नेपालका पुराना दलहरूले बिउ जोगाउने हो भने.....

देवेन्द्र गौतम

केही दिनदेखि लेख्नलाई विषय नै प्राप्त भइरहेको थिएन।
उल्लिखित पंक्ति पढिसकेपछि सचेत पाठकहरूले व्यंग्यास्त्रहरू प्रहार गर्न थालिहाल्नुभएन भने कसरी भनूँ उहाँहरूलाई सचेत पाठकगण भनेर? हृदयदेखि नै स्वागत गर्दछु व्यंग्यवाणहरू। ह्वट डजन्ट किल यु मेकस यु स्ट्रंगः, यसै भन्छन् फ्रेडरिक नित्से। तर व्यवहारमा यस उक्तिको प्रयोग ज्यादै विचार पुर्याएर गर्नुपर्छ है पाठकवृन्द।

अमेरिका र इजरेल मिलेर इरानमाथि आक्रमण गरिरहेका छन्, सर्वोच्च नेता आयातोल्लाह खमेनेइ र रिवोल्युसनरी गार्डस्को उच्च नेतृत्व ‘खेत’ भइसक्यो, एक अमेरिकी आक्रमणमा करिब १८० बालिकाहरूको ज्यान गयो भनिँदैछ, तेल तथा ग्यास उत्पादन संरचनाहरू दिनदिनै ध्वस्त गरिँदै छन्, इरानमा विस्थापितहरूको संख्या बढ्दो छ, मानवीय संकट चुलिँदो छ। यता इरानले पनि स्ट्रेट अभ हर्मुज करिबकरिब बन्द गरिदिएको छ, इजरेल र अमेरिकी सैन्य आधारशिविरहरू रहेका बहरेन, कतर, सउदी अरेयिबा, ओमन र संयुक्त अरब इमिरेट्समा आक्रमण गरिरहेकै छ। यस युद्धका कारण खाडी क्षेत्रमा कार्यरत करिब १७ लाख नेपाली श्रमिकहरूमाथि असुरक्षाको बादल मडारिएको छ, युद्ध लम्बिँदै गयो भने कसरी तिनको उद्धार गर्ने, तिनलाई देशभित्रै रोजगारीको व्यवस्था कसरी गर्ने?


युद्ध लम्बिँदै गयो भने विप्रेषण प्रवाह घट्न गइ राष्ट्रिय अर्थतन्त्र गंभीर सङ्कटमा पर्न सक्ने देखिन्छ। सरकारी, गैरसरकारी जानिफकारहरूलाई यति सामान्य तथ्य थाहा नहुनै कुरै भएन।
स्ट्रेट अभ हर्मुजको रणनीतिक महत्वबारे थोरै चर्चा गरौँ। यो एउटा महत्वपूर्ण तर साँघुरो मार्ग हो जसले उत्तरमा रहेको इरान (पारसको खाडी अर्थात् गल्फ अभ पर्सिया) लाई दक्षिणमा रहेका संयुक्त अरब इमिरेट्स र ओमानसँग (ओमानको खाडी अर्थात् गल्फ अभ ओमान) जोड्छ। सबैभन्दा साँघुरो खण्डमा यसको चौडाइ २१–३० माइल छ। सघन सैन्य उपस्थिति रहेको, प्रभुत्वका लागि अक्सर द्वन्द्व भइरहने यस महत्वपूर्ण सामुद्रिक मार्गमार्फत् विश्वमा दैनिक खपत हुने खनिज तेलको २० प्रतिशत ढुवानी हुन्छ। हर्मुज पूर्णतया ठप्प भएको खण्डमा एक वर्षमा १.२ खरब डलर बराबरको वैश्विक व्यापार अवरूद्ध हुने रहेछ।

सन् २०२४ मा हर्मुजमार्फत् प्रत्येक दिन औसतमा २ करोड ब्यारल कच्चा तेल र पेट्रोलियम पदार्थहरूको परिवहन भएको देखिन्छ, जुन विश्वव्यापी खनिज तेल खपतको २० प्रतिशत हुन आउँछ। यसै गरी हर्मुजबाटै विश्वव्यापी एलएनजी (लिक्विफाइड न्याचरल ग्यास जुन खाना पकाउन र अन्य औद्योगिक कार्यहरूमा प्रयोग हुन्छ) कार्गोको २० प्रतिशत परिवहन गरिन्छ, मूलतः कतर र संयुक्त अरब इमिरेट्सबाट। सन् २०२४–२५ मा हर्मुजबाट ढुवानी गरिएको कुल खनिज तेल/ठोस पेट्रोलियम पदार्थको ८०–८४ प्रतिशत चिन, इण्डिया, जपान र दक्षिण कोरिया लगायतका एशियाली बजारहरूका लागि थियो। हामीलाई चाहिने खनिज तेलको एकमात्र आपूर्तिकर्ता इण्डिया भएको परिप्रेक्ष्यमा, जलस्रोतमा जति नै ‘धनी’ भए पनि, जलविद्युतको जति नै ‘अपार’ संभावना भए पनि मूलतः खनिज तेलकै दमले चलेको हाम्रो अर्थतन्त्रमा यो सङ्कट चुलिँदै गयो भने के कस्तो असर पर्ला, सचेत पाठकहरूलाई बुझाउन परोइन।
नयाँ पुस्तालाई थाहा नहुन पनि सक्छ, कुनै बेला असाध्यै चलेका थिए यस कम्पनीका मोबाइल फोन सेटहरू। स्मार्टफोन प्रविधिको प्रवेशसँगै नोकिया मोबाइल फोनको युग समाप्त भएजस्तै भयो।

त्यति मात्र कहाँ हो र? रूस–युक्रेन युद्ध पनि त जिम्दै छ नि! त्यसमाथि फागुन २१ को निर्वाचनमार्फत् वि.सं २०७९ को निर्वाचनपछि गठन भएको अनि भदौ २३–२४, २०८२ को आन्दोलनपछि भङ्क भएको प्रतिनिधिसभामा २० सांसदसहित चौथो स्थानमा रहेको राजनीतिक दल १८२ सिट प्राप्त गरी पहिलो दल बनेको, त्यही संसदमा ८९ सांसदसहित सबैभन्दा ठुलो बनेको नेपालको सबैभन्दा पुरानो ‘प्रजातान्त्रिक’ दल जम्माजम्मी ३८ सांसदसहित दोस्रो ठुलो दलमा ‘दरिन‘ पुगेको, ७८ सांसद सहित दोस्रो ठुलो दलको रूपमा तत्कालीन प्रतिनिधिसभामा बलियो उपस्थिति कायम गरेको वामपन्थी दल २५ सांसदमा खुम्चिन पुगेको, २०७९ को निर्वाचनमा ४५ सांसदसहित तेस्रो ठुलो दलमा दरिएको अनि राष्ट्रिय राजनीतिमा कम्तिमा पनि दुई दशकदेखि ज्यादै महत्वपूर्ण भूमिका खेलिरहेको अर्को वामपन्थी शक्ति १७ सांसदमा सिमित हुन पुगेको गंभीर परिस्थिति के लेखनीय विषय होइन तपाइँका लागि? त्यतिमात्र कहाँ हो र? एपष्टिन फायलका पानाहरू खुलेका खुल्यै छन्, प्रत्येक पाना पल्टिँदा संयुक्त अधिराज्यदेखि संयुक्त राज्य अमेरिकासम्म, इण्डियादेखि इजरेलसम्म हल्लिन्छ, थप पाना पल्टिँदा कुन भूखण्डमा कति मापको भूकम्प आउने हो, तपाइँलाई यो पनि लेख्नुपर्ने विषय हो जस्तो लागेन हगि?
तपाइँ पनि हाम्रो ‘विचार उद्योग’को ‘नोकिया’ भइसक्नुभयो कि क्या हो?

नोकिया फिनल्याण्डमा रहेको बहुराष्ट्रिय कम्पनी, यसले दूरसंचार, सूचना–प्रविधि तथा विद्युतीय यन्त्रहरूजस्ता क्षेत्रमा कार्य गर्दछ। नयाँ पुस्तालाई थाहा नहुन पनि सक्छ, कुनै बेला असाध्यै चलेका थिए यस कम्पनीका मोबाइल फोन सेटहरू। स्मार्टफोन प्रविधिको प्रवेशसँगै नोकिया मोबाइल फोनको युग समाप्त भएजस्तै भयो।
पंक्तिकारसँग पनि करिब १५ वर्ष अघि गच्छेअनुसारको एउटा नोकिया मोबाइल फोन सेट (एन६०७०) थियो।
मुटुमाथि ढुङ्का राखी भन्नुपर्छः एक दिन छोरीलाई घरबाट नर्सरी विद्यालय पुर्याउँदा एन६०७० ट्याक्सीमा छुट्यो। फोन हराएको पीडामा आफ्नो बिर्सने बानीलाई झटारो हान्दै अनि मान्छेको इमान्दारीप्रति असीम आस्था प्रकट गर्दै यस पक्तिंकारले एउटा चल्तिको म्लेच्छभाषीय दैनिकमा ‘स्टिल ए बिलिवः’ शीर्षकको एउटा लेख लेख्यो, तर फोन किन भेटिन्थ्यो? इमान हराएको बस्तिमा इमान भेटिन्छ र?
त्यतिखेर त्यो साधारण सेटको बजार मूल्य पनि त्यस्तै १३–१४ हजार त पक्कै हुँदो हो, जुन एक श्रमजिवीका लागि सानो रकम पक्कै होइन अहिले पनि। स्मार्टफोन प्रविधिको प्रवेशसँगै नोकिया मोबाइल फोनको युग समाप्त भएजस्तै भयो।
‘नोकिया’ कुनै बेला एउटा उपमा पनि भएको थियो। करिब दुई दशकको परिवर्तनपश्चात् दशकौँ सत्तामा रहेको दलविशेषमा चरम सैद्धान्तिक विचलन आइसकेपछि कहिले वामपन्थी, कहिले कुनै बेलाको उग्रवामपन्थी दलतिर ढल्किन थालेपछि, चोकको दमाहाजस्तै जसले जसरी पनि बजाउन मिल्नेजस्तो परिस्थिति उत्पन्न भएपछि उक्त दल पनि ‘नोकिया‘ हुन्छ कि भन्ने किसिमका विश्लेषणहरू पंक्तिकारले पनि पढेको ठिक साँचो हो, झूठो बोलेको ठहरिएमा परेको सहूँला, ब्यहोरूँला।
कुर्सिमै बसेर ‘स्वर्ग’ जाने ठालु दलहरूका ठालुहरूको मनसुवाकै कारण पनि ती दलहरूको हविगत भएको होइन र?

करिब ७५ वर्षदेखि प्रजातन्त्र, राष्ट्रियता र समाजवादको अखण्ड जाप गरे पनि व्यवहारमा उक्त दलले नेपालको सार्वभौमिकता खुम्चिने गरी नेपाली लोकले तिब्र विरोध गर्दागर्दै पनि मुख्य नदी प्रणालीहरूको गोदान गरी पुस्तादरपुस्तालाई आघात पार्ने काम गरेकै हो, नेपालीले नेपालमै रोजगारी पाऊन सकून् भनी स्थापना गरिएका सार्वजनिक संस्थानहरू कौडीका भाउमा बेचेकै हो अनि यस कार्यमा विघटित संसदका दोस्रो र तेस्रो ठुलो मात्र दल होइन वि सं २०४६ को परिवर्तनपछि संसदमा प्रतिनिधित्व भएका हरेक जसो दलले गच्छे अनुसारको योगदान गरेकै हुन्। उल्लिखित दलहरूको नदीसम्बन्धी दुरभिसन्धिहरूमा मात्र होइन, नीतिगत भ्रष्टाचारका अनेकानेक काण्डहरूमा गच्छे अनुसारको योगदान छ्रैन भन्ने कुनै आधार छैन।
वंशानुगत शासन व्यवस्थाविरूद्धको संघर्षको नेतृत्व गरेका तिनै दलका ठालुहरूले आफू सत्ता र शक्तिमा आइसकेपछि आफू र आफ्नो परिवारका सदस्यहरू, नातागोता, हुक्के, ढोके, बैठकेहरूलाई नै सत्ता र शक्तिमा स्थापित गरेको तथ्य नेपाली लोकबाट लुकेको छैन। कुर्सिमै बसेर ‘स्वर्ग’ जाने ठालु दलहरूका ठालुहरूको मनसुवाकै कारण पनि ती दलहरूको हविगत भएको होइन र?
फागुन २१ को निर्वाचनमा निराशाजनक नतिजा आएपछि ज्यादै छोटो समय दलविशेषको सभापतित्व ग्रहण गरेका युवा नेताले राजिनामा दिएका छन्। आफ्नो नेतृत्वमा निर्वाचनमा होमिँदा पराजय भोग्नुपरेको परिस्थितिमा युवा नेताले राजिनामा दिनुलाई एउटा राम्रो शुरूवात मान्दा पनि त हुन्छ नि, होइन र? यस्तो प्रचलन त प्रजातान्त्रिक शासनपद्धति अँगालेका धेरै देशहरूमा छ नि, होइन र?
यहाँ एउटा प्रसङ्ग उल्लेख गर्नु सान्दर्भिक होला। अढाइ वर्षअघि एउटा बिहेको रिसेप्सनमा यस पंक्तिकारको युवा नेताजीसँग छोटो भेट भएको थियो। उक्त अवसरमा पंक्तिकारले भनेको थियोः तपाइँ काम त राम्रै गर्दै हुनुहुन्छ तर त्यो सबै ‘टु लिटल टु लेट’ हुन्छ जस्तो मलाइ लागिरहेछ। समय घर्किसकेपछि गरेको कामको फल कालले खान्छ भन्छ संस्कृतको एक श्लोक पनि।
यस महानगरमा एकसेएक विश्लेषकहरू छन्, उनीहरूले यस सम्बन्धमा अझ कति बोले होलान्, लेखे होलान्, सुझाए होलान्?

जनताको मन त फेरि पनि जित्न सकिएला, जनमत त फेरि पनि प्राप्त गर्न सकिएला आफ्नो र आफ्नो राजनीतिक दलको छवि जोगाउन सकियो भने, राजनीतिक पूँजी जोगाउन सकियो भने। निर्वाचनमा निराशाजनक परिणाम भोगेका अन्य दलहरूले पनि ती युवा नेताको सिको गरे हुन्छ। हुन त यो लेखले छापामा अनुहार देखाउने बेलासम्म ‘आन्तरिक दबावका कारण’, ‘नेतृत्वको सङ्कट’ चुलिने परिस्थितिलाई दृष्टिगत गरी राजिनामा फिर्ता लिएको घोषणा पनि हुन सक्ला।
तर सङ्कटले नै त हो एउटा जिउँदो दलभित्र नेतृत्व जन्माउने, स्थापित गराउने। फेरि युवा नेता अहिले एक पाइला पछि हट्दैमा फेरि शीर्ष तहमा फर्किन नसक्ने पनि त होइन।
स्मरणीय छ, नेपाली लोक पहिला जति धैर्यवान थियो, जति सहिष्णु थियो, त्यति अहिले छैन, नवयुगको चेतनाले ओतप्रोत छ ऊ विशिष्ट कृत्रिम बौद्धिकता, मशिन लर्निङ्क, इन्टरनेट अभ थिंग्स, डेटा सायन्सको यस कालखण्डमा। युवा नेताले जस्तै युगको पदचाप सुन्न नसक्ने वा नखोज्ने हो भने उक्त दल र अन्य दलहरू नेपाली राजनीतिको नोकिया फोन वा प्रजापरिषद हुन धेरै समय नलाग्न पनि सक्छ।
यस समयमा समय घर्किनुअघि नै विचार पुर्याउनु राम्रो होला। आगे यहाँहरूको जो मर्जि, जो विचार।
युवा नेताले जस्तै युगको पदचाप सुन्न नसक्ने वा नखोज्ने हो भने उक्त दल र अन्य दलहरू नेपाली राजनीतिको नोकिया फोन वा प्रजापरिषद हुन धेरै समय नलाग्न पनि सक्छ

Comments

Popular posts from this blog

हावामा पैसा

बेलैमा दलहरूको बुद्धि पलाओस्

Nepal needs a strategy for survival