आत्मपरक लेखनीप्रति किन आपत्ति?
देवेन्द्र गौतम
विभिन्न स्वार्थसमूहहरूका मुखपत्रहरूलाई र तिनका 'लाड्लाहरू'लाई अपाच्य लाग्न सक्छ मेरो विचार तरै पनि पोष्ट गर्ने धृष्टता गरेको छु है.....
थप: मेरो लेखनीको आत्मपरकताप्रति केही 'बडेबडे' संपादकहरूको आपत्ति पटकपटक झेलेको छु। कम्तिमा पनि यो मंचमा I am entitled to my opinion, होइन र?
स्पष्ट पारूँ: कुनै प्रख्यात स्तम्भकार भएर आत्मपरक भएको होइन म। म अर्थात् अलिकति आगो, अलिकति पानी, अलिकति प्रकाश, थोरै आकाश, हावा र पृथ्वी मिलेर बनेको यो नश्वर देहले जे देख्छ, भोग्छ, त्यसलाई लोकसँग जोडेर लेख्ने हो, नाफा-घाटा जोड-घटाउ, भागा-गुणा गरेर लेख्ने होइन।
आफ्ना आँसु, हाँसो, पीडा, सुस्केरा लोकसँग बाँड्दा दुख बाँडिन्छ। असारे झरीमा राएँ डोकामा खाँदिएको खर बोकेर भीरकुनाबाट चिप्लो बाटो घर फर्किँदै गर्दा, नाम्लाको बैरोले टाउको टट्टाउँदा पनि आमा किन म बबुरोसँग कुरा गर्दै हिँडन खोज्नुहुन्थ्यो बुझ्दैछु।
बालुवाटारलाई दुख्छ कि, बार्दलीलाई दुख्छ कि, दिल्लीलाई दुख्छ कि, बेइजिंगलाई दुख्छ कि, वाशिंगटन, डिसीलाई दुख्छ कि, ब्रसेल्सलाई दुख्छ कि भनेर self-censorship गर्ने स्तम्भकारको कर्तव्य होइन, त्यो भजनलालहरूको, प्रशस्तिकारहरूको, विरूदावलीविदहरूको कर्तव्य होला।
स्तम्भकार तटस्थ हुन् सक्दैन if he has not sold his soul to the devil, हुनु पनि हुँदैन। सत्ता र शक्तिकेन्द्र (power centres) हरूप्रति निरन्तर प्रहार नै स्तम्भकारहरूको एकमात्र धर्म हो। राज्यका ३ प्रमुख अङ्गमध्ये बैधानिक रूपमा उपयोग गर्ने संविधानप्रदत्त हकका कारण 'प्रजातान्त्रिक' भनिएका सरकारहरूसमेत निरङ्कुश हुन खोज्छन् नै। त्यो प्रवृत्ति वि सं २००७ सालको परिवर्तनको बलमा स्थापित 'प्रजातान्त्रिक सरकारमा पनि देखिएकै हो, ३० वर्षे तथाकथित पंचायती प्रजातन्त्रमा पनि देखिएकै हो, २०४६ को राजनीतिक परिवर्तनपछि नेपाली कंग्रेस २/३ बहुमत प्राप्त गरेपछि गठित गिरिजा प्रसाद कोइराला लगायतका सरकारहरूमा पनि देखिएकै हो, देखिएकै छ अहिले पनि। जनताले दिएको मतका कारण संसदमा प्राप्त बहुमतले मत्त सरकार जनताकै अधिकार उल्लङ्घन गर्नतर्फ लाग्छ, त्यसमाथि कतिपय अवस्थामा अर्को ज्यादै महत्वपूर्ण अङ्ग, संविधानको अन्तिम व्याख्याता तथा संरक्षक न्यायालय पनि subservient भइदिन्छ न्यायाधिशहरूकै क्षुद्र स्वार्थहरूका कारण समेत।
यस्तो अवस्थामा सरकारलाई नत्थी लगाउने कसले त? स्वतन्त्र, निष्पक्ष संचार माध्यमहरूले। ती माध्यमहरूमार्फत् सरकारलाई आकारमा ल्याउन सकिन्न भने, संसद असंसदीय परिपाटीमाथि औँला ठड्याउन सकिन्न भने, बाटो बिराएको अवस्था छ भने, लोकले न्याय नपाएको अवस्था छ भने न्यायालयलाई समेत खबरदारी गर्न सकिन्न भने पत्रकारको, स्तम्भकारको रामनामी ओढ्न पनि पाइन्न। त्यति गर्न सकिन्न, आँट छैन भने spin doctors, fifth columnists भए हुन्छ, पत्रकारको, स्तम्भकारको खोल ओढ्नु पाइन्न।
अँ, निश्चित स्तम्भकारहरूको विचार मन पर्दैन भने, शैली मन पर्दैन भने, शक्तिकेन्द्रहरूलाई दुख्छ र पछि लाभको पद पाइन्न भन्ने डर छ भने कतिपय low-cunning पात्रहरूले लेख्ने किसिमका जाली तम्सुकहरू छाप, दुरभिसन्धिहरू छाप ए चरणदासहरू हो, लोकले तिमीहरूलाई अझ राम्रोसँग चिन्नेछ।
Comments
Post a Comment