दुई दिनको जिन्दगी र युगीन प्रश्नहरू
देवेन्द्र गौतम
विक्रम संवत २०८३ को जेठ महिनाको एक बिहान, सङ्कटा मन्दिर परिसरमा पाइला अडिएका छन् बिग्रेको घडीको सूइ जस्तै। खोइ किन हो शंकर कोइरालाको सुर्तिको पातमा अडिएको जिन्दगी सम्झिरहेछु। एक झमट पुन: पढ्न मन छ।
मन्दिरको उत्तरपूर्वी छेउमा दुई लहरमा माग्नेहरू बसिरहेका छन्। त्यही लहरमा एक महिला निष्फिक्री धुवाँ उडाइरहेकी छिन्। न वर्तमानको चिन्ता, न भविष्यको सुर्ता, यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी, होइन त? उनीसँगै बसेकी अलि कम उमेरकी महिला आफ्नो प्यारो सन्तति खेलाइरहेकी छिन् आकाशतिर उफार्दै।
को चाहन्न होला आफ्ना शाखासन्तानले आकाश छोऊन् भन्ने। कसलाई लाग्दैन होला आफ्ना सन्तति आफू पुग्न नसकेको गन्तव्य पुगून् भन्ने?
को चाहन्न होला आफ्ना शाखासन्तानले आकाश छोऊन् भन्ने? कसलाई लाग्दैन होला आफ्ना सन्तति आफू पुग्न नसकेको गन्तव्य पुगून् भन्ने, सबैसबै दमित इच्छाआकांक्षा पूरा गरून् भन्ने? तर खोइ के हुन्छ हुन्छ जीवनमा जोड, घटाउ, भागा, गुणन नमिलेपछि। बिरूवा हुन्, मलजल पुगेन होला, वात्सल्यको कमी भयो होला सदा हल्लिरहने गार्हस्थ अर्थतन्त्रलाई भूकम्प-प्रतिरोधी बनाउन दौडिँदा। ‘उडेर जून छुन्छु भन्थेँ’, ‘कति कम्जोर रहेछ भाग्य’ बोलका गीतहरू प्रिय लाग्छन् जित्न नसकेकाहरूलाई।
आफ्नो सन्तानलाई आकाशतिर उफारिरहेकी आमाका जस्तै चाहनाहरू त हुन्छन् सबैजसो अभिभावकका। त्यसो त सन्ततिका आफ्नै इच्छा-आकांक्षा-चाहना असमेल हुन्छन्, हाम्रा पनि थिए, केही अझै बाँकी छन्। पंक्तिकारको अनुभव के छ भने गोजीमा फुटेको कौडी नहुने (ह्याब्सहरूको कुरा गरेको होइन, उनीहरूको सुखावती भुवनमा त अभाव भन्ने शब्द नै हुँदैन।) वयमा नै सम्हाल्न नसकिने चाहनाहरूको बाढी आउँछ। चिचिलाहरूलाई त्यसै पनि अभाव, अस्थिरता, अशान्ति, विग्रह आदिको संयुक्त गुरूत्वशक्तिले उड्नै दिँदैन त्यसमाथि हाम्रा आकांक्षाको भारी कसरी बोक्न सक्नु उनीहरूले? तिनले आफ्ना चाहना पूरा गरून् कि अभिभावकका सपना? हामी आफ्ना सन्ततिलाई आफ्ना सपनाहरूको भारी बोकाएर उनीहरूको बाल्यकाल, यौवन अझ भनूँ समग्र जीवन नै ध्वस्त पारिरहेका त छैनौँ?
गोजीमा फुटेको कौडी नहुने वयमा नै सम्हाल्न नसकिने चाहनाहरूको बाढी आउँछ।
त्यसो त नयाँ पुस्ता इतिहास, संस्कृति, समाज, जीवनपद्धति नबुझी बबल अर्थात् पानीको फोकामा बाँचिरहेको त छैन भन्ने त्रास पनि छँदैछ।
प्रायश: चाहनाहरू पूरा नभएपछि नै जन्मिन्छन् पीडाका सिर्जनाहरू अर्थात् कविता, गीत, मुक्तक लगायतका साहित्य। गरिबीमै उम्रिन्छन् रे च्याउसरी कविहरू। नत्र त किरोडीमलहरू, अरबपतिहरू, खरबपतिहरू, महाशंखपतिहरू उधुमका साहित्यकार, कलाकार, सङ्गीतकार हुन्थे होलान् नि, होइन र? हुन त पैसाको छेलोखेलो भएपछि भूतलेखक, प्रेतलेखक, पिशाचलेखक, गुह्यकलेखक, कापालिकलेखक सबैसबै पाइन्छन् क्यारे हाम्रो बजारमा सस्तो दरभाउमा। अचम्म के भने कुस्त दाम कमाएकाहरूलाई पनि नामको भोकले साहित्यतिर धकेल्दोरहेछ। यही भोकका कारण कतिपय लेखनदासहरूको चुलोचौको चल्दो हो। बुझिनसक्नु छ खाद्यचक्र, बुझिनसक्नु छ खाद्य श्रृङ्खला, छैन त?
हाम्रो वांगमयका अनुसार त ‘सर्वजनहिताय’ नै साहित्यको उद्देश्य हो तर यता अंग्रेजीको समानार्थी मानिएको लिट्रेचर (अक्षर, लिपि, लिखित सामग्री) ले त्यति गंभीर भाव बोकेको कहाँ छ?
सङ्कटातिरै फर्कूँ है त सङ्कटहरू छेल्दै.....
छेवैमा एक जोगी खाइरहेको छ, उसका कुण्डल हाँसेका छन्, हंस हाँसेको छ। खानु नै जीवन हो जीवन नै खानु हो, कसो? जोगीमा त यति लालसा छ भने सामान्यजनको के कुरा?
पैसाको छेलोखेलो भएपछि भूतलेखक, प्रेतलेखक, पिशाचलेखक, गुह्यकलेखक, कापालिकलेखक सबैसबै पाइन्छन् क्यारे हाम्रोमा सस्तो दरभाउमा।
अक्सर सुनिन्छ पनि यति दुःख गरेको खानलाउनलाइ त हो! खानुमात्रै, बाँच्नुमात्रै ध्येय हो भने हामी र अन्य जीवहरूमा फरक चाहिँ के छ त? अझ अन्य जीवहरूले त सात पुस्तालाई पुग्ने गरी खाँदैनन् नि!
चार्वाक (चारू वाक अर्थात् मीठो बोल्ने व्यक्ति) भन्छन्:
यावज्जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिवेत्।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः।।
सङ्कटाको पाटीमा बसेर यी पंक्ति लेखिरहँदा कृषिप्रधान देशका दुई युवती, एक युवक आआफ्ना खेतबारी अर्थात् स्मार्टफोनमा उद्योग गरिरहेका छन्, ती 'परिश्रमी' हातहरूले ‘वायु’ हुन लागिसकेका नेताहरूको माझमा उदाएका तर गत निर्वाचनपछि अलि अस्ताएजस्तो देखिएका एक नेता तथा तत्कालीन सांसदजीले एक विद्युतीय साधन र इन्टरनेट कनेक्सनमार्फत् मासिक लाखौँ कमाउन सकिन्छ भन्ने ‘महावाणी’लाई अत्यन्त गंभीरताका साथ लिएका त होइनन्? त्यसका लागि अलि उच्चकोटीको सिप पनि चाहिन्छ भन्ने हाम्रा होनहार युवायुवतीहरूले चटक्कै बिर्सेका त होइनन्?
स्मार्टफोनका बटन थिच्दा औँलामा फोरा (blisters) पर्ने भए हाम्रा औँलामा कति धेरै फोरा पर्थे होलान् हगि, कोदालो, बन्चरो, हलो आदि चलाउने किसानका हातमा जस्तै?
ए साँच्चै, हिजोआज रेडियो नेपालमा एकाबिहानै श्री ५ को महावाणी टाइपको महावाणी त प्रसारित हुँदैन होला हगि कुनै चल्तिका नेताविशेषको? जस्तै: हामी सबै मिली देशमा विकासको मूल फुटाउनु परेको छ। हो, महावाणीमा केही नभनिनुपर्ने कुरा भनिएको त छैन तर यक्षप्रश्नहरू जिम्दै छन्। हामी सबै मिल्ने कहिले, मबाट हामी हुने कहिले? विकासको मूल फुटाउने कहिले अनि कसरी स्वदेशी जाँगर मरिरहेको, आगोको खेतीमात्र फस्टाइरहेको, पूँजी, जनशक्ति पलायन भइरहेको अनि विदेशी ऋण अनुदान सुकिरहेको यस कठिन समयमा? खोइ युगले खोजेको तारणहारको अवतरण भइसकेको अवस्थामा अन्त्य हुन्छ कि त लामो खडेरीको, फुट्छ कि त अकस्मात विकासको मूल, पुग्छौँ कि त हामी एशियाली मापदण्डमा उबेलाका राजाले सपना देखेजसरी?
हामी सबै मिल्ने कहिले, मबाट हामी हुने कहिले? विकासको मूल फुटाउने कहिले?
यस्ता महावाणीहरू प्रसारण हुँदा भन्दा पनि सित्तैमा गीतकारका, संगीतकारका, गायकका गीतहरू बजाउन पाउँदा मात्र राष्ट्रिय रेडियोलाई परमानन्द आउँदोरहेछ कि भन्ने पंक्तिकारलाई लागिरहन्छ।
स्रष्टाहरू बित्दा वा वार्षिकीका बेला नै राष्ट्रिय रेडियोले तिनीहरूका सिर्जना बढी सम्झिने हुनाले त्यस्तो लागेको हो। अझ रोयल्टी नै तिर्नु नपर्ने भयो भने त वर्णनातीत आनन्द आउँछ होला हगि हाकिमसाबहरूलाई!
यसै बीचमा पाटीमा एक अधबैँसे जोडी थपिएको छ, नेपालको जनसंख्या त्यति कम छैन भन्ने थाहा पाएर खुशी पनि लाग्छ। तिनका पनि होलान् हामी दुई हाम्रा २-४ भनेजस्तै।
तिनको रेडियो हो कि फोनले ‘फ्लिटिङ सेकेन्डस्’ का लागि टिपेको छ ‘जाग लम्क चम्क हे’ बोलको गीत। श्रीलंकामा नेपालको स्वामित्वमा रहेको जग्गा पटकपटक बिक्री भएको समाचार पनि फ्याट्ट कानमा परेको छ त्यसै यन्त्रमार्फत्।
स्मार्टफोनका बटन थिच्दा औँलामा फोरा (blisters) पर्ने भए हाम्रा औँलामा कति धेरै फोरा पर्थे होलान् हगि, कोदालो, बन्चरो, हलो आदि चलाएर जीवन धान्उने किसानका हातमा जस्तै?
संयोग नै भनूँ, यसैबीच मेरो उठ्ने अनि लम्कने पालो आएको छ। एउटा कार्यक्रममा जानु छ, त्यहाँ पुग्न ढिला गर्नु एउटा सामान्य सहभागीलाई शोभनीय हुँदैन प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतका गन्यमान्यहरूको कुरा बेग्लै हो।
टुँडिखेलको फन्को लगाउँदा देखिए माटोका कयौँ थुम्काहरू। रातारात सिर्जना भएका पहाडहरू होइनन् ती, डोजरका सिर्जना हुन्। त्यहाँ अब बर्मुडा जातको दुबो लगाउने योजना छ भन्ने कुनै पाटीमा पढेको हुँ। राष्ट्र निर्माण-विनिर्माण-पुन:निर्माणको चक्र कुम्हालेको चक्रजस्तै अनवरत चलिरहेको छ।
यावज्जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिवेत्।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः।।
नर्सरीहरूबाट खरिद गरी बिरूवा रोप्ने (रैथाने बिरूवाहरू रोप्ने प्रचलन त्यति छैन क्यारे हाम्रा शहरहरूमा), ठुला भएपछि छाँट्ने, बुढा भएपछि काट्ने, फेरि नयाँ लगाउने, सोही प्रक्रिया दोहोर्याउने।
ए फूड चेन आउट देअ', राइट?
अमेरिकी गृहयुद्धको पृष्ठभूमिमा मार्गरेट मिशेलले लेखेको कल्ट क्लासिक उपन्यास 'गोन विद द विन्डमा' प्रतिनायक रेट बटलर नायिका स्कार्लेट ओ'हारालाई यसरी सम्झाउँछ: "I told you once before that there were two times for making big money, one in the up-building of a country and the other in its destruction. Slow money on the up-building, fast money in the crack-up. Remember my words. Perhaps they may be of use to you some day."
धेरै पैसा कमाउने दुई समयमा हो रे - राष्ट्र निर्माण र विध्वंश हुँदा। निर्माणका बेला कमाइ सुस्त हुन्छ, विध्वंशका बेला छिटो। हाम्रोमा निर्माण, ध्वंश, पुनर्निर्माण कुम्हालेको चक्रजस्तै चलिरहन्छ, हावामा पैसा देख्नेहरूलाई के चाहियो?
अर्थात्: धेरै पैसा कमाउने दुई समयमा हो - राष्ट्र निर्माण र विध्वंश हुँदा। निर्माणका बेला कमाइ सुस्त हुन्छ, विध्वंशका बेला छिटो। सम्झिराख्नू, तिमीलाई काम लाग्ला।
हाम्रोमा निर्माण, ध्वंश, पुनर्निर्माण कुम्हालेको चक्रजस्तै चलिरहन्छ, हावामा पैसा देख्नेहरूलाई के चाहियो?
टुँडिखेल वरिपरि फुलेका छन् पारिजात, निलाम्य भएको छ शहरको मुटु। म आफै भने कयौँ वर्षदेखि एक मुटु वसन्त खोज्दाखोज्दा थाकिसकेको छु। थाहा छ, मेरा सम्पादकहरूलाई मेरो आत्मपरकता पटक्कै मन पर्दैन तर भोक्ता र साक्षीको रूपमा म नभइ कसरी संभव छ कम्तिमा पनि 'मेरो सिर्जना? भूतलेखक, प्रेतलेखक, पिशाचलेखक, गुह्यकलेखक, कापालिकलेखकहरूले आत्माको आवाहन गरेर पनि लेख्न/लेखाउन सक्ता हुन्, पंक्तिकारमा त्यो क्षमता छैन।
ए साँच्चै, तपाइँहरूले वसन्त खोज्दै कति शिशिर, कति हेमन्त, कति वर्षा, कति शरद कति ग्रिष्म ऋतु बिताउनुभयो दुई दिनको जीवनमा?
वसन्त खोज्दै कति शिशिर, कति हेमन्त, कति वर्षा, कति शरद कति ग्रिष्म ऋतु बिताउनुभयो दुई दिनको जीवनमा?
त्यसो त आफूले जानेका कतिपय द्वारेहरू र तिनका उपहरूलाई बालुवाटार लगायतका टारहरू र अन्यत्र अवस्थित दरबारहरूमा विराजमान बडेबडेहरूलाई 'शब्दपुष्पवाण' प्रहार गरेको पनि मन पर्दैन। तिनलाई मन पर्दैन भनेर के म सास फेर्न पनि छोडिदिऊँ?
उपत्यकाका तीन नगर घुम्दा सडक छेउछाउ मनोरम नै देख्छु। हरियाली फूलैफूल पातैपात देख्दा मन शीतल त हुन्छ तर हाम्रा सौन्दर्यविदहरूको, सहरी योजनाविदहरूको, वातावरणविदहरूको बुद्धि नपुगेको हो कि जस्तो पनि लाग्छ। धृष्टता नै भनियोस् यसलाई।
हो फूलहरूले जीवनलाई अलि सहनीय त बनाउँछन् तर फलफूलका बोटहरू प्रशस्त लगाइदिए कस्तो हुँदो हो कंक्रिटको जङ्गलबीच बचेका केही बगैँचाहरूमा, उपवनहरूमा, सार्वजनिक जमीनका टुक्राहरूमा? टुँडिखेल जस्ता सार्वजनिक स्थानहरूमा महानगर/नगरहरूले फलफूल वा तरकारी खेती गरिदिए वा गर्ने चाँजोपाँजो मिलाइदिए इच्छुकहरू अघि सर्थे कि त? वागमती, विष्णुमती, मनोहरा किनारहरूमा फलफूल, तरकारी खेती गरेर अलि सस्तोमा बिक्री गर्ने प्रबन्ध मिलाए हुन्थ्यो कि त?
त्यसो त आफूले जानेका कतिपय द्वारेहरू र तिनका उपहरूलाई बालुवाटार लगायतका टारहरू र अन्यत्र अवस्थित भव्य दरबारहरूमा विराजमान बडेबडेहरूलाई 'शब्दपुष्पवाण' प्रहार गरेको पनि मन पर्दैन। तिनलाई मन पर्दैन भनेर के म सास फेर्न नै छोडिदिऊँ त?
सरकारी, सार्वजनिक जग्गाहरूमा रत्नपार्कजस्ता मनोरंजन, विश्रामस्थलहरू, व्यायामशालाहरू बनाउन बनाउनु राम्रै मानिएला तर यस देशलाई खेलमैदान, मनोरञ्जनस्थल, विश्रामस्थल, अनाथाश्रम, अवकाशपछिको गन्तव्य मात्रै बनाउने त होइन होला!
पुगनपुग ३ करोड नेपाली लोकका लागि सडक, रेलमार्ग, द्रुतमार्ग, जलमार्ग, विमानस्थल मात्रै होइन विशाल छिमेकीका लागि पानी र ऊर्जा आपूर्ति गर्न आवश्यक ठूलाठूला बाँधमा आधारित परियोजनाहरू पनि हामीले नै स्वदेशी पूँजी परिचालन गरी बनाउन जोसिने हो भने यो देशमा यही गतिमा घरबासविहीनहरूको जनसङ्ख्या कति पुग्ला त अबको १० वर्षमा? हालका ऊर्जा आदिइत्यादि मन्त्रीले ठुलाठुला जलाशयमा आधारित परियोजनाहरूको वकालत गरेको त्यसै त होइन होला। ती आयोजनाहरूको उद्देश्य स्वदेशको जल, ऊर्जासम्बन्धी आवश्यकता पूरा गर्नु मात्रै हो भन्ने मान्न ब्रह्मले दिँदै दिँदैन अनि गर्ने के?
व्यायाम, शारीरिक सुगठन, योगभन्दा पनि नेपालमै कृषिकर्म गरेर बाँच्ने सिप सिकाउने पो हो कि नेफोलीहरूलाई?
व्यायाम, शारीरिक सुगठन, योगभन्दा पनि खेतीपाती पो सिकाउने हो कि, स्वदेशमै आफू कसरी बाँच्ने, उद्यम गरेर आफ्नाहरूलाई कसरी बचाउने, देशलाई सुख, शान्ति, समृद्धिको मार्गमा लैजाने भन्ने सम्बन्धमा पढाउने, सिकाउने पो हो कि? खेतीका लागि, घाँसदाउराका लागि गाउँबेसी गर्न थालेपछि, रनवन चाहार्न थालेपछि कपालभाती, प्राणायाम, अनुलोमविलोम सबै हुन्छ, शरीर आफैँ बन्छ, अन्य धामा गर्नै पर्दैन।
आगे सरकारको जो मर्जि, जो विचार
डाँडामा शितल हावा, चिसो पानी, घरबारीमा उब्जेको खाना खाइ महिनामै लाख होइन, करोड (त्यो पनि डलरमा, युरोमा, चाइनिज युआनमा, येनमा) कमाउने कला/सिप/विज्ञान-प्रविधि सिकाए, प्रेरित गरे हुन्थ्यो यस 'जरा हट्के' सरकारले। यसो गरे पाखुरा बजाउन विदेशिनेहरू, असाध्यै प्रतिभाशाली ठानिएका मस्तिष्क खियाएर वार्षिक करोडौँ डलर, युरो आदि कमाउनेहरू बस्थे कि त सुन्दर, शान्त नेपालमै? भेटथे कि त आफूले खोजेको जीवन स्वदेशमै?
आगे सरकारको जो मर्जि, जो विचार।

Comments
Post a Comment