तिलौराकोट: अज्ञानको बाक्लो पर्दाले छेकिएको प्रकाशपुञ्ज
तिलौराकोट: अज्ञानको बाक्लो पर्दाले छेकिएको प्रकाशपुञ्ज
देवेन्द्र गौतम
उही पुरानो घर। साँघुरो कोठा। अजायवघरजस्तो वातावरण।
सारे सपने कहिँ खो
गये।
हम क्या थे क्या
हो गये।।
यहि गीत चरितार्थ भएजस्तो।
रूपरेखाको कुनै अङ्कमा छापिएको उत्तम कुँवरको
दुस्वप्नजस्ता सपनाहरू आइरहन्छन् भेट्न बेलाबेला।
तिनै सपनाहरूमध्येको एक सपनामा म छु र छ एक छुकछुके बाँदर। हुन त म
मदारी होइन, तर कसोकसो यो बाँदर आइबसेको छ साँघुरो कोठामा अनिच्छित
पाहुनाको रूपमा। हामी यस कथा/नायकका सहायक पात्रहरू
मात्र हौँ, टिपनटापन भूमिकामा छौँ, आफ्नो काम सकेपछि
पर्दा खसिहाल्छ अनि आआफ्नो बाटो लागीहाल्छौँ, बित्थामा किन तितोपिरो गर्नु, यस्तै सोच्छु।
अँ, मेरो सपनाको महानायकको त उल्लेख गर्नै बिर्सेको। यस
देशको जीवनमा चिरप्रतिक्षित महानायकलाई
बिर्सने छुट कुनै माइका लाललाई छैन, यद्यपि
त्यो कहिले आउने हो, आउने
हो/होइन कुनै टुङ्गो छैन ।
मैले उल्लेख गरेको
पात्न महानायक मात्र होइन, निर्देशक पनि हो। मलाइ उसको कोपभाजन
हुनलाई थप दशा लागेको छैन।बाँच्नलाई विद्यमान सङ्कटहरू नै
पर्याप्त छन्।
जे होस्, बाँदर आतंक अति भएपछि ऊ आउने नै छ। तर पाठकहरूले सोचेको
जस्तो महानायक ऊ शायद होइन। महानायक अलि फरक रूपाकृतिको छ।
युवाहरू जति
सबैजसो विदेशिएर गाउँमा ज्येष्ठ नागरिक्, बालबालिका र महिलाहरूमात्रै बाँकी रहँदा
बाँदरको जगजगीले सीमा नाघ्दा पनि त्यो गाउँमा आएको छैन, त्यो बेग्लै कुरा भयो। देश
एक पछि अर्को सङ्कटमा फस्दा पनि ऊ टुपुल्किएको छैन, त्यो
बेग्लै कुरा भयो। कतै मेकअपमै समय खेर फालिरहेको त छैन महानायक?
सपनातिरै
फर्किन्छु। त्यो साँघुरो कोठामा म छु यस जन्म र
पूर्वजन्ममा आर्जित अभाव, गरिबी, कोठामा खाँदखुँद गरी राखिएका सामानहरूका साथ। एउटा बौद्धिक श्रमिकका लागि यति नै लाख
होइन र?
अँ साँच्चै, त्यतिले नपुगेर एउटा
बाँदर पनि आइलागेको छ।
मैले मेरो भन्दै आएको सानो, शान्त
संसारमा त्यो दुष्ट प्राणी उधुम गर्न थाल्छ। यताबाट फुत्त उता, उताबाट फुत्त यता। कोठाका सामानहरू खस्छन् फुट्छन् सपनाहरू
जस्तै। म विध्वंसकलाई समात्न खोज्छु, सक्तिन। एकपटक टिवीजस्तो ठुलै सामान
खस्दा संजोगले बाँच्छु। साँच्चै, शिव अधिकारीले लेखेजस्तै सपनामा पनि
शान्ति छैन।
अति भएपछि
नेपथ्यबाट कथाको नायकको प्रवेश हुन्छ। ऊ अमिताभ बचपन पनि होइन, राजेश हमाल दाइ, शिव श्रेष्ठ दाइ, भुवन केसी दाइ पनि होइन। रजनीकान्त, मार्लोंन ब्राण्डो, अल पाचिनो, आर्नल्ड स्वार्जनेगर आदि इत्यादि कोहि होइन। गोपाल प्रसाद
रिमालको 'आमाको सपना'को नायक त हुँदै होइन।
ऊ हो एक हात्ती।
शायद खरीढुंगा पाइने ठाउँमा हल्का पहेँलो माटोको रङ्गको, मदोन्मत्त अनि क्रोधित, युवावस्थाको दुइसूँडे हात्ती।
बाँदर आतंक सहि, दुखजिलो गरी बाँचिरहेको म थप त्रस्त नहुने कुरै भएन।
तर कोठामा
हात्तीको प्रवेशपछि स्थिति अलि सम्हालिन्छ।
कसोकसो उसले बाँदरलाई समात्छ र
खुटोमा डोरीले बाँधिदिन्छ। अनि त्यस प्राणीलाई कुल्चिएर यमलोक पुर्याउने तयारी
गर्न थाल्छ।
बाँदरसँग अति
क्रोधित भए पनि करूणाको लेश ममा रहेछ। ऐरावतको गणतान्त्रिक संस्करणसँग म
गणतन्त्रको निरीह इन्द्र अनुनयविनय गर्छु तर हृदय पग्लिने छाँट देख्दिन। अनि दण्डवत् प्रणाम गर्दै पुकारा गर्छु: बरू मेरो प्राण हरण
गर्नुहोस् हजूर, बाँदरलाई क्षमादान दिनुहोस्।
विनम्रताको प्रदर्शनले
महानायकको इगो सुदिंग हुन्छ शायद, ऊ अलि शान्त हुँदै गएको आभाष हुन्छ। कर्के
आँखाले पछाडि फर्की हेर्दै, शायद अलिकति मुस्काउँदै महानायक बाटो
लागेपछि म अलि छिटोछिटो शान्तिको सास फेर्न थाल्छु।
बाँच्नलाई अरू के
चाहिन्छ र, होइन? अलिकति सास फेर्न पुग्न ठाउँ, जीवन धान्न पुग्ने सामलतुमल र शान्ति भए पुग्दैन र?
पुनश्च: हालसालै तिलौराकोटको
भ्रमणपछि अकिंचनले देखेको विशृंखलित सपना हो यो। उक्त
ऐतिहासिक स्थलमा कंक्रिटको जङ्गल उम्रिनसकेको देख्दा खुशी लाग्यो। सर्सर्ती हेर्दा दरबार, सभागृह
अनि शाक्यमुनि बुद्धको प्यारो घोडाले देहत्याग गरेको स्थानको राम्रै संरक्षण गरेको
देखियो। यात्रीहरूको सुविधाको लागि काठ छापेर बाटो बनाइएको रहेछ। बाटोको सतहमै
पुरातात्विक स्थलहरू भइदिने हो भने तिनको संरक्षण कठिन हुने आँकलन पनि होला।
शनिबारको दिन, स्वदेश
र इण्डियाबाट आएका पर्यटकहरूको राम्रै उपस्थिति थियो।
पुरातात्विक महत्वको स्थलमा राज्यका सुरक्षाकर्मीहरू कतै पनि नदेखिनु के संयोग मात्र हो त? पवित्र भूमि लुम्बिनी
शाक्यमुनि बुद्धको जन्मस्थल त हो नै, उनीभन्दा
अघिका बुद्धावतारहरूको पनि त जन्मस्थल हो।
के नेपाल सरकारले लुम्बिनी क्षेत्रको संरक्षण, सुरक्षालाई अलि गंभीर रूपमा लिनु पर्दैन? राजश्व हजम गरेर मोटाएर मात्रै आफ्नो कर्तव्य पूरा हुन्छ
र राज्यको?
यस्ता महत्वपूर्ण स्थलहरूमा निजी कंपनीलाई सुरक्षाको जिम्मा
दिनुभन्दा प्रहरी परिचालन गर्नु राम्रो होइन होला?
भ्रमणका क्रममा उक्त पवित्रस्थलमा उम्रिएको झाडीमा
लघुशंका गरेको/गराएको पनि देखियो। यो अशोभनीय व्यवहार हो तर यस स्थलभन्दा बाहिर
सुव्यवस्थित सार्वजनिक शौचालयको व्यवस्था गर्नु उपयुक्त होला।
यस प्रसङ्गमा उल्लेख गर्नु सान्दर्भिक हुने एउटा
लोकविश्वास छ। तिलौराकोटमा शाक्यवंशकी देवी समइ माइको थान रहेछ। त्यहाँ सानाठुला हात्ती चढाइएको देखेर मनमा
केहि प्रश्नहरू उठे।
उक्त मन्दिरको स्याहारसुसार गर्दै आएकी फूलमती रैदास (६०)
का अनुसार भक्तजनहरूले त्यहाँ आफ्ना मनोकांक्षा पूरा होऊन् भनी भाकल गर्दा रहेछन्।
भाकल पूरा भएपछि हात्तीको मूर्ति बनाइ चढाउनुपर्ने रहेछ।
उक्त स्थानको महत्तालाई आत्मसात गर्न खोज्दाखोज्दै समय घर्किएको जनाउ दियो पारी क्षितिजमा
डुब्न लागेको सूर्यले। पर जङ्गलमा फ्याउराहरू कराउन थाले। चिसो हावाको एक लहरले
मुटु हल्लाएर गयो।
तिलौराकोटबारे थुप्रै जिज्ञासाहरू बोकेर धुले बाटो हुँदै, बरालिइरहेका गाइवस्तु अनि सडक छेउमै राखिएका निर्माण
सामग्रीहरू छल्दै कर्मस्थलको 'फ्लाइट' पक्डिन तौलिहवा बसपार्कतिर बतासिँदा बीच बाटोमा झमक्क परेको साँझ भेटियो, साथै भेटियो गुड्ने 'फ्लाइट' पनि बाटोमै।
समाइ माइको कृपा भएछ भने पुन: टेक्न पाउँला नि तिलौराकोटको पवित्र भूमि। अनि प्रश्नहरूका पोकापुन्तुराहरू विज्ञजनसामू खोलेर लाग्न पाऊँला कि अविद्याको निवीड अन्धकारबाट ज्ञानको प्रकाशतर्फ?
Comments
Post a Comment