महामारी चिन्तनः दुःखकाे साथी पहाड
साँच्चै हामी कहाँबाट यहाँ आयौँ होला ?
हाम्रा पितापुर्खा कहाँबाट पृथ्वीको यो कुनामा आए होलान्, रस्तीबस्ती बसाए होलान् ?
एलेक्स हेलेको (Alex Haley) रूट्स (ROOTS) कै ढाँचामा खोज्दै जाने हो भने कहाँबाट, कुन दुःखले लखेटेर पश्चिम पहाडमा आए होलान् मेरा पितापुर्खा ?
पश्चिम पहाडको सुगम पनि भन्न नमिल्ने, दुर्गम नै भनिहाल्न पनि नमिल्ने अलि अप्ठयारो अवस्थामा रहेको, खर उम्रने तर प्राकृतिक रूपमा वनस्पति कमै उम्रने काँक्राचिरे भिरहरूको काखैमा मेरो मनोरम, प्रकृतिले सुशोभित गाउँ छ ।
मेरो बाल्यकालमा त ती डाँडाहरूमा भूइँघाँस मात्रै हुन्थ्यो, रूखहरू त्यति हुँदैनथे । तर त्यस पहाडी भूखण्डको जनघनत्व कम हुँदै जाँदा प्रकृतिले वरदान दिएजस्तो छ, ती डाँडाकाँडाहरूमा पनि रूखहरू बाक्लिन थालेका छन् । साँच्चै मानिस भनेको सबैभन्दा ठुलो वातावरणीय विपद् नै हो कि क्या हो, डाइनोसर लगायतका भीमकाय जनावहरहरू लोप हुनुको एकमात्र कारण मानिस मात्रै हो कि क्या हो ? युवाल नोह हरारीहरूलाई पढ्ने हो भने त यस तर्कमा शंका गर्नु पर्ने कुनै कारण देखिँदैन ।
त्यही काँक्राचिरे डाँडाको काखमा रहेको गाउँमा मेरा हजुरबा, हजुरआमा र उहाँका सन्ततिहरूले अर्धाङ्गिनीहरूसँग नारिएर बडो दुःख गरी बनाएको ढुङ्गामाटाको, हाल लडनै लागेको पुस्तैनी घर छ ।
निलो, सफा आकाशमुनि बसेको त्यो शान्तिभूमि, मेरो जन्मभूमिमा के छैन ? धेरै कुरा छ, धेरै कुरा छैन पनि ।
सफा वातावरण छ । जताततै हरियाली छ । राति आकाशमा जुन, ताराहरू प्रष्ट देखिन्छन्, दिउँसो आकाशतिर हेर्याे भने जेटस्ट्रिम (jetstream) छर्लङ्गै देखिन्छ ।
मानिसहरूजति अध्ययनका लागि, सुखको खोजीमा, जागिरको खोजीमा, अवसरको खोजीमा पहाड छाडेर तराइ, काठमाण्डौ वा विदेशतिर लाग्दा हरियाली आँगनसम्मै आइपुगेको छ । पहिला–पहिला दाउरा खोज्न, घाँसपात गर्न जंगल जानुपथ्र्यो, टाढाटाढा रहेका खरबारीमा जानुपथ्र्यो, खरका गाँज समात्दै, अनि झरीले भिजेको लेस्याइलो माटोमा लिर्केटी खेल्दै, अब पर्दैन । पहिलापहिला ९–१० कक्षा पढ्न १÷२–१ घण्टा उकालो–ओरालो गुर्दै विद्यालय जानुपथ्र्यो अब पर्दैन, घरदैलोमै १० कक्षा, प्लस–टु सम्म पढ्न पाइन्छ, । घर पुग्न पहिलाजस्तो घण्टौँ हिँडनुपर्दैन तानसेनदेखि, घरदैलोमै सडक आइपुगेको छ ।
पहिलापहिला पो हरेक घरमा २–४ गाइभैँसी हुन्थे, बाख्राबाख्री हुन्थे, तिनका लागि डाले घाँस झार्नुपर्थ्याे, खर काट्न टाढाटाढा रहेका खरबारीहरू, दाउरा र स्याउलाका लागि पाताल (वनजंगल) चहार्नुपर्थ्याे, अब त गाइवस्तु पाल्ने घर भेट्टाउनै गाह्रो भइसक्यो ।
अनि तिनै बाख्राबाख्री, पाडापाडी, बाच्छाबाच्छी खान गोठमा चितुवा आउँथ्यो । चितुवाले गाइको त कल्चौँडोमै आक्रमण गरेर ठहरै पार्दो रहेछ, तर भैँसीसँग उसको केही नलाग्ने रहेछ । भैँसीको अगाडि उसलाई घाँस राखिदिएको ठाउँमा किलो ठोकेर पाडापाडी बाँधिदिँदा ती सुरक्षित नै हुँदा रहेछन् तर बाच्छाबाच्छीको सुरक्षा त्यसरी हुँदो रहेनछ । गाइ नै सुरक्षित नभएपछि कसरी बाच्छाबाच्छी सुरक्षित होलान् त ?
त्यसैले बाच्छाबाच्छी नहुर्कँदासम्म तिनलाई घरको भूइँतलाको एक छेउमा किलो गाडेर बाँध्ने गरेको संझना ताजै छ ।
बाल्यकालका केही वर्षमात्रै जन्मभूमिमा बिताएको यस पंक्तिकारका अगाडि त संझनाका मनोरम पहाडहरू उभिएका छन् भने जीवनको अझ लामो कालखण्ड त्यहाँ बिताएका मेरा बालसखाहरूका कति विशाल अनि कति सुन्दर संझनाका पहाडहरू होलान् ?
म अलि बरालिएको पनि हुनसक्छु । पहाडका बाटाहरूमा हिँडदा यस्तै हुन्थ्यो । एउटै खोला पटकपटक तर्नुपथ्र्यो । जुता–मोजा खोल्यो, हातमा लियो, पाइन्ट अलि माथि सार्याे अनि खोलो तर्याे । जुता–मोजा लगायो, पाइन्ट पूर्ववत अवस्थामा ल्यायो अनि फेरि लेफ्ट राइट । केही समयपछि छाँद हाल्दै तपाइँलाई नै भेट्न आतुर भएजस्तो गरी टुप्लुकिन्थ्यो, तपाइँकै अगाडि उही पहाडी खोलो । एउटाको साथ छुटेपछि अर्को खोलो आइहाल्थ्यो छाँद हाल्दै ।
यसै गरी भञ्याङ, देउरालीहरू, नेटा, कुइनेटाहरू आउँथे घर आउँदा–जाँदा । धेरै अल्झिनु पनि हुँदैनथ्यो यी ठाउँहरूमा अनि देखेको नदेख्यै गरी हिँडनु पनि त हुँदैनथ्यो । घर छोडदा यात्रा सजिलो होस् भनी देउरालीमा फूलपाती चढाइन्थ्यो । नेटा, कुइनेटाहरूमा घरतर्फ फर्कीफर्की हेर्नु हुँदैनथ्यो, आमाका आँसुले, दिदीका आँसुले, अन्य प्रियजनका आँसुले बाटो छेक्लाजस्तो हुन्थ्यो । निरन्तर हिँडीरहनुपर्थ्याे, हिँडीरहनुपर्थ्याे कालीगण्डकीको तिरैतिर, नत्र बाटोमै झमक्क साँझ परेर कतै बास नपाइने अवस्था आउन सक्थ्यो ।
मूल प्रश्नहरूतिरै फर्कन्छु है त । किशोर वय र युवावस्थामा औपचारिक अध्ययन अनि जागिर खाने क्रममा छुट्टी पाउनेबित्तिकै तोरीलाहुरे पारामा घर हुत्तिएको केही दिनमै ती सुनसान लाग्ने डाँडाकाँडाहरू, भीरपाखाहरूमा ठाेक्किँदै, लाहुरेले बिदा सकिएपछि छाडिगएका, जागिरेले दशैँ बिदा सकिएपछि छाडिगएका सुनसान गाउँबस्तीहरू हुँदै मनमस्तिष्क पिरोल्न आइपुग्ने प्रश्नहरू हुन् यी ।
यी प्रश्नहरूले बिथोल्नुका कारण छन् । हो पहाडहरू कविहरू, गीतकारहरूका लागि कल्पनाका उर्वरभूूमि हुन सक्छन् । तर त्यहाँ पाखुुरा बजाएर जिविकोपार्जन गर्नेहरूका लागि जीवन त्यति सजिलो थिएन, अझै पनि छैन । कृषि अझै पनि निर्वाहमुखी छ, उब्जाउ जमीनको अभाव छ, मोटरबाटा सजिला छैनन्, बजारमा पहुँच सहज छैन, यी र यस्तै कारणहरूले कृषिको व्यवसायीकरण हुन सकेको छैन । चितुवा पलायन भएको छ, बाँदरको आतंक छ ।
लेखको आरंभमा उठाएका प्रश्नहरूको जवाफमा मनशान्तिका लागि नै भए पनि यसो भन्न सकिन्छः
होइन, हामी अन्त कहीँबाट आएकै होइनौँ । हामी त अनन्तकालदेखि, अनादिकालदेखि यहीँ छौँ, हामी त भूमिपुत्र-भूमिपुत्रीहरू पो हौँ ।
तर त्यसो नहुन पनि त सक्छ ।
हामी जनसंख्यामा वृद्धि हुँदै जाँदा कृषियोग्य जमीनको अभाव भएर, चरनको अभाव भएर, धर्मयुद्धको चपेटामा परेर, गृहयुद्धमा परेर, प्राकृतिक विपदमा परेर, विद्रोहपछिको राज्यसंचालित दमन सहन नसकेर वा महामारीको प्रकोपमा परेर यस पृथ्वीको कुनै भूभागबाट शरण खोज्दै, सुरक्षा खोज्दै, जीवन खोज्दै यस विकट भूखण्डमा आएका पनि त हुन सक्छौँ नि सुुदूर कालखण्डमा । अनि यसरी शरण खोज्ने क्रममा, सुरक्षा खोज्ने क्रममा, नयाँ अवसरहरू खोज्ने क्रममा रोगले गाँजेर, भोकतिर्खाले आकुलव्याकुल भएर, भीरबाट लडेर, खोलानदीले बगाएर, लेक लागेर, परचक्रीको आक्रमणमा परेर वा अन्य कुनै कारणले हाम्रा कति आफन्तजनहरूले बाटोमै मृत्युवरण गरे होलान् ? कति बलात्कृत भए होलान्, अंगभंग भए होलान् अनि तिनीहरूलाई एक्लै छाडदै सबलहरू अघि बढे होलान् ?
देखेकै छौँ अहिले पनि हामीले राज्य यस्तै हो, सरकार यस्तै हो, तिनको ताल यस्तै हो । देखेकै छौँ अहिले पनि बेसहारा भइ भोकभोकै कयौँ दिनको बाटो तय गर्ने आँट गर्दै रूँदैरूँदै आफ्नो घरतर्फ लाग्दै गरेको मानवपंक्ति । काठमाण्डौमै रहेका भोका मानवहरूलाई पनि राज्यले कहाँ देखेको छ र ? बरू संचारमाध्यमहरू, आम–नागरिकहरू निसहायहरूको सेवामा जुटिरहेका छन् । मन्त्रीज्यूहरूलाइ हाइसंचाे भएकाे छ, उहाँहरू बिदाकाे मूडमा हुनुहुन्छ भन्ने समाचार प्रकाशित भएका छन्, राज्यको आँखामा त सब ठिकठाक चलिरहेजस्तो देखिन्छ । त्यसबेला र अहिलेको राज्यको क्षमतामा कति नै फरक रहेछ र ? त्यतिबेला पनि सक्षम नै बाँच्न सक्थे, अहिले पनि अवस्था उस्तै छ । जहाँसम्म चिकित्साविज्ञानले मारेकाे भनिएकाे फडकाेकाे कुरा छ, सम्बन्धित विषयकाे विज्ञ नभएकाेले त्यसमा चर्चा नथालिहालूँ, खालि seeing is believing भन्ने उखान स्मरण गरे भइहाल्छ । संकटकाे घडीमा व्यक्तिगत र पारिवारिक स्वास्थ्यभन्दा नागरिककाे स्वास्थ्यका खातिर दिनरात नभनी खट्नुभएका चिकित्साकर्मी तथा सुरक्षाकर्मीहरूप्रति कृतज्ञ छु, रहिरहनेछु, उहाँहरूकाे मानवीय संवेदनशीलतामा कम नहाेस् यही कामना गर्छु ।
स्प्यानिश फ्लुको प्रकोपमा जति मानव बाँचे ती संयोगले बाँचे, कृष्णमहामारी अर्थात् black plague फैलिएको बेला जति बाँचे ती पनि संयोगले नै बाँचे, अहिले पनि हामी बाँचे संयोग हुनेछ, नबाँचे वियोग हुनेछ ।
त्यसबेला र अहिलेको राज्यको क्षमतामा कति नै फरक रहेछ र ? त्यतिबेला पनि सक्षम नै बाँच्न सक्थे, अहिले पनि अवस्था उस्तै छ । स्प्यानिश फ्लुको प्रकोपमा जति मानव बाँचे ती संयोगले बाँचे, कृष्णमहामारी अर्थात् black plague फैलिएको बेला जति बाँचे ती पनि संयोगले नै बाँचे, अहिले पनि हामी बाँचे संयोग हुनेछ, नबाँचे वियोग हुनेछ ।
फेरि कोरोनाभाइरस जसोतसो थेगियो भने पनि आर्थिक संकटका कारण, भोकमरीका कारण बिदा भइँदैन भन्ने के ग्यारेन्टी छ र ?
त्यस युगमा पनि हातमा शक्ति हुनेहरूले म नै राज्य हुँ भन्थे, अहिलेका शासकहरूले पनि लोकतन्त्र-प्रजातन्त्र, समाजवाद, वामपन्थको रामनामी ओढेका मात्र न हुन् ।
त्यस युगमा पनि हातमा शक्ति हुनेहरूले म नै राज्य हुँ भन्थे, अहिलेका शासकहरूको मानसिकता पनि त्यस्तै नै छ, लोकतन्त्र-प्रजातन्त्र, समाजवाद, वामपन्थको त खोल ओढेका मात्र न हुन् । कोरोनाभाइरसको महामारीले देखाएको छः गरीबका लागि, निमुखाका लागि, असहायका लागि राज्य कतै छैन ।
यसको अर्थ होः राज्य भनेको त केही हुनेखानेका लागि, पहुँचवालाहरू, नातेदारहरूका लागि मात्र त रहेछ नि, होइन ?
होइन भने यस संकटको घडीमा संवैधानिक पदहरूमा आफन्तहरू, वफादारहरू, प्रियजनहरू नियुुक्ति नगरी नहुने खण्डखातिर किन पर्याे त ? यस घडीमा राज्यको एकमात्र प्राथमिकता त संकटमा परेका आमनागरिकको उद्धार, महामारी नियन्त्रणका लागि युुद्धस्तरमा कार्य हुनुपर्ने होइन र ?
आफन्तजनहरूलाई, आसेपासेहरूलाई, लठैतहरूलाई, प्रियजनहरूलाई पोस्न त संवैधानिक पदहरूमा नै नियुुक्त गर्नुपर्छ र ? यो देश, यो राज्यव्यवस्था त औँलामा गन्न सकिने संख्याका शक्तिशालीहरू र उनीहरूका आफन्तजन र प्रियजनहरूका लागि दुहुनो गाइको रूपमा छँदै छ नि, भरणपोषणको व्यवस्था त आन्तरिक रूपमा मिलाए हुँदैन र लोकलाजकै लागि भए पनि ?
"यस संकटको घडीमा संवैधानिक पदहरूमा आफन्तहरू, वफादारहरू, प्रियजनहरू नियुुक्ति नगरी नहुने खण्डखातिर किन पर्याे त ? यस घडीमा राज्यको एकमात्र प्राथमिकता त संकटमा परेका आमनागरिकको उद्धार, महामारी नियन्त्रणका लागि युुद्धस्तरमा कार्य हुनुपर्ने होइन र ?"
अनि फेरि अहिले नै सुकुुम्बासी आयोगको गठन तथा आयोगका प्रमुुख नियुुक्त गर्न किन हतार गर्नु परेको हो ? खुला सिमानाबाट आउन सक्ने लाखौँ नवनागरिकहरूको गास–बास–कपासको दह्रो व्यवस्था गर्न भव्य तयारी त हुुँदै छैन कतै ?
"अहिले नै सुकुुम्बासी आयोगको गठन तथा आयोगका प्रमुुख नियुुक्त गर्न किन हतार गर्नु परेको हो ? खुला सिमानाबाट आउन सक्ने लाखौँ नवनागरिकहरूको गास–बास–कपासको दह्रो व्यवस्था गर्न भव्य तयारी त हुुँदै छैन कतै ?"
कुरो त्यस्तै हो भने निरंकुश पंचायती व्यवस्था भन्दा जनताले रगत बगाएर ल्याएको यो व्यवस्था कति फरक भो र ? त्यतिखेर पनि अमूक व्यवस्थालाई जिताउन सीमापारिबाट लाखौँलाई यता ल्याएर हतारहतारमा नागरिकता बाँडिन्थ्यो । अहिलेका दलहरूको पनि अवस्था कस्तो छ भने एकपटक मत दिएका धेरै मतदाताले अर्कोपटक ती दलहरूलाई पुनः मत दिँदैनन् किनभने मतदाताहरू दलहरूको ताल देखेर आजित भइसकेका हुन्छन् । अनि आयात गर्नु परेन त मतदाता, बाँडनु परेन त क्याम्प बनाइ नागरिकता, देखाउनु परेन त संसारमा कतै नदेखिने चर्तिकला ?
महामारीले गाँजेको यस समयमा, निरीहजनहरूका लागि राज्य कतै नदेखिएको यस घडीमा म हाम्रा पितापुुर्खाहरूको संकटको घडीमा काम लागेको अनि दुुःखको बेला चटक्कै बिर्सिएको मेरो जन्मथलो संझिरहेको छु । अनि भोकतिर्खाले व्याकुुल लामो मानवपंक्तिमा म र मेरा आफन्तजनहरू पनि सामेल हुनुपर्ने त होइन भन्ने चिन्ताले पिरोलिएको छु ।
यतिखेर म भोकतिर्खाले व्याकुुल लामो मानवपंक्तिमा म र मेरा आफन्तजनहरू पनि सामेल हुनुपर्ने त होइन भन्ने चिन्ताले पिरोलिएको छु ।
- देवेन्द्र गौतम
Comments
Post a Comment