सुनकोशीको आश
देवेन्द्र गौतम
गर्जन सुनेरै थाहा हुन्छ सुनकोशी धेरै टाढा छैनन्। रोशीमाइको भने दर्शन पाइँदो
रैनछ क्यार यस भेगबाट।
जङ्गल घुम्न आएको पर्यटक जस्तो लाग्ने सडकका घुम्तीहरूबाट पनि बेलाबेला
देखिन्छिन् अनि क्षणभरमै हराइहाल्छिन् छली सुनकोशी।
यात्राभर चलिरहन्छ मान्छे र नदीको मनोहारी लुकामारी।
रङ्गीबिरङ्गी चराचुरूङ्गी, पुतलीहरू, डोको बोकेर घाँस काट्न
हिँडदै गरेका किशोर-किशोरीहरूले मनको शान्त तलाउमा ढुङ्गा हान्दैनन्।
यात्राभर अधिकांशत: जीवन एउटा लयमा चलिरहन्छ।
यदाकदा भेटिन्छन् बतासिँदै,
कोकोहोलो गर्दै खै कतातिर
हो लाग्दै गरेका पाङ्ग्रेहरू। धुलोको मुस्लो उडाउँदै, मनको शान्ति बिथोल्दै क्षणभरमै अलप हुन्छन्। ती बाहेक अकिञ्चन जस्ता
बटुवाहरूको मनको शान्ति भङ्ग गरिदिने अरू कोहि भेटिँदैनन् यात्राभर। हुन त तिनैले
हो, गाउँबस्तीबाट धेरै पर पुगिसकेका छैनौ है भनेर बटुवाहरूलाई
सूचना दिने पनि। अलिकति मन दुखाउने भनेको पहिरोजस्ता विकासका घाउहरूले हो।
यसरी बाटोभरि मन दुखाएर हुँदैन पनि।
आफ्नो घाउ आफै सिउन, आफै टाल्न पनि जान्नुपर्छ रे।
घना जङ्गलको छातीबाट कुहिरोको मुस्लो उड्दै आउँछ, जङ्गलले सास फेरेझैँ लाग्छ। पहाडहरूमा बाहेक अन्यत्र कहाँ पाइन्छ यस्तो शुद्ध, सफा प्राणवायु अर्थात् अक्सिजन?
अक्सिजन पार्लरहरूमा? भो, कल्पना पनि नगर्दा हुन्छ। फेरि वस्तु तथा सेवाहरूको मूल्यले
दिनदिनै जसो नयाँ नयाँ कीर्तिमान बनाउँदै गरेको बेला अक्सिजन पनि किन्नु? कसरी सक्नु हौ? यहाँहरूले सक्नुहुन्छ भने बेग्लै कुरा।
यस्तो प्राकृतिक पार्लरको सफा हावा दिनदिनै 'सेवन' गर्न पाए त हावा खाएरै पनि जीवन चल्दो हो जस्तो लाग्ने। महँगी जति बढोस्, छु मतलब?
छाडीदिऊँ स्वैरकल्पना, छाडीदिऊँ हावाकुरा, तिमालतिरै फर्कौँ किनभने कल्पना भन्दा नि
सुन्दर स्वर्गको टुक्रो त यहाँ पो छ त।
के छैन पवित्र तिर्थस्थल, बुद्धचित्तको राजधानी तिमाल क्षेत्रमा? खास गरी संसारभरका बौद्ध धर्मावलम्बीहरूले असाध्यै पवित्र मान्ने बुद्धचित्त
यहिँमात्रै फल्छ भनिन्छ। कारोबारीहरूले 'बाली' हेरेर रूख नै किन्ने गरेका रहेछन् वर्षेनि।
यद्यपि गोरखा महाभूकम्प र कोरोनावाइरस महामारीपछि बुद्धचित्तको कारोबार ओरालो
लागेको छ भन्छन् स्थानीय बासिन्दाहरू। व्यापक कारोबार हुने यामहरूमा त सूर्य अस्त
तिमाल मस्त भन्ने परिस्थिति पो थियो कि? उँभोउँभो लाग्दै गर्दा एक
स्थानीय भोजनालयमा टम्म मिलाएर राखिएका नानाथरी पेय पदार्थका सिसीहरू देख्दा त
उधुमको कारोबार हुने यामहरूमा तिमालमा पार्टी पनि उधुमकै हुन्थ्यो होला भन्ने
सङ्केतसम्म पाउन सकिन्छ। स्थानीयहरूसँगको संवादका क्रममा पनि यो अनुमान यथार्थ
भन्दा धेरै पर रहेनछ भन्ने छाल पाइयो।
तर अहिले परिस्थिति अलि अप्ठ्यारो छ। देशको पर्यटन क्षेत्र उँभो लाग्दै गरेको
सङ्केत देखिँदा पनि बुद्धचित्त बाली त्यति राम्रो छैन। हावा, हुरी अनि वर्षा बढी भएको
हुँदा बुद्धचित्त कम फलेको छ। कोट तिमालकी एक होटल संचालिकाले गत वर्ष ९ बोट रू ७०,००० मा बेचेकी रहिछन्। यस वर्ष त
कारोबारीहरू अझै आएका छैनन्, उनी भन्दै थिइन्: हावा-हुरी र वर्षात् अधिक
भएकोले बाली राम्रो छैन।
यांग्फेलका एक किसानले गत वर्ष आफ्ना २० वटा जति रूखहरू करिब १५,००० मा बेचेछन्। परार साल पनि करिब त्यति नै कारोबार भएको रहेछ।
फेरि बुद्धचित्त पनि किसिम किसिमका हुँदा रहेछन्। दानाहरूमा बुद्धसम्बन्धी
विभिन्न आकृतिहरू हुँदा रहेछन्। पाँच मोहडा भएका दानाहरू महँगो मूल्यमा बिक्री
हुँदा रहेछन्।
आफ्नो कुनै बोटमा पाँचमुखे बुद्धचित्त 'बढी फल्ने हुनाले' होटल संचालिका अलि बढी आशावादी देखिन्थिन्।
बुद्धचित्त मात्रै कहाँ हो र?
खोज्दै जाँदा के छैन यस
दिव्यभूमिमा? शान्ति छ। सुन्दर पहाडहरू छन्, जङ्गलहरू छन्, उर्वरभूमि छ, पशुवस्तुहरूका लागि
रहरलाग्दा चरनहरू छन्।
स्वच्छ वातावरण छ। सफा हावा छ।
खोज्दै गइयो भने सबै कुरा त शायद स्वर्गमा पनि उपलब्ध हुँदैन होला, होइन भने देवराज इन्द्रले किन 'सोमलता' खोज्न आफ्ना सेवकहरूलाई
दलबलसहित पृथ्वीमा पठाउँथे होला र?
किन आफ्नी आमा वसुन्धराका
लागि पारिजात टिपिदिँदा काठमाण्डुमा 'इन्द्रजात्रा' मच्चिन्थ्यो होला र?
तिमाल पनि सबै कुराले परिपूर्ण छैन। अभाव भएका तर बाँच्नलाई नभइ नहुने मुख्य
कुराहरूमध्ये ज्यादै मुख्य हो खानेपानी।
कोट तिमालबाट उकालो लाग्दा अनि कालीमाटी, रक्तकाली मन्दिर, तिमाल लगायतका क्षेत्रहरूका स्थानीयहरू सँग कुरा
गर्दा उक्त क्षेत्रमा खानेपानीको अभाव रहेको थाहा लाग्यो। पानीको अभाव कम गर्नका
लागि वर्षातको पानी संकलन/भण्डारण गर्ने गरिएको रहेछ। सिँचाइ, पशुपालन, सरसफाइ -- खास गरी लुगा धुन र शौचालयका लागि --
आवश्यक पानीको आंशिक आपूर्ति हुने भए पनि खानेपानीको आपूर्ति यस उपायबाट हुने
देखिएन।
संवादका क्रममा एक स्थानीय किसानले भने: कालीमाटी र कोट तिमाल क्षेत्रका
बासिन्दाहरू खानेपानी आपूर्तिका लागि एउटा कुवामा निर्भर रहनुपरेको छ।
खानेपानीको सङ्कट संबोधन गर्ने दिशामा पनि केहि काम भइरहेको रहेछ। समस्या
समाधान गर्न सुनकोशीको पानी लिफ्ट गरेर वितरण गर्ने योजना रहेको र उक्त आयोजनाले
आशा जगाएको उनले बताए।
तिमाल बृहत सुक्खा क्षेत्र खानेपानी आयोजनाका सब-इन्जिनियर गोविन्द साउदका
अनुसार आयोजनाले रोशी गाउँपालिका,
नमोबुद्ध नगरपालिका र
तिमाल गाउँपालिकाका करिब ९ हजार घरधुरी (कूल जनसंख्या करिब ३५,०००) लाई सुनकोशीको पानी लिफ्टिंग गरी वितरण गर्ने उद्देश्य राखेको छ।
योजना अन्तर्गत ७ पम्पिंग स्टेशन तथा जम्मा १२ किमि डबल पाइपलाइन निर्माणको
कार्य सम्पन्न भइसकेको रहेछ। यसै गरी निर्मित पूर्वाधारहरूको संचालनयोग्यता
परीक्षणका कार्यहरू भइरहेका रहेछन्। सुक्खा र वर्षायाममा क्रमश: २२ लिटर/सेकेण्ड र
२५ लिटर/सेकेण्ड पानी तान्न सकिने अवस्था रहेछ।
घरधारा जोड्ने कार्य चाहिं उपभोक्ता समूहहरूले गर्ने गरी कार्य विभाजन गरिएको
रहेछ।
तिमाल-क्षेत्रको प्रवेशद्वारबाट उकालो लाग्दै गर्दा यामानको घाँस र स्याउलाको
भारी बोक्दै घर फर्किँदै गरेकी एक महिला देखिइन्। भारीसहित बोल्दा सकस हुन्छ भन्ने
सोचेर अकिञ्चन नबोली बाटो लाग्यो।
सुनकोशीको पानीले मान्छेको,
पशुवस्तुको र खेतबारीको
सुकेको आँत भिजाउन सकिएमा यस क्षेत्रको जीवन अवश्य सहज हुनेछ।
एउटा कथा कहँदै आलेखको बिट मारूँ: उहिले शाक्यमुनि बुद्ध यस क्षेत्रमा
आउनुभएको रहेछ। उहाँले विनम्र भावमा सोध्नुभएछ: के चिनो छाडेर जाऊँ त तिमाललाई?
स्थानीयबासीहरूले बुद्धमालाको चाहना गरेछन्।
बुद्धचित्त वृक्ष बुद्धको चिनो हो
रे तिमालबासीहरूलाई।
त्यसकालमा उक्त क्षेत्रमा खानेपानीको आपूर्तिको चाँजो कसरी मिलाइएको थियो थाहा
भएन।
त्यतिखेर यति सक्षम राज्य, यति सक्षम सरकार थिएनन् कि?
जे होस्, समयको माग छ: राज्यले शुद्ध, सफा खानेपानी उपलब्ध गराओस् तिमाल, नमोबुद्ध र रोशीबासीहरूलाई।
Comments
Post a Comment