इन्द्रको जात्रा, गहिरो निद्रामा नेपाली लोक
देवेन्द्र गौतम
काठमाण्डुमा प्रचलित एक लोककथाबाट विषय प्रवेश गरूँ। कुरा परापूर्वकालको हो, जुनबेला देवराज इन्द्रको जगजगी थियो लोकमा।
स्वर्गका राजाको विलासी जीवन, तिनको पराक्रम, तामसी चरित्र, सुरा-सुन्दरीप्रियताको विशद वर्णन प्राचीन साहित्यहरूमा छँदैछ, त्यसको थप चर्चा यस आलेखको विषय होइन।
इन्द्रकी आमा वसुन्धरालाई पारिजात असाध्यै मन पर्ने अनि त्यो मनोहारी फूल पाइँदो रहेछ काठमाण्डुमा।
एक दिन ‘लाइक ए बुल इन ए चाइना सप’ जस्तो लाग्ने घटना घटित भयो भूलोकको यस सुन्दर शहरमा।
आमाको मनसुवा पूर्ण गर्न इन्द्र कुनै दिन काठमाण्डुमा अवतरण गर्दा भए ऐरावत हात्तीमा चढेर।
अनि दायाँबायाँ नसोची, कसैलाई नसोधी कुनै किसानको बगैँचामा ढकमक्क फुलेको पारिजात टिप्न थाले देवराज। म स्वर्गको राजा हुँ मलाइ कसैले छुन सक्तैन भन्ने दर्प रहेछ क्यारे उनीमा। तर त्यो घमण्ड धेरै काल टिकेन। पुर(नगर)वासीहरूले उक्त चौरकर्म देखे र दोषीलाई तत्काल बन्दी बनाए।
सिसिटिवी थिएन त्यतिबेला तर पनि राजा, रैती सबै आआफ्ना धर्ममा बसेका थिए, उनीहरूलाई पापको डर थियो, पुण्यको भर थियो।
विधिको शासन थियो, अहिलेजस्तो आआफ्ना नौरंगी मागहरू तेर्स्याएर सडकमा केहि दिन सुत्ने, उठ्ने, टायर आदि ज्वलनशील पदार्थ बाल्ने, आफ्ना यावत् मागहरू पूरा गराउन बाँकी लोकको जनजीवन ठप्प पार्ने, लाखौँको अधिकार हनन हुने गरी बन्द, चक्काजाम गर्न पाइने अहिलेको जस्तो अघोरै लोकतान्त्रिक युगको प्रादुर्भाव भइसकेको पनि थिएन। योर फ्रिडम एन्डस व्हेर माइ नोज बिगीन्स भनी स्वतन्त्रताको लक्ष्मणरेखा कोरिदिने नाटककार जर्ज बर्नार्ड श जस्ता पात्र पनि कतै थिएनन् कि? रितिथिति बाँधिदिने ऋषिमुनिहरू त पक्कै थिए होलान् तर हामीले तिनको गन्ती कहाँ गर्छौँ र?
स्वर्गका राजा भए पनि गल्ती गरेपछि सजाय हुनुपर्छ भन्ने ठहर गरियो अनि इन्द्र र उनको हात्ती (पुलुकिसी) को अपमान गर्दै शहर घुमाइयो। इन्द्रजात्रा वास्तवमा इन्द्र र उनको वाहन पुलुकिसीको मानमर्दन गर्दै मनाइने पर्व हो पनि भनिन्छ। यस सम्बन्धमा संस्कृतिविदहरूकै विचार सुन्न, पढ्न, गुन्न पाए अकिंचनजस्ता ‘डेढअक्कली’हरू असाध्यै लाभान्वित हुने थियौँ।
इन्द्र पूर्ववैदिककालीन देवता मानिन्छन्। उनी इतिहास भएको युगौँ बित्यो। पारिजात हिजोआज त्यति दुर्लभ फूल मानिन्न अचेल, त्यो फूल टिप्न कुनै इन्द्र ऐरावत चढेर काठमाण्डु धाउनु पर्दैन।
नेपालमा निश्चित वंशमा जन्मिएको जेठो छोरा राजा हुने व्यवस्था अर्थात् राजतन्त्र इतिहास भइ संघीय धर्मनिरपक्ष लोकतान्त्रिक गणतन्त्र कायम भएको पनि दशकौँ भयो।
तर परिवर्तनको जति लहर आए-गए पनि शासकहरूको आधारभूत चरित्र हम्मेसी फेरिन्न रहेछ क्यारे।
राणाशाहीविरूद्धको दशकौँको संघर्षपछि नेपालमा प्रजातन्त्रको स्थापना भयो भनियो, अब १०५ वर्षसम्म जहानिया शासकहरूले थोपरेको कालरात्रि, निरंकुशता, अन्याय, अत्याचारको अन्त्य भयो भनेर लोक खुशी भयो। तर भनेजस्तो भयो त? सचेत नेपालीहरूले देश र जनताका लागि रगत, पसिना, आँसु बगाए तर कतै पहिले नेपालकै शासकहरूको दरबारमा कैद राष्ट्रिय सार्वभौमिकता जनतामा हस्तान्तरण हुन नपाउँदै अपहरणमा त परेन? कतै ऊ छिमेकी दरबारको कालकोठरीमा बन्दी जीवन बिताइरहेको त छैन? उसको उद्धार गर्ने कुनै उपाय छ कि?
अकिंचनका विचारहरू, धारणाहरू संकीर्ण मानसिकताको उपाज ठानिनसक्ने संभावना भएकाले विज्ञजनहरू नै बोलून् यस सम्बन्धमा।
करिब ३० वर्ष ‘पंचायती प्रजातन्त्र’ चल्यो नारायणहिटी दरबारको नेतृत्वमा। थोरै चर्चा गरूँ ‘प्रजातन्त्र’ सम्बन्धमा? निरङ्कुश शासकहरूलाई समेत यो शब्द ज्यादै प्रिय लाग्दो रहेछ। उत्तर कोरियाको राजवंश सरहको सत्ताधारी किम वंशलाई त यो शब्द औधी कर्णप्रिय लाग्छ जस्तो छ। त्यसैले त उक्त देशको आधिकारिक नाम नै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया रहेको छ, दक्षिण कोरियालाई चाहिँ ‘गणतन्त्र’ ले नै पुगेको छ अर्को कुनै फुँदो चाहिएको छैन। धेरै देशहरूलाई निलेर सूर्य कहिल्यै नअस्ताउने साम्राज्य स्थापना गर्ने देश लोकतन्त्रको जननीको रूपमा विश्वभर सुपरिचित छँदैछ।
त्यसो त रूस, चिन लगायतका देशहरूमा समेत आ-आफ्ना मौलिक विशेषताहरू सहितको प्रजातन्त्रको राज छ, अफ्रिका, ल्याटिन अमेरिकाका ट्वाके तानाशाहहरू समेत आफूलाई प्रजातन्त्र वा लोकतन्त्रका अघोर हिमायती ठान्छन् भने कुन आश्चर्य भो र?
नेपाल त पंचायत, संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता लगायतका यावत प्रशासनिक-धार्मिक प्रणालीहरूको प्रयोगभूमिका रूपमा विश्वभर चिनिन्छ।
दशवर्ष चलेको/चलाइएको माओवादी युद्ध अन्त्य भइ राजतन्त्रको अन्त्य भएको पनि करिब दुइ दशक बितिसकेछ, जादूको छडी वा सोसरहको ठानिएको 'लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता' लगायतका तिलस्मी विशेषताहरू सहितको संविधान जारी भएको पनि दिव्य आठ वर्ष बितेछन्।
यस अवधिमा राज्यशक्ति, राज्यसत्तालाई आफ्नो बपौती ठान्नेहरूले पुन:पुन: सत्ता र शक्तिको चास्नीमा डुब्ने अवसर पाएका छन् त्यसै गरी आफूलाई क्रान्तिकारी, परिवर्तनका लागि लडेको भनेर नथाक्नेहरूले समेत आफूले चाहेको विधि, व्यवस्था, शासनप्रणाली स्थापना गर्ने अवसर पाएका छन्, देशलाई सुशासन, सुव्यवस्थाको स्वर्णयुगमा प्रवेश गराउने मौका पटकपटक पाएकै छन्।
करिब १६० वर्षअघिको अमेरिकी गृहयुद्धमा धोक्रेहरू (कार्पेटब्यागर्स) ले जति कमाए तिनले भन्दा कति हो कति बढी कमाएका छन् कुनै बेला आधा पेट खाएर, रामझुपडीमा बसेर, ठिकैठिकै लुगाफाटो लगाएर प्रजातन्त्र, समाजवाद, मानवाधिकार, विधिको शासन लगायतका उच्च आदर्शहरूका लागि रगत, पसिना, आँसु बगाएका हाम्रा ‘तारणहारहरू’ले। हो, जोगी हुन उहाँहरूले राजनीति गरेको होइन तर के सम्पूर्ण लोकलाई भोक, रोग र शोकमा डुबाएर आफू, आफन्त र भान्सेमण्डलीका सदस्यहरूलाई संवृद्धिको सगरमाथामा पुर्याउन मात्रै उहाँहरूले नेपाल र पुस्तादरपुस्तासम्म नेपालीहरूलाई भडखालामा जाक्नका लागि दशकौँ संघर्ष गर्नुभएको थियो त? यो तहको राष्ट्रघात कुनै स्वाभिमानी जातिका लागि सह्य नहुनुपर्ने हो तर समग्रमा नेपाली जाति ज्यादै सोझो, ज्यादै बोधो र ज्यादै क्षमाशील भएकोले नै यहाँहरूले सकेजति लूटन पाउनुभएको छ, विक्रम संवत २००७ मा व्यवस्था फेरिएपछि नेपाली लोकको अवस्था फेरिएला भन्ने अपेक्षामा द मोर थिंग्स चेन्ज द मोर दे रिमेन द सेम भन्ने फ्रेन्च राज्यकालीन उक्ति नेपालमा चरितार्थ भएको छ पुन: पुन:।
कर्तव्यच्युत शासकलाई ठेगान लगाउनुपर्छ भन्ने संदेश इन्द्रजात्राले दिएको जस्तो अकिंचनलाई लाग्छ। कुनै बेला राजोचित कर्मबाट विमुख इन्द्रलाई ठेगान लगाउने सचेत, न्यायप्रेमी, कलाप्रेमी, ऐतिहासिक विरासत बोकेको लोक यस पटकको इन्द्रजात्रामा जाग्छ कि, शासकीय अत्याचार, भ्रष्टाचारविरोधी स्वरसम्म भए पनि उराल्छ कि भन्ने अकिंचनको आशा निराशामा परिणत भयो।
पूर्ववैदिककालका इन्द्रलाई ठेगान लगाउन सक्ने लोकले कलिकालीन ‘इन्द्रहरू’को अति सही बस्यो भने देश अन्तहीन गर्तमा फस्ने निश्चित छ।
देशलाई शासकहरूबाट बचाउनु नै नागरिकको परम कर्तव्य हो। बाँकी तपसिलका कुरा हुन्।
Comments
Post a Comment