Stream of consciousness: आमा, म र माउन्टेन माफिया
नेपालमा सक्रिय देशी-विदेशी, बहुरूपिया माउन्टेन माफियाबारे मैले थोरै लेखेको छु।यो माफिया विकट नेपालका कुनाकन्दरादेखि शहरबजारसम्म, हिमालदेखि पहाड र तराइसम्म फैलिएको सजग पाठकहरूलाई अझसम्म थाहा भइसकेको छैन भने त्यो प्रत्येक वर्ष आयोजना हुने कन्फ्रेंस अभ पार्टिज र अन्य जलवायु परिवर्तन मेलाहरूमा कार्बन फूटप्रिन्टको कुनै पर्वाह नगरी वायुयान र अन्य परिवहनको प्रयोग गरी जीवाष्म इन्धनको धुवाँ उडाउँदै सहभागी हुन जाने, धुवाँदार भाषण छाँटेर कहिल्यै नथाक्ने तर प्रकृति संरक्षणको क्षेत्रमा सिन्को नभाँच्ने बडेबडे नेतागण, वातावरणवादी, वातावरणविद, जलवायु परामर्शदाता र उच्चपदस्थ सरकारी अधिकारीहरूको मात्र होइन, पंक्तिकारजस्तो यस महानगरको महान युगमा जसोतसो गुजारा गरिरहेको ससानो कलमजिवीको पनि ज्यादै ठुलो असफलता हो।
माउन्टेन माफियाबारे पाठकहरूलाई थाहा छैन भने त्यो जलवायु परिवर्तन मेलाहरूमा कार्बन फूटप्रिन्टको पर्वाह नगरी जीवाष्म इन्धनको धुवाँ उडाउँदै सहभागी हुन जाने, धुवाँदार भाषण छाँटेर नथाक्ने तर प्रकृति संरक्षणको क्षेत्रमा सिन्को नभाँच्ने नेतागण, वातावरणवादी, वातावरणविद, जलवायु परामर्शदाता र उच्चपदस्थ सरकारी अधिकारीहरूको मात्र होइन, पंक्तिकारजस्तो यस महानगरको महान युगमा गुजारा गरिरहेको कलमजिवीको पनि ठुलो असफलता हो
प्रथमत: ज्यादै कमजोर भूबनोट भएका पहाडहरूलाई चिराचिरा पारी यत्रतत्रसर्वत्र सडक खोल्ने, बालुवा र ढुंगाजस्ता नदीजन्य निर्माण सामग्रीहरूको अनियन्त्रित दोहन गर्न दिइ आर्थिक स्रोत जुटाउन दिनरात नभनी खट्ने 'विकासप्रेमी' माफियाबारे थोरै चर्चा गरौँ। हुन त पहाडहरूलाई सडक संजालसँग जोडी देश विकासको मूलप्रवाहमा समावेश गर्ने सत्कर्ममाथि प्रश्न उठाएको कतिलाई ननिकोसम्म लाग्ला, अन्य कतिको चाहिँ छाती नै पोल्ला। स्पष्ट छ, जसको स्वार्थ जति गहिरो छ, त्यति नै उग्र प्रतिक्रिया आउने हो।
डोजराध्यक्षहरूका बाध्यताहरू पनि पहाडजत्तिकै अजङ्गका छन्। करोडौँ खर्च गरी खरिदेका डोजर चलाइ, ऋण तिरी, नाफा कमाइ अर्को चुनावका लागि समेत खर्च जुटाउनुपर्ने बाध्यता छँदैछ।
गाउँतहमा यो विकासप्रेमी माफियाको नेतृत्व मूलत: गाउँपालिकाका अध्यक्षहरूले गरेको देखिन्छ।हरेकजसो अध्यक्षको आफ्नै डोजर हुन्छ 'विकास निर्माणको' यस युगमा। यसको सिधा अर्थ हो, गाउँपालिकामा हुने विकासनिर्माणका कार्यमा घोडे भाग पाउने यिनै गाउँपालिका अध्यक्षहरूले नै हो। ड्राइविंग सिटमा प्रकटमा देखिने पात्र जो भए पनि ती दानवीय यन्त्रहरूको संचालन गर्ने यिनै अध्यक्षजीहरूले नै हो। त्यसैले गाउँपालिका अध्यक्षहरू हिजोआज डोजराध्यक्षका नामले समेत 'सुपरिचित' छन्।
डोजराध्यक्षहरूका बाध्यताहरू पनि पहाडजत्तिकै अजङ्गका छन्। ऋणधन गरी करोडौँ खर्च गरी खरिदेका डोजर चलाइ, ऋण तिरी, नाफा कमाइ अर्को चुनावका लागि समेत खर्च जुटाउनुपर्ने बाध्यता छँदैछ। अध्यक्षकै चुनाव पनि कति लड्नु फेरि?
हो त्यो त, तर प्रदेश वा राष्ट्रिय स्तरमै जाने हो भने त तलदेखि माथिसम्मै टन्नै खुवाउनुपर्छ कार्यकर्तादेखि नेतासम्मलाई नै। मासुभात मात्रै खुवाएर काम हुने भए त हुन्थ्यो नि!
त्यसो भए खर्च कसरी जुटाउने त? जे जति तलब-भत्ता र कमिशन पाइन्छ, त्यसको ठुलै अंश खानलाउनमै खर्च भइहाल्छ, फेरि कार्यकर्ता पनि पाल्नैपर्यो। धन्न डोज़रले धानेको छ, नत्र त अहिलेसम्म हरितन्नम भइसकिन्थ्यो, यस्तै सोच्दा हुन् डोजराध्यक्षहरू।
यी अध्यक्षहरूको अधिकांश कार्यकाल त विकास-निर्माणको काममै बितिहाल्छ। हुन पनि विकास-निर्माणका कामले उनीहरू मालामाल नै हुन्छन्। विकास निर्माणका कामले जनताको मन पनि जित्ने, नोट पनि प्राप्त हुने, अनि भइएन त 'डबल' मालामाल?
यो 'जागिर' पनि बडो गजबको छ बा। विकास हुँदा पनि आफै मालामाल, प्रकृतिले विनाशलिला मच्चाउँदा पनि आफै मालामाल।
आफ्नो व्यस्त कार्यकालका बेला कुनै दिन यी शक्तिशाली अध्यक्षहरूलाई कार्यालयमा झोक्राएर बसेको देख्नुभयो भने डोजरले काम नपाउँदा घाटा भइ खाना नरूचेको अवस्था हो भन्ने बुझी झिँजो नलगाउँदा नै तपाईंको कल्याण हुनेछ। नत्र जे पनि हुन सक्छ।
माउन्टेन माफिया पहाड पल्टाएर विकासको बाटो खोल्ने, बालुवा, ढुंगाजस्ता नदीजन्य निर्माण सामग्रीहरूको अनियन्त्रित दोहन गरी पहाड र बेँसीहरूमा वातावरणीय विनाश निम्त्याइ खास गरी हुँदा खाने पहाडीहरूको उठिबास लगाउन 'सक्रिय' छ।
कहिल्यै सूर्य नअस्ताउने साम्राज्यले अश्वमेध यज्ञ गरेपछि छोडेका श्यामकर्ण घोडाका तबेलाहरू रणनीतिक महत्वका हाम्रा पहाडहरूमा अझै छन् निवृत्तिभरण क्याम्पका रूपमा। तिनबाट माउन्टेन माफ़ियाको गन्ध नआएर राष्ट्रिय स्वतन्त्रताको सुगन्ध आउँछ त?
हो, त्यहि माफियाका सरगनाहरू राजधानीको केन्द्र भागमा बडेबडे दूतावासहरू खडा गरेर बसेका छन्। नेपालका जंगल, हिमाल, पहाड, तराइ, नदीजस्ता अमूल्य प्राकृतिक सम्पदाहरू तिनीहरूको पंजामा परी छटपटाइ रहेका छन्।
स्पष्टै छ, सडकप्रेमी, भ्यूटावर निर्माणप्रेमी, ढुंगा, बालुवा, माटोप्रेमी डोजराध्यक्षहरू, चोकचोकमा रातारात सिमेन्ट, बालुवा र छडबाट बनेका आलुदेखि खुर्सानीसम्म उमार्नेहरू त ससाना माछाहरू मात्र हुन्। वास्तवमा उनीहरूभन्दा धेरै शक्तिशाली माफियाका पाइलाहरू पहाडमा यत्रतत्रसर्वत्र देखिन्छन्। मेरी आमा, हजुरआमाको पुस्ता र त्यस अघिका कयौँ पुस्ताहरूले समग्र प्रकृतिलाई नै भगवानभन्दा माथि ठानी जोगाएका वनजंगल, पहाड, नदीनाला लगायत प्राकृतिक सम्पदाको दोहन हुँदा, कतिसम्म भने कालीगण्डकी लगायतका जीवनदायिनी नदीहरूको प्राकृतिक बहाव परिवर्तन गरी देशलाई हरिकंगाल बनाइ छिमेक पोस्ने योजना बनाइँदा समेत त्यसको समर्थन गर्ने दलविशेषका बौद्धिक लाउकेहरू, उपबुज्रुकहरूमा पनि त्यहि माउन्टेन माफियाको अनुहार स्पष्ट देखिन्छ।
संस्कृत वांग्मयमा अति पवित्र भनी वर्णन गरिएका, खरिदबिक्री निषेध गरिएका कालीगण्डकीका शालिग्रामदेखि वन्यजन्तुका अंगप्रत्यंगसम्म तस्करी गर्नेहरूको नाभि कतै न कतै, कुनै न कुनै रूपमा यस राज्यको शासन संचालनका हर्ताकर्ताहरूसँग प्रत्यक्ष-अप्रत्यक्ष रूपमा जोडिएको छैन होला भन्ने आधार के छ र?
हो, त्यहि माफियाको अर्को अवतार तराइमा कलिलो चुरे पहाड र नदीजन्य निर्माण सामग्रीहरूको अनियन्त्रित दोहन गरी सीमापारि तस्करी गर्नमा समेत सक्रिय छ।
हालै छिमेकबाट आएका केहि पात्रहरू उपत्यकाको पहाडविशेषमा नानाथरी भागभंगिमा तथा मुद्रामा प्रकट भएको देखियो। नेपाल सरकारको स्वीकृति नै नलिइ खोलिएको भनिएको टेलिभिजन च्यानलको उद्घाटनमा प्रधानमन्त्री स्वयं र प्रतिपक्षी दलका नेताहरू तँछाडमछाड गर्दै उपस्थित भएको अचम्मको दृश्य पनि देखियो।
त्यसबेला आगन्तुक पात्रहरूको 'विराट' स्वरूपले पहाड र हिमाल छेकेजस्तो लाग्यो।कताकता भगवान विष्णुको वामन अवतारको सम्झना भयो, विष्णु विराट स्वरूपमा प्रकट भइ एक पाइलाले आकाश, दोस्रो पाइलाले पाताल समेटेको र तेस्रो पाइला राख्ने ठाउँ नहुँदा दानशील राजा बलिको निधारमा पाइला टेकी त्रिलोक कब्जा गरेको सम्झना भयो। नेपालमा कतै इम्पेरियल प्रजेक्ट २.० को थालनी हुन थालेको त होइन? घाम कहिल्यै नअस्ताउने भनिएको साम्राज्यले लडेर जित्न नसकेको देश इतिहासको एकदमै खतरनाक मोडमा छलको बलमा जित्न खोजिँदै त छैन?
हिजोआज मैले हुम्डेमा, दाउन्नेमा, चन्द्रागिरीमा, बालाजुमा, नागार्जुनमा, मुस्ताङ र यस देशका कतिपय अन्य पहाड र हिमालहरूमा तिनै विष्णुका जस्ता विराट पाइलाहरू देख्न थालेको छु। पृष्ठभूमिमा 'पानी और जवानी पहाडोँमे नहिँ रह सकते भन्दै कोहि अट्टहास गरिरहेको छ।
हो, आमा हुनुहुन्न, उहाँ गण्डकीको निभेको बत्ती भइसक्नुभो। उहाँको सम्झनाले अझै उज्यालो दिन्छ।
यो अट्टहास खप्न नसकेर म विगततर्फ फर्किन्छु।
बैशाख १ गते, ’४० को दशक। आमा र म ‘गण्डकी’ नुहाउन गाउँबाट झरेका छौँ हजुरआमाहरू र अन्य आफन्तहरूसँग। खुट्टामा फोरा परेकाले मेरो बेहाल छ, प्युसाले टोकेर बेहाल छ, ज्वरो पनि आएको छ। नुहाइवारी शुद्ध हुँदा साँझ गण्डकी किनारमै बास बस्ने सरतर गर्न थाल्छ। कालीगण्डकीको किनारमा म मेरा हातले आमाको हात बलियोसँग समाएर उभिएको छु। हामीले सालका पात खुटेर बनाएका दुनाहरूमा कपास कातेर बनाइएका अनि तेलमा भिजाइएका बत्ती बालेर नदीमा बगाएका छौँ। म र आमा मन्त्रमुग्ध भएर हेरिरहन्छौँ ती बत्ती ननिभुन्जेल। बत्ती निभ्छ, मेरो हात आमाको हातबाट छुटछ।
हिजोआज म नेपाल बिनाको नेपाली -- हिमाली बिनाको हिमाल, पहाडी बिनाको पहाड र मधेशीबिनाको मधेश -- को कल्पनाले संत्रस्त हुन थालेको छु
मैले माथि उल्लेख गरेका विराट पाइलाहरू झनझन ठुला हुँदै जाँदा, अट्टहास झनझन चर्को हुँदै जाँदा म नेपाल बिनाको नेपाली -- हिमाली बिनाको हिमाल, पहाडी बिनाको पहाड र मधेशीबिनाको मधेश -- को कल्पनाले संत्रस्त हुन थालेको छु।
यस्तो नहोस्, हुनु हुँदैन। तर यस देशका हर्ताकर्ताहरू नै संदिग्ध पात्रहरूको अगाडि त्वं शरणंको मुद्रामा प्रस्तुत भएको बेला जे पनि हुन सक्छ। आस्था हराएको बेला कुन भगवान/भगवतीसँग प्रार्थना गरूँ खै?
- देवेन्द्र गौतम
Comments
Post a Comment