आकाशवाणी, २० वर्षपछि
- देवेन्द्र गौतम
एकाबिहानै आकाशले मलाइ भन्यो: आफ्नै सपनाहरू देख, तिनैलाई साकार पार्नतर्फ लाग।
तपाईंहरू भन्नुहोला: दिमाग सड्क्यो कि क्या हो तपाईंको? कि आकाशवाणी युगमै हुनुहुन्छ अझै पनि? त्यसो भए जाग्नुस्, 5-जी प्रविधि पनि पुरानो हुन थालिसक्यो। भनाइ नै छ: आँख खुली तो सबेरा। समयको तालमा ताल मिलाएर हिँडन सिक्नुस्, यसैमा तपाईंको कल्याण छ।
होइन पाठकवृन्द , म सत्य बोल्दैछु। त्यस बिहान म छोरीलाई महाविद्यालय पुर्याउन हुँइकिरहेको थिएँ, त्यहि बेला 'माथिबाट' उल्लिखित संदेश पाएको हुँ, धरोधर्म झूटो बोलेको छैन। यस सन्देशका बारेमा अलि पछि चर्चा गर्नेछु, जनि गरी धैर्य गरिदिनुहोस्।
हुन त म बालाजु-नयाँबजार-सोह्रखुट्टे-दरबारमार्ग-पुतलीसडकको बाटोमा नियमितजसो ओहोरदोहोर गरिरहेकै हुन्छु। तर त्यो बाटोमा त म हरेक दिन एक प्रकारको कोकोहोलो,सवारी साधनको पेलमेल, एक प्रकारको एन्ट्रोपी झेल्नुपर्दा वाक्कदिक्क हुन्छु। त्यो बाटोमा नानाथरी सवारी साधनको धुवाँ खाँदै पंचमीका पाइला सार्दा सार्दा कार्यालय पुग्न ढिला भइसकेको हुन्छ। तेल खर्चको कुरै नगरूँ, समयको बर्बादीको कुरै नगरूँ, स्वास्थ्य समस्याहरूको कुरै नगरूँ, ढिलो पुग्दा रोजगारदाता रिसाइदिँदा वृत्तिविकासमा पर्न सक्ने असरबारे कुरै नगरूँ किन भने यसो गर्दा हाम्रो राज्यको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ।
अन्य सडक प्रयोगकर्ताहरूको पनि यस्तै हालत त होला नि भनेर चित्त बुझाउँ। अलि बढ्ता बोल्ने, लेख्ने, सोच्ने बानी लाग्या छ, क्षमा पाउँ है सम्बन्धित निकायज्यू। तपाइँ बढ्ता बोल्दै हुनुहुन्छ, चूप लाग्नुस् भन्ने किसिमको देववाणी सुन्न नपरोस्, यहि कामना गर्दछु।
म कल्पन्छु: एलन मस्क्ले लस एन्जल्समा ट्राफिक जाम कम गर्न हाइपर लुपको अवधारणा ल्याएको समयमा हाम्रा शहरी योजनाकारहरू, इन्जिनियरहरूले पनि उपत्यकामा मूलत: भूमिगत सार्वजनिक यातायात प्रणाली -- underground mass transit system -- को अवधारणा ल्याए कति जाति हुन्थ्यो होला? ए साँच्चै, लस एन्जल्ससम्म पनि पुग्नै परेन, दिल्लीको जस्तो mass transit system विकास गर्न सके लाख हुन्छ हामीलाई। अहिले योजना ल्याए कम्तिमा ५० वर्षसम्ममा त कार्यान्वयन भइ भावी पुस्ताले अलि सुख पाउँथे कि?
हाम्रा घगडान योजनाविदहरू, इन्जिनियरहरूले पनि एशियाकै उत्कृष्ट इन्जिनियरिङ संस्थानमा अध्ययन गर्नुभएको हो। तैपनि किन योजना नबनाउनुभएको होला? यसो गर्दा एशियाकै अर्को उत्कृष्ट संस्थान -- चिकित्साशास्त्र अध्ययन संस्थान -- मा अध्ययन गरेका उत्कृष्ट चिकित्सकहरूले स्वासप्रश्वाससम्बन्धी रोगका बिरामीहरू, नाक-कान-घाँटीका बिरामीहरू, हाइपरटेन्शनका बिरामीहरू र सडक दुर्घटनाका घाइतेहरूको उपचार गर्न नपाउने हुँदा उनीहरूको वृत्तिविकासमा असर पर्ने सोचेर जानीजानी योजना बनाउनुभएको त होइन? यसो हो भने म 'संसारकै उत्कृष्ट संविधान' मा उल्लिखित मौलिक हकहरूको सदुपयोग गर्दै तपाइँहरूलाई ठिक पार्न सरकार गुहार्नेछु। अनि देख्नुहुनेछ नानीका ताइँ।
यो योजना कार्यान्वयन गर्दा कति फाइदा हुन्छ -- यहाँहरूमध्ये कतिपयलाई कति कमिशन प्राप्त हुन्छ त्यो मेरो चासोको विषय भएन -- क्याल्कुलेटर थिच्दै गर्नुस्, म चाहिँ अघि बढ्छु है।
हिउँदको त्यो बिहान कुद्दै गर्दा यस सुन्दर उपत्यकाको सौन्दर्यमा 'चार चाँद' लगाउने सयथरी तारहरूलाई जसोतसो छेल्दै यसो पर के हेरेको थिएँ, म त मुग्ध भइहालेँ। 'माइकल बस' कुद्ने हाम्रा चिल्ला सडकका बिचमा सुन्दर अनुहारमा विफरका दागजस्तै लाग्ने यामानका खाल्डाखुल्डीहरूभन्दा हजारौँ गुना सुन्दर दृश्यहरू आँखाअगाडि देखेपछि त के चाहियो मलाइ? छोरी पनि प्रसन्न भइहाली।
हिउँदे बादलका बुट्टाहरूमा सूर्यका किरणहरू छरिंदाको छटा साँच्चै नै मनोहारी देखियो। त्यो दृश्य हेर्न हाम्रा सडककिनारका रूखहरू लाम लागिरहेका जस्ता
देखिन्थे। दिउँसोतिर ती रूखहरू नजिकै अवस्थित राहदानी महाशाखाबाट राहदानी प्राप्त गर्न लाइन लागेका नेपाली युवाहरूजस्तै देखिन्छन्। स्वदेशमा काम नपाउँदा अनि विदेशको विजा नलाग्दा उदास भएका, निराश भएका, थाकेका, हारेका युवाहरूजस्तै देखिन्छन् । बिहान त कस्तो जीवन्त देखिएका, हेर त छली रूखहरू!
त्यसो त रूखहरूलाई पनि कम्ता दुक्ख छैन, अरूलाई छहारी दिएर, ओत लाग्न दिएर पनि बडो रूखो जीवन जिउन विवश छन् यी प्राणीहरू। खाडीको तातो हावा आइपुगेर यी रूखहरूलाई आक्रान्त बनाइरहेको त छैन कतै? इन्जेक्शन लगाइदिएर नेपाली युवाहरूलाई विदेशमा काम लगाउने गरिन्छ रे, यन्त्रवत काम गर्न सकून भनेर? कतै विदेशमा डर्टी, डिफिकल्ट, डेन्जरस काम गर्दागर्दै ज्यान गुमाएका नेपाली युवाहरूले यिनै रूखको रूपमा नेपालमा पुनर्जन्म लिएका त होइनन्? यी रूखहरू त्यहि स्टेरोइडले लठ्ठिएका त छैनन्?
कतिखेर 'माथिकाहरू'लाई सनक चल्छ अनि सडककिनारका रूखहरू एक झमटमै सोत्तर पारिदिन्छन्। वास्तवमा यो खेल बुझ्नै कठिन छ। सडक किनारमा रूख लगायो, बढ्छन्, काट्यो, फेरि लगायो, बढ्छन् अनि फेरि काट्यो। यो क्रम निरन्तर चलिरहेको छ, अनन्तसम्म चलिरहने पो हो कि?
विदेशतिर यसरी लगाइएका रूखहरूको संरक्षण गरिन्छ, काँटछाँट सम्म त गरिन्छ। हामी भने ज्यादै असंवेदनशील छौँ।
हावाहुरी चलेको बेला रूख ढलेर धनजनको ठुलो क्षति हुन सक्ने हुँदा सडक किनारमा ठुला हुने रूखका बिरूवा लगाउन नहुने होला। फेरि वर्ष दुइ वर्ष बिराएर सडक मर्मत गरे जस्तै बिरूवा पनि लगाउन नपाए त तर मार्नै नपाइने होला। तलबका भरमा मात्रै त कसरी चल्दो हो र महँगो, विलासी, आरामदायी जिन्दगी? फेरि तलदेखि माथिसम्मै बुझाउनुपर्छ क्यारे! साँच्चै गाह्रो छ हगि, सम्बन्धित निकायहरूलाई पनि। हामीजस्ता आमनागरिकले बुझे पो।
गति र विचार प्रवाहको गजबको सम्बन्ध मैले अनुभव गरेको छु। सडकमा बतासिँदा नयाँनयाँ विचार फुर्ने गरेको अनुभव मसँग छ। यसै गरी एक्लै एक्लै आफ्नै सुरमा हिँडदा पनि नित्यनूतन विचारहरू आउँछन्। रचनात्मकता, सिर्जनात्मकतालाई खासै महत्व नदिइने, विचार खेती गरेर जीवन चलाउन नसकिने, ठुला भनाउँदा विभिन्न प्रकाशनगृहहरूले विचार-चिन्तनको ठेक्का आफ्ना प्रियपात्रहरूलाई दिने गरेको हाम्रो समाजमा कति हो कति विचारहरू लिपिबद्ध हुन नपाइ मर्छन्। लिपिबद्ध भइ सम्प्रेषित भइसकेका यस शहरका झिनामसिना पंक्तिकारजस्ता विचार माफियासँग सम्बद्ध नभएका विचारहरू महान संपादक/प्रकाशकका 'कृपा'ले मर्छन्
सडकतिरै फर्किन्छु है त। आरम्भमा मैले बादलका मनोहारी बुट्टाहरू र त्यो छटा हेर्न लामबद्ध भइबसेका जस्ता लाग्ने रूखहरूको चर्चा गरेको थिएँ। बिहान खुला सडकमा कुद्दा मलाइ यस्तो विचार आएको हो।
गति र विचार प्रवाहको गजबको सम्बन्ध मैले अनुभव गरेको छु। सडकमा बतासिँदा नयाँनयाँ विचार फुर्ने गरेको अनुभव मसँग छ। यसरी विचार फुलाएर कुद्दा डर पनि लाग्ने गरेको छ। कतै विचारमा लट्ठिएर सवारी चलाएको आरोपमा चलान काटिने पो हो कि भन्ने डर पनि लाग्छ। तर आदत से मजबुर भए पछि के लाग्दो रहेछ र?
एक्लै एक्लै आफ्नै सुरमा हिँडदा पनि नित्यनूतन विचारहरू आउँछन्। रविन्द्रनाथ टेगोरले यसै कारण एक्ला चलो भनेका रहेछन् कि क्या हो? रचनात्मकता, सिर्जनात्मकतालाई खासै महत्व नदिइने, विचार खेती गरेर जीवन चलाउन नसकिने, ठुला भनाउँदा विभिन्न प्रकाशनगृहहरूले विचार-चिन्तनको ठेक्का आफ्ना प्रियपात्रहरूलाई दिने गरेको हाम्रो समाजमा कति हो कति विचारहरू लिपिबद्ध हुन नपाइ मर्छन्। लिपिबद्ध भइ सम्प्रेषित भइसकेका यस शहरका झिनामसिना पंक्तिकारजस्ता विचार माफियासँग सम्बद्ध नभएका विचारहरू महान संपादक/प्रकाशकका 'कृपा'ले मर्छन्। विचारलाई औजारको रूपमा प्रयोग गरिने भएपछि 'झिनामसिना' विचारहरू कालकलवित हुनु कुन आश्चर्य भयो र?
आकाशका मनोहारी बुट्टाहरू र तिनको सौन्दर्यपान गर्न ठिङ्ग उभिएका रूखहरू देखेर मलाइ यस्तै विचार आयो। हो, जागिर खाने क्रममा कति पात्रहरूका लागि लिस्नो भइयो, सिंढी भइयो, आफूचाहिँ जहाँको त्यहीँ। यो नानाथरी लाउकेहरूले, अरौटेभरौटे, हुक्केबैठकेहरूले चलाएको देशमा आफ्नो योग्यताको, प्रतिभाको कदर होला भनी कुर्दाकुर्दै जागिरे जीवनका करिब २ दशक बिते, आफ्नो उठ्ने पालो कहिल्यै आएन प्रसिद्ध कलाकार, निर्देशक, गीतकार नीर शाहको गीतले बोलेजस्तै भयो जीवन।
जीवनको बोझले थिचिएर हिँडदाहिँडदा आकाशसँग सम्पर्कै टुटेजस्तो भएको रहेछ क्यारे । त्यसैले रहेछ कि क्या हो आकाशबाट सिग्नल नआएको, दिशानिर्देश नभएको शिक्षाप्राप्ति र जागिरको सिलसिलामा पटकपटक त्यहि बाटो हिँडेको भए पनि।
जे होस्, ढिलै भए पनि आकाशवाणी प्राप्त भएको छ। रूख रोप्ने सर्वोत्कृष्ट समय २० वर्ष अघि थियो, दोस्रो उत्कृष्ट समय चाहिँ अहिले हो, चिनियाँ उखान यसै भन्छ।
अब यसो आकाशतिर पनि हेर्दै गर्नुपर्ला, आफ्नो उठ्ने पालो कसो नआउला त?
Comments
Post a Comment