ज्ञानको काँचो वायु र राज्यशक्तिको मिश्रण घातक हुनसक्छ
- देवेन्द्र गौतम साथीसंगीहरू , आफन्तहरू , परिचितहरूसँगका ' बहसहरूमा ' दिक्क लाग्ने गरी विषयवस्तुहरू दोहोरिइरहन्छन् । पाठकहरूलाई अनुमान भयो म केकस्ता विषयवस्तुहरूको उठान गर्दैछु ? बाटो बिराएको ' राजनीति ' ले टाट पल्टाएको देशमा कुराकानीको विषयवस्तु अरू के नै हुन सक्छ र ? गाउँमा सप्ताह लगाएका बेला सहभागीहरूले यन्त्रवत् रूपमा पण्डितजीको आदेश बमोजिम बेलाबेलामा प्रभुको जय जय भन्ने र फूल चढाउने किसिमका अभ्यासहरूबाट माथि उठ्न सकेका छैनन् हाम्रा बहसहरू , चाहे ती कोठे बहस होउन् वा बृहद बहसहरू नै किन नहोउन् । अनि यस्ता छिपछिपे ' बौद्धिक अभ्यासहरू ' मा प्रत्यक्ष / अप्रत्यक्ष रूपमा सहभागी हातमुख जोर्ने समस्याबाट माथि उठ्न नसकेका बहुसंख्यकहरू सामु कुहिरोको काग हुनु बाहेक अरू के नै विकल्प उपलब्ध हुन्छ र हाम्रोजस्तो मूलत : चुनावमुखी , ' मौलिक ' र ' समाजवाद उन्मुख ' लोकतन्त्रमा ? स्पष्ट छ , ती अवसरहरूमा राष्ट्रिय राजनीति केन्द्रमा रहन्छ । वास्तवमा नीत...