जाजरकोट भूकम्प, हजुरआमाका सिलोक र राउन्नेको पाप
जाजरकोट भूकम्प, हजुरआमाका सिलोक र राउन्नेको पाप
देवेन्द्र गौतम
हजुरआमालाई भानुभक्तको रामायण मुखाखर थियो। सखारै उठेर नुहाइधुवाइ गर्दा उहाँ रामायणका सिलोकहरू (पश्चिम नेपालको भाषामा, संस्कृत 'श्लोक' को अपभ्रंश) पनि वाचन गर्नुहुन्थ्यो।
उहाँलाई सुन्दासुन्दा मलाइ पनि केहि सिलोक कण्ठ भए।
जाजरकोट भूकम्प र त्यसपछि विकसित वैश्विक परिस्थितिका बिच बाल्यकालमा उहाँबाट सुनेको यो सिलोक सान्दर्भिक नै होला:
भार भयो पृथ्वीलाई राउन्ने (रावण) का पापले।
विष्णुसँग रून गइन् दुखीका स्वभावले।।
रामको भेष धरेका रावणहरू यत्रतत्र छन्, दक्षिण एशियामा मात्र होइन विश्वभर नै तपाइँ रावणहरूका पदचिन्हहरू देख्न सक्नुहुन्छ, तिनले खण्डहर पारेका भूतपूर्व सार्वभौम राष्ट्रहरू देख्न सक्नुहुन्छ।
रूस-युक्रेन युद्धमा, इजरायल-प्यालेष्टाइन युद्धमा, अफगानिस्तानमा, सिरियामा, इराकमा, लिबियामा आधुनिक रावणकै पदचिन्हहरू त छन्, नेपाल त भैगयो।
राक्षसहरूमा ब्रह्मराक्षस सबैभन्दा खतरनाक हुन्छ शायद, रावण पनि ब्रह्मराक्षस हो। ऊ विद्वान हो, रावणसंहिताजस्तो ज्योतिषशास्त्र उत्कृष्ट ग्रन्थको लेखक हो।
तर उसले बाटो बिरायो। सिताको अपहरण अक्षम्य अपराध थियो।
त्यसो त सुर्पणखाको अपमान पनि उत्तिकै अक्षम्य अपराध थियो।
सुर्पणखाको दोष नै के थियो र? सिताजस्तै निर्दोष थिइन् उनी।
उबेला समाज अलि बढी स्वतन्त्र थियो, नारीलाई मनपरेको पुरूष वरण गर्ने अधिकार थियो।
वनमा विचरण गर्दै गरेका सुन्दर युवक रामप्रति सुर्पणखा आकर्षित भइन्, विवाहको प्रस्ताव गरिन्।
रामलाई क्रूर ठट्टा गर्न मन लाग्यो। भाइ लक्ष्मणलाई सुर्पणखाको नाक काट्न आदेश दिए, लक्ष्मणले दाइको आज्ञा शिरोपर गरिदिए।
के 'मर्यादापुरूषोत्तम' ले विनम्रतापूर्वक सुर्पणखाको प्रस्ताव अस्वीकार गर्न सक्तैनथे? के स्त्रीजातिप्रतिको यतिविधि अपमान अयोध्याका राजकुमारका लागि शोभनीय थियो?
'भगवान' ले नै गरेको भए पनि यो अक्षम्य पाप थियो, अपराध थियो।
चलचित्र 'दिवार' मा प्रहरी निरीक्षकको भूमिकामा रहेको पात्र बाबुले गरेको अपमान, अन्याय, अत्याचारको बदला लिन गैरकानूनी धन्दामा संलग्न दाइ विजय दिनानाथ चौहान (अमिताभ बच्चन) लाई यसो भन्छ: दुसरोँको पाप गिनानेसे आपके पाप कम नहि होँगे भैया।
अपमानित अनि क्रोधित राक्षसी सुर्पनखा दाइ राउन्नेसामु दु:ख पोख्न गइन्। वयं रक्षाम: अर्थात् हामी रक्षा गर्छौँ भन्ने सिद्धान्त अँगालेर राक्षस जातिको साम्राज्य विस्तार अभियानमा लागेको राउन्नेले यति विधि अपमान सहन सकेन।
राम-लक्ष्मणसँग सुर्पणखाको अपमानको बदला लिने क्रममा उसले सीताको अपहरण गरेर ठुलो अपराध गर्यो।
यिनै घटना, परिघटनाहरूले राम-रावण युद्धको बिउ रोपिदियो।
गजापट्टीको आक्रमणमा १० नेपालीले ज्यान गुमाएकै छेक पारेर कलिकालको एक रावण नेपालको अतिक्रमित भूभागमा देखिएको थियो। पश्चिमी गोलार्द्धका रावणहरू पनि यस देवभूमि, वेदभूमि, तपोभूमिविरूद्ध संगठित रूपमै लागिपरेको देखिन्छ, खै किन हो? ठुला छिमेकीहरूलाई नियन्त्रण गर्न पो हो कि?
यहाँहरूले चाल पाउनुभएको छैन?
नेपालका 'सार्वभौम' संसदले, सरकारले त के चाल पाउँथे र?
यद्यपि संसदले नै उक्त अतिक्रमित नेपाली भूभागसमेत समेटेर तयार पारिएको नेपालको नक्सा स्वीकृत गरेको धेरै काल बितेको छैन।
अतिक्रमित भूमिमा रामको भेष धरेको रावण प्रकट हुँदा अकिंचन प्यालेष्टाइनको, लेवननको त्रासदी नेपालले पनि भोग्नुपर्ने हो कि भन्ने सोचेर तर्सिएको थियो पुन: एक पटक। हुन त यो कहिले भूकम्पले अनि सधैँजसो राजनीतिक अस्थिरताले हल्लिरहेको देशमा देशको चिन्ता गर्ने/गर्नुपर्ने दायित्व प्राप्त सरकारी व्यक्तित्व अकिंचन होइन। तर मन पटक्कै मान्दैन, अनि गर्ने के चिन्ता अनि चिन्तन सिवाय?
भानुभक्तीय रामायणको यो सिलोक पनि कम सान्दर्भिक छैन 'वैश्य युगमा':
ब्राह्मण भैकन वेद बेचिरहनन् कोहि पढ़ून् तापनि।
अर्काको धन खानलाई अभिलाष गर्नन् असल हो भनी।।
मेरो सेरोफेरो रावणबाट आक्रान्त छ, सम्पूर्ण विश्व थरिथरि रावणहरूबाट आक्रान्त छ, नेपाल यहिँको उर्वरा माटोमा रक्तबीज झैँ भरल्तै उम्रेका स्वदेशी ब्रह्मराक्षसहरूबाट आक्रान्त छ, परचक्री रावणहरू त सुगौली सन्धिदेखि नै नेपालविरूद्ध अन्याय-अत्याचार गरिरहेकै छन्।
स्पष्ट छ, सोना और खुन र वयं रक्षाम: जस्ता गतिला कृतिहरूका रचयिता आचार्य चतुरसेनले भनेजस्तै 'रावण अभी मरा नहिं', यद्यपि उत्तर भारतमा विजया दशमीको छेक पारेर विशाल समारोहका बिच उसको विशालकाय प्रतिमा निर्माण गरी विनष्ट गर्ने चलन छँदैछ।
नेपाली लोकले यो देश जोगाउन सक्नुपर्छ स्वदेशी-विदेशी आततायीहरूसँग लडेर। तबमात्रै हामीले आफूलाई वीर कहलाएको सुहाउनेछ।
Comments
Post a Comment