खोल्ने होइन त नियाेकलाेनियल प्रजेक्टका गाेप्य फायलहरू?

- देवेन्द्र गौतम
डिसेम्बर ८, १९८९ को दिनलाई जम्मु-कश्मीरको जीवनको एउटा ज्यादै दुखदायी चरणको शुरूवात मानिन्छ। त्यस दिनपछि पृथ्वीको स्वर्ग भनिने जम्मु-कश्मीर जुन दिशामा गयो वा भनौँ जम्मु-कश्मीरलाई जुन दिशातर्फ बलात लगियो, त्यसले कश्मिरीहरूलाई दु:ख, पीडा, आँसु बाहेक केहि दिएन, भारतका लागि त्यसले एउटा ठुलो आन्तरिक सुरक्षा चुनौती थपिदियो।       
हो, त्यहि दिन यासिन मल्लिक नेतृत्वको जम्मु-कश्मीर लिबरेशन फ्रन्ट (जम्मु कश्मीर मुक्ति मोर्चा) सम्बद्ध आततायीहरूले जम्मु-कश्मीरमा रूबैया सइदको अपहरण गरेका थिए। उक्त समूहले लाल देड महिला स्मृति अस्पतालमा इन्टर्नको रूपमा कार्यरत सइदको अपहरण गर्नुको मुख्य कारण थियो (शायद): आफ्नो संघर्षप्रति सम्बन्धित पक्षहरूको ध्यानाकृष्ट गर्नु। 
हुन पनि सइदको अपहरण चानचुने घटना थिएन। कंग्रेस (आइ) सँग छुट्टिभिन्न भइ बसेको अनि मूलत: भारतीय जनता पार्टी र केहि हदसम्म वामपन्थी दलहरूको बलमा टिकेको वि पी सिंह सरकारको जगै हल्लाउने किसिमको घटना थियो त्यो। सरकार नहल्लियोस् पनि किन? आखिर सइद साधारण नागरिक थिइनन्, उनी त वि पी सिंह सरकारका गृह मन्त्री मुफ्ती मोहम्मद सइदकी छोरी थिइन्। 
यो हाइ-प्रोफायल अपहरणपछि भारतीय राज्य संयन्त्र हर्कतमा आयो। वार्ताका क्रममा मुक्ति मोर्चाको माग बमोजिम उसका ५ सदस्यहरूलाई थुनामुक्त गरिसकेपछि सइदलाई मुक्त गरियो डिसेम्बर १३, १९८९ का दिन। ती ५ सदस्यहरूलाई लिन जम्मु-कश्मीरमा हजारौँ समर्थक आएका थिए भनिन्छ। यसले पनि कश्मीरमा भुसको आगोझैँ अतिवाद मौलाउँदै गइरहेको रहेछ भन्ने तर्फ नै इङ्गित गर्छ।        
सइदको अपहरण, मुक्ति र मोर्चाका सदस्यहरूको थुनामुक्तिपछि कश्मीरको आगो निभेन, अझ सल्किँदै गयो। यस संघर्षमा पाकिस्तानको हात रहेको नयाँ दिल्लीको आरोप यथार्थभन्दा पर नहोला। त्यसो त गिल्गिट-बलुचिस्तानमा केहि घटना भयो भने इस्लामाबादले दिल्लीलाई दोष लगाउने अनि कश्मीरमा घटना भए दिल्लीले इस्लामाबादलाई दोष लगाउने परम्पराजस्तै विकसित भइसकेको छ। 
समग्र भारतमा बहुमतमा रहेका तर जम्मु-कश्मीरमा चाहिँ अल्पमतमा रहेका हिन्दूहरू (कश्मीरी पण्डितहरू) कश्मीरमा डढेलोझैँ फैलिएको हिंसामा परी ज्यान गुमाउन बाध्य भए, बलात्कार र अन्य अपमान/अत्याचारको शिकार भए, धेरै जसो विस्थापित जीवन जिउन बाध्य भए। कश्मीरमा अमन चयन कायम गर्ने क्रममा राज्यपक्षबाट पनि हिंसाका घटनाहरू भएका छन्।  
यो हिंसाको चपेटामा स्थानीय मुश्लिम समुदायका सदस्यहरू पनि परे। द प्रिन्टका प्रधान-सम्पादक शेखर गुप्ताले द प्रिन्टको 'हेडलाइनके पिछे शेखरके साथ' कार्यक्रमको मार्च २७, २०२२ को अङ्क (शिर्षक: रसा, इमरान खान,दि कश्मीर फ़ाइल्स एण्ड अरवीन्द केज्रीवाल, एपिसोड १२) मा दर्शकहरूका प्रश्नहरूको उत्तर दिँदै भनेका छन्:                 
रूबैया सइदको अपहरणपछि जम्मु-कश्मीरमा कश्मीरी पण्डितहरूमाथि अत्याचार शुरू भयो। जनवरी १९, १९९० मा जगमोहनलाई जम्मु-कश्मीरको गवर्नर बनाइयो भाजपाको समर्थनमा। जनवरी २० भित्र कश्मीरी पण्डितहरूलाई उक्त राज्य छोड्नु भन्ने फरमान जारी गरिएको थियो। शायद ढिलो नियुक्त भएका कारण जगमोहनले स्थिति नियन्त्रण गर्न सकेनन्।  कश्मीरी पण्डितहरूमाथि अत्याचार भएको हो, पाकिस्तानको समर्थनमा संचालित मुश्लिम समुदायका सदस्यहरूबाट।  
तर यस हिंसामा हिन्दूहरूमात्रै पीडित भएका होइनन्। सन् १९९० देखि हालसम्म कश्मीर हिंसामा २०,००० देखि २५,००० कश्मीरीहरूले ज्यान गुमाएका छन्। हिंसामा परी ज्यान गुमाउनेहरूमा करिब ९८% कश्मीरी मुसलमानहरू छन्। बीस करोड मुश्लिम जनसंख्या भएको भारतमा संपूर्ण समुदायलाई नै यस हिंसाका लागि दोष दिनु ठिक होइन। त्यस विशाल जनसंख्यामा २-३ लाख मात्रै देशद्रोही निस्किए भने पनि भारत अघि बढ्न सक्ने छैन। 

केहि दशक पछि फर्कीहेर्दा थाहा हुन्छ, भारतमा जातिविशेष, धर्मविशेषहरूविरुद्ध लक्षित अरू धेरै हिंसाका घटनाहरू भएका छन्। 
फेब्रुअरी २७, २००२ मा गुजरात राज्यको गोधरामा अयोध्या तीर्थयात्रा गरी फर्किँदै गरेका कारसेवकहरू चढेको रेलमा आगो लगाइँदा ५८ कारसेवकहरूको मृत्यु भयो, यस घटनापछि जातीय हिंसा थप भड्कियो। सरकारी तथ्याङ्कहरूका अनुसार ३ महिनासम्म सल्केको जातीय दङ्गाका क्रममा १, ०४४ व्यक्तिहरूको -- ७९० मुश्लिम र २५४ हिन्दूहरूको -- मृत्यु भयो, २२३ हताहत भए, २,५०० जना घाइते भए। त्यसो त यस दङ्गालाई जातीय सफायाको घटना मान्नेहरूको पनि कमी छैन। स्मरणीय छ, उक्त अवधिमा नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री थिए र उनीमाथि दङ्गा भड्किन नदिन जति गर्नु पर्थ्यो वा सकिन्थ्यो त्यति नगरेको आरोप लाग्दै आएको छ। 
अक्टोबर ३१, १९८४ मा दुइ शिख अङ्गरक्षकले भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको गोली हानी हत्या गरेपछि शिख समुदायविरुद्ध फैलिएको दङ्गा सम्बन्धमा तयार गरिएको जस्टिस नानावटी कमिशन अभ इन्क्व्यायरी रिपोर्ट (१९८४ एन्टी-शिख रायट्स) को अनुदित अंश यस्तो छ: उक्त हत्यापछि दिल्ली र देशका अन्य भागहरूमा शिखहरू र उनीहरूका जायजेथामाथि हिंसात्मक आक्रमणहरू भए। दिल्लीमा अक्टोबर ३१, १९८४ को साँझदेखि हिंसाका घटनाहरू शुरू भए। त्यसपछिका दुइ दिनहरूमा शिखहरू र तिनका सम्पत्तिमा उग्र हिंसा हुँदा सयौँ शिख मारिए, कयौँ घाइते भए।  धेरै ठुलो मात्रामा सम्पत्ति लुटियो र जलाइयो। नवेम्बर ५, १९८४ सम्म हिंसाका घटनाहरू भइरहे पनि नवेम्बर ३ देखि स्थितिमा सुधार आउन थालिसकेको थियो।  दङ्गाका कारण सयौँ शिखहरूले आफ्नो घर छोड्नुपर्यो र सहायता शिविरहरू वा अन्य सुरक्षित स्थानहरूमा आश्रय लिनु पर्यो। धेरै शिख परिवारहरूले आफ्ना पुरुष सदस्यहरू गुमाए, ठुलो भावनात्मक तथा आर्थिक क्षति ब्यहोरे। बोकारो तहसिल, चस तहसिल र कानपुर पनि नराम्रोसँग प्रभावित भए। राज्यसभामा बोल्दै गृह मन्त्रीले जानकारी दिए: दिल्लीमा नवेम्बर १९८४ मा भडकिएको  दङ्गामा परी २,१४६ शिखहरूले ज्यान गुमाए, सोही समयमा देशका अन्य भागहरूमा भड्किएको दङ्गामा ५८६ व्यक्ति मारिएको जानकारी प्राप्त भएको छ। यी शिखविरोधी दङ्गाहरूले शिखहरूका भावनाहरूमा मात्र चोट पुर्याएका छैनन्, यिनले त देशभरिका मानसिक रूपमा स्वस्थ व्यक्तिहरूको चेतनालाई आघात पुर्याएका छन्।  जुन तरिकाले हिंसात्मक आक्रमणहरू गरियो, संभवत: शिखहरूमाथिका ती आक्रमणहरू या त कंग्रेससँग सम्बद्ध व्यक्तिहरूले, तिनका समर्थकहरूले या अन्य संस्थाहरू वा संगठनहरूले संचालन गरेको अनुभव गरिएको छ। दिल्ली पोलिसले शिखहरू र तिनीहरूको जायजेथाको सुरक्षामा लापरवाही गरेको मात्रै होइन, सम्भवत: ती आक्रमणहरू गराउन दुरुत्साहन गर्यो वा चुपचाप आक्रमण हुन दियो कि भन्ने अनुभव गरिएको छ। 

यसै पृष्ठभूमिमा विशाल अग्निहोत्रि लिखित/निर्देशित अनि जी फिल्म्स निर्मित दि कश्मीर फायल्सले चलचित्र बजार तताएको छ। सन १९९० को दशकदेखि कश्मीरमा भड्किएको हिंसाका कारण ज्यान गुमाउन पुगेका, नानाथरी अत्याचार सहन बाध्य, मातृभूमि छोड्न बाध्य बनाइएका कश्मीरी पण्डितहरूमा चलचित्र केन्द्रित छ। 

त्यसो त गोर्खाल्याण्ड आन्दोलनका क्रममा दार्जीलिङका नेपालीभाषीहरूविरुद्ध चलाइएको दमनचक्रमा परेका नेपालीहरूको दु:ख, पीडा, आँसु पनि आलै छ । भारतको उत्तरपूर्वमा भडकिएका दङ्गाहरूमा परेका समुदायहरूको घाउ पनि आलै छ। 
थिम्पुको निरङ्कुश शासनसत्ताले एक जाति, एक भाषा, एक भेष नीति लागु गर्ने क्रममा विश्वकै सबैभन्दा ठुलो प्रजातन्त्रको अघोषित समर्थनका बलमा एक लाख भन्दा नेपालीमूलका भूटानी नागरिकहरूका बस्तीमा दमनचक्र चलाइ, तिनका बस्तीमा आगो लगाइ, बलात्कारलाई युद्धको हतियारका रूपमा प्रयोग गरी एक लाख भन्दा बढी नागरिकहरूलाई तिनका बस्तीहरूबाट लखेटेको कथा पनि धेरै पुरानो होइन। आश्रय खोज्दै सीमांचलका भारतीय भूभागमा प्रवेश गरेका ती विस्थापितहरूलाई तिनीहरूकै मातृभूमि फर्काउन थिम्पुलाई नैतिक दबाव दिनुको सट्टा लखेटी लखेटी, सीमा कटाइ अशान्ति, अव्यवस्था, भ्रष्टाचार,  सुशासनको अभाव, बेरोजगारी जस्ता अनेकन समस्याहरूसँग जुझ्दै गरेको नेपालमा समस्यामाथि समस्या थपिदिने छिमेकीको थिम्पु फायल खोल्न बाँकी नै छ । त्यसै गरी सन् १९५० को राजनीतिक परिवर्तनपछि करिब-करिब हरेक दशकको अन्तरालमा हाम्रा स्वदेशी भनिएका तर उतैको नूनपानीको गुण तिर्न सदा आतुर आफ्ना प्यादाहरू प्रयोग गरी यस देशको भाग्य, भविष्यसँग सम्बन्धित हरेक खेल आफूले जित्ने गरी संचालन गरिएका कूटनीतिक खेलहरू सम्बन्धी नेपाल फायलहरू कहिले खुल्लान् कुन्नि ?
दि कश्मीर फायलपछि भारतमा विभिन्न कालखण्डमा भएका जातीय हिंसाका घटनाहरूमा आधारित चलचित्रहरू बन्नुपर्छ भन्ने आवाज मुखरित हुँदो छ। कुनै दिन सुनुवाइ होला कि?  

स्मरणीय छ, संयुक्त राज्य अमेरिकाले बेलाबेलामा आफ्ना महत्वपूर्ण कार्यहरू/ अपरेशनहरू/घटनाहरू सम्बन्धी गोप्य फायलहरू खोल्ने अर्थात डिक्लासिफाइ गर्ने गरेको छ।  विश्वको सबै भन्दा ठुलो प्रजातन्त्रले पनि अमेरिकाको सिको गर्दै यस्ता फायलहरू खोल्दै गयो भने हामीजस्ता लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र र यस्तै यस्तै तन्त्रहरूका सिकारूहरूलाई पनि लाभ हुन्थ्यो कि? यसो गर्दा प्रजातन्त्र, मानवाधिकार, सुशासन,  पारदर्शिता, सूचनाको हक जस्ता जस्ता राष्ट्रिय जीवनका महत्वपूर्ण क्षेत्रहरूमा सुधार गर्दै उन्नत प्रजातन्त्रमा रूपान्तरित हुन सकिन्थ्यो कि? हुन त सिक्किम, श्रीलङ्का, भूटानदेखि नेपाल लगायतका देशहरू समेट्ने नियाेकलाेनियल प्रजेक्ट अर्थात नवउपनिवेश निर्माण गर्ने याेजनाका गोप्य फायलहरू खोल्दै गइयो भने महाभारत भन्दा धेरै ठुलो बखेडा सिर्जना भइ, इन्द्रप्रस्थ अर्थात् भूराजनीतिक जुवा खेलिने हाम्रो भेगको मुख्य स्थल अर्थात् हस्तिनापुरमै महाभूकम्प गइ  दक्षिण एशिया नै कुरूक्षेत्रमा परिणत हुन्छ कि भन्ने आशंका पनि होला।  
तर चलचित्र उद्योग, दर्शक, पाठकहरू, चिन्तकहरू, विश्लेषकहरू, कूटनीतिका विद्यार्थीहरूलाई लाई भने व्यापक फाइदा हुने निश्चित नै छ किनभने तिनमा महाभारतभन्दा कति हो कति ठुला ब्लकबस्टरहरू निर्माण हुन सक्ने (कश्मीर फायलको त के कुरा भो र?) भूराजनीतिक कथा लुकिबसेको छ। 
फेरि त्यताबाट शुभकार्यको शुरूवात भयो भने उत्तरबाट, पश्चिमबाट पनि त्यस्तै कार्यहरू होलान्? 
त्यसो हुन पायो भने हाम्रो ज्ञान, विज्ञान, विज्ञताको क्षेत्र कति संवृद्ध होला, कति रहस्यहरू उद्घाटित होलान्, ढिलो बुझ्ने हामीले पनि कति ज्ञान प्राप्त गरौँला, यसो विचार गर्नुस् त!    
खोल्ने होइन त फायलहरू हजूर? शुभकार्यमा ढिलाइ गर्नु हुन्न है।  
  


Comments

Popular posts from this blog

जाजरकोट भूकम्प, हजुरआमाका सिलोक र राउन्नेको पाप

Welcome to the countryside: This is not a one-horse town!

The Year of the Yeti