सम्पदा संरक्षणमा जुटाैँ

राज सिंह (२१) जनकपुरबाट काठमाडौ घुम्न आएका छन्। उनी जनकपुरमै बिएस्सी अध्ययनरत छन्।  

स्वयंभू महाचैत्य लगायतका ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरूको भ्रमण गर्ने उनको योजना छ।  

सोहि योजना अनुरूप बिहीबार (असार १६, २०७९) का दिन उनी स्वयंभूस्थित विश्व शान्ति पोखरी परिसरमा भेटिए।  

पोखरीमा त्यस्तो के छ जसले मान्छेलाई तानिरहेको छ? 

पोखरीको वरिपरि रेलिङ्ग लगाइएको छ, बिचमा शाक्यमुनि बुद्ध विराजमान हुनुहुन्छ। बुद्धका पाउमुनि ससानो, चिटिक्क परेको भिक्षापात्र/दानपात्र छ। नेवारीमा यसलाई गुल्पा भनिन्छ। पढ्दा, सुन्दा अचम्म लाग्नसक्छ तर त्यहि गुल्पाले तानिरहेको छ मानिसहरूलाई।     

जति मानिस, त्यति असमेल इच्छा, आकांक्षा, भावनाहरू, अस्तित्वजन्य र अन्यान्य प्रश्नहरू। 

तिनै 'जिनिसहरू'को भारी बोकेका मानिसहरूको लर्को लाग्छ स्वयंभू लगायतका धार्मिक आस्थाका केन्द्रहरूमा। 

मनभरिका इच्छा, आकांक्षाहरू पुरा गर्न, प्रश्नहरूको उत्तर पाउन कर्म गर्नु अपरिहार्य त छँदैछ। ती प्रयासहरूमा दैवीशक्तिको कृपा बर्सिए त मनोकांक्षा पूर्ण हुन धेरै बेर लाग्दैन। यस्तै सोच्छौँ हामीमध्ये कति।  

राज सिंहलाई आफूले टाढैबाट चढाएको सिक्क गुल्पाभित्र छिर्यो भने चिताएको पुग्छ भन्ने विश्वास रहेछ। के छन् त उनका इच्छाहरू? कि अंतर्यामीलाई थाहा होला, कि उनलाई नै। 

यो राज सिंहको मात्रै विश्वास होइन।   

इटहरीका कमल सुवेदी (३०) श्रीमति र सानी छोरीसँग तिर्थाटन गर्न काठमाडौ आएका छन्। 

उनले पनि तथागतका पाउमा केहि सिक्का अर्पण गरे सिंहले जस्तै।  

पशुपतिनाथ, स्वयंभूनाथ र अन्य धार्मिक स्थलहरूको भ्रमण गरी घर फर्किने उनको योजना रहेछ।  धर्म कमाउने, मनोकांक्षा पुरा गराउन दैवी शक्तिलाई मनाउने मेलोमेसो रहेछ ती युवाको पनि।  

भुम्लु (काभ्रे जिल्ला) का नेत्र बहादुर श्रेष्ठ (३८) पनि पोखरी परिसरमै भेटिए।    

ट्याक्सी चालक रहेछन् उनी।  कोरोनावाइरस महामारीका कारण थलिएको उनको पेशा पनि बौरिन नसकेको जस्तो बुझियो।  

महामारीले राष्ट्रिय, अन्तर्राष्ट्रिय जीवनका सबैजसो पक्षहरू पक्षाघातग्रस्त बनाएको हाम्रो सरकारलाई त कुन्नि, बाँकी सबैलाई थाहै छ सङ्कट कति गंभीर छ भन्ने।  

आफ्ना इच्छा पुरा होऊन् भनेर, धर्म कमाइन्छ, सुख-शान्ति पाइन्छ भनेर भगवान बुद्धका पाउमा भक्तजनहरूले पैसा चढाउने गरेको श्रेष्ठको बुझाइ छ।  पोखरीमा सिक्का मात्र होइन, ब्याङ्कनोटहरू पनि चढाउँदा रहेछन् कतिपयले त! के ती गल्दैनन् होला त? 

कपि, किताबका पानाजस्ता पानीमा गलेर जाने कागजबाट कहाँ बनेका हुन्छन् र ब्याङ्कनोटहरू? 

एक दर्शक यसै भन्दै थिए।  

हो रहेछ कि क्या हो? 

पोखरीको नजिकै बाँदरहरूका लागि स्विमिङ्ग पुल बनाइएको छ, त्यहाँ डुबुल्की मारेर फ्रेस भइसकेपछि खानाको मेलोमेसो मिलाउने क्रममा बाँदरहरू पनि पोखरी परिसरमा प्रकट भइहाल्छन्।  

अनि त के चाहियो र? 

भिडको शान्ति भङ्ग हुन्छ, कोकोहोलो मच्चिन्छ। 


कसरी चल्यो त चलन?

स्वयंभू व्यवस्थापन तथा संरक्षण महासमितिका एक पदाधिकारीका अनुसार विक्रम संवत २०६२ अघिसम्म उक्त स्थानमा एउटा पोखरी थियो। पछि त्यहाँ सुनको जलप लगाइएको भगवान बुद्धको मूर्ति स्थापना गरियो। त्यसपछि भगवान बुद्धका पाउमा सिक्का अर्पण गर्ने चलनजस्तै चलेको रे। 

पोखरीमा विराजमान भगवानको चरणस्पर्श गरी सिक्का आदि चढाउन संभव नभएकोले टाढैबाट सिक्का चढाउनु परेको बुझ्न कठिन छैन। 

यसरी सिक्का बुद्धको शरिरमा ठोक्किँदा सुनको जलप उक्किन्छ कमवेशी। यति बुझ्न त सहजबुद्धि अर्थात् कमनसेन्स नै पर्याप्त हुन्छ, विज्ञजनको भनाइ सापट लिनै पर्दैन। भक्तहरूले ढुङ्गाको मूर्तिमा ढोग्दाढोग्दा मूर्ति नै खिइएजस्तो।  

ती अधिकारीको भनाइ छ: भगवानलाई चढाएको सिक्का गुल्पाभित्र छिर्यो भने त्यसलाई शुभसङ्केतको रूपमा लिइन्छ। हुन त त्यसरी सिक्का चढाउँदा मूर्तिमा क्षति पुग्छ। तर धार्मिक आस्थामा चोट पुग्ने हुँदा हामी भक्तजनहरूलाई सिक्का नचढाउनुस् भन्दैनौँ।  

महासमितिका महासचिव तथा स्वयंभू महाचैत्य एवं हारती मन्दिरका पुजारी अशोक बुद्धाचार्यका अनुसार पहिला भगवान बुद्धको मूर्ति अलि तल थियो। सिक्का चढाउँदा मूर्तिमा बढी क्षति हुन्थ्यो। अहिले मूर्तिलाई केहि माथि उठाएका छौँ। यसले क्षति अलि कम गरेको छ।  

सरसफाइ तथा सिक्का सङ्कलन

प्राय: महिनाको एक पटक जम्मा भएका सिक्काहरू बाहिर निकालिन्छ, पोखरी सफा गरिन्छ। अलि धेरै नै फोहर भयो भने १५ दिनमा  पनि पोखरी सफा गरिन्छ। 

बुद्धाचार्यको भनाइ छ: कोरोनावाइरस महामारीका बेला कतैबाट राहत पाउने आशा छैन। यस्तो बेलामा भक्तजनहरूले चढाएका सिक्काका कारण थोरै भए पनि आम्दानी बढेको छ। कर्मचारीहरूका लागि पञ्जा, कुचो लगायतका आवश्यक वस्तुहरूका साथै खानेपानीको व्यवस्था गर्न अलि सहज भएको छ।  

युनेस्कोको विश्व संपदा सूचिमा सूचिकृत स्वयंभू महाचैत्य परिसरमा महाचैत्यका साथै हारती माताको मन्दिर, मञ्जुश्री पर्वत, शान्तिपुर, वायुपुर, वसुपुर, अग्निपुर, नागपुर, प्रतापपुर, अनन्तपुर, पवन भैरव मन्दिर, अगम छेँ लगायतका अमूल्य संपदाहरू रहेका छन्।  

त्यहाँको सुरम्य वनमा विचरण गर्ने चराचुरूङ्गीहरूको चिरबिरले, बाँदरहरूको चर्तिकलाले, स्वच्छ हावाले तनाव कम गर्न अनि स्वस्थ रहन सहयोग पुर्याउँछन्।   

प्रश्नहरूको, इच्छा-आकांक्षाहरूको भारी बोकेर, श्रद्धा, आस्था, विश्वास छातीमा राखेर शान्तिको खोजीमा लम्किने होइन त स्वयंभूको उकालो? के छ विचार?  

अन्त्यमा,

धर्मको रक्षा गरियो भने धर्मले हाम्रो रक्षा गर्छ भनिन्छ। मौलिक संस्कृति, परम्परा, सभ्यताको उन्नयनकालमा निर्माण गरिएका ऐतिहासिक धरोहरहरूका कारण हाम्रो अस्तित्व कायम छ, विशिष्ट पहिचान कायम छ भन्दा अत्युक्ति नहोला। वर्तमानमा हामीले गर्व गर्न लायक त्यस्तो केहि निर्माण गर्न सकेका छैनौँ। जे जति संपदा पुर्खाले जोडेर अनि छोडेर गए, तिनको संरक्षण गर्न पनि हम्मे परेको बडो चिन्ताजनक अवस्था छ। 

सरकारबाट के आश गर्नु? ऊ आफैँलाई बजेट नपुगेजस्तो देखिन्छ, संपदा संरक्षणका लागि त बजेट नै कहाँ होला र? 

यी मूर्त-अमूर्त संपदाहरू कतै न कतै हाम्रो अर्थतन्त्रसँग जोडिएका छन्, राष्ट्रिय संवृद्धिसँग जोडिएका छन्। सत्य के पनि हो भने मूलत: स्थानीय समुदायहरूको योगदानका कारण नै ऐतिहासिक धरोहरहरू आजसम्म खडा छन्। यस्ता सम्पदाहरू निर्माण गर्न नसके पनि स्थानीय समुदायहरूको पहलमा मर्मतसम्भार तथा संरक्षण मात्रै गर्न सक्यौँ भने पनि ठुलै उपलब्धि हासिल हुन्थ्यो कि?  

यतातर्फ अझ गंभीर भएर सोच्ने कि?

Comments

Popular posts from this blog

जाजरकोट भूकम्प, हजुरआमाका सिलोक र राउन्नेको पाप

Welcome to the countryside: This is not a one-horse town!

The Year of the Yeti