विकास बहस जारी रहोस्, आइ एम एन्जोइंग इट थोरोली
देवेन्द्र गौतम
नेपाल किन बनेन भन्ने सम्बन्धमा बडेबडे नीतिनिर्माताहरूका, नेताहरूका, ‘राष्ट्रसेवक’हरूका धीरगंभीर विचारहरूको विद्युतीय, छापा, अनलाइन संचारमाध्यमहरूबाट ‘सेवन’ गर्न पाइएकै छ। तर अजीर्णे भोजनं विषम् अर्थात् अपच भएको बेला खाना खानु विषसमान हुन्छ भनेजस्तै अकिंचनजस्ता ठिकैठिकै बौद्धिक क्षमता भएका, लाभको पदमा नरहेकाहरूले यस्ता गरिष्ट विचारहरू अनियन्त्रित रूपमा सेवन गर्दा अपच भइ स्वास्थ्यमै तलमाथि पर्न जान सक्ने, त्यसो भइहालेको खण्डमा राज्यले आफ्नै खर्चमा विदेश लगी उपचार गरिदिने संभावनाका त कुरै छाडौँ, स्वदेशमै समेत नि:शुल्क उपचार गरिदिने संभावना नभएको अनि कर तिर्नु एकमात्र दायित्व भएको वर्गको व्यक्ति हुँदा त्यस्ता सुविचारहरू सेवन गर्न जति लालायित भए पनि मनै मारेर ‘मुख बार्नु’ पर्ने अवस्था छ।
तर ‘समाजवाद-उन्मुख’ भएकोले होला, यस देशमा हावा, घाम सेवन गरेको अनि जीवनका सबै बाटाहरू बन्द भएको जस्तो लाग्दा राति आफ्नो घरको छतबाट, सडकको मोडबाट, पहाडको टाकुराबाट, अघोरी हुनुहुन्छ भने मसानघाटबाट वा जमीनका अन्य कुनै चौटाबाट आकाश, जुनतारा, ग्रह-नक्षत्रादि हेरेको, आँखा टट्टाउने गरी क्षितिज हेरेको पैसा लाग्दैन, पूँजीवादी देशहरूमा चाहिँ यी र यस्ता क्रियाकलापहरू गरेवापत मोटो रकम तिर्नुपर्छ क्यारे, होइन समाजवादी मित्रहरू? यी सबै ‘सरसुविधाहरू’ पनि विकासकै लक्षणहरू हुन् शायद।
अनि यस शहरका सडकहरूमा ओहोरदोहोर गर्दा जेजति मात्रामा ‘सित्तैमा’ धुलो, धुवाँ ‘खान’ पाइन्छ, त्यो सबै अकिंचनजस्ता करदातालाई विकासको बोनसको रूपमा प्राप्त भएको होला, होइन?
तर एउटा हाइसन्चो पनि दिएको छ यस राज्यप्रणालीले अकिंचनजस्ता ओल्ड-फ्यासन्डहरूलाई। त्यो के भने नन-एन्टिटी नै भए पनि, चित्रगुप्तले हात र निधारका रेखाहरूमा लेखिदिएको भए पनि त्यसको केहि हानि नहुने कतिपय कुराहरू नलेखिदिए पनि, नेपोलियनले चक्कुले काटेर भाग्यरेखा बनाए (पछि उसले योरोपको भाग्यरेखा नै बदलिदियो) जसरी नभए पनि उकालो-ओरालो गरेर जसोतसो ‘आइ ह्याव अराइब्ड’ भन्ने अवस्थामा नपुगेकै भए पनि देश र समाजको चिन्ता गरिरहन पाउने वातावरण भने बनाइदिएको छ।
अझ चिन्ता गर्ने विषयहरूको कहिल्यै कुनै कमी नहोस् भनेर विशेष गरी यस संघीय, लोकतान्त्रिक, धर्मनिरपेक्ष गणतन्त्रका तीन प्रमुख दलका नव श्री ३ हरू हरेक दिन लोकमाझ विषयवस्तु पस्किन्छन्। ती कहिले युद्ध सरदारको रूपमा प्रस्तुत हुन्छन् अनि देशको भूखण्डमा सल्किएको साम्प्रदायिक हिंसा अन्त्य गर्न शान्तिपूर्ण उपायको खोजी गर्नुको साटो आगोमा पेट्रोल खन्याउन खोज्छन्, कहिले आफै न्यायाधिश, आफै निर्णायक मण्डली अनि आफै जल्लाद (दि जज, दि जुरी एण्ड दि एक्जिक्युश्नर) बनेर आफ्ना प्रियपात्रहरूलाई अक्षम्य अपराधका घटनाहरूमा समेत उन्मुक्ति दिन्छन्, कहिले तिनका नानाथरी भ्रातृ संगठनहरूले नौरङ्गी माग राखेर आन्दोलन गर्छन्, आमनागरिकको जीवन ठप्प पार्छन्। श्री ३ हरू भ्रष्टाचारका फायलहरू सुविधानुसार खोल्छन्, सुविधानुसार बन्द गर्छन्, प्रियपात्रहरूलाई उन्मुक्ति दिन अनि आँखाको कसिङ्गर भएकाहरूलाई तह लगाउन पारङ्गत छन् ती।
लोक गरिबी, भ्रष्टाचार, सगरमाथाको चुचुरोतर्फ उन्मुख मूल्यवृद्धिले झनझन आक्रान्त हुँदै गइरहेको गणतन्त्रमा नेता र तिनका प्रियजनहरूका, आसेपासेहरूका सोखहरू राजसी ठाँटबाँट, इमेल्डा मार्कोस, ट्वाके तानाशाहहरू (टिनपट डिक्टेटर्स) को जीवनशैली बिर्साउने खालका छन्।
गर्ने के त मूढमतेहरूले ‘गोविन्दम्’ भज्नेबाहेक? के हामीले खोजेको मूर्खको स्वर्ग (फूल्स प्याराडाइज), केरा गणतन्त्र (बेनाना रिपब्लिक) यहि होइन र? वी गेट व्हट वी डिजर्व, होइन र?
श्रीसम्पत्तिका पूजक हौँ हामी, ‘चरणका दास’ भइसकेका छौँ हामी, सदा कुनै दैवी नायकको, तारणहारको पर्खाइमा छौँ गणतन्त्रका ‘राजा’ ठानेकाहरू अलोकप्रिय भइसकेको परिप्रेक्ष्यमा, पारिपट्टिका कुनै दिव्यपुरूषले हाम्रो उद्धार गर्छन् कि भन्ने झिनो आशा भने बाँकी छ। चरम हतासामा हामीले यो सङ्कट सागर आफै पौडेर तर्न सक्छौँ भन्ने विश्वास समेत गुमाएर आर्तपुकार गरिरहेका छौँ। आर्तपुकार सुनेर पारिबाट आइनै रहेछन् स्वनामधन्य बाबाहरू, गुरूहरू। तिनले जतिसुकै होच्याउन् हामीलाई, जति निर्मम प्रहार गरून् स्वदेशविरूद्ध हामीलाई छुँदैन किनभने ती उदाउँदो विश्वशक्तिका दूतहरू हुन्, ऊ रिसायो भने खाइपाइ आएको त खोसिन्छ खोसिन्छ थप विपद पनि आइलाग्छन् कि भन्ने भयले हामी वीर जातिलाई छोपेको छ।
टोलटोलका आलिसान महलहरूमार्फत, सडकमा गुडिरहेका टेस्ला, मर्सेडिज बेन्ज, हमर लगायतका कारहरूका साथै डुक्याटी, क्रसफायर, हार्ले डेविडसन, केटिएमजस्ता महँगा बाइकहरूमार्फत् जुन ‘संवृद्ध नेपाल, सुखी नेपाली’का झलकहरू ‘फिरिमा’ देख्न पाइरहेको छ नेपाली लोकले, त्यसको स्रोत के हो, त्यो सुख, त्यो संवृद्धिको पाइपलाइन कहाँबाट शुरू भएर कहाँ पुगेर टुंगिएको छ? के पाखोबारी बेचेर, पुरातात्विक महत्वको कोपरा बेचेर, कर्तव्यनिष्ठ ‘राष्ट्रसेवक’ले कार्यालय बाहिरको समयमा ‘वेष्टसेलर’ किताब लेखेर, इमान्दारीमा नाम कमाएको व्यापारी/उद्योगीले बडो इमान्दारीपूर्वक कर्म गरेर अनि कुनै बेला झोपडीमा बस्ने, आधापेट खान हम्मेहम्मे पर्ने राजनीतिकर्मीहरू र तिनका परिवारका सदस्यहरू र भान्सेमण्डलीका सदस्यहरूले राजनीतिमार्फत लोक र देशको सेवा गरेकै भरमा अमेरिकी/योरोपेली मापदण्डको जीवन बाँच्न सक्ने अवस्था छ सरकारी कर्मचारीहरूलाई तलब खुवाउन समेत हम्मे परिरहेको हाम्रोजस्तो ‘विशिष्ट’ परिस्थितिमा? आफ्नो अवस्था त न्याउली चरी के भन्छ आधा सन्च आधा बिसन्च बोलको गीतले प्रतिबिम्बित गरेकै छ।
कति बिल गेट्स, इलन मस्क, जेफ बेजोस्, मुकेश अम्बानी, आनन्द महिन्द्राजस्ता पात्रहरू छन् यस हरितन्नम पारिएको देशमा? यहाँनेर स्पष्ट पारूँ: अकिंचन कर छलेर, अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरण गरेर, खैरा क्षेत्र (ग्रे एरिया) हरूमा खेलेर, राज्यप्रणालीमा रहेका छिद्रहरूबाट फाइदा उठाएर संवृद्धिको शिखरमा पुगेका पात्रहरूको कुरा गरिरहेको छैन, स्वार्थको द्वन्द्वमा पौडेर संवृद्धिको तर मार्ने नवधनाढयहरूको कुरा गरिरहेको छैन।
हुन त ‘ठुलाठुला’ पापकर्महरू नगरी छयालब्याल हुने गरी धनार्जन गर्न सकिन्न भनिएको छ (ग्रेट वेल्थ इन्वल्वस ग्रेट सिन्स)।
सरकारी सेवामा यस्ता कर्मचारीहरू पनि थिए (अझै पनि होलान्) जो सरूवा भइगएको जिल्लामा टेकेको केहि काल बित्नेबित्तिकै जग्गाजमीन जोडिहाल्थे। त्यस्ता ‘पुरूषार्थीहरू’ कर्मचारीवृत्तमा ‘पृथ्वीनारायण शाह’का नामले चिनिन्थे भन्ने अकिंचनले सुनेको हो। जसरी गुरू गोरखनाथको आशिर्वाद पाएका ‘पृथ्वीनारायण शाह’ले जहाँजहाँ पाइला टेके, त्यहाँत्यहाँ विजय हासिल गरे त्यसै गरी ‘पौरखी’ कर्मचारीहरू पनि जहाँ सरूवा भइ गए त्यहाँ घरजग्गा जोडे। के राजनीतिक नेतृत्वको आशिर्वाद बिना यस्तो पौरखी कर्म गर्न सके होलान् त ‘राष्ट्रसेवकहरू’ले? तिनका सुयोग्य सन्ततिहरूले विदेशमा त्यस्तै ‘वीरोचित कर्म’ गरिराखेका छन् भने कुन् आश्चर्य भो?
अनि त्यस्ता ‘प्रचण्ड प्रतापी भूपति कर्मचारीहरू र नेताहरू’ मिलेपछि ललितानिवास काण्ड मंचन हुनु कुन अचम्मको कुरा भयो?
त्यसै पनि नेपाली समाजलाई सत्ता, शक्ति, धनदौलत बाहेक केहि चाहिँदैन क्यार, ती सबै जसरी आर्जन गरिएको होस् के मतलब? बेलाबेला हुने सामाजिक, धार्मिक, आध्यात्मिक जमघटहरूमा समेत तिनै ‘पुरुषार्थी’हरूका ‘वीरोचित’ कर्महरूको चर्चा हुन्छ, महिमा-मण्डन हुन्छ, इमान्दारहरूको, स्वाभिमानीहरूको मानमर्दन गर्न कुनै कसर बाँकी राखिन्न।
अचम्म त के भने हाम्रा जस्ता ‘राजनीतिज्ञ’हरू र राष्ट्रसेवकहरू हुँदा पनि यो एक थान देश जसोतसो जीवित छ अनि अकिंचनजस्ता ‘रेबल विदआउट ए कज’ जस्ता लाग्ने पात्रहरू कथा लेख्नका लागि नै भए पनि आजसम्म जिउँदै छौँ।
यो कम्ता सुखद आश्चर्य होइन।
रह्यो नेपालको विकास किन भएन भन्ने ‘यक्ष प्रश्न’।
बिम्बमा भन्नुपर्दा सडकका खाल्डाहरू र टोलका महलहरू, लोकको हरितन्नम अवस्था र विदेशी–खास गरी स्वीस ब्यांकमा बढ्दै गएको केहि नेपालीहरूको ब्यांक ब्यालेन्स–बिच ‘नन्सेन्स कोरिलेशन’ देख्नेहरूका लागि ‘नेपालको अविकास’ रकेट सायन्स भन्दा पनि दुरूह विषय हो।
Comments
Post a Comment