ज्ञानको काँचो वायु र राज्यशक्तिको मिश्रण घातक हुनसक्छ
-
देवेन्द्र
गौतम
साथीसंगीहरू,
आफन्तहरू, परिचितहरूसँगका 'बहसहरूमा' दिक्क लाग्ने गरी विषयवस्तुहरू दोहोरिइरहन्छन्
।
पाठकहरूलाई
अनुमान भयो म केकस्ता
विषयवस्तुहरूको उठान गर्दैछु ?
बाटो
बिराएको 'राजनीति'ले टाट पल्टाएको
देशमा कुराकानीको विषयवस्तु अरू के नै
हुन सक्छ र ? गाउँमा
सप्ताह लगाएका बेला सहभागीहरूले यन्त्रवत्
रूपमा पण्डितजीको आदेश बमोजिम बेलाबेलामा
प्रभुको जय जय भन्ने
र फूल चढाउने किसिमका
अभ्यासहरूबाट माथि उठ्न सकेका
छैनन् हाम्रा बहसहरू, चाहे ती कोठे
बहस होउन् वा बृहद बहसहरू
नै किन नहोउन् । अनि
यस्ता छिपछिपे 'बौद्धिक अभ्यासहरू'मा प्रत्यक्ष/अप्रत्यक्ष
रूपमा सहभागी हातमुख जोर्ने समस्याबाट माथि उठ्न नसकेका
बहुसंख्यकहरू सामु कुहिरोको काग
हुनु बाहेक अरू के नै
विकल्प उपलब्ध हुन्छ र हाम्रोजस्तो मूलत:
चुनावमुखी, 'मौलिक' र 'समाजवाद उन्मुख'
लोकतन्त्रमा ?
स्पष्ट छ, ती अवसरहरूमा राष्ट्रिय राजनीति केन्द्रमा रहन्छ । वास्तवमा नीतिहरूमध्ये सर्वोपरि भनिने तर पथभ्रष्ट राष्ट्रिय राजनीति सम्बन्धमा संघीय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्रमा बहस वर्जित नहुनु यस व्यवस्थाका पक्षधरहरूका लागि समेत कम खुशीको विषय होइन । बाटो बिराएको राजनीतिबारे यत्रतत्रसर्वत्र बहस गर्न पाउँदा आमजनको वितृष्णा, आक्रोश अलिकति भए पनि कम भएको छ । राजनीतिले बाटो बिराउँदा घरघरमा नेता, चोकचोकमा राजनेता उत्पादन हुने बडो रोचक लोकतान्त्रिक परिस्थिति उत्पन्न भएको छ हाम्रो देशमा । कुकरभित्र 'प्रेसर'ले सीमा नाघ्नेबित्तिकै हावा फाल्ने व्यवस्था भएजस्तै यस्ता खुला बहसहरूले पनि परिवर्तनको अर्को लहरलाई अलि पर धकेलेका छन् ।
राजतन्त्रको बिदाइ र लोकतन्त्रको आगमनपछि एक विद्वान राजदूतले ठट्टाको भाषामा बडो मननयोग्य प्रस्ताव गर्नुभएको पंक्तिकारलाई संझना छ । उहाँले अब राजखानीलाई लोकखानी भनौँ भन्नुभएको थियो । हुन पनि हो, मुलुक नयाँ शासन प्रणाली अन्तर्गत संचालन हुन थालिसकेको, 'लोकतन्त्रको लोकमार्गमा' दौडन थालिसकेको -- भीरतिर नै किन नहोस् -- अवस्थामा 'राजनीति'मा मात्रै कति कालो पोतिरहने, अब जति गाली गर्ने हो लोकनीतिलाई गरे भयो नि त !
तर अब राजनीतिलाई लाजनीति नभनेर लोकनीति नै भन्न थालिएछ भने पनि राजनीतिका नाममा विक्रम संवत २०६२-२०६३ को परिवर्तनपछि नानाथरी कुपात्रहरूले गरेका पापहरू पखालिने छैनन्, नेपाल र नेपालीविरूद्ध उनीहरूले गरेका अन्यायहरू इतिहासका पानाहरूबाट मेटिने छैनन्, शासकहरूले जति उद्भट चाटुकारहरूलाई विरूदावली लेख्न लगाए पनि उनीहरूको निधारमा लागेको कलङ्कको टिका मेटिने किसिमको छैन । वि सं २००७ देखि २०६२ सम्मको राजनीतिले त त्यसै पनि दुर्नाम कमाएको छँदैछ ।
उल्लिखित बहसहरूमा सहभागी केही लाउकेहरू/लठैतहरू, प्रायोजित पात्रहरू नानाथरी राजनीतिक नेतृत्वले 'खाएको', देश र देशवासीको स्वार्थ दाउमा राखेर दलगत, गूटगत, पारिवारिक र व्यक्तिगत लाभले प्रेरित भइ गरेका कुकृत्यहरूको, भ्रष्टाचारहरूको, देश र जनताविरोधी गतिविधिहरूको पक्षमा उभिनु त्यति अस्वाभाविक नठानिएला । तर जब भ्रष्टाचार, सुशासन तथा कानूनको शासनको अभावका कारण प्रत्यक्षत: मारमा परेका जनसाधारणले पनि नेताहरूले लाएखाएको, पुस्तौँपुस्तालाई पुग्ने गरी कमाएको सदर गरिदिन्छन् अनि त निस्कर्षमा पुग्न करै लाग्छ: नेतामात्र किन, हाम्रो समाज नै भ्रष्टाचारमा घाँटीसम्मै डुब्नै लागिसकेको रहेछ।
हुन पनि हो: अहिले स्थानीय, प्रदेश वा केन्द्र तहको निर्वाचनको त कुरै छोडौँ, दलविशेषको आन्तरिक निर्वाचनमा सहभागी हुन पनि नोट बिछयाउनुपर्ने अवस्था छ। कार्यकर्ताहरूलाई तेल खर्च, खाजा खर्चदेखि खाना खर्च समेत दिइ परिचालन गर्नुपर्ने अवस्था छ, भोट किन्नुपर्नेसम्मको अवस्था छ भनेको सुनिन्छ, पढिन्छ । यस्तो परिस्थितिमा दशकौँ शासनसत्तामा रहेर करोडौँ/अरबौँ कमाएको नेतृत्व निर्वाचित नभएर के 'शुद्ध साकाहारी' प्रकृतिको नेतृत्व निर्वाचित हुन्छ त ? फेरि निर्वाचित हुन नसकेको नेतृत्व पनि खाने मौका नपाएकाले इमान्दार देखिएको हो, मौका पाए यसले पनि छोड्दैन भन्ने आम-धारणामा अविश्वास गर्नुपर्ने कुनै कारण देखिँदैन ।
बहसका क्रममा 'फलानाका सन्ततिले यस्तो पुरुषार्थ गरे, यति जग्गाजमीन जोडे, यति धन कमाए, तैँले के गरिस त खै ?' भन्ने किसिमका व्यक्तिगत/समूहगत प्रश्नहरू त सोझिन्छन् नै । यस्ता प्रश्नहरू संझीसंझी मन दुखाउनु निरर्थक छ । तर यस्ता प्रश्नहरूले झस्काउँछन् पनि, झस्काउनु पनि पर्छ हामीलाई । स्पष्ट छ: नेपाली समाज सत्ता-शक्तिको अन्धभक्त हुँदै गएको छ, यसले आलोचनात्मक चेत गुमाउँदै गएको छ । यसले अनेक कुकृत्य, भ्रष्टाचार, अनियमितता गरेर कमाउनेहरूलाई नायक मान्न थालेको छ ।
खास गरी योरोप, अमेरिका लगायत 'पहिलो विश्व'तिर बसाइ सरेका दाजुभाइ, दिदीबहिनी, साथीभाइहरूलाई असाध्यै योग्य देखाउने, नेपालमै बसेर राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरूमा ससानै भए पनि योगदान गरेकाहरूको मानमर्दन गर्ने प्रवृत्ति व्याप्त छँदैछ ।
अब लाहुरे संस्कृति फौजमा मात्र सीमित भएन, यस संस्कृतिको नयाँ संस्करण -- बौद्धिक लाहुरे संस्कृति -- ले नेपाली समाजलाई अँठ्याउँदै लागेको छ।
यस्तो अवस्थामा सुयोग्य विदेशवासी सन्ततिहरूका सुयोग्य मातापिताहरूलाई खोजीखोजी सम्मानित गरे भो नि त राज्यले।
सुयोग्यहरू जति योरोप, अमेरिका जाने भए, बलियाबाङ्गा मूलत: खाडी, मलेशिया, कोरिया आदि देशहरूतिर लाग्ने भइगए, भनेपछि ज्यादै थोरै संख्यामा मात्रै नेपालीहरू नेपालमा बाँकी राख्न पो हो कि ? किन यसरी नेपाल खालि गरिँदै छ, नेपालीबिनाको नयाँ नेपाल निर्माण गर्न खोजिँदै छ ? विश्वभरिका विस्थापितहरूको साझा मुलुक बनाउन खोजिएको त होइन ? कसले उत्तर देला ? को सँग उत्तर होला खै ?
यस्ता बहसहरूमा यदाकदा अझ गंभीर प्रकृतिका विषयहरू पनि ज्यादै हल्का किसिमले उठाउने गरिएको पाइन्छ ।
हामी आदिवासी, अनादिवासी जनहरूका पितापुर्खाले रगत-पसिना-आँसु बगाएर कमाएको यो देश हामीलाई विरासतमा प्राप्त भयो । त्यसैले हामी यो देशलाई उपहारमा पाएको कुनै वस्तु जस्तो मान्छौँ शायद ।
हामी स्वतन्त्र भएर के भो त, फलानो/ढिस्कानो देश उपनिवेश त थियो नि, अहिले त्यस देशले गरेको प्रगति हेर्नुस् त ! हामीलाई पनि फलानो देशले लिइदिएको भए कति 'विकास' भइसक्ने रहेछ । यहाँ बसेर मलाइ यस देशले के दिन्छ ? यस्तै प्रश्न प्रवाहित भएको थियो युवाहरूलाई अध्ययनका लागि विदेश पठाउने गरेका एक युवाको मुखारबिन्दबाट पंक्तिकार समेत सहभागी भएको एक पुस्तक विमोचन समारोहमा ।
यस्ता किसिमका छिपछिपे -- शायद प्रायोजित पनि -- बौद्धिकहरूसँग सावधान रहनुहोला पाठकहरू । उनीहरूले त औपनिवेशिकता नै प्रगतिको आधार हो भन्ने सिद्धान्तको प्रतिपादन गरेर तपाइँको दिमाग भुटिदिन सक्छन्, कुनै दिन यस देशको औचित्यमाथि नै प्रश्न उठाउन पनि सक्छन्।
बरू राज्यविहीन भएर २ हजार वर्षसम्म योरोपमा शरणार्थी जीवन बिताउन बाध्य यहुदीहरूबारे पढ्नस, राज्यप्राप्तिका लागि प्यालेस्टिनीहरूको संघर्ष पढ्नुस, घाम नअस्ताउने साम्राज्यले स्थापना गरेको 'रामराज्य'मा वर्तमान भारतको अवस्था कस्तो थियो पढ्नुस, हातमा धर्मग्रन्थ लिएर आउनेहरूले कालान्तरमा आदिवासीहरूको कसरी 'कल्याण' गरे, संयुक्त राज्य अमेरिकामा थरीथरी आदिवासी इण्डियनहरूको के हविगत भयो पढ्नुस, वामनअवतार भगवान विष्णुले बलि राजासँग ३ पाइला जमीन मागेर के सम्म गरे पढ्नुस् । त्यतिले पुगेन ? हाम्रै नालापानी, किल्ला, काँगडा, सतलज, कालापानी-लिपुलेक-लिम्पियाधुरा, सुस्ता, महेशपुरका घाउहरू कोट्याउनुस्, सिमांचलका नेपालीहरूका पीडाका दैनिकीहरू पढ्नुस् ।
किन
भ्रष्टाचारको आरोप लागेका जापानी
नेताहरूले आत्महत्या गर्छन्, सोच्नुस् ।
किन
हाम्रो समाजमा भ्रष्टाचार सदाचार भन्दा बढी पुजित छ,
सोच्दै जानुभयो भने यो ज्ञानभूमि,
तपोभूमि, मातृभूमिको हविगतको कारण थाहा पाइएला
कि ?
आउनुस,
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसीको मर्म बुझ्न खोजौँ
। वयं रक्षाम: को
अर्थ बुझ्न खोजौँ । ज्यादै कठिन
परिस्थितिमा पनि तपाइँ-हाम्रा
पितापुर्खाले यो देश कसरी
जोगाए, आउनुस् पढौँ। चित्त
परेन ? एलर्जी भयो ? त्यसो भए जन एफ
केनेडीले आस्क नट व्हट
योर कन्ट्री क्यान डु फर यु
-- आस्क व्हट यु क्यान
डु फर योर कन्ट्री
किन भने होलान् सोचौँ
। किन
तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीले अमेरिकी नागरिकहरूलाई 'लाहुर' जान भनेनन् होला,
हाम्रोजस्तो सुयोग्य राजनीतिक नेतृत्व नभएर पो हो
कि ?
पढ्न, सोच्न लोकसेवाको प्रमाणपत्र नभए पनि फरक पर्दैन । त्यसै पनि नेपालका संवैधानिक आयोगहरूलाई मूलत: सरकारी सेवाका अवकाशप्राप्त, दलहरूका प्रियपात्रहरूको व्यवस्थापन गर्ने थलो भन्दा थप केहि हुन् भनी ठान्ने हो भने निराशा बाहेक के नै हात लाग्छ र ? त्यस्ता निकायहरूमा अलि बलिया मेरूदण्ड भएकाहरूलाई नियुक्त गर्न सकिएमा सरकार पनि तह लाग्दो हो।
नत्र त बिरालोको घाँटीमा कुन मुसाले घण्टी बाँच्ने हो भन्ने सम्बन्धमा गहन छलफल गर्दागर्दै छट्टु बिरालाले सबै मुसा सखाप पार्न के बेर ?
तपाइँमा प्रज्ञाबिनाको, दम्भयुक्त ज्ञानको काँचो वायु र राज्यशक्ति दुवै छ भने चाहिँ बडो सावधानीपूर्वक पाइला चाल्नुहोला, किनभने यी दुइ तत्वको मिश्रण नेपाल र नेपालीको लागि घातक हुनसक्छ । तपाइँ-हामीले गरेका गल्तीहरूको मूल्य हामी आफैले, हाम्रा परिवारले, कूलले वा बढीमा समाजले चुकाउनुपर्ने हुन्छ तर हाम्रा तारणहारहरूले गरेका गल्तीहरूको मूल्य त नेपाल र नेपालीका पुस्तौँपुस्ताले चुकाउनुपर्ने हुन्छ । यस देशको विगत र वर्तमान पल्टाउने हो भने यस्ता दृष्टान्तहरू थुप्रै भेटिन्छन्।
आलेख उपदेशात्मक भएको भए क्षमाप्रार्थी छु, प्रिय पाठकहरू ।
(काँटछाँटसहित थाहाखबरमा २०७८. ०९. १३ मा प्रकाशित)
Link: https://thahakhabar.com/news/142694/
Comments
Post a Comment