दुष्टबुद्धि बकुल्लो र चलाख गँगटो
एकादेशमा वनको बिचमा अनेकानेक जलचरहरूले युक्त एउटा ठुलो जलाशय थियो। त्यसै जलाशयको किनारमा वृद्धावस्थाका कारण माछा मारेर खान असमर्थ एउटा बकुल्लो पनि बस्दथ्यो।
एकदिन भोकले आकुलब्याकुल त्यो बकुल्लो धर्धरी रोइरहेको थियो। ठिक त्यही बेला त्यही जलाशयमा बस्ने एक गँगटो र अन्य जलचरहरू बकुल्लाको हालखबर बुझ्न आइपुगे किनभने उनीहरूले बकुल्लाले नि:शब्द मोतीका दानाजस्ता आँसु बगाइरहेको अनि केही नखाइ बसेको तिनीहरूले देखेका थिए।
गँगटोले बकुल्लोलाई संबोधन गर्दै भन्यो: हे मामा! आज तपाइँले भोजनको मेलोमेसो पनि गर्नुभएको छैन, रूँदै अनि लामो सास फेर्दै एकदमै शान्त भएर बस्नुभएको छ। किन? तपाइँलाई के भयो?
बकुल्लोले भन्यो: तपाइँले सही अनुमान गर्नुभो बाबु! माछा धेरै खाइयो, पाप धेरै कमाइयो, त्यसैले प्रायश्चितस्वरूप अबदेखि माछा नखाने बरू प्राण त्याग गर्ने व्रत धारण गरी बसेको छु। त्यसैले त नजिकै आएका माछा पनि खाइरहेको छैन नि!
बकुल्लाको कुरो सुनेर गँगटोले सोध्यो: हे मामा! के-कति कारणले तपाइँमा यस्तो वैराग्यभाव जाग्यो? हामीलाई पनि बताउनुस् न।
बकुल्लाले खुइय्य गर्दै भन्यो: यही सरोवरमा मेरो जन्म भयो, यहीँ बुढो पनि भएँ अब त। छिट्टै नै १२ वर्षे अनावृष्टि शुरू हुँदैछ भन्ने मैले सुनेको छु।
गँगटोले सोध्यो: कसले सुनायो तपाइँलाई यो कुरा, मामा?
बकुल्लोले भन्यो: दैवज्ञले (देव जान्नेहरू) सुनाए भांजा मलाइ यी कुरा। छिटै नै शनिश्चरले रोहिणी नक्षत्रको भेदन गरी मङ्गल तथा शुक्रसँग योग गर्नेछ। आचार्य बराहमिहिरको मत छ: शनिले रोहिणी नक्षत्रको भेदन गरेको बेला इन्द्रले १२ वर्षसम्म पृथ्वीमा पानी पार्दैनन्। रोहिणीको भेदन हुँदा पृथ्वीले आफैलाई पापिनी ठान्न थाल्दछिन्, प्रायश्चितस्वरूप भष्म तथा दाहसंस्कार गरेपछि बाँकी रहेको हड्डी शरीरमा धारण गर्दछिन् (खडेरीका कारण पृथ्वीमा खरानी तथा मरेका जनावरहरूको हड्डी बाहेक केही बाँकी रहँदैन।)
धेरै के भनूँ, कथं शनि, मङ्गल तथा चन्द्रमामध्ये यदि कुनै एकले रोहिणी नक्षत्रको भेदन गरेमा संपूर्ण विश्व अनिष्टको सागरमा डुबेर नष्ट हुन्छ।
चन्द्रमा रोहिणी नक्षत्रमा प्रवेश गरेमा मानिसहरू कहीँ उपायहीन भएर आफ्ना बालबच्चासमेत मारी खान्छन्, कहीँ प्रचण्ड गर्मीले प्रताडित भइ दूषित पानी समेत पिउन बाध्य हुन्छन्।
यस सरोवरमा ज्यादै थोरै पानी छ, अनावृष्टि भयो भने त यो छिट्टै सुक्नेछ। सरोबर सुक्यो भने जलको अभावमा मसँगै हुर्केबढेका, खेलेका साथीहरू विनष्ट हुनेछन्। उनीहरूसँगको वियोग सहन म कहाँ सकूँला? त्यसैले मर्नका लागि यो अति कठोर, निराहार व्रत गरी बसेको छु।
अहिले नातासम्बन्धीहरूले ससाना जलाशयहरूमा बसोबास गरिरहेका जलचरहरूलाई धमाधम ठुला, गहिरा जलाशयहरूमा स्थानान्तरण गरिरहेका छन्। गोही, सोँस, जलगैँडा आदि जनावरहरू आफै गहिरा तथा ठुला जलाशयहरूमा गइरहेका छन्। तर यस जलाशयका जीवजन्तुहरू भने निश्चिन्त भएर, आफू बच्ने कुनै उपाय नगरी बसिरहेका छन्। खडेरी पर्दा यस जलाशयका जलचरहरूको बिउ समेत शेष रहने छैन, आसन्न विपत्ति संझेर म रोइरहेको छु।
गँगटोले बकुल्लाले भनेका कुरा अन्य जलचरहरूलाई सुनाइदियो। खडेरी पर्ने कुरा सुनेर माछा, कछुवा आदि जलचरहरू सबै डराए अनि बकुल्लासँग अनेक थरी नातासम्बन्ध गाँस्दै भन्न थाले: हे मामा! हे काका! हे हजुरबा! हे दाइ! हाम्रो जीवनरक्षा हुन सक्ने कुनै उपाय छ कि?
बकुल्लाले भन्यो: यस सरोवरको नजिकै एउटा ज्यादै गहिरो जलाशय छ। कमलहरूले ढपक्कै ढाकिएको त्यो जलाशय २४ वर्षसम्मै खडेरी परे पनि सुक्ने छैन। यदि तपाइँहरूमध्ये कोही मेरो पिठ्युँमा चढ्नुहुन्छ भने तपाइँहरूको उद्धार गर्ने जिम्मा मेरो भयो लौ।
जलचरहरूले बकुल्लाको कुरा पत्याए। हे हजुरबा! हे काका! हे मामा! हे दाइ! आदि शब्दले संबोधन गर्दै उनीहरू बकुल्ला वरिपरि झुम्मिए र सबैले ‘मलाइ पहिले लैजानुस्, मलाइ पहिले लैजानुस्’ भन्दै तँछाडमछाड गर्न लागे।
त्यो दुष्ट बकुल्लो हरेक दिन जलचरहरूलाई ठुलो, गहिरो जलाशयमा लगिदिने नाममा केही पर रहेको ठुलो ढुङ्गामा लैजान्थ्यो र त्यहाँ ती प्राणीहरूलाई पछारेर मारीसकेपछि आनन्दपूर्वक आफ्नो पेट भर्थ्यो। त्यति सबै गरिसकेपछि पुरानै सरोवरमा फर्केर कपोलकल्पित समाचारहरू सुनाउँदै बाँकी जलचरहरूको बुद्धि भुट्ने काम गर्थ्यो।
यसरी नै उसको जीवन आनन्दपूर्वक बितिरहेको थियो।
एक दिन गँगटोले बडो तर्कपूर्ण भाषामा बडो मन छुने कुरा बोल्यो: हे मामा! यस जलाशयका जीवहरूमध्ये मसँग हो नि सबै भन्दा पहिले तपाइँको सुमधुर, प्रेमयुक्त संवाद भएको। तपाइँ भने मलाइ बिर्सेर अन्य जलचरहरूको उद्धारमा खटिइरहनुभएको छ, किन? आज तपाइँले जसरी पनि मेरो प्राणरक्षा गर्नैपर्छ।
गँगटोको कुरा सुनेर दुष्टबुद्धि बकुल्लाले मनमनै सोच्यो: हो त नि, माछा खाँदाखाँदा वाक्क भइया छ, कहिलेकाहीँ त यसो मुख पनि फेर्नुपर्छ (सधैँ माछामात्रै कति खानू!) आज यही गँगटोलाई चटनीको रूपमा ग्रहण गर्नुपर्ला। यस्तै सोचेर बकुल्लाले उक्त प्राणीलाई आफ्नो पिठ्युँमा चढायो र वधशिला (त्यही ढुङ्गो जसमाथि बकुल्लाले अन्य जलचरहरूलाई पछारेर मार्थ्यो र आफ्नो भोजन बनाउँथ्यो) तर्फ लाग्दो भयो।
केही पर जानेबित्तिकै गँगटोले शिलाखण्डमाथि हाडहरूको ससानो पहाडै ठडिएको देख्यो अनि कुरो बुझिहाल्यो: यो त माछाका हाडहरूको ‘पहाड’ पो हो त! तर उसले बकुल्लोसँग यत्ति मात्र सोध्यो: ए मामा! तपाइँले भनेको ठुलो, गहिरो जलाशय अझ कति टाढा छ हँ? तपाइँ मलाइ बोक्दाबोक्दा थाकिसक्नुभए जस्तो छ।
जमीनमा यस मूर्ख जलचरले मेरो केही हानि गर्न सक्दैन, आफ्नो पराक्रम देखाउन सक्दैन, बकुल्लाले यस्तै सोच्यो र अलि उपेक्षापूर्ण भावले हाँस्दै भन्यो: दोस्रो जलाशय छ नै कहाँ र? यो सबै वास्तवमा मैले जिउनका लागि गरेको उपाय मात्रै हो। अब तँ पनि आफ्ना इष्टदेवको स्मरण गर किनभने छिट्टै तँलाइ पनि यही ढुङ्गामा पछारेर मारी खानेछु।
बकुल्लाले यति भनी के भ्याएको थियो, गँगटोले त्यसको कमलतन्तुजस्तो मसिनो घाँटी अँठयाइ तत्क्षण मारिदियो।
यसरी गँगटोले दुष्टबुद्धि बकुल्लाको अन्त्य गरी बाँकी जलचरहरूको जीवन बचायो।
(‘पंचतन्त्रम्’ मा संग्रहित एक कथाको नेपाली अनुवाद)
अनुवादक: देवेन्द्र गौतम
Comments
Post a Comment