'महानताका प्रतिमूर्ति'प्रति
गास-बास-कपास सधैँ अनिश्चित
पाइला-पाइलामा लात खान, अपमान सहन विवश
तिमीले ज्यादै तुच्छ सम्झेको त्यो प्राणी
मानौँ शान्ति-सुरक्षा कायम गर्ने आकर्षक काम पाएको छ।
तिमी क्षुद्र स्वार्थका लागि आगो बाल्छौ
मान्छे-मान्छे लडाएर
समाज भाँडछौ, देश बेच्छौ
क्षुद्र सत्तास्वार्थ पूरा गर्छौ
तर पनि तिमी महान ठानिन्छौ
तिम्रा शालिक ठडिन्छन् चोक-चोकमा, पार्कपार्कमा, मोडमोडमा
चामलका बोरादखि बाबुनानीका पुस्तकहरूमा तिमी नै तिमी देखिन्छौ
मानौँ तिमी नै नश्वर लोकले कहिल्यै नदेखेको, नभेटेको इश्वर हौ।
हुक्के, ढोके, बैठकेहरू, शाखा-सन्ततिहरूबाट टाढा रहेको बेला
आत्ममुग्धताको जरोले छाडेको बेला, नितान्त एक्लै भएको बेला
शयनकक्षको पूर्णकदको ऐनामा
आफूलाई नियालेर हेर्नु हे ‘महानताका प्रतिमूर्ति!
तिमी आफ्नो सक्कली स्वरूप देखेर आफैँ तर्सिनेछौ।
- देवेन्द्र गौतम
Comments
Post a Comment