"उही उत्कृष्ट स्वाद, अब नयाँ प्याकमा"

केहि दिन अघि, ठ्याकै भन्नुपर्दा हरिबोधिनी एकादशीका दिन यस संघीय लोकतान्त्रिक/प्रजातान्त्रिक धर्मनिरपेक्ष गणतन्त्रका केहि नामीगिरामी पत्रिकाहरूमा रम-विशेषको लाइफ-साइज विज्ञापन (ज्याकेट एयाड) छापियो शिर्षकमा उल्लिखित 'संदेश' वा ट्यागलाइनसहित  

प्रसंग आइहालेकाले हरिबोधिनी एकादशीबारे थोरै चर्चा गर्नु सान्दर्भिक होला परापूर्वकालमा वर्षाऋतु शुरू भएपछि दर्के झरी पर्ने, खोलानाला बढ्ने तथा हिजोआज जस्तो यातायातका साधनहरू नहुने हुँदा जनजीवन ठप्प हुन्थ्यो, हिजोआज 'नेपाल बन्द' गरेजस्तो अवस्था हुन्थ्यो होला    'पुष्पक' टाइपका विमानहरू, रथहरू त्यस समयमा कति जनासँग हुन्थ्यो होला ? बादल लाग्ने, कुहिरो लाग्ने, झरी पर्ने याममा आकाशमार्गमा 'भिजिविलिटी'को समस्या पक्कै हुन्थ्यो होला फेरि झरी, बाढी, पहिरोले क्षतिग्रस्त बनाएका बाटाहरूमा रथ चलाउनु के पैदल हिँड्न पनि असम्भव हुन्थ्यो होला नि, होइन ?  

मौसमको प्रतिकूलताका कारण अरू अरू भगवान श्रीहरिको पनि केहि लाग्दैनथ्यो त्यसैले उनी क्षीरसागरमा शेषनागको बिस्तरा लगाइ 'योगनिद्रारत' हुन्थे रे ! यसरी श्रीहरि 'शयन' गर्न जाने अर्थात् सुत्न जाने वर्षायामको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ  

वर्षाऋतु अन्त्य भइसकेपछि मौसममा क्रमिक रूपमा सुधार हुन्थ्यो होला, प्रच्छन्न भएर घाम लाग्थ्यो, बाटाहरू खुल्थे, आवतजावत अन्य कार्यव्यवहार गर्न सजिलो हुन्थ्यो होला हिजोआज जस्तै । बाँचिएको खुशियालीमा विभिन्न चाडपर्वहरू मनाउन थालियो होला, वर्षाजन्य प्राकृतिक विपदहरूमा परी ज्यान गुमाउने आफन्तहरूको सम्झनामा अनुष्ठानहरू थालियो होला  

जे होस्, मौसममा सुधार हुँदै गएपछि श्रीहरि जागा नहुने कुरै भएन हो, यहि हरि जागा भएको अर्थात वर्षाऋतुका कारण अस्तव्यस्त जनजीवन पुन:लयमा फर्केको दिन हरिबोधिनी एकादशीको रूपमा मनाउने गरिएको हो भनिन्छ  

लोकजीवनमा हरिशयनी हरिबोधिनी एकादशी ठुला/ठुलीएकादशीका रूपमा परिचित छन् अन्य एकादशीका दिन व्रत नबस्नेहरूमध्ये कतिपय व्यक्तिहरू यी दुइ एकादशीका दिन व्रत बस्ने गर्छन् तर नेपालमा बोतल खोलेर, चियर्स गरेर, 'चिरिप्प पारेर' ठुला/ठुली एकादशी मनाइने गरेको जानकारी पंक्तिकारलाई चाहिँ छैन

हरिबोधिनी एकादशीको मौका पारेर अल्कोहलयुक्त पेय पदार्थको 'खतरा' विज्ञापनको प्रकाशन नेपाली राष्ट्रिय जीवनको खास गरी एक धाराको आस्था, विश्वासपद्धति, रितिरिवाज, परम्परा, चालचलनमाथि निरन्तर प्रहार गर्ने, बहिष्करणमा पार्ने प्रायोजित, दीर्घकालीन प्रपंच अनुरूप घटाइएको घटना होइन होला ? यदि हो भने यस दुष्कार्यमा केकस्ता स्वदेशी/विदेशी शक्तिहरू संलग्न होलान् ? तिनीहरूको उद्देश्य के होला

यी प्रश्नहरूले सचेत पाठकहरूलाई हामी देशको रूपमा कतातिर लाग्दैछौँ भनी प्रश्न गर्न अनि उत्तर खोज्न उत्प्रेरित गरून् देशलाई व्यक्तिगत, दलगत, समूहगत, जातिगत स्वार्थभन्दा माथि राखेर, लठैत मानसिकताबाट माथि उठेर, देशलाई सर्वोपरि मानेर विश्लेषण गर्यौँ भने हामी पक्कै पनि सही निष्कर्षमा पुग्नेछौँ

जे होस्, उक्त विज्ञापनले सामाजिक संजालमा ठुलै हलचल मच्चायो हाल एक टेलिभिजन च्यानलसँग सम्बद्ध एक पुरानै पत्रकारले उक्त ज्याकेट विज्ञापनसम्बन्धमा ट्वीटरमा पोष्ट पनि गरे 'बुझ्दै नबुझी टिप्पणी गर्ने तोरीहरूमा समर्पित' भन्दै मूर्खप्रश्नहरू गरेर नथाक्ने यस पंक्तिकारले सोध्यो: मोटो रकमको प्रस्तावसहित तपाइँको च्यानललाई उक्त विज्ञापन प्रसारण गरिदिन भनियो भने तपाइँहरूलाई ethical dilemma (नैतिकताको संकट) हुन्छ कि हुँदैन ? प्रश्न गलत ठेगानामा पुगेर हो कि थाहा छैन तर जवाफ भने अझैसम्म प्राप्त भएको छैन  

संचारमाध्यमका कतिपय पेय-प्रिय पात्रहरूसँग भने पंक्तिकारले पनि कार्य गरेकै हो उनीहरूको समस्या के भने खासगरी सित्तैमा पिउने अवसर पाएपछि ती अनियन्त्रित रूपमा पिउँथे अनि कहिलेकाहिँ कार्यस्थलमै समेत बबण्डर मच्चाउँथे चाडबाडका बेला अन्य अवसरहरूमा दूतावासहरूबाट पनि संचारमाध्यमका प्रियपात्रहरूलाई त्यस्ता पेय पदार्थ आउनु वा पार्टीहरूमा निम्तो आउनु हाम्रोजस्तो 'रिग्ड सिस्टम' ले शासन गरेको देशमा कुन आश्चर्य भयो ? यति गरेर राज्यको चौथो अङ्गलाई प्रभावित पार्न सकिन्छ भने यो सबै कुनचाहिँ स्वार्थ समूहले गर्दैन होला

त्यसो सँगै काम गरेका सबैले पिउँथे, पिएर आफ्नो 'डिसेन्सी' नै गुमाउँथे भन्न खोजिएको होइन, पिउनु नै अपराध हो भनिएको पनि होइन तर पिएर अनियन्त्रित हुने कुपात्रहरूलाई ठाउँका ठाउँ - झापड लगाउँदा बल्ल औकातमा रहँदा रहेछन् कि भन्ने ज्ञान चाहिँ पलाएको हो

टाइम्स अभ इण्डियाको ब्युरो चिफ भइ काम गरेका एक दक्षिण भारतीय पत्रकार थिए व्यवस्थापकीय भूमिकामा, उनी पिउँदैनथे सोच्थेँ: त्यति ठुलो पत्रिकामा काम गरेका व्यक्ति, पिउने/पिलाउने नै नगरी कसरी कार्यव्यवहार चल्दो हो, स्रोतहरूसँग, सरकारी अधिकारीहरूसँग, निजी क्षेत्रसँग, कूटनीतिक क्षेत्रसँग कसरी सम्बन्ध कायम हुँदो हो, सुदृढ हुँदो हो ?  

पत्रकारिताका शुरूवाती दिनहरूमा सक्रिय पत्रकारितामा खाइखेली एक किसिमले सेवानिवृत्त भइसकेका वरिष्ठ पात्रहरूसँग कुरा गर्न अलि संकोच लाग्थ्यो, त्यसैले यस्ता मूर्खप्रश्नहरू सोध्ने आँट गरिएन   

तरै पनि एउटै संस्थामा काम गर्दा कहिलेकाहिँ पारिवारिक पृष्ठभूमि, शिक्षादिक्षा, सामाजिक जीवन, राष्ट्रिय राजनीति, व्यक्तिगत रूचिहरूबारे कुरा भइहाल्थ्यो   

मासु खान्छु, कहिलेकाहिँ पिउँछु पनि भन्दा उनी प्रश्न गर्थे: तुम ब्राह्मण हो के ये सब करते हो

भन्थेँ: यहाँके ब्राह्मण लोग थोडा लिबरल (उदार) होते हेँ मध्यममार्गका कुरा गर्थेँ, अति सर्वत्र वर्जयेत् भन्थेँ   कट्टर दक्षिण भारतीय ब्राह्मणलाई अँग्रेजी हिन्दीले नछोए पनि बुबाका कुरा सुन्दासुन्दा थोरै सिकेको संस्कृतले रामवाणको काम गर्ने आशा हुन्थ्यो हिजोआज यसो सोच्दा ती वरिष्ठ पत्रकारको जीवनपद्धति नै सहि हो, बित्थामा कुतर्क गरिएछ भन्ने लाग्न थालेको

वास्तवमा पारखीहरूका लागि 'जाँडमहिमा' अपरम्पार , यो जति गाए पनि कमै हुन्छ    

तर यी यस्तै प्रकृतिका 'खतरा' विज्ञापन सम्बन्धमा अर्को गंभीर प्रश्न पनि त्यो हो: के आमसंचार माध्यमलाई जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु (मदिराजन्य  पेय पदार्थ लगायत) तथा सेवाहरूको विज्ञापन छाप्न पाउने छुट ? यस सम्बन्धमा विद्यमान नियम-कानूनहरू के भन्छन् ?

हो, कुनै बेला साहसीको एकमात्र चाहना ट्यागलाइन सहितको चुरोटविशेषको विज्ञापन टेलिभिजन च्यानलहरूमार्फत् प्रसारित हुन्थ्यो, अन्तराष्ट्रिय ब्राण्डको चुरोटको बडो आकर्षक, कावब्यायवाला विज्ञापन छापा माध्यमहरूमा छापिन्थ्यो अनि सफलताको प्रतीकवाला अर्को चुरोटको विज्ञापन पनि खुबै छापिन्थ्यो  

तर यो सबै पुरानो जमानाको कुरा भयो, प्रतिगमनकालको कुरा भयो अहिले हामी नयाँ संविधान अन्तर्गत शासित छौँ, लोककल्याणकारी राज्यतर्फ, समाजवादतर्फ उन्मुख छौँ कागजमै भए पनि हामीसँग विज्ञापन नियमन गर्ने ऐन-२०७६ , विज्ञापन बोर्ड गठन गर्ने प्रावधान , प्रेस काउन्सिल , पत्रकारहरूका, प्रकाशकहरूका छाता/जुता संगठनहरू छन्, उपभोक्तावादप्रति धेरै सजग उपभोक्ताहरू छन्, तिनका संगठनहरू पनि सक्रिय नै छन् शायद । 

त्यसभन्दा माथि शक्तिशाली सूचना तथा संचार मन्त्रालय , सर्वशक्तिमान नेपाल सरकार , न्यायालय

उनीहरू यस लेखमा उठाइएको 'खतरा' विज्ञापन जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने यस्तै किसिमका विज्ञापनहरूको प्रकाशनप्रसारणबारे के भन्छन् ? पंक्तिकारलाई जान्न मन लागेको  

पुनश्च: लेखका लागि अत्यावश्यक भएकाले मात्र उत्पादनविशेषको ट्यागलाइन यस लेखमा प्रयोग गरिएको छ । 

- देवेन्द्र गौतम

Comments

Popular posts from this blog

Why read?

Welcome to the countryside: This is not a one-horse town!

के गरी खाअैाला तिमीहरूले ?