हो, म फगत बाँचिरहनका लागि लेख्छु
देवेन्द्र गौतम
तपाइँ किन लेख्नुहुन्छ?
अध्ययन, चिन्तनमनन र लेखन नै वृत्ति भएकाहरूलाई लाग्दो होः कस्तो वाहियात प्रश्न सोधेको? यो त कोइलीलाई तिमी किन गीत गाउँछौ भनेर सोधेजस्तो भएन र?
अझ हाम्रा नेताहरूलाई तपाइँ किन राजनीति गर्नुुहुन्छ भनी सोधेजस्तो भएन र भन्या ? फोहरी खेलमा रमाउनेहरूलाई स्वच्छता कहाँ मन पर्छ र?
लेखको आरंभमा उठाएको प्रश्नमै फर्किन्छु है त।
उल्लिखित प्रश्न नेपाली मासिक, पाक्षिक, दैनिक, चौमासिक, अर्धवार्षिक, वार्षिक साहित्यिक-गैरसाहित्यिक-आर्थिक÷पारमार्थिक-आध्यात्मिक पत्रपत्रिकाका सुनौला पानाहरूलाई सम्पादक-प्रकाशकहरूको असीम अनुकम्पाले अझ चम्काउँदै र सुवासित बनाउँदै आउनुभएका, यस सानो देशको ठुलो विचार उद्योगमा गुरूगंभीर विचारहरू प्रवाह गरी निरन्तर प्राण फुकिरहनुभएका औँलामा गन्न सकिने यस संकटापन्न युगका तारणहारहरू अर्थात् प्रकाशकका आँखामा जँचेका उत्कृष्ट विचारक-चिन्तक-लेखक-दार्शनिकगणलाई सोध्ने हो भने शायद यस्ता किसिमका उत्तर आउलान्ः
म नेपाली साहित्यको श्रीवृद्धिका लागि लेख्छु ।
म देश र जनताको संकटमोचनका लागि लेख्छु ।
म यस देशको विचार उद्योगको संरक्षण र संवद्र्धनार्थ लेख्छु ।
म यस युगलाई नयाँ दृष्टि दिनका लागि लेख्छु ।
म विश्वभरका पीडित-उपेक्षित-दमित-सीमान्तिकृतहरूको मुक्तिका लागि लेख्छु ।
कतिपय प्रेतलेखकहरूबाट नाम उल्लेख नगरिदिने शर्तमा यस्ता उत्तर पनि आउँछन् होलाः
उहाँ (अमुक नामूद व्यक्तित्व) लाई लेख्ने फूर्सद नै कहाँ हुन्छ र? त्यत्रो व्यापार–व्यवसाय–उद्योग छ, आयात–निर्यातको त्यत्रो साम्राज्य छ, देशको अर्थतन्त्र संहाल्नुपरेको छ, आफ्ना दिव्य विचारहरू लिपिबद्ध गर्न कहाँ भ्याउनुहुन्छ र प्रभुले? त्यसैले उहाँका नाममा मै लेखिदिन्छु, आदि आदि।
यति लेखेवापत मालपानी साहुबाट प्रेतलेखकले कति असुल्नुहुन्छ, त्यो चाहिँ नखुल्ला। तपाइँ अनुमान लगाउन स्वतन्त्र हुनुहुन्छ।
बेलाबेला म आफैलाई अलि निर्मम प्रश्न गर्ने गर्छुः तँ किन लेख्छस् त त्यसो भए? यो सब छोडेर जीवन अलि सुखसँग चल्ने मेलोमेसो गरे के बिग्रिन्छ?
अधबैँशे उमेरका नागबेली डाँडाहरू काटिसकेपछि पनि किशोरवयको जस्तो लाग्ने मभित्रको सदा संघर्षरत लेखक यसरी होच्याएर गरिएको प्रश्नले आहत हुन्छ। आखिर आफैप्रति कति नै निर्मम हुन सकिन्छ र ? अनि कसै गरी आक्रोश रोकी नम्रतापूर्वक मभित्रको लेखक भन्छः चरम बेथिति, भ्रष्टाचार, अनियमितता, अस्थिरताले गाँजेको यो देशमा समाचार पढदापढदै, सुन्दासुन्दै, हेर्दाहेर्दै, सोच्दासोच्दै कतै बहुलाइन्छ कि भन्ने चिन्ता लाग्छ । हो त्यही चिन्ताबाट मुक्त हुनका लागि म लेख्छु।
त्यसो त मैले यदाकदा लेखिटोपल्नुको अर्को कारण पनि छ।
त्यो के भने किरोडीमलजीहरूले झैँ करोडौँ, अरबौँ, खरबौँको कुनै कारोबार संहालिबसेको छैन। पुस्तादरपुस्तालाई पुग्ने धनमाल कसरी व्यवस्थापन गर्ने भन्ने 'यक्षप्रश्न'को सामना गर्नुपर्ने अवस्था पनि छैन। खेतीपातीको अनुभव छैन। अलिअलि जानेको भनेकै यही अक्षरखेती हो, अनि नलेखेर के गर्ने त?
अर्को कारणः ‘देशको मुहार फेर्ने किसिमका ठुलाठुला ठेक्कापट्टा आफ्ना हातमा कहिल्यै थिएनन्, अहिले छैनन्, भोलि पनि नहुने निश्चितजस्तै छ। अनि गर्ने के त?
अर्को कारण पनि छ। त्यो हो आत्मध्वंशी प्रवृत्ति। पांग्रो, इन्जिन यता भए पनि साँचो अन्तै रहेको, लालपूर्जामा जग्गा आफ्नो भए पनि कब्जा अर्कैको भएको यस गजबको देशमा बसेर पंक्तिकारलाई ठुलाठुला शक्तिहरूलाई कहिल्यै क्षय नहुने शब्दब्रह्म अर्थात् अक्षरले आक्रमण गर्न असाध्यै मन पर्छ। हो, यो काममा दाम ज्यादै कम अनि जोखिम ज्यादै बढी छ, तर ‘खतरोँका खिलाडी’ भइसकेपछि यस वीरभूमिमा यति पनि नगरी बस्नु त?
तथाकथित मूलधारे छापाहरूलाई धारे हात लगाएको नभनिदिनुहोला। वास्तविकता के हो भने मेरा स्वनिर्मित शब्दब्रह्मास्त्रहरूमध्ये कति त यस देशका नामीगिरामी प्रकाशनगृहहरूका हर्ताकर्ताको बक्रदृष्टिमा परी निमेषभरमै नष्ट भएका छन् ।
केही थान लेखोटहरूले मात्रै हो ती छापाहरूका जग्मगाउँदा पानाहरूका टिम्टिमाउँदा जूनकिरी हुन पाएको। यदाकदा ती छापिँदा मेरो मस्तिष्कमा रक्तबीजझैँ नानाथरी शंकाहरू प्रश्नै प्रश्न बनेर भरल्तै उब्जिन्छन्।
जस्तो किः
कतै यो देशको विचार उद्योगलाई आफ्ना कालजयी विचारहरूले अनुप्राणित गरिरहनुभएका लेखक-विचारक-चिन्तक-दार्शनिकहरूको स्वास्थ्यमा तलमाथि पो भयो कि? उहाँहरूले किन यसरी अनायासै लेख्न छाडेर हाम्रो कुपोषित शिशुसमान कमजोर विचार उद्योगलाई टुहुरो बनाउन लाग्नुभो? उहाँहरूले लेख्न छाडिदिनुभो भने असार–साउनको वर्षाका कारण जलमग्न बस्तीहरूको घाउ चहर्याइइरहेको बेला दूतावासविशेषले आयोजना गरेको संगीतोत्सवबारे लेखिएको आलेख पढेर दुखेको मन बुझाउला लोकले ? कसले लेख्ला गर्मीमा पानीको कथा, वर्षामा आगोको व्यथा?
यसरी लेख्न छाडदै जानुभयो भने यो देशको विचार उद्योग कसले थाम्छ? हामी नेपालीलाई अँध्यारोबाट उज्यालोतर्फ तातेताते गर्दै कसले डोर्याउँछ?
जग्मगाउँदा पानाहरूमा करोडौँ सूर्यहरूको प्रकाश समान उहाँका विचारहरू पुनः प्रकाशित हुन थालेपछि बल्ल मलाइ अलि ढुक्क हुन्छ।
तपाइँलाई यो सबै पागल–प्रलापझैँ लाग्यो ? पागल–प्रलाप नै ठानिदिनुस् न त।
हो, म यो देशमा बसेर नबहुलाउनका लागि लेख्छु। जीवनका घाइते क्षणहरूलाई कोरोनाभाइरस महामारीले मर्माहत बनाएको बेला तातो भात खोज्दै आत्माजस्तै दुब्लापातला छायाँसदृश मानिसहरू आउँछन्, ढोका ढक्ढक्याउँछन् । कहिलेकाहिँ सारङ्गीजस्तै भोको पेट रेट्दै आउँछन् कलाकारहरू। कहिले धेरै टाढाबाट मुश्किलले सेतो छडीको सहायताले धेरै टाढाबाट आउँछन्, गीत गाउँछन् र जीवनरक्षार्थ सक्दो सहयोग गर्नुस् भन्छन्।
उनीहरू सबैलाई थाहा छ यो राज्य सुन्दैन, बोल्दैन, देख्दैन, चेत्दैन, सहयोगी हातहरू अघि बढाउँदैन, खालि खान्छ मात्र। त्यसैले उनीहरू आमनागरिकका घरदैला धाउँछन्।
मलाइ यी मान्छेका कथाहरूले पोल्छ। लाग्छः हाम्रा संघर्षका कथाहरू अभिलिखित नहुनु भनेको मानवताको लागि ज्यादै ठुलो क्षति हो।
बेलाबेलामा दुस्वप्नहरू आइरहन्छन। यो देशमा समय बौलाएको बेला, राजनीति बौलाएको बेला म कहिले कोकेन खाएको देख्छु र कहालिन्छु, कहिले बौलाएर भौँतारिँदै हिँडिरहेको देख्छु अनिदोमै रात छर्लङ्ग भएपछि बल्ल यो सबै त दुस्वप्न पो रहेछ भनेर चाल पाउँछु।
मलाइ विक्षिप्ततादेखि बडो डर लाग्छ। विक्षिप्तताबाट बच्न म लेख्छु । हो, रक्स्याहाले गिलासमा रहेको पेयको the last dregs समेत छोडन नचाहेझैँ म पनि जीवनप्रति ज्यादै अनुरक्त छु, त्यसैले बाँचिरहनका लागि लेख्छु।
म लक्ष्मीपूजाका दिन जन्मिन अनि महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्तो सरस्वतीपुत्र हुन पनि सकिन । सरस्वतीपूजाको दिन जन्मेर लक्ष्मीको प्यारो भइ खरबौँमा खेल्ने धनकुबेर हुन पनि सकिन। मध्यमवर्गीय परिवारमा यस्तै यस्तै साधारण तिथिमितिमा जन्मेका मजस्ताहरूलाई सधैँभरि एक किसिमको परिचयको संकटले सताउँदो रहेछ। परिचयको यही संकट अलि कम गर्न कहिलेकाहिँ म लेखिटोपल्छु।
शरीर नश्वर छ, अक्षर नै हो कहिल्यै नाश नहुने। तिनै अक्षरहरूमा चिरकालपर्यन्त बाँचिरहनुबाहेक अर्को कुनै उद्देश्य छैन मेरो लेखनको। रह्यो मेरा ‘प्रलापहरू’ प्रकाशित हुने-नहुने कुरो । त्यस बारेमा यति भनूँः आगे संपादकज्यूको जो मर्जि।
Comments
Post a Comment