जाने होइन त सिङ्गल ट्री?

- देवेन्द्र गौतम

यो शनिबार तपाइँ के गर्दै हुनुहुन्छ? कतै घुम्न जाने योजना पो छ कि? घुमघामका लागि धेरै समय छैन भने पनि तपाइँ नागार्जुन नगरपालिकामा अवस्थित सिङ्गल ट्री अर्थात् एक्ले रूखसम्म चाहिँ अवश्य पुग्न सक्नुहुन्छ।  

समुद्र सतहबाट करिब २८२५ मिटर उँचाइमा रहेको सिङ्गल ट्री खास गरी उपत्यकावासीहरूका लागि एउटा छोटो पदयात्रा गन्तव्यको रूपमा विकसित भइरहेको प्रत्यक्ष देख्न सकिन्छ। 

केहि महिना अघिसम्म पंक्तिकारलाई पनि सिङ्गल ट्री साँच्चै 'सिङ्गल' नै लाग्थ्यो, कविशिरोमणि लेखनाथ पौडेलको तरूण तपसीजस्तो लाग्थ्यो। त्यस तपसी अर्थात् (शायद खरीको बोटका) अग्ला हाँगाहरूमा कागको गूँड देख्न सकिन्थ्यो। 

बाठो कागले अग्ला रूखका अग्ला हाँगाहरूमा गूँड लगाउने गर्छ किनभने अग्लो ठाउँमा उसका बचेराहरूमाथि आक्रमण हुने संभावना कम हुन्छ। 

त्यसो त काग भन्दा बाठो कोइली हुन्छ भनिन्छ। कोइलीले कागले पारेका अण्डा नष्ट गरी त्यहि गूँडमा अण्डा राखिदिन्छ रे।  कागले खुब स्याहारसुसार गर्छ तर बचेरा गूँड छाडेर उडेपछि मात्रै आफू ठगिएको थाहा पाउँछ कि?

अँ साँच्चै, पाठकहरूलाई थाहा छ? खरीको बोट पवित्र मानिन्छ।  

सिङ्गल ट्री तर्फ नै फर्कौँ। केहि महिना अघि त्यस रूखको ऐकान्तिकता भङ्ग गर्न जाँदा पंक्तिकारले त्यहाँ रूख, रूखको काखमा बसेका कुनै देवताको थान र बडो स्वतन्त्र भइ विचरण गरिरहेको कुखुराको भाले, हावा खान निस्केका केहि स्थानीयहरू लगायतका औँलामा गन्न सकिने जीवहरू भेटेको थियो।  

त्यस बिचमा त सिङ्गल ट्रीको रूपान्तरण भइसकेको रहेछ, सिङ्गल ट्री त एकदमै गुल्जार भइसकेको रहेछ, त्यहाँ त वसन्त ऋतुले आफ्नो डेरा सरिसकेछ !

हाउ टाइम्स चेञ्ज !

गत शनिबार (फागुन २७, २०७८) को दिन त्यहाँ जाँदा त पाहुनाहरूको राम्रै घुइँचो देखियो। कुखुराको भाले शायद इतिहास भइसकेको थियो, देवताको थान सबुत थियो, कागले पनि नयाँ गूँड बनाउन भ्याइसकेको थियो।  

प्रमुख आकर्षण त सिङ्गल ट्री भइहाल्यो। त्यहाँ बसेर चिया स्टलको वाफिलो, तात्तातो चिया स्वयम्भू, नागार्जुन र वरिपरिका अन्य जङ्गलहरूबाट आएको स्वच्छ हावा अनि त्यहाँको रमणीयतासँग घोलेर पिउन सकिन्छ। वातावरण संरक्षण, विकासमा रूचि राख्नुहुन्छ, शहरी योजनाविद हुनुहुन्छ भने एकै छिन नै भए पनि परापूर्वकालको कालीदह अर्थात् काठमाडौँ उपत्यकाको अनियन्त्रित शहरीकरणप्रति चिन्तित हुन सक्नुहुन्छ। के थाहा? शहरी योजना होइन, प्रकृतिले थेग्न सक्ने ग्रामीण विकास योजनाहरू पो बनाउनुपर्ने रहेछ भन्ने तत्वज्ञान पो प्राप्त हुन्छ कि यहाँहरूलाई?   

मूड छैन? त्यसो भए अतिरिक्त आकर्षणले तपाइँको मन भुलाउला कि, दुख बिर्साउल कि त? 

फूलै फूलको यस मौसममा फूलहरूले सजाइएको बाली स्विङ्ग अर्थात् एक प्रकारको पिङ्गमा सररर हुइँ गर्दै उपत्यका, नागार्जुन-इचंगुनारायण क्षेत्र र अर्को डाँडामा अवस्थित स्वयंभूनाथको सौन्दर्यको स्वाद लिने कि, त्यसलाई आत्मसात गर्ने कि त?

टिकट त्यति महँगो छैन। एक जनाको रू ३००, दुइ जनाको रू ५००, तीन जनाको रू ७०० पर्दो रहेछ!

बाली स्विङ्गको टिकट काउन्टरकी निशा श्रेष्ठसँग कुराकानी गर्दा थाहा लाग्यो: हिजोआज दैनिक ४०/५० जना पिङ्गको मजा लिन आउँदा रहेछन्। शनिवार र बिदाका दिनहरूमा चाहिँ अलि बढी घुइँचो हुँदो रहेछ।

रूखको तलतिर ससानो भीरजस्तै छ, त्यसलाई शायद डोजर लगाएर ताछेर फेँदीमा कुनै संरचना निर्माणस्थल बनाइएको छ। वरिपरि नानाथरी रूख रोपेर सुरम्य वातावरण बनाउनु राम्रो हुन्थ्यो होला, अक्करे भीरलाई कहालीलाग्दो बनाउनुभन्दा। व्यक्तिगत जग्गा हो भने पनि नगरपालिकाले खरिद गरेर वातावरण संरक्षण गर्न सक्थ्यो कि?

पिङ्गमा सररर चचहुइ गर्दै काम्यकवन (स्वयंभू), कालीदहमा बसेर पनि तिर्खा मेटन नसकिरहेको शहर, नागार्जुन लगायतका सुरम्य वन-उपवनहरूको सौन्दर्यपान गर्न मुटु चाहिने रहेछ मुटु। चारैतिर खुला रहेको पिङ्गलाई गतिमान बनाइदिँदा रहेछन् त्यहाँ खटिएका कर्मचारीहरूले। थोरै तलबितल पर्यो भने के होला भन्ने डर लाग्ने! अनि डराइडराइ किन पिङ्ग खेल्नु भन्ने लाग्यो।

खास गरी उँचाइसँग डराउने, पिङ्गमा मच्चिन डराउने, अग्लो ठाउँबाट तल हेर्दा रिङ्गटा लाग्ने व्यक्तिहरू अलि बढी नै सावधान हुनुपर्नेजस्तो लाग्यो। साथै पिङ्ग चढिरहेकै बेला पृथ्वी हल्लियो अर्थात् भूकम्प गयो भने के होला भन्ने जिज्ञासा पनि रहिरह्यो। 

निशा श्रेष्ठ भन्नुहुन्छ: यो पिङ्ग चढदा अहिलेसम्म कुनै दुर्घटना भएको छैन। 

भविष्यमा पनि नहोस्, यही कामना गरौँ। 

अनि जाने होइन त सिङ्गल ट्री? कहिले जाने? 

कसरी जाने त भन्नुहोला। 

सुन्धाराबाट राधाकृष्ण मन्दिर, नागार्जुन नगरपालिका जाने बस लाग्छ। रानीपोखरी, जमल, लैनचौर, ठमेल, बालाजु चोक, सिद्धार्थ वनस्थली, ढुङ्गेधारा हुँदै राधाकृष्ण मन्दिर पुगेर बसयात्रा टुँगिन्छ। त्यहाँबाट रातोगुम्बा हुँदै, पैदल यात्राको मजा लिँदै उकालो लाग्ने। त्यसो त सिङ्गल ट्रीको फेँदीसम्मै मोटरेबल बाटो छ, त्यस पछि भने तपाइँले एक लर्कन उकालो चढेर सिङ्गल ट्री पुग्नुको विकल्प छैन। नआत्तिनुस्, उकालो त्यति लामो छैन। बरू सिँढी चढ्दा र ओर्लिँदा हतार नगर्नुहोला। 

त्यसो त हल्चोक हुँदै पनि सिङ्गल ट्री पुग्न सकिन्छ। आफ्नै सवारी साधन हुनेहरूलाई त समस्या हुने कुरै भएन, इच्छा, जाँगर र फूर्सदको संयोग मिल्नुपर्यो, त्यत्ति हो। 

जाने होइन त सिङ्गल ट्री?   


Comments

Popular posts from this blog

जाजरकोट भूकम्प, हजुरआमाका सिलोक र राउन्नेको पाप

Welcome to the countryside: This is not a one-horse town!

The Year of the Yeti