे - बुझेको कुरा रिट्ठो नबिराइ लेख्न त पाइएला कि अभिव्यक्ति स्वतन्त्रताको सूर्य चम्किरहेको यस युगमा ? एउटा लोकप्रिय गीतको अंशबाट यो लेख अघि बढाऊँ : बेनीको बजार , जता माया उतै छ नजर , उल्...
देवेन्द्र गौतम विक्रम संवत २०८३ को जेठ महिनाको एक बिहान, सङ्कटा मन्दिर परिसरमा पाइला अडिएका छन्। मन्दिरको उत्तरपूर्वी छेउमा दुई लहरमा माग्नेहरू बसिरहेका छन्। त्यही लहरमा एक महिला निष्फिक्री धुवाँ उडाइरहेकी छिन्। न वर्तमानको चिन्ता, न भविष्यको सुर्ता, यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी, होइन त? उनीसँगै बसेकी अलि कम उमेरकी महिला आफ्नो प्यारो सन्तति खेलाइरहेकी छिन् आकाशतिर उफार्दै। को चाहन्न होला आफ्ना शाखासन्तानले आकाश छोऊन् भन्ने। कसलाई लाग्दैन होला आफ्ना सन्तति आफू पुग्न नसकेको गन्तव्य पुगून् भन्ने, सबैसबै दमित इच्छाआकांक्षा पूरा गरून् भन्ने? तर खोइ के हुन्छ हुन्छ। बिरूवा हुन्, मलजल पुगेन होला, वात्सल्यको कमी भयो होला सदा हल्लिरहने गार्हस्थ अर्थतन्त्रलाई भूकम्प-प्रतिरोधी बनाउन दौडिँदा। ‘उडेर जून छुन्छु भन्थेँ’, ‘कति कम्जोर रहेछ भाग्य’ बोलका गीतहरू प्रिय लाग्छन् जित्न नसकेकाहरूलाई। आफ्नो सन्तानलाई आकाशतिर उफारिरहेकी आमाका जस्तै चाहनाहरू त हुन्छन् सबैजसो अभिभावकका। त्यसो त सन्ततिका आफ्नै इच्छा-आकांक्षा-चाहना असमेल हुन्छन...
Comments
Post a Comment