जैसे भी हो शालग्राम चाहिए
जैसे भी हो शालग्राम चाहिए
करिब ५ महिना अघिको अन्तिम शनिबारको बिहान।
अकिञ्चन भीडमा आफैलाई हराएर थकाली किचन (मध्यवानेश्वर) वरपर खाजाघरविशेष धुइँपत्ताल खोजिरहेको थियो। त्यहाँ मसान्तमा यदाकदा आयोजन हुने कार्यालयको जमघटमा उपस्थित हुनु थियो तर समय भने अलि घर्किसकेको थियो। करिब ११ बजेसम्म भोकै भौँतारिनुपर्दा पेटमा मुसाले छुत्ती खेलिरहेका थिए।
घरबाट हिँडनुअघि गूगल म्यापमा खोज्दा ठ्याक्कै भेटिएको उक्त खाजाघर अस्तित्वमै नरहे जसरी बिलाएजस्तो भएको थियो। दक्षिण एशियाजस्तो खतरनाक भूखण्डमै रहेको भएपनि, तीन करोड जनसंख्याका लागि चाहिनेभन्दा जति नै बढी संख्यामा लेण्डुपहरू, क्विज्लिंगहरू, मीर जाफरहरू उपलब्ध भएपनि देशैसमेत यसरी बिलाउँदैन! हुन त अति चलासनधर्मी जातिका लागि देश एउटा स्थायी थातथलो भन्दा पनि एक बिसौनीजस्तो हुँदो रहेछ, चाहे त्यो भूस्वर्ग नै किन नहोस्। जनसंख्याको आधारमा विश्वको सबैभन्दा ठुलो देश, वैश्विक आर्थिक मन्दीबिच पनि करिब ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गरिरहेको विश्वको पाँचौँ ठुलो अर्थतन्त्र (आकार करिब ३.५ ट्रीलियन) का लागि समेत सातौँ ठुलो विप्रेषणको स्रोत रहेको, अर्वाचीन कालदेखि नै ज्ञान-विज्ञानभूमि अनि तपोभूमिमा दरिएको, सभ्यताको सूर्य उदाएको संसारकै प्राचीनमध्येको, युगदेखि युगसम्म अविच्छिन्न इतिहास रहेको, संसारकै ठुलोमध्येको एक अन्नभण्डारलाई सिंचित गर्ने जीवनदायिनी लाहुरे नदीहरू र अन्यान्य निधिहरूले सुसम्पन्न यो देश आफ्ना ‘अति प्रतिभाशाली’ सन्ततिहरूका लागि ‘खैराँतभूमि’ भइदिएको छ, अनमोल मणिमाणिक्य कौडीका भाउमा बिक्ने आधुनिक बेनाना रिपब्लिक भएको छ।
यो नेपालको दोष हो कि हाम्रो, घामजत्तिकै छर्लंग छैन र?
कुनै चल्तीको अनलाइनले छापिरहने ‘कक एण्ड बुल’ अर्थात् अपत्यारिला समाचारहरूलाई समेत मात दिने गरी यहाँ भने यस्तो दिव्य देशको एउटा महत्वपूर्ण स्थलमा रहेको एउटा छँदाखाँदाको, ‘नफा’मा रहेको खाजाघर दिनदहाडै ‘हराएको’ थियो।
कम्पास हराएको एक्लो नाविकजस्तो अवस्था भएको थियो अकिञ्चनको त्यो दिन। एक मनले त सोच्यो छेवैमा अवस्थित सार्वभौम भनिने संसदको प्रभाव पो हो कि? हुन पनि उक्त आधुनिक शक्तिपीठबाट पटकपटक यस देशका धेरै महत्वपूर्ण चिजबिज हराएका छन्। सत्ता र शक्तिका खेलहरूमा त्यहाँबाट इमानजमान हराएको छ, मर्यादा हराएको छ, लाज हराएको छ, राष्ट्रको इज्जत-प्रतिष्ठा हराएको छ, सार्वभौमिकतामाथि पटकपटक आत्मघाती गोल भएको छ अनि यो सबै हेरीबसेको छ यस युगको नेपाली लोक पनि उही सेतो घोडामा चढेको, चम्किलो तरबार बोकेको गोपाल प्रसाद रिमालको कविताको नायकको प्रतिक्षामा।
जैसे भी हो ‘शालग्राम’ चाहिए
थकाली किचनदेखि इन्द्रेणी फूडल्याण्डसम्म ओहोरदोहोर गर्दा पनि चर्मचक्षुले फेला पार्नै सकेनन् उक्त खाजाघर।
हुन त अकारण कुनै पनि घटना घटित हुँदैन भनिन्छ।
जीवनभर आस्था र अनास्थाका दुइ विपरीत ध्रुवबिच पिङ खेलिरहँदा यदाकदा हो जस्तो पनि लाग्छ।
त्यो दिन पनि त्यस्तै भयो।
खाजाघर खोज्दाखोज्दा हत्तु भइरहेको बेला एउटा समाचार वा सो सरह नै फेला परेजस्तो भयो।
वानेश्वरचोकको ओवरहेड पासछेवैमा एक खातेपिते अधवैंशेले आफ्नै खल्तीमा रहेका शायद कुनै तस्कर वा सो सरहको जस्तो लाग्ने कुनै पात्रलाई फोनमा यस्तो फर्मान जारी गरेको सुनियो: जैसे भी हो शालग्राम शिला चाहिए।
त्यसपछि ती व्यक्ति भीडमा अलप भए।
कालीगण्डकी किनारमा पाइने एमाेनाइट शिलाहरूलाई आम नेपालीहरू शालिग्राम भन्छन्, सिमापारिकाहरूले ‘शालग्राम’ भन्ने गरेको सुनेको छु।
त्यसो त हाम्रो सप्तगण्डकी उनीहरूका लागि गण्डक, हाम्रो सगरमाथा उनीहरूका लागि एवरेष्ट……..यस्ता दृष्टान्तहरू थुप्रै छन्। उपनिवेशवादी/नवउपनिवेशवादीहरू देशविशेषको, समाजविशेषको पहिचान मेटाइ नयाँ इतिहास लेख्न/लेखाउन इतिहासदेखि चलिआएका नामहरूमा यस्ता किसिमका छेडखानी गरिरहन्छन्।
पितापुर्खाले युगयुगसम्म रगत, पसिना, आँसु बगाएर जोडेको यो देश र यसका यावत अनमोल सम्पदाहरूलाई जसले जे नामले पुकारोस् हामीहरूलाई के मतलब, होइन त?
विधर्मीहरूबाट घेरिएर, आक्रान्त भएर सुरक्षित थातथलोको खोजीमा संसारभर खालिपेट, रूँदैरूँदै, शताब्दीयौँसम्म भौँतारिनुपरेको भए थाहा हुन्थ्यो होला देशको महत्व, स्वाधीनताको महत्व, सार्वभौमिकताको महत्व।
शालिग्राम तस्करीमा संलग्न कुनै किरोडीमललाई शहरको केन्द्रबाट कडा निर्देशन दिने ती व्यक्ति चानचुने थिएनन् कि, भारतीय सत्तापक्षका कुनै धाँसु नेता पो थिए कि? अनुमान गर्नुबाहेक कुनै विकल्प छैन अकिञ्चनसँग।
हुन त हो, बडेबडे देशोँकी बडेबडे शहरोँमें ऐसी बातेँ होती रहती है।
छेवैको सडकमा चेतनप्रवाह अवरुद्ध गर्ने गरी थरीथरीका सवारीहरू बत्तिइरहेका थिए। नजिकैको संसद भवन कुनै निर्जन टापुजस्तो देखिएको थियो, कुनै मोलमोलाइ, खरिदबिक्री नहुने बिदाको दिन भएर पो हो कि?
संवाद सुनिसकेपछि अकिञ्चनको मन कालीगण्डकीको क्षतविक्षत बगरजस्तो भयो जहाँ अहिले तस्करहरूको राज्य चलिरहेको छ। क्रमश:
Comments
Post a Comment