भूराजनीतिक झेली खेलहरूतर्फ नेपाली लोकको ध्यान जाओस्
भदौ ४ गतेको साँझ, चांगलिमिथांग रंगशाला, थिम्पु, भुटान। भुटान भन्नेबित्तिकै पीडाका शीतलहरहरूले मनमुटु बिथोलिहाल्छन्। नेपालीभाषी, नेपालीमूलका एकलाख भन्दा बढी नेपालीहरू जन्मथलोबाट लखेटिएर शरणार्थी भइ बस्नुपरेको कालो अध्याय सम्झिन्छु। के नै अपराध गरेका थिए र तिनले? प्रजातन्त्र र मानवाधिकार त मागेका थिए।
विज्ञानप्रविधि, नवचेतना, विश्वव्यापी इन्टरनेट संजालको यस युगमा पनि मातृभाषामा बोल्न, लेख्न, आफूले मन पराएको पोशाक लगाउन पाउनुपर्छ भन्नु ठुलो अपराध हुँदोरहेछ अझ त्यो पनि त्यस भूखण्डको नजिक जो आफूलाई संसारकै सबैभन्दा ठुलो लोकतन्त्र अनि लोकतन्त्रको जननी भन्नुमा गर्व गर्छ।
शासकलाई अस्तित्वको सङ्कटको आभाष भएपछि केको प्रजातन्त्र, केको मानवाधिकार?
राज्य बर्बर दमनमा उत्रियो दक्षिण भुटानमा, त्यहाँस्थित नेपालीभाषीहरूका घरहरूमा आगो लगाइयो, बलात्कारलाई युद्धको अस्त्रको रूपमा प्रयोग गरियो अनि एक लाखभन्दा बढी निहत्था नेपालीजनलाई इण्डियन भूमितर्फ लखेटियो, त्यहाँबाट पनि बल प्रयोग गरी ती विस्थापित जनलाई लखेटियो अनि ती विवश जन नेपालमा शरण माग्न आइपुगे मेची तरेर।
सुशासनको अभाव, गरिबी, बेरोजगारी, भ्रष्टाचार, अस्थिरताले मात्र नपुगेर युद्ध भोगिरहेको एउटा व्यवस्था जो राष्ट्रिय जनसंख्याकै लागि पनि गास, बास, कपास, शिक्षा, स्वास्थ्य आदिको व्यवस्था गर्न सकिरहेको थिएन (अहिले पनि अवस्था कमजोर नै छ) उसको काँधमा आइलाग्यो थप जिम्मेवारी।
अधिकांश आफ्नै स्रोतसाधन, केही विदेशी सहयोग जुटाएर विस्थापित मानवतालाई शरणार्थी शिविरहरूमा राखियो पूर्वी नेपालमा। कालक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड, डेनमार्क, नर्वे, संयुक्त अधिराज्य र अष्ट्रेलियाले विस्थापित भुटानीहरूलाई शरण दिए, नेपाल त आश्रयस्थलका रूपमा छँदैछ।
अमेरिकाको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठान सन् २०१९ मा ८३ जना भुटानी शरणार्थीहरू (वयस्क र बालबालिकाहरू) लाई समेटेर एउटा अध्ययन गरेको थियो। उक्त देशमा ११०,००० भन्दा बढी शरणार्थीहरूलाई पुनर्स्थापन गरिएको थियो, यद्यपि डनल्ड ट्रंपको दोस्रो शासनकालमा शरणार्थीहरूलाई धमाधम अमेरिकाबाट फिर्ता पठाइँदैछ अनि तिनलाई पुन: अनधिकृत रूपमा नेपाल प्रवेश गराउने प्रपंच हुँदैछ भन्ने सङ्केतहरू समाचारहरूमार्फत् आइरहेकै छन्।
उक्त अध्ययनको उद्देश्य थियो आत्महत्याका अनुभूत कारणहरू, जोखिम तथा सुरक्षात्मक तत्वहरूको अध्ययन/अन्वेषण गर्नु व्यक्तिगत, पारिवारिक, सामुदायिक र सामाजिक तहहरूमा। ती शरणार्थीहरूसँग गरिएको संवादको अडियो रेकर्डिङको अनुवाद र त्यसलाई लिपिबद्ध गरी तिनको विषयगत विवेचनात्मक विश्लेषण गरिएको थियो।
उक्त अध्ययनले एक लाख जनसंख्यामा २४.४ (अनुमानित) ले आत्महत्या गर्ने गरेको देखिएको उल्लेख गरेको थियो जुन अमेरिकाको औसत आत्महत्या दर (१२.४ प्रति एक लाख व्यक्ति) भन्दा करिब दोब्बर हो।
यति हुँदाहुँदै पनि भुटान दुखी छैन, शासकवर्गले प्रतिपादन गरेको थोक राष्ट्रिय खुशी अर्थात् ग्रस न्याशनाल ह्यापिनेशको अवधारणामा रमाइरहेको छ, संयुक्त राष्ट्रसङ्घलाई समेत यो अवधारणा साह्रै मन परेको पाइएको छ!
हो, औसत भुटानीहरू हामी नेपालीभन्दा धेरै खुशी छन् होला, सुखी छन् होला, धनी पनि छन् होला, शासकहरू सुशासन र सुव्यवस्था दिन सक्षम छन् होला। बधाइ छ उनीहरूलाई!
तर एक लाखभन्दा बढीको एउटा सिङ्गै लोकलाई राज्यविहीन बनाएर कसरी निदाउन सक्छन् होला थिम्पुका शासकहरू?
बोझिलो मन बोकेर चांगलिमिथांगतर्फ फर्किन्छु। त्यस दिनको इण्डियासँगको साफ यु-१७ महिला फूटबलको प्रारंभिक खेलमा हाम्रो टोलीले बहादुरीपूर्वक ७ गोल खायो, १ गोल पनि फर्काउन सकेन। युट्युबमा खेलाडीहरूमाथि अनि फूटबलको छाता संस्था अखिल नेपाल फूटबल सङ्घमाथि गाली बर्सियो। हो, दक्षिण एशियाको फूटबल पावरहाउसका रूपमा इण्डिया उदाइरहेको छ, नेपाल पनि राम्रै टोली मानिन्छ तर यति निराशापूर्ण प्रदर्शन नेपालले कहिल्यै गरेको थिएन क्षेत्रीयस्तरमा।
भदौ ६ गतेको खेलमा भने नेपालले भुटानलाई २-१ को झिनो अन्तरले हरायो। एउटा दर्शकको रूपमा भन्नुपर्दाचाहिँ भुटानी टोलीको खेलको स्तर सुध्रिएको अनि हाम्रो चाहिँ खस्केको देखिन्छ।
भदौ ८ को खेलले पनि यही देखायो। त्यस दिनको खेलमा बंगलादेशी टोलीले हाम्रो टोलीलाई ३-० ले हरायो।
अन्तर्राष्ट्रिय प्रचलन कस्तो छ भने यस्तो किसिमको लज्जाजनक प्रदर्शनपछि कम्तीमा पनि प्रमुख प्रशिक्षकले राजिनामा दिन्छन्। हालैको १७ वर्षमुनिको नेपाली महिला टोलीको प्रदर्शनले नेपाली फूटबल बिरामी छ भन्नेसम्मको आँकलन गर्न सकिन्छ। यसका लागि कोको दोषी छन्? कोको माथि कारबाही हुनुपर्छ (या पर्दैन पो कि)? त्यो सबै सम्बन्धित निकायहरूले नै जानून्।
एक दर्शकको रूपमा चाहिँ नेपाली खेलाडीहरूले जे आउँछ मजाले पचाउँछ भन्ने शैलीमा नखेल्लान्, पदक/तक्मा/शिल्ड ल्याऊलान्, राष्ट्रिय राजनीतिक नेतृत्वले झुकाइदिएको हाम्रो शीर थोरै भए पनि ठाडो पारिदेलान् भन्ने अपेक्षा हुँदोरहेछ। तर यथार्थको धरातलमा धेरै पटक आशा/अपेक्षा/सपनाहरू चकनाचुर भएका छन्।
खेलाडीका जुता लगाएर हेर्दा कत्तिको अप्ठ्यारो छ खेल्नु, स्रोतसाधनको अनुपलब्धताको परिप्रेक्ष्यमा? के तिनले राम्रा बुटसम्म पाएका छन्? खाना/खाजाको केकस्तो व्यवस्था छ? प्रशिक्षणको गुणस्तर कस्तो छ? जेजति पारिश्रमिक/तलब/भत्ता तिनले पाउँछन्, के त्यतिले जीवन निर्वाह गर्न सकिन्छ? खेलकुदमा ‘राजनीति’ कत्तिको चल्छ? खेलेरै जीवननिर्वाह गर्न सकिने परिस्थिति छ?
बल त फेरि पनि ‘राजनीति’मै गएर ठोकिन्छ। के गर्ने? नेपालमा सत्ता र शक्तिका लागि भइरहने फोहोरी खेलहरूलाई राजनीत भन्नुपर्ने बाध्यता छ।
जुनसुकै रङ्गको होस् ‘राजनीति’ त ‘राजनीति’ नै हुँदो रहेछ। कम्तीमा पनि सन् १८१४-१६ को नेपाल युद्धपछिको इतिहास साक्षी छ, नेपालको राजनीतिलाई त आत्मघाती गोल गर्ने बानी नै परेको छ। सुगौली सन्धि, सन् १९५० को शान्ति तथा मैत्री सन्धि, ‘५० कै दशकको कोशी संझौता, गण्डक संझौता, सन् १९९० को दशकको महाकाली सन्धि र त्यसपछिका रहेसहेका जीवनदायिनी नदीहरूको गोदानसम्बन्धी सम्झौताहरू ऐतिहासिक आत्मघाती गोलहरूका केही उदाहरणहरू हुन् जुन विश्व इतिहासमा बिरलै पाइन्छन्।
दलभित्रको द्वन्द्व अनि नानाथरी काण्डहरूमा फसेको नेपालको उच्च राजनीतिक नेतृत्वले विश्व राजनीतिले कोल्टे फेर्दै गरेको अनि २ विशाल छिमेकीहरू आफ्ना व्यापारिक तथा रणनीतिक स्वार्थहरूका खातिर नेपालको भौगोलिक अखण्डता नकार्न उद्यत रहेको स्पष्ट सङ्केत दिइरहेको बेला मोहनशमशेरले जस्तै आफ्नो शासनसत्ता चीरकालसम्म स्थिर रहने आशामा आसन्न छिमेक भ्रमणका क्रममा नेपाल र नेपालीविरूद्ध थप आत्मघाती गोलहरू गर्छ कि भन्ने शङ्का-उपशङ्का चुलिँदा छन्।
खेलमैदान त छँदैछ, भूराजनीतिक खेलमैदानमा भइरहेका र हुनसक्ने झेली खेलहरूतर्फ पनि नेपाली लोकको ध्यान जाओस्।
देवेन्द्र गौतम
Comments
Post a Comment