नेपाली संचार जगत केहि समय 'सुपाडीमय' रह्यो। होइन, निरन्तर आफ्नो खेदो खनिरहेकोमा रूष्ट कुनै शक्तिशाली व्यक्तित्व/समूहले त्यसरी खेदो खन्ने पत्रकारविरूद्ध अमूक पात्र/आपराधिक समूहलाई सुपाडी दिएकाले त्यस घटना सम्बन्धी समाचारहरू निरन्तर प्रवाहित गर्न पर्दा सुपाडी जगत संचारमय -- होइन होइन, संचार जगत सुपाडीमय -- भएको चाहिँ पक्कै थिएन।
पाठकहरू
भन्नुहोला/सोच्नुहोला: हरेक फलको फुल्ने, फल्ने, पाक्ने/छिप्पिने, टिप्ने, भण्डारण गर्ने, बिक्री गर्ने समय
हुन्छ, त्यसमा सुपारी
अपवाद हुने कुरो भएन।
अझ कुर्लिनुहोला:
सुपारीको भण्डारण अनि कारोबार हुने समयमा त्यस सम्बन्धी समाचारहरूले अर्थ पृष्ठमा
-- अनर्थ पृष्ठमा होइन -- ठाउँ पाउनु कुन आश्चर्य भो? हाम्रै देशका इलाम, उदयपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, रौतहट, बारा, पर्सा, धनुषा, महोत्तरी, सर्लाही, रामेछाप, चितवन लगायतका
जिल्लाहरूमा पनि सुपारी खेती हुन्छ त। सुपारीसम्बन्धी समाचारलाई स्थान दिन किन
नहुने? बडो जान्ने भाको, हाम्लाई सिकाउँछ यार सोम त!
नरिसाउनुस् न प्रिय
पाठकहरू। ल एक/एक कुडको सुपाडी मुखमा राख्नुस्, यहाँहरूको रिस छुमन्तर भएन भने भैगो ल मेरो लेखै नपढ्नुस्।
सुपाडी मुखमा
राखिसकेपछि थप्नुहोला, अलि मिठो बोलीमा:
यहाँ देशको छ चिन्ता, तिमी सुपाडी सुपाडी
भन्छौ। बेमौसमी राग नअलाप्नुमै तिम्रो कल्याण छ है।
चुनाव लाग्या छ नि
त पाठकहरूलाई। अलिकति ढिलै भए पनि ट्रयाकमा आउनुभो खुशी लाग्या छ। बाइ द वे, देख्नुभो त सुपाडीको कमाल?
त्यसो त अकिञ्चनलाई
यस जगमगाउँदो संचार जगतका कप्तानहरू सुपाडीका पारखीहरू हुन्/होइनन् थाहा छैन, थाहा हुने कुरो पनि भएन।
त्यसैले अनुमानसम्म
गरूँ।
अञ्जुली/डालो/थुन्से/झोलाभरि
सुपारी अनि नानाथरी अफरसहितको ज्याकेट विज्ञापन वा कुनै टुक्रे विज्ञापन
छापिएको/गुंजिएको अकिञ्चनले देखेको/सुनेको/पढेको छैन। हुन त बत्तलमा सजाएर आकर्षक
पाराले लोकार्पण गर्ने कुरो यो परेन। नत्र त 'उही पुरानो सुपाडीको उत्कृष्ट स्वाद, अब नयाँ प्याकमा' पेश गर्न हुन्थ्यो पारखीहरूका लागि उही पुरानै शैलीमा।
कुनै 'सुपाडीमुखी' व्यापारिक घराना'ले निकट भविष्यमा उधुमको सांगीतिक/सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको
पनि अकिञ्चनलाई थाहा छैन।
तरै पनि सुपाडी
चर्चाको केन्द्रमा छ, त्यो पनि देश
स्थानीय निर्वाचनको संघारमै रहेको बेला। किन होला? अझ बढी चर्चा त निर्वाचनको हुनुपर्ने होइन र?
सुपाडी-चर्चा
स्वाभाविक छ पाठकगण किनभने खास गरी यस 'वैश्ययुगमा' सुपाडीको महिमा अपरंपार छ, निर्वाचनको बेला त यसको महत्व व्हात्तै बढेर गएको छ। यहाँहरूले अनुमति दिनुभयो
भने यस सम्बन्धमा थप चर्चा गर्ने नै छु। जे होस्, हजार जिब्रो भएका, यस पृथ्वीलाई धारण
गरीबसेका शेषनागलाई त यस 'श्रीफल' को महिमागान गर्न
हम्मे पर्छ भने अकिञ्चनको के कुरो भो र?
तरै पनि मुखमा एक
टुक्रो राखेर, गणेशादि देवीदेवता, ६४ योगिनी, नन्दीभृङ्गी, ऋषिमुनि -- एस डी
मुनिप्रभृति होइन -- आदिको आवाहन गर्दै यहाँहरूसमक्ष संक्षेपमा सुपाडी-महात्म्य
कहन्छु है त।
यहाँहरू पनि एक/एक
कुड्को मुखमा राखेर यस लोकमा मात्र होइन देवलोकमा समेत दुर्लभ सुपाडी-महात्म्य
सुन्नुस्।
नेपाल राजकीय
प्रज्ञा प्रतिष्ठानद्वारा विक्रम संवत २०२५ मा प्रकाशित, कोषनाथ देवकोटालिखित नेपालीनिघण्टुः परंपरागत नेपाली
चिकित्सापद्धति अध्ययनमा रूचि राख्नेहरूका लागि एउटा महत्वपूर्ण ग्रन्थ हो भन्ने
अकिञ्चनको मत छ। ग्रन्थमा निम्न वर्गहरू समाहित छन्: १. गुडूच्यादि २. शताह्वादि
३. पर्पटादि ४. पिप्पल्यादि ५. मूलकादि ६. फलशाक ७. शाल्मल्यादि ८. निम्बादि ९.
अशोकादि १०. आम्रादि ११. चन्दनादि १२. सुवर्णादि धातूपधातु १३. रत्नोपरत्न १४.
विषोपविष १५. धान्य १६. कृतान्न १७. वारि १८. दुग्ध १९. दधि २०. तक्र २१. नवनीत
२२. घृत २३. मूत्र २४. तैल २५. मधु २६. इक्षु २७. मांस र २८. संधान
उक्त ग्रन्थको
आम्रादिवर्गःमा सुपारीको गुणदोषको पनि वर्णन गरिएको छ। सुपारीको भेद उपशिर्षकमा
तैलिङ्गी, चम्पापुरी, चन्दापुरी, गुहागरी, हैदराबादी, वल्लिग्राम र श्रीरङ्गी सुपारीका गुणदोषहरूको
संक्षेपमा उल्लेख गरिएको छ। उक्त खण्डमा सबै सुपारीमा समानताले रहने साधारण
स्वभावको उल्लेख छ। सुपारी टर्रो र मिठो छ, रेचन छ (दिशा खुलाउँछ), यसले रूचि गराउँछ, सम्मोह गराउँछ, त्रिदोष समन गर्छ, मुखको पचपचाउँदो मल
हटाउँदछ भनिएको छ ।
पानबेगरको सुपारीले
वायु बढाउने, पाण्डु र शोष
गराउने पनि उक्त ग्रन्थमा उल्लेख छ।
त्यतिमात्र कहाँ हो
र?
विनासुपारीको पान
खानाले 'मतिभ्रंश र दरिद्र गराउँछ, अन्त्यमा हरिस्मरण पनि हुँदैन भन्ने वचन पनि छ' भनी उक्त ग्रन्थले सचेत गराएको छ।
यी त भए उबेलाका
सुपारीका गुणदोषहरू। अहिलेका उन्नत जातका, सेलेक्टिव ब्रिडिंग गरिएका, इण्डोनेशिया, थाइल्याण्ड र
मलेशिया लगायतका संवृद्ध देशहरूमा फल्ने 'सुपर सुपाडी' मा कति धेरै विशिष्ट गुणहरू होलान्, कति कम दोषहरू होलान् कल्पना गर्न सकिन्छ। यस्ता गुणहरूको परख गर्न नेपाल
सरकारका मन्त्रीहरू, लोकसेवाछाप
कुशाग्रबुद्धि उच्चपदस्थ अधिकृतहरू अनि तिनीहरूले पत्याएका व्यापारीहरू निपुण
नहुने कुरै भएन।
कसलाई थाहा छैन र
नेपाल आर्थिक सङ्कटको भुमरीमा फँसेको छ भनेर? एशियाली विकास ब्याङ्कलाई थाहा छ। हालै एशियन डिवलपमन्ट आउटलुक २०२२ मार्फत्
उसले नेपाललाई यस सम्बन्धमा सचेत गराएकै छ। विश्व ब्याङ्कलाई थाहा छ। नेपालको
केन्द्रिय ब्याङ्कलाई थाहा छ। अर्थमन्त्रीलाई थाहा छ। अनर्थमन्त्रीहरूलाई थाहा छ।
सत्ताधारी गठबन्धनका युद्ध सरदारहरू, भारदारहरू, सत्ताबाहिर रहेका
मालपानी कमरेडहरूलाई थाहा छ।
यस देशका
प्रधानमन्त्रीलाई थाहा छ। नेपाली लोकलाई थाहा नहुने कुरै
भएन।
बाँच्नका लागि नभइ
नहुने वस्तुहरूको खरिदमा बाहेक विलासिताका वस्तुहरूको आयातमा असाध्यै मूल्यवान
विदेशी मुद्रा खर्च नहोस् भन्नेमा वर्तमान, 'अति-मितव्ययी' सरकार ज्यादै सजग छ
भन्नेमा अकिञ्चनसमेत स्पष्ट छ। बाइ द वे, कतै पाठकहरूलाई अकिञ्चनले गोरखापत्र -- आदिकालमा यस मर्त्यलोकमा गोर्षापत्र
नामले सुपरिचित -- राष्ट्रिय दैनिकको भाषा बोलेजस्तो त लागेन? भाषा मिल्न गएको भए क्षमाप्रार्थी छु।
यहाँनेरि स्पष्ट
पारूँ, आजभोलि देश र
आमजनताको विकास, संवृद्धि, जीवनस्तरमा सुधार जस्ता विषयहरूमा असाध्यै रूचि बढेको
छ अकिञ्चनको। त्यसैले गोरखापत्र संस्थानका दुर्लभ प्रकाशनहरू संस्थानकै भाषामा 'खोजीखोजी' पढ्ने गरेको छु। ती
प्रकाशनहरूले छाप्ने उत्साहजनक समाचारहरू डुबेर पढ्दा हृदयमा आनन्दका छालहरू
उठ्छन्। वास्तवमा यस देशलाई दक्षिण एशियाको सबैभन्दा प्रसन्न राष्ट्र बनाउनमा
(हेर्नुहोस् वर्ल्ड ह्यापिनेश इन्डेक्स २०२२) सरकारी प्रकाशनगृहहरूको ठुलो योगदान
छ भन्ने अकिञ्चनको ठम्याइ छ। यस योगदानको उच्च मूल्याङ्कन गर्ने बेला भएन र? यस देशको जीवनका
हेमन्त-शरद-वर्षा-गृष्म-वसन्त-शिशिरादि ऋतुहरूमा सदा सित्तल रहने निवासले यस
सम्बन्धमा फूर्सदमा यसो सोचे हुने।
यस्ता सकारात्मक, आमजनमा आनन्दको संचार गर्ने समाचारहरूलाई
निजीक्षेत्रका प्रकाशनगृहहरूले किन स्थान नदिएका होलान्? के जनतालाई मनोरंजनबाट वंचित गर्नु मानवाधिकारको
अक्षम्य उल्लङ्घन होइन? के नकारात्मक
समाचार प्रवाहित गरेर लोकलाई विषादतर्फ धकेल्न पाइन्छ?
पटकपटक, थरीथरीका सरकारको नेतृत्व गरी यस देशलाई उन्नति, प्रगति र संवृद्धिको त्रिवेणीमा पुर्याउन ज्यादै
महत्वपूर्ण भूमिका खेल्नुभएका प्रधानमन्त्रीको कुशल नेतृत्वमा संचालित सरकारले
बिनाकारण नेपाल राजपत्रमै सूचना छापीवरी शर्तसहित सुपाडी, केराउ, मरिचको आयात खुला गरिदिएको त पक्कै होइन होला।
सुपाडी-चर्चाले
नेपाली लोक आवश्यकताभन्दा बढी तरङ्गित भइरहेकोले केराउ, मरिचतिर नअल्मलिऊँ।
हेक्का राख्नुपर्ने
कुरा के छ भने मालपानी कमरेडहरूले नेतृत्व गर्नुभएको यसअघिको सरकारले पनि
सुपाडीलगायतको आयात खुकुलो बनाइदिएकै थियो। यस कदमले पनि स्पष्ट पार्छ, आयात खुकुलो बनाउनु कति महत्वपूर्ण छ, जनजिविकासँग यो विषय कति गहिरोसँग जोडिएको छ भनेर।
यो वर्ष त वास्तवमा
सरकारले कन्जुस्याइँ गरेको छ औद्योगिक प्रयोजनका लागि उद्योगले मात्र सुपाडी आयात
अनुमति पाउने व्यवस्था गरेर। आलेख तयार पार्दासम्म एउटा उद्योगले मात्र उद्योग विभागबाट २३ सय मेट्रिक टन सुपासुपाडी आयात
गर्न सिफारिस पाएको बडो चिन्ताजनक अवस्था छ।
यसरी कसरी अघि बढ्न
सक्छ उद्योग अर्थात् माथि उठ्न खोज्ने हाम्रो प्रयास? कसरी चल्छ राष्ट्रिय अर्थतन्त्र? यो त हात्तीको मुखमा जिरा जस्तो भएन र?
एक कुडको सुपाडी
मुखमा राखेर, जनताको तहमा गएर, छातीमा हात राखेर सोचिबक्स्योस् त सरकार।
वास्तवमा त्यही एक
टुक्राले भोक मेटाउँछ, तिर्खा मेटाउँछ, चिन्ता हटाउँछ, त्रिताप मेटाउँछ, चिन्तनतर्फ
प्रवृत्त गराउँछ। खासमा यो श्रीफलको सेवन गरिसकेपछि आम नेपालीले अरू केहि सेवन
गर्नै पर्दैन, किनभने यस फलमा नेपाली शरीरलाई आवश्यक सबै पोषक
तत्वहरू पाइन्छन् भन्ने अकिञ्चनको मत छ।
वास्तवमा सिमित
मात्रामा, अनेक शर्त र
बन्देजसहित सुपारी आयात 'खुला' गरिदिनु एकदमै
जनविरोधी कदम हो। राष्ट्रिय संवृद्धि
हासिल गर्न चाहेको हो भने, सबै नेपाली सुखी, खुशी होऊन् भन्ने चाहेको हो भने त यस सरकारले सुपाडी आयात पूर्णरूपमा खुला गरिदिनु पो पर्छ त।
सरकारले हरेक दिन
प्रत्येक नेपालीले निश्चित परिणाममा सुपारी खानैपर्ने कानून ल्याउनुपर्छ। कानून
ल्याएर मात्रै हुँदैन, त्यसको कडा
कार्यान्वयनको तारतम्य मिलाउनुपर्छ।
लोकप्रिय सरकारी
संचारमाध्यमहरूमार्फत् नियमित सुपारी खाँदा जनस्वास्थ्यमा पर्ने सकारात्मक
प्रभावहरूबारे प्रचारप्रसार गरिनुपर्छ।
सरकारी तथा निजी
संचारमाध्यमहरूमा सुपाडीका लाभकारी गुणहरू सम्बन्धी विज्ञापनहरू, लेखहरू लगायतका सामग्रीहरूलाई उचित स्थान दिइनुपर्छ।
सुपाडी-शिक्षालाई शिक्षा प्रणालीको अभिन्न तथा अनिवार्य
अङ्ग बनाइनुपर्छ। सुपाडीसम्बन्धी अध्ययन गर्न चाहने सबै तह र तप्काका विशिष्ट
व्यक्तित्वहरूलाई आकर्षक छात्रवृत्ति/ विद्वद्वृत्तिको व्यवस्था गरिनुपर्छ।
सुपाडीविदहरूलाई
नीतिनिर्माण तहमा सम्मानपूर्ण स्थानको व्यवस्था गरिनुपर्छ।
चाडपर्वमा, मर्दापर्दा, झगडा पर्लापर्ला जस्तो हुँदा सुपारी खाने, खुवाउने थिति बसालिनुपर्छ।
हाम्रो समाजमा
कसैसँग भेट हुँदा चिया खानुभयो/खाना खानुभयो भनी सोध्ने चलन छ। यस्तो प्रतिगामी
चलनलाई जरैदेखि उँखेलेर 'सुपाडी खानुभयो' भनी सोध्ने थिति बसाल्नु अनि एकार्कामा सुपाडी
आदानप्रदान गर्नु आवश्यक छ।
यसरी सोध्ने मात्रै
होइन लोकले पनि दैनन्दिन सुपाडी खाऊन्, खुवाऊन्। गाउँ, समाज, स्थानीय तह, प्रदेश र केन्द्रमा फलानो त सुपाडी खान
नपाएर ठहरै भयो भन्ने अवस्था नआओस्।
बरू बेलैमा सुपाडी
खान पाउँदा बच्यो ज्यान, सरकारको सर्वत्र प्रशंसा भन्ने
किसिमका समाचारहरू सुन्न/पढ्न/ हेर्न पाइयोस्।
यस तर्फ केन्द्रिय, प्रदेश तथा स्थानीय सरकारहरूको, जनप्रतिनिधिहरूको, प्रतिपक्षी दलहरूको
र कर्मचारीतन्त्रको, रक्षा/सुरक्षा
निकायहरूको, संवैधानिक/गैरसंवैधानिक
निकायहरूको, संचार माध्यमहरूको
ध्यान जानु अत्यावश्यक छ।
लोकले पनि
मर्दापर्दा, झगडा पर्लापर्ला
जस्तो हुँदा सुपारी खाने, खुवाउने गरून्। कूटनीतिज्ञ -- गल्तीले मिष्टेक भएर झण्डै झूटनीतिज्ञ भन्न पुगेको -- लगायतका विदेशी पाहुनाहरूलाई पनि सुपाडीसहित स्वागत गर्दा अति उत्तम
हुनेछ।
हाम्रा
पितापुर्खाहरू सबै सुखी होऊन्, सबै आनन्दमा रहून्, शुभ देखून्, कोहि दुखी नरहून् भन्ने उदात्त जीवनदर्शनले निर्देशित
थिए।
वास्तवमा
पितापुर्खाले परिकल्पना गरेको सुखी, खुशी, शोक तथा दु:खमुक्त
आदर्श राज्यको निर्माणका लागि सुपारी संस्कृतिको विकास गर्नुपर्छ भन्ने अकिञ्चनको
मत छ। यस संस्कृतिलाई संस्थागत गरी देशलाई सुखी, खुशी, शान्त, संवृद्ध बनाउन एउटा सर्वाधिकारसम्पन्न सुपारी निगमको
स्थापना गरिनुपर्छ।
यति गर्न सकियो भने हामी केरा गणतन्त्र अर्थात् बेनाना रिपब्लिकसदृश व्यवस्थाबाट अग्रगामी छलाङ्ग मारी सुपारी गणतन्त्रमा पुग्न सक्ने देखिन्छ।
होइन भने नेपाली लोक मतिभ्रंशग्रस्त र दरिद्र भइ श्रीहरिलाई समेत बिर्सने अवस्थामा नपुग्ला भन्न सकिन्न।
देशको मुहार फेर्न
दिनरात काम गरिरहेको सरकारले सुपारी गणतन्त्र स्थापना गर्ने दिशामा ठोस कदम चाल्न
ढिला गर्नुहुँदैन भने अकिञ्चनको मत छ।
आगे महाराजको जो
मर्जि, जो विचार।
- देवेन्द्र गौतम
Comments
Post a Comment