वागमती किनारमा आँसु र आशा
देवेन्द्र गौतम
रित्तो सोफा मानौँ
भनिरहेको थियो: सुस्ताउनुस् एकैछिन, वागमतीजस्तै सतत बगिरहन कहाँ
सकिन्छ र घाइते क्षणहरूमा? बरू आउनुस्, एकैछिन भविष्यका कुरा गरौँ।
छेवैमा चटारो थियो: बाँकी बचेका आफ्ना सामान समेटेर ट्रकमा राख्ने र बाटो
लाग्ने। चिन्ता, चाँजोपाँजो भविष्यकै।
‘ललितपुरमा जग्गा किनेका छौँ, अब त्यतै बस्ने,’ मैले सोधखोज गर्दा छोटो
उत्तर दिए त्यस्तै ३५ तिरका लाग्ने ती युवाले।
उनी नखुलेको अवस्थामा घाउ कोट्याउनु अनुचित हुन्थ्यो।
‘अघि बढ्नुस्, कुरा गर्न चाहनेहरू भेट्नुहुनेछ।’
यति भनिसकेपछि बोलीचालीको भाषामा ‘ल्याङल्याङ’ गर्नु ‘आ बैल मुझे मार’ भन्नुजस्तै हुन्थ्यो।
उत्तरतिर ठडिएको एउटा स्मारक परिसरमा केही युवाहरू आफ्नो विक्षिप्त साथीलाई
सम्हाल्न खोज्दै थिए।
परैसम्म थिए ससाना पहाडका थुम्काजस्ता ‘स्मारकहरू’, बस्तीमा डोजर चलेपछि ‘बनेका/बनाइएका’।
के थिएनन् ती थुप्राहरूमा? बस्ती बसाउन प्रयोग गरिएका बाँसका भाटाहरू, दराज, भान्सामा भाँडाकुँडा राख्न
प्रयोग गरिने दराज, टेबल, कुर्सी, डोका, खाट, पलंग, सोफासेट, कार्पेट, पानीको जार, बाल्टिन, पाइपहरू सबै थिए।
अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले डोजर चलाएको ‘३ दिनभित्र सामानहरू हटाउनू’ भनी सूचना टाँस गरेकोमा म्याद सकिनुअघि (बैशाख १७) नै धेरै परिवारहरूले अत्यावश्यक सामानहरू त्यहाँबाट हटाइसकेजस्तो देखिन्थ्यो।
आलिशान संरचनाहरूले छेकेजस्तो लाग्यो सिंहदरबार, प्यारिस डाँडा, सानेपा दरबार, बार्दली दरबार, बालाजु दरबार।
बाँकी बचेका सामान सङ्कलन गरी बेचेर जीवन धान्नेहरू पनि देखिन्थे नदीकिनारमा।
विसङ्गत छ जीवन। कसैको दु:ख कसैकसैका लागि सुवर्ण अवसर भइदिन्छ।
छेवैको भग्न कुटीका भाटाहरूबाट विभक्त आकाश देखियो, आकाश छुन खोज्ने घरहरू
देखिए जहाँ पुस्तैनी कोपरा बेचेर आरामसँग जीवन गुजार्नसक्ने माइका लालहरू, नवधनाढ्यहरू आदिइत्यादि
बस्छन्। तिनै आलिशान संरचनाहरूले छेकेजस्तो लाग्यो सिंहदरबार, प्यारिस डाँडा, सानेपा दरबार, बार्दली दरबार, बालाजु दरबार।
कतै दोषी चश्माले नदेखेका त होइनन् ती शक्तिकेन्द्रहरू?
व्हेन अल एल्स इज लष्ट, द फ्युचर स्टिल रिमेन्स। अन्य सबै कुरा खतम हुँदा पनि भविष्यचाहिँ बाँकी रहन्छ, रहँदो रहेछ!
सरकार धेरै टाढा हुँदा आकाशसँग बस्तीका बासिन्दाहरूको भविष्य सोध्न मन लागेको
थियो तर उसको ‘डेफनिंग साइलेन्स’ले विचलित पार्दो भयो।
कतै पढेको पंक्ति सम्झेँ: व्हेन अल एल्स इज लष्ट, द फ्युचर स्टिल रिमेन्स। अन्य सबै कुरा खतम हुँदा पनि भविष्यचाहिँ बाँकी रहन्छ, रहँदो रहेछ! फ्युचरलाई ‘फुतुरे’ भन्दाको अबोध बाल्यकालदेखि जारी छ भविष्य जान्ने चेष्टा तर यो जिनिस त ज्योतिर्लिङ्गजस्तै अनन्तदेखि अनन्तसम्म फैलिएको रहेछ, जानिनसक्नु रहेछ।
जन्म-मरणका कति चक्रपछि सकिन्छ होला भविष्यको यात्रा? सोच्दा मथिङ्गल घुम्छ तर
उत्तर फेला पर्दैन।
केही वर्षअघिसम्म पारिबाट आएका ज्योतिषीहरू शनिमहाँकाल मन्दिरछेउ बसेर हाम्रो
भविष्य हामीलाई बताइदिन्थे यद्यपि उनीहरूलाई पक्कै पनि आफ्नै भविष्य थाहा थिएन ।
कति वीर अनि बुद्धिमान हामी!
ती धुलौटे ज्योतिषीहरू, नस्त्रेदमस र भविष्यपुराणका रचनाकारलाई भविष्यको जिम्मा
दिएर वीर नेपाली वर्तमानतिरै फर्कियो।
एउटा बारीमा ट्याम्टर फलेका थिए, ट्याम्टरसँगै एउटै जरोबाट
निस्केजस्तो देखिने मेवाको बोटले आकाश ताकिरहेको थियो। पूर्वजन्मका सहोदरजस्ता ती
दुईमध्ये ‘रेबल’ जस्तो लाग्थ्यो मेवा, त्यसले अलिकति बाउँठिएर
आकाशतर्फ माझीऔंला ठड्याएजस्तो देखिन्थ्यो, त्याम्टरमा फल लागेका थिए, त्यो अलि विनीत भावमा
देखिन्थ्यो। मकै, सिमी हुर्किरहेका थिए छेवैका बारीमा हावामा झुल्दै, सूर्यका किरणहरूबाट पातमा
खाना बनाइ खाँदै, रमाउँदै। कति दिनसम्मको होला यो रामरमाइलो? सोधेको थिएँ आफैलाई।
धतुराका रूखहरू, गाँजाका गाँजहरू आफैँ लट्ठ थिए शायद।
अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको डोजर आइपुग्दासम्म होशमा आए
होलान् के तिनीहरू? हुन त विपद ढोकैमा आएको बेला बेहोश भइदिँदा प्राण सजिलैसँग
गयो कि तिनीहरूको?
सत्ता र शक्तिको मातपनि उत्तिकै लाग्छ भन्ने सुने, पढेको, देखेको हुँ तर ‘वैज्ञानिक प्रमाण’ भने फेला पार्न सकेको छैन।
त्यसो त १ देखि ५ सम्मको लिकर्ट स्केलमा जाँच्ने हो भने हामीमध्ये कतिपयको
मस्तिष्क पनि सडकेको हुन सक्छ, मात्राको फरक न हो, होइन र पाठकवृन्द?
यी सबै दृश्यहरूबाट अलि अछट्ट एउटा भग्न कुर्सि उभिएको थियो। कुनै शक्तिशाली व्यक्ति
बस्ने गरेको कुर्सि यति दयनीय अवस्थामा पक्कै नहुनुपर्ने हो। सत्ता र शक्तिभन्दा
पर रहेको ज्ञानसत्ताको आसनचाहिँ ठ्याक्कै यस्तै हुन्छ हाम्रो नेपालमा। त्यही
कुर्सिमा बसेर साना नानीहरूलाई पढाउँथे कि कुनै व्यक्ति वागमती किनारमा डोजर
चल्नुअघि?
ती चिचिलाहरूको वर्तमान कस्तो होला, भविष्य के हुने होला?
आफ्नै भविष्यको भर नभएको मान्छेले यति धेरै सोच्न त नहुने हो पर आदतसे मजबूर
हुँ, करूँ तो क्या करूँ?
केही हात मात्र पर वागमती महात्म्यमा वर्णित जीवनदायिनी, पुण्यशलिला, सदानिरा वागमती बगिरहेकी
थिइन् अलिकति पानी, धेरै फोहर पानी, ठोस फोहरका साथै यस बस्तीका
बासिन्दाहरूको आँसु बोकेर। तर समय टक्क अडिएको थियो कसैकसैका लागि।
त्त्यसो त कसको समय कतिखेर टक्क अडिन्छ, के थाहा हुन्छ र?
तरैपनि फ्युचर स्टिल रिमेन्स, होइन त?
समय शायद ‘स्टोन्ड’ थियो तर व्यस्त सडकमा तपाइँलाई रोकेर, सट्ट ब्रेथलाइजर झिकेर झटपट
सास फेर्न लगाएर कसले कति पिएको/लिएको/तानेको छ पत्ता लगाइ जरिवानाको रसिद थमाउने
मानव संशाधन कतै देखिन त्यहाँ।
राज्यको अनुपस्थिति भनेको यो पनि हो नि, होइन र?
जे होस्, को कति स्टोन्ड छ भन्ने कुरा उसलाई कति ठुलो बज्रपात परेको
छ त्यसमा भर पर्ने कुरो होला। नभन्दै एउटा ‘स्टोन्ड’ युवा ‘नयाँ सडकमा साँझ हरिभक्त
हिँडेसरी’ अघि बढ्दै गरेका देखिए। तर्सिएँ अनि तत्काल तर्किएँ। उसले
बाटो मोडेपछि अलि निरापद भूखण्डतिर फटाफट पाइला चालेँ स्पष्टवक्ताहरूको खोजीमा।
अधिकारसम्पन्न समितिका कर्मचारीहरू भेटिए।
तिनीहरूको व्यस्ततालाई बिथोल्दै सोधेँ: ज्यादै खटिइरहनुभएको छ, ओवरटाइम पाइन्छ कि क्या हो?
प्रत्युत्तरमा थोरै हाँस्दै एक कर्मचारीले भनिन्: हाकिमको आदेश तामेल गर्दै
बिदा (शनिबार, बैशाख १९) का दिन पनि खटिरहेका छौँ।
अनौपचारिक कुराकानीका क्रममा एक अधिकारीले थपे: यहीँ बसेर कतिपय घरपरिवारले
आफ्ना सन्ततिलाई डक्टर, इन्जिनियर बनाएका छन्। यतिका वर्षसम्म घरभाडा नतिरी
सार्वजनिक जग्गामा बस्न पाइयो भन्ने पनि त सोच्नुपर्छ नि उहाँहरूले।
बाटामा भेटिए कुकुरहरू पनि। कोही मस्त सुतिरहेका, कोही कान ठाडा पारेर
बसिरहेका, कोही अलि धेरै उदास। शायद सबै घरपालुवा।
कहाँ जाने? कसरी बाँच्ने? भविष्यको चिन्ता त
उनीहरूलाई पनि थियो।
‘एव्री डग ह्याज इट्स डे’ भन्थे, यिनीहरूका दिन कहिले आउलान् खै?
त्यस दिन कुनै नामीगिरामी संचारमाध्यमका बहुप्रसिद्ध संचारकर्मी देखिएनन्।
त्यहाँ उपस्थित धेरै मनुवाहरूले आफैँलाई सोधे होलान्: वागमती किनारमा यसरी
रल्लिइरहने को होला?
भटभटे चढेर एकजना ठिटा मतिरै आउँदै थिए, थोरै डर लाग्यो।
सोधखोज गर्दा थाहा लाग्यो: काभ्रेका कृष्ण बहादुर तामाङ रहेछन्, ५६ वर्षे हट्टाकट्टा ठिटा!
सरकारलाई आफ्नो नाममा जमीन भएको भए देखाइदिन चुनौति दिँदै उनले थपे: तीनपुस्ते
हेर्दा म सुकुम्बासीमा पर्दिन, तर बाबुबाजेले के गरेर सम्पत्ति सिद्याए थाहा छैन (आफ्नो
नाममा कतै जग्गा नभएको बताउँदै थिए)। धुलिखेलमा सानीआमा (आमाकी बहिनी) ले पालेकी
हुन् मलाइ। रोजीरोटी गरी खान मिल्ने जहाँ जान पनि तयार छु।
कुरा गर्दै जाँदा खुल्दै गए उनी: बिहे त भएको रहेछ तर आफ्नै बालबच्चा भने
रहेनछन्, झड्केला सन्तान चाहिँ रहेछन् (२ छोरी, १ छोरा)।
यही बस्तीमा होटल चलाएर आफ्नो र परिवारको भरणपोषण गरेका रहेछन् उनले।
‘बाह्र वर्ष जेठी (विवाहित) महिलासँग मायाप्रेम बस्यो। होटल चलाउँदा राम्रै
कमाइ हुन्थ्यो तर के गर्नु? उनलाई युरिक एसिडले च्याप्यो, महिनामा २-३ पटक हस्पिटल
जानुपर्थ्यो अनि बचत कसरी होस्? मेरो नाममा ब्यांक ब्यालेन्स रहेछ भने चेक गरोस् सरकारले।
अहिले बालाजुको एउटा लजमा राखेको छ सरकारले। बस्तीमा कान्छी छोरी सँगै थियो, अहिले (लोग्नेसँग) गयो।
नातिनी (कान्छी छोरीको छोरी) लजमै छ हामीसँगै।’
‘अहिले इनड्राइवमा रजिष्टर्ड छु। यात्री पाएको दिन १०००-१२०० सम्म कमाइ हुन्छ।
अहिले त सरकारी कर्मचारी पनि पठाओ, इनड्राइव चलाउँछन्।’
हो र भन्या?
‘दम छ मलाइ। इचंगुनारायण (नागार्जुन नगरपालिका) को अपार्टमेन्टमा राख्ने भन्छन्
तर हामीले जीवन चलाउने कसरी? बरू जग्गा दिए गरीखान सकिन्थ्यो, जग्गा पाउने आशाले शरीरले
काम गर्न नसक्दा स्याहार गर्थे कि कसैले?’
किनारतिरै एक प्रौढ व्यक्ति टहल्दै थिए। डम्बर बहादुर चेपाङ रहेछन्।
‘(बस्ती छोड्नु) भन्ने २४ घण्टे सूचना जारी भयो, सबै एक्कासी भयो’ त्यो दिन सम्झँदै मलेखु, धादिङ स्थायी ठेगाना भएका
चेपाङ (६७) ले भने। रक्षा क्षेत्रमा केही समय जागिर गरी छोडेका रहेछन् उनले।
उन्नाइस वर्षदेखि वागमती किनारमै बसिरहेका, ३ सन्तानका पिता कुराकानीका
क्रममा खुल्दै गए। ‘मेरो नाममा जग्गा नै नभएको चाहिँ होइन,’ उनले भने: म अहिले छोरीकोमा
बसिरहेको छु। जेठी बुहारी कुवेतमा छिन्, कान्छो छोरो बहराइनमा छ।
कुरा भइरहन्छ उनीहरूसँग। चिन्ता नलिनु भनेका छन्।
‘पाँच लाख सुकुम्बासी त काठमाण्डुमै छन्,’ उनको भनाइ थियो: अर्को
व्यवस्था नभए यहीँ आएर बस्ने संभावना रहन्छ।
नदीकिनारको लम्बाइ, चौडाइ नाप्दै जाँदा भेटिए भीम बहादुर चेपाङ। कुनै बेला
आफ्नो बास ठडिएको ठाउँमा बाँकी बचेको सोफामा सुस्ताइरहेका थिए आफ्नो सानो संसार
समेटेर।
वर्ष ४६ का, स्थायी ठेगाना चितवन। तीन छोरा र एक छोरीका – १३ देखि २४
वर्षसम्मका – बाबा। ‘पन्ध्र वर्षअघि जेठी श्रीमतिसँग बिछोड भएपछि कान्छी श्रीमति
बिहे गरेको, कान्छीले पनि मलाइ वास्ता गरेन। अहिले खोइ कता कोठा लिएर
बसेको छ। ‘
परिवारका एकमात्र पालनकर्ता, बस्तीमा रहँदा घरहरूमा रङ लगाएर जीविकोपार्जन गर्ने गरेका।
डिएसपीको कमाण्डमा खटिएको टोलीसँग मलाइ २० मिनेट दिनुस्, जस्ता त निकाल्न पाउँछु नि भनेको ड्यामडुम भत्काइदिइहाल्यो। मेरो इस्कुस, धनिया, मकै सबै पुरिएको छ।
‘डोजर चल्नु एक दिनअघि प्रशासन कार्यालयहरूबाट माइकिंग गरियो। अर्को दिन त डोजर
आइहाल्यो। डिएसपीको कमाण्डमा खटिएको टोलीसँग मलाइ २० मिनेट दिनुस्, जस्ता त निकाल्न पाउँछु नि
भनेको ड्यामडुम भत्काइदिइहाल्यो। मेरो इस्कुस, धनिया, मकै सबै पुरिएको छ। (सुकुम्बासीको)
कार्ड पनि बनाएको थिएँ, हिँजो रंगशालामा कार्ड लिएर बस्न जाँदा पनि बस्न दिएन,’ उक्त कार्ड र नेपाली
नागरिकता देखाउँदै उनले भने।
‘बालेन सरले यस्तो नगरिदिनुभएको भए हुन्थ्यो। बाबुराम भट्टराइ सर पनि आउनुभएको
थियो, मैले उहाँसँग पनि कुरा राखेँ। उहाँले भन्नुभयो: (सरकारले)
व्यवस्था गर्छौँ भनेको छ।’
‘कहाँ व्यवस्थित गर्दो रहेछ, हेरूँ,’ चेपाङले भने: तर मलाइ
अपार्टमेन्ट चाहिएन। मलाइ १-२ कट्ठा भएपनि आफ्नै ठाउँ (चितवन) मा दिएमा बच्चा
पढाउने थिएँ, मकै फलाउँथें, गरी खाने थिएँ।
अपार्टमेन्टमा गएर मैले के गर्ने? जागिर छैन, रङ लगाउने मान्छे हुँ, कहिले काम हुन्छ (पाइन्छ), कहिले हुन्न (पाइन्न)।
अहिले कामै छैन, लथालिङ्ग भएर बसिराखेको छु। यो विडियो सबैभन्दा पहिले रवि
लामिछानेज्यूकहाँ (राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन २ बाट
निर्वाचित सांसद) पुगोस्। उहाँलाई मैले वोट हालेको यही दु:ख हेर्नलाई हो त?
‘हिँजो मलाइ प्रशासनले ‘बिट’ मा लगेर थुन्दियो। गृहमन्त्री, रक्षामन्त्री, प्रधानमन्त्री बालेन शाहका
कानमा यो कुरा पुगोस्: मलाइ किन लगेर थुनेको हो, किन सजाय दिइयो? कसको सम्पत्ति लुट्ने गएको
थिएँ, के चाहिँ गल्ती गरेको थिएँ र मैले?
कुराकानीका क्रममा उनले त्यस रात अन्त ठाउँ नपाएर पुरानै ठाउँमा आएर सुतेकोमा
प्रहरीले समातेर लगेको र पिटेको आरोप लगाएका थिए।
मैले (सांसद) आशिका तामाङ, भोजराज थापा, मिलन लामासँग गुहार मागेको
थिएँ, उनले भने: नेपाल सरकारले मविरूद्ध किन यस्तो कारवाही गरेको
हो?
नेपाल प्रहरीले, नेपाल सरकारले कति दुख दिएको? आफ्नै कथा, आफ्नै व्यथा छ। मलाइ मेरा
कुकुरको असाध्यै माया लाग्छ। आफैले पालेका २ वटा कुकुर छन्, ४ वटा कुकुर मसँगै सुत्छन्।
बाबुराम भट्टराइ प्रधानमन्त्री हुँदा पनि
बस्तीमा डोजर चलेको थियो। ‘त्यसबेला थापाथली पुलदेखि यता चोक (युएन पार्क) सम्म २५८
धुरी थिए, भट्टराइका पालामा भत्काइदिएपछि हुनेखाने *खाने सबै भागे। ती
सबै भागीसकेपछि हामी १३६ धुरी बाँकी रह्यौँ। कुलमान घिसिङका गरिब जनता पनि
उज्यालोमा बस्न पाउनुपर्छ भनेर यस बस्तीमा पनि बत्ती दिन थालिसकेपछि हुनेखानेहरू
फेरि आए, तिनैले बिगारे।
‘केही पनि नभएको मान्छे, भविष्यप्रति आशावादी छु। दुनियाले यो विडियो हेरोस्। रवि सर, आशिका दिदी भेट्न आउनुहोला।’ चौध अंचल, ७७ जिल्लामा कतै पनि आफ्नो
नाममा जग्गा दर्ता भएको रहेछ भने देखाउन चुनौति दिँदै उनले भने: बाहिर जग्गा भएका
मान्छेहरू पनि यहाँ बस्थे तर मैले नाम तोक्न मिल्दैन। नाम तोके फेरि रातारातै गायब
गरिदेलान्, तँ जेपायो त्यही बोल्ने भनेर।
कुरा गर्न खोज्दा नखुल्न खोज्ने कतिमा गहिरो आघात परेको हो कि जस्तो लागेको
थियो। एक ५७ वर्षे व्यक्ति ज्यादै उदास देखिन्थे। भग्न कुर्सिमा बसेर पूर्व
ताकिरहेका थिए उनी। बोल्नै मानेनन्, खुल्नै मानेनन् नाम नखोल्ने
शर्तमा पनि। ‘एकदम ठिक छ, आराम छ’ यतिमात्र भने।
कुरा गर्न खोज्दा नखुल्न खोज्ने कतिमा गहिरो आघात परेको हो कि जस्तो लागेको थियो। एक ५७ वर्षे व्यक्ति ज्यादै उदास देखिन्थे। भग्न कुर्सिमा बसेर पूर्व ताकिरहेका थिए उनी। बोल्नै मानेनन्, खुल्नै मानेनन् नाम नखोल्ने शर्तमा पनि। ‘एकदम ठिक छ, आराम छ’ यतिमात्र भने।
अन्त्यमा,
सुकुम्बासीहरूसँगै हुकुम्बासीहरू पनि बसेका थिए भन्ने समाचारहरू आइरहेका छन्, सुकुम्बासीहरूले संवादका
क्रममा यस कुराको पुष्टि पनि गरेका थिए।
नेपाली नागरिकहरू नै यहाँ बस्थे भने ती केकति कारणले जमीनविहीन हुन पुगे? राज्यले संचालन गरेका ‘विकास आयोजनाहरू’ का कारण? प्राकृतिक विपदका कारण? कुनै सङ्गठित शक्तिले लखेटेका कारण? अन्य कुनकुन कारण छन् यस सङ्कटका?
कुनकुन दलहरू/शक्तिकेन्द्रहरूले उनीहरूलाई वागमती लगायतका नदीकिनारहरूमा, जङ्गलहरूमा र अन्य
सार्वजनिक/सरकारी जमीनहरूमा अनधिकृत बस्ती बसाउन उक्साए? दोषी कोको हुन्? पुनर्स्थापनको जिम्मेवारी
ककसको हो?
सम्बन्धित सरकारी निकायहरूले आआफ्ना अधिकार त प्रयोग गरे तर विस्थापितहरू
आफ्नो 'बाँच्न पाउने अधिकार' खोज्न कहाँ जाने हो?
यात्रा आरम्भ गर्दा वागमती किनारमा दुई युवती देखिएका थिए, तीमध्ये एकजनाको हातमा एउटा
फूल थियो जुन उनले सिउँडी उभिएको कुनै भूखण्डमा टिपेकी थिइन्।
उनी शायद आफ्नी साथीलाई कसैलाई त्यो फूल दिन भनिरहेकी थिइन्।
विस्थापनलगत्तै केही दुखद घटनाहरू घटिसकेको
परिप्रेक्ष्यमा आशाको, सद्भावको, सुखद भविष्यको प्रतीक त्यो फूल ओइलाउँदै जाँदैछ कि भन्ने
लाग्न थालेको छ।
बेला घर्किनुअघि नै हाम्रा नियतिनिर्धारकहरूको चेत खुलोस्।



Comments
Post a Comment