नेपालद्वेषी प्रवृत्ति नियन्त्रण गर्नु काठमाडौँ र दिल्ली दुवैको हितमा हुनेछ


छिमेकी अनि मित्रदेश भारतको नेपालप्रतिको व्यवहार कत्तिको नियालिरहनुभएको छ पाठकवृन्द < नियालिरहनुभएको छैन भने नियाल्न थाल्नुहोस् भन्छु 

किनभने यो ज्यादै संवेदनशील विषय नेपाल सरकारको मात्र होइन, यो प्रत्येक सार्वभौम नेपालीको चासोको विषय हो र हुनुपर्छ पाँच वर्षमा एक पटक भोट दिएपछि नेपाली नागरिकको दायित्व पुरा हुन्छ, अर्को चुनाव नआउँदासम्म किन टाउको दुखाउनु भन्ने सोच्नुभएको छ भने गलत सोच्नुभएको छ यहाँहरूले 

हाम्रो छिमेकी र मित्रराष्ट्र मात्रै भारतका विशेषण होइनन् . भारत संसारको सबैभन्दा ठुलो लोकतन्त्र पनि हो . उसको जनसंख्या करिब १ अरब ३८ करोड छ, जुन संसारकै जनसंख्याको करिब १८ प्रतिशत हो . दि इकोनोमिक टाइम्सका अनुसार भारत सन् २०२० मा संसारकै पाँचौँ ठुलो अर्थतन्त्रबाट छैठौँ ठुलो अर्थतन्त्रमा झरेको थियो, कोभिड महामारीका कारण . सन् २०२५ सम्ममा भारत बेलायतलाई उछिन्दै पुनM पाँचौँ ठुलो अर्थतन्त्र हुने तथा २०३० सम्ममा त तेस्रो ठुलो अर्थतन्त्र हुने अपेक्षा गरिएको छ . 

संयुक्त राष्ट्रसंघ लगायतका अन्तराष्ट्रिय मंचहरूमा भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको छ अगष्ट, २०२१ महिनाभर भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद नेतृत्व गर्ने अवसर पाएको थियो . यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको कमालको रूपमा मोदीको भक्त भनी चिनिने गोदी मिडियाका 'भजनलालहरू'ले चर्चा गरे पनि भारतले यस अघि पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको नेतृत्व गरेको थियो भनेर अन्य स्वतन्त्र मानिने भारतीय संचार माध्यमहरूले स्पष्ट पारेका छन् . 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा ५ स्थायी सदस्य राष्ट्रहरू छन्, बाँकी १० अस्थायी सदस्य राष्ट्रहरू २ वर्षका लागि चुनिन्छन् . तिनै १० राष्ट्रहरूमध्येबाट अगष्ट महिनाका लागि सुरक्षा परिषदको नेतृत्व गर्ने अवसर भारतलाई प्राप्त भएको हो 

ग्लोबल फायरपावर डट कमले (globalfirepower.com) सैन्य शक्ति, बन्दोबस्ती क्षमता, भूगोल, आर्थिक स्रोतहरूजस्ता ५० भन्दा बढी मापकहरूका आधारमा विभिन्न देशहरूको फायर पावर अर्थात् मारक क्षमताको वार्षिक सूची प्रकाशित गर्दछ 

सन् २०२१ को ग्लोबल फायरपावर इन्डेक्समा भारत चौथो नम्बरमा रहेको छ ०=१२०७ अङ्कका साथ . यस सूचीमा ०=०७१८ अङ्कका साथ संयुक्त राज्य अमेरिका प्रथम स्थानमा, रूस ०=०७९१ अङ्कका साथ दोस्रो स्थानमा, चिन ०=०८५४ अङ्कका साथ चौथो स्थानमा रहेको छ .

स्पष्ट पारिहालूँ छिमेकीको प्रशस्ति गाउनु यस आलेखको उद्देश्य होइन, बिना प्रयोजन यी तथ्यांकहरू प्रस्तुत गरिएको पनि होइन .

नेपाल भारतको सिमानामा हिजोआज के भइरहेको छ, त्यसबारे थोरै चर्चा गरौँ . 

करिब एक महिना अघिको कुरा हो . व्यास गाउँपालिका, दार्चुलाका जयसिंह धामी मालघाटबाट तुइनको सहाराले महाकाली नदी तर्दै थिए . यसरी तुइन तर्दै गरेको नदीपारि गस्ती गरिरहेका सीमा सशस्त्र बलका जवानले देखे अनि, घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार, एक जवानले रूखमा बाँधिएको तुइन फुत्काउन थाले . उनीहरूले मानिस तुइनको सहाराले नदी तर्दैछ, तुइन नफुत्काइदिनुस् भनी अनुनयविनय गरे तर ती जवानले उनीहरूको एक सुनेनन् . तुइन फुत्काइएपछि ती युवा महाकालीमा खसी बेपत्ता भए .

ती युवालाई किन महाकाली तर्नु परेको होला < प्रश्न उठ्न सक्छ . उनी महाकाली तरेर भारतीय भूभाग हुँदै दार्चुला सदरमुकाम खलंगा जाँदै थिए . 

किन भारत हुँदै खलंगा जानु परेको होला <  

नेपालकै भूमि हुँदै खलंगा पुग्नका लागि बाटोघाटोको सुविधा छैन . त्यसैकारण धामीजस्तै धेरै युवा तुइनको सहायताले महाकाली तरेर भारतीय भूभाग हुँदै खलंगा पुग्छन् नेपाली राज्यसँग साक्षात्कार गर्न . उनीहरूले कर तिर्नुपर्ने हुन्छ, विदेश जानका लागि प्रक्रिया शुरू गर्नुपर्ने हुन्छ, यस्ता अनेकानेक प्रयोजन हुन्छन् खलंगा भ्रमणका . कसैलाई खलंगा हुँदै काठमाडौँ पुग्नुपर्ने हुन्छ, विदेश उड्नुपर्ने हुन्छ, रोजगारीको खोजीमा . धामी पनि विदेश जानका लागि आवश्यक कागजी प्रक्रिया पुरा गर्न काठमाडौँ हिंडेका थिए . 

तर उनको यात्रा बिचमै टुंगियो शायद . शायद किन भनियो भने धामीको अवस्था अझै पनि अज्ञात छ, नेपाल सरकारले यसबारे स्पष्ट पार्ने कष्ट गरेको छैन 

स्मरणीय के छ भने नेपालीहरू मात्र होइन, दुइ देशबिचको खुला सीमामार्फत् हजारौँ भारतीयहरू पनि हरेक दिन नेपाल प्रवेश गर्छन् गास बास र कपासको खोजीमा . नेपाल भारतीयहरूको लागि एउटा ज्यादै नजिकको, सजिलो, सस्तो रोजगार बजार हो . नेपालले यसरी आफ्नो सरहदभित्र प्रवेश गर्ने भारतीयहरूलाई यस्तो अमानवीय व्यवहार गरेका उदाहरण बिरलै होलान् . 

नेपाल र नेपालीका लागि चिन्ताको कुरा के भने भारतले पटकपटक यस्तो व्यवहार प्रदर्शन गरेको छ 

केहि प्रतिनिधि घटनाहरू उल्लेख गरूँ . 

जेठ ११, २०६७ का दिन एसएसबीका निरीक्षक हितेंद्र सिंहले गोली चलाउँदा घाइते भएका धनपालथान गाउँपालिका २, मोरङका ५५ वर्षीय नेपाली नागरिक वासुदेव साहको उपचारका क्रममा कोशी अंचल अस्पतालमा मृत्यु भयो . खानेतेल व्यवसायी र निरीक्षक सिंहबिच दशगजामा झगडा हुँदा सह छुट्याउन गएको बेला सिंहले गोली हानेका थिए .

मंसिर १३, २०७२ का दिन एसएसबीका १३ हतियारधारी जवान झापा जिल्लाको केचना प्रवेश गरे . स्थानीय व्यक्तिहरूले घेरा हालेपछि ती जवानहरूलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो तर ७ घण्टापछि नेपाल प्रहरीले बिना कुनै कारबाही, बिना कुनै नसिहत ती जवानहरूलाई भारतीय पक्षलाई बुझाइदियो . 

फागुन २७, २०७३ का दिन द्विदेशीय सिमानाको उल्लङ्घन गर्दै एसएसबी हतियारसहित नेपालको कंचनपुर जिल्लाको पुनर्वासमा प्रवेश गर्यो र भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन गरिरहेका नेपालीहरूलाई लक्षित गरि गोली चलायो . यस घटनामा पुनर्वासका ३० वर्षीय गोविन्द गौतम मारिए . स्मरणीय छ, नेपाली भूमिमा कंचनपुर नगरपालिकाले कल्भर्ट बनाएकोमा भारतीय पक्षले आपत्ति जनाएको थियो, नेपाली पक्षलाई धम्कि दिइरहेको थियो । घटना हुनु एक दिन अघि एसएसबीको एक टोली अनधिकृत रूपमा नेपाल प्रवेश गरी पत्रकार हेमन्त न्यौपाने लगायतका स्थानीय व्यक्तिहरूलाई कुटपिट गरेको थियो । भारतीय ज्यादतिको विरोधमा भेला भएका नेपालीहरू र भारतीयहरूबिच दशगजामा ढुँगा हानाहान भयो, नेपालीहरूले भारतीयहरूलाई लखेटे . 

एक छिनमै एसएसबीको टोली द्विदेशीय सिमानाको उल्लङ्घन गर्दै नेपालको पुनर्वासमा प्रवेश गरी गोली चलाउँदा स्थानीय युवा गोविन्द गौतम घाइते भए, अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भयो . 

फेरि एकपटक दार्चुलातिरै फर्कौँ . केहि दिन अघि मात्रै नेपालको एयरस्पेश उल्लङ्घन गर्दै भारतीय हेलिकप्टर दार्चुला सदरमुकाम नेपाली सेनाको ब्यारेक, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कार्यालय समेत अवस्थित खलंगाको आकाशमाथि उडिरहेको नेपालका संचारमाध्यमहरूले लेखे, बोले . जयसिंह धामीलाई खोज्न महाकाली नदीमाथि ड्रोन उडाउने अनुमतिका लागि नेपालले भारतसँग अनुरोध गर्दा पाएन, यता नेपालको एयरस्पेश उल्लङ्घन गरी हेलिकप्टर उडाउन भारतलाई कुनै अनुमति नै चाहिएन .

गोविन्द गौतमको हत्या, वासुदेव साहको हत्या लगायतका ज्यादतीहरूमा नबोल्ने नेपाली राज्य भारतीय ज्यादतिका कारण जयसिंह धामी महाकालीमा खसी बेपत्ता हुँदा के बोल्थ्यो < दार्चुलामा नेपालको एयरस्पेश उल्लङ्घन भयो भनेर नेपाली सेनाले जानकारी गराउँदा त बोल्ला जस्तो लागेको थियो, तर छिमेकी रिसाउला भन्ने डरले बोलेन शायद . 

यस्ता घटनाविरूद्ध नेपालले भारतीय राजदूतलाई डे मार्च दिन सक्थ्यो, भारतीय दूतावासमार्फत् प्रोटेस्ट नोट पठाउन सक्थ्यो, विरोध स्वरूप नेपालले भारतसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गर्न सक्थ्यो . आपत्ति जनाउने अनेक तरिकाहरू थिए, तर नेपालले कुनै तरिका अबलम्बन गरेन, गर्न चाहेन . हुन पनि हिजोआज नेपाली राज्य बोल्छ त पत्रकारलाई थर्काउन पर्यो भने बोल्छ, आम नागरिकलाई थर्काउन पर्यो भने मात्र बोल्छ . 

आश्चर्यको कुरा त के भने यसै बेला भारतले नेपालका ८ पूर्व प्रधानसेनापतिलाई भ्रमणको निम्तो दिएको छ सैन्य कूटनीति थप सुदृढ गर्नका लागि . द्विदेशीय सैन्य सम्बन्ध विशेष हुँदा खलंगामा भारतको हेलिकप्टर मजाले उड्न सक्छ भने सैन्य कूटनीति थप सुदृढ हुँदा के हुने होला < परिणाम सोच्दा पनि बडो डर लाग्छ .   

भारतले बुझ्नु जरूरी छ नेपाल र नेपालीविरुद्ध ज्यादति गरेर, अत्याचार गरेर भारतको अन्तर्राष्ट्रिय छवि उज्यालिने छैन . नेपाल सरकार सत्तास्वार्थका कारण यी ज्यादतिहरूविरुद्ध नबोल्ला . तर भारतको प्रवृत्तिका रूपमा प्रकट हुँदै गइरहेका यस्ता ज्यादतिहरूले नेपालमा भारतविरोधी भावनालाई मलजल गर्नेछन्, यी भावनाहरूलाई क्यास गर्ने शक्तिहरू सक्रिय नहोलान् भन्न सकिन्न . त्यसो हुनु नेपाल र भारत दुवैको हितमा हुने छैन .   

ग्लोबल फायर पावर इन्डेक्समा ०=१२०७ अंकसहित चौथो स्थानमा रहेको देशले ३=४७०१ अङ्कसहित ११९ औं स्थानमा रहेको देश नेपालको एयरस्पेश उल्लङ्घन गरेर सैन्य शक्ति देखाउन खोज्नु त्यसै पनि व्यर्थको अभ्यास हो . यस्ता गतिविधिहरूले भारत छिमेकमा टोलेगुण्डाजस्तो चाहिँ अवश्य देखिनेछ . 

नेपालसँगको सैन्य सम्बन्ध लगायतका संवेदनशीलताको आलोकमा पनि यस्ता गतिविधिहरू प्रत्युत्पादक हुन सक्छन् . 

महात्मा गान्धीको देशले यस्तै छवि बनाउन खोजेको हो भने पंक्तिकारलाई केहि भन्नु छैन . प्रवृतिका रूपमा प्रकट हुँदै गइरहेका नेपाल र नेपालविरोधी ज्यादतिहरू रोक्नु भारतको दीर्घकालीन हितमा त हुनेछ नै, नेपाललाई पनि त्यसले अहित गर्नेछैन . यतातर्फ भारतको ध्यान जाओस् . 

देवेन्द्र गौतम


Comments

Popular posts from this blog

Why read?

Welcome to the countryside: This is not a one-horse town!

के गरी खाअैाला तिमीहरूले ?