नमस्तेवाद मुर्दावाद!

देवेन्द्र गौतम

वसन्तपुर दरबार क्षेत्र घुम्न/मेला भर्न जानुभएको छ भने कुमारी घरको छेवैबाट (पश्चिमतर्फ) भाग्यरेखासदृश मसिनो एउटा बाटोमा पनि आफ्ना पाइलाका डोबहरू छाड्ने कष्ट गर्नुभएको छ कि? गर्नुभएको छ भने आशा गरौँ, त्यस पुरातात्त्विक महत्वको क्षेत्रमा २-४ पैसा खर्च गरेर यहाँहरूले पनि नेपालको ‘भर्भराउँदो‘ पर्यटन उद्योगमा गच्छे अनुसारको योगदान गर्नुभएकै होला। ‘आफू त महादेव उत्ताना पर, कल्लाई दिनन वर’ को अवस्था छ भने भो कुरा नगरम्


जे होस्, त्यस बाटाको छेवैमा पत्रिका पसल, चिया पसल आदि छन्, छेवैमा दशैँका बेला दशावतार नृत्य मंचन गरिने एउटा डबली पनि छत्यही मन्दिरको पश्चिम दिशामा घुँडा धसेको, हात जोडेको, गुल्मीतिरको लवजमा भख्खरै बोल्लाजस्तो एउटा पखेटायुक्त ढुङ्गाको मूर्ति देख्न सक्नुहुन्छतेलकासा खेल्ने उमेरदेखि नै अकिञ्चनले पनि उक्त मूर्ति एकदम मूर्तिवत भइ कसैलाई पर्खिरहेको देखेको छ। यस्ता कति पुस्ताहरूले उक्त मूर्तिलाई सोही अवस्थामा देखेका होलान्। 

ती दिव्य, बोलूँबोलूँ लाग्ने प्राणी वैनतेय गरूड हुन्। हाम्रा धर्मग्रन्थहरूका अनुसार गरूड यस जगतका पालनकर्ता भगवान विष्णुका सवारी साधन अर्थात् वाहन हुन्। शंखचक्रगदापद्मधारी विष्णु उक्त वेगवान, शक्तिशाली पंक्षीमा चढी यस चराचर जगतको भ्रमण गर्छन् भन्छन् शास्त्रहरू।

पालनकर्ताको रूपमा यस जगतका भोकरोगशोकग्रस्तहरूको कल्याणका लागि शायद महाशक्तिराष्ट्र अमेरिकाका राष्ट्रपति चढ्ने एअर फोर्स १ विमान भन्दा पनि वेगवान, शक्तिशाली गरूडमा चढी विश्वब्रह्माण्डको भ्रमण गर्दा अत्यावश्यक स्थानमा शिघ्रातिशिघ्र आवश्यक राहत सामग्री आपूर्ति गर्न सकिन्छ भन्ने अकिञ्चनको अनुमान छ।

तर लामै समयसम्म—शायद लिच्छविकालदेखि—यसरी गरूड भगवान हाम्रो राष्ट्रिय ध्वजावाहकका विमानहरूझैँ ग्राउण्डेड भइदिँदा अकिञ्चनको अनुर्वर मस्तिष्कमै पनि नानाथरी प्रश्न उब्जिएका छन्।

जस्तै: यस कलिकालमा भगवान विष्णु नै त अपहरणमा परेनन् कतै? उनलाई कतै कुनै नामी संग्रहालयमा बन्दी बनाइ राखिँदा गरूड घुँडा धसेर, नमस्कार मुद्रामा आफ्ना भगवानको चिरन्तन प्रतिक्षामा बसिरहन बाध्य भएका त होइनन् विश्वब्रह्माण्ड भ्रमण गरी जीवन र जगतका यावत समस्याहरूको पहिचान र समाधान गर्ने गुरूतर दायित्व बिसाएर? कि यस देशका कयौँ युवाहरू जस्तै आफ्नो जीवन सुखी बनाउने ध्याउन्नामा पलायन भएका त होइनन् गरूडलाई एक्लै छोडेर प्रथम विश्वबाट प्लाटिनम कार्डको प्रस्ताव पाएपछि?
आधुनिक नेपालमा यस्ता कर्महरूमा विशारद हासिल गरेका व्यावसायिक व्यक्तित्वहरूको कमी छैन भन्ने देखिएकै छ क्यारे।

हुन पनि भगवान विष्णुले गरूड चढी चराचर जगतको अनुगमन भ्रमण गर्न छोडेपछि हेर्नुस् त संसारको अवस्था कस्तो भएको छ अफ्रिकादेखि योरोपसम्म, एशियादेखि अन्टार्कटिकासम्म, अष्ट्रेलियादेखि उत्तर अमेरिका-दक्षिण अमेरिकासम्म? यस्तो दैवी भ्रमण नियमित भइरहने हो भने वेनेजुयेला, युक्रेन, नाइजेरिया, गजा, तेहरान, बग्दाद, काबुल, थाइल्याण्ड-कम्बोडिया सिमा क्षेत्र लगायतका भूभागहरूमा मात्र होइन नेपालमै पनि शान्ति, सुव्यवस्था, सुशासन, सम्वृद्धिको वसन्त आइ संसारैभरि रामराज्य कायम हुने थियो।

यस्तो सकसपूर्ण स्थितिको अन्त्य गर्न अकिञ्चनको साधारण मस्तिष्कमा समेत एउटा विचार फुरेको छ: मानव सभ्यताको मुटु नेपाल र बाँकी विश्वमा देखिएका सङ्कटहरूको समाधानका लागि हाम्रो सरकारले एउटा अर्को शक्तिशाली आयोग बनाउनुपर्छ। उक्त आयोगमा नामीगिरामी पुरातत्त्वविदहरू नियुक्त गरी हराएका भगवान/भगवती/किन्नर-किन्नरी/यक्ष-यक्षिणी/चौसट्ठी योगिनी/राजा-रानीहरूको खोजी र पुनर्स्थापनको जिम्मा तिनलाई दिइनुपर्छ। विष्णु भगवान भेटिएपछि वैश्विक समस्याहरू कसो छुमन्तर नहोलान्, सत्ययुग कसो नझुल्किएला हँ? 

सत्ययुगलाई एकैछिन थाति राखेर वसन्तपुर फर्कौँ है त। 

यसो सोचिल्याउँदा—अकिञ्चन पनि आक्कलझुक्कल सोच्ने गर्छ, विद्वान संपादकज्यूलाई पत्यार नपर्न सक्छ यो कुरा—उल्लिखित गरूडमूर्तिले नेपाली समाजमा विद्यमान दासभाव, सेवाभाव, नमस्तेवादको मूर्तिकरण गरी नमस्तेवादलाई संस्थागत गर्न अहं भूमिका खेलेजस्तो लाग्छ। 

विद्वत्जन भन्न सक्छन्: नमस्ते गर्नु भनेको प्रत्येक व्यक्तिभित्र लुकेर रहेको दिव्यताको, परमतत्त्व—जसलाई जानेपछि केही जान्न बाँकी रहँदैन भनिन्छ—को सम्मान गर्नु हो, नश्वर देहप्रतिको सम्मानका रूपमा मात्र यसलाई कदापि लिइनु हुँदैन। 

प्रश्न उठ्छ: के त्यस्तो गूढ तत्त्व विद्याबुद्धिऐश्वर्यादियुक्त व्यक्तिहरूमा मात्र हुन्छ? के घुम्ने कुर्सीमा बस्ने ‘सभ्य र भव्य’ व्यक्तित्वहरूमा मात्र त्यस्तो तत्त्व हुन्छ? 

होइन भने सत्ता र शक्तिबाट कोसौँ टाढा, कुस्त नकमाएको कुनै कर्मशील व्यक्तिलाई हाम्रो समाजले आदर/सम्मान गरेको देख्नुभएको छ के तपाइँले? बिरलै देख्नुभएको होला। 

हुन त नमस्ते/दर्शन/कुर्नेस गर्नुमात्र आदर/सम्मानको परिचायक होइन तर कतिपटक नमस्ते ‘खानु’भएको छ तपाइँले यदि तपाइँ ‘सर्वसाधारण’ व्यक्ति हुनुहुन्छ भने? 

राज्यशक्ति पुज्ने, ‘वीरभोग्या वसुन्धरा’ जप्ने हाम्रो वीर गोर्खाली समाजले देवकोटालाई त चिनेन, तपाइँका के सिङ्ग उम्रेका छन् र चिन्नलाई? ‘हे वीर हिँड अघि सरी.….’ गाउँदै तपाइँतर्फ पिठ्यूँ फर्काएर ‘अघि’ बढिदिन्छ ऊ, कुनचाहिँ माइका लालको के लाग्छ? 

कोइ बात छैन, बडे बडे देशोंमे ऐसी छोटीछोटी बातें होती रहती है।

ठिक कहा ना भाइसाहब? 

पारिवारिक जमघटमा, भोजभतेरमा र अन्य सामाजिक अनुष्ठानहरूमा प्यारा सन्ततिलाई तिनका आमाबुबाले (आधुनिक भाषामा मम्मीड्याडीले) नाताअनुसार अमूक व्यक्तिलाई अङ्कल, अण्टी, हजुरबा, हजुरआमा आदिको रूपमा परिचय गराइ ‘दर्शन/नमस्ते’ गर भन्ने गरेको अकिञ्चनले पनि देखेको छ। 

कतिपय अवस्थामा त जसै त्यस्ता वाक्य कानमा पर्छन्, सन्ततिका पारा तात्छन्, खाँडा जाग्छन् तिनका। किन त्यस्तो हुन्छ होला?
के ती बालअधिकारको ठाडो उल्लङ्घन भएको ठान्छन्? किन मैले हरेक राम, श्याम, हरि, कृष्ण, राधा, इन्द्र आदिलाई नमस्ते/दर्शन गर्नुपर्ने? मैले चिनेकै छैन, किन नमस्ते गर्ने? कहाँकहाँसे आ जाते हेँ  नमुने मुह उठाके?

यस्तै सोच्छन् कि उनीहरू? 

फेरि हिँजोआजका बालबालिका ज्ञानमात्र होइन, विज्ञताकै पुञ्जहरू हुन्, हामीहरूजस्ता पौराणिक पात्रहरू हुँदै होइनन् ती। इन्टरनेट, इन्टरनेट  अभ थिङ्ग्स, मसिन लर्निङ्ग, डेटा सायन्स, विशिष्ट कृत्रिम बौद्धिकता उनीहरूका लागि ‘कखरा’ हुने हुँदा को व्यक्ति कस्तो हो, आफ्नो परिवारको जस्तो वैभव, बौद्धिक/सांस्कृतिक/ऐतिहासिक विरासत भएको हो होइन, नमस्कार/दर्शनयोग्य हो/होइन देखेरै थाहा पाइसक्छन् उनीहरू। 

उनीहरूको कसीमा खरो उत्रिने व्यक्तिले नमस्ते/दर्शन खाइहाल्छ, खरो नउत्रिने व्यक्तिलाई नमस्ते/दर्शन गर भन्दा बालक/बालिका सार्वजनिक समारोहमै ‘आगबबुला’ भइ, ३/४ हात माथि उफ्रिदिँदा नमस्ते गराउन खोज्ने, गर्न नखोज्ने र नमस्ते खान इच्छुक/अनिच्छुक व्यक्तिबिच त्रिकोणीय तनाव उत्पन्न भइ, ‘साइड शो’ निर्माण हुन गइ समारोहकै भव्यतामा गंभीर असर पर्न सक्छ। 

हिजोआजका बालबालिका, किशोरकिशोरी, युवायुवतीहरूले व्यक्तिविशेष देखेरै नमस्ते/नमस्कार/दर्शन/कुर्नेस गर्नुपर्ने/नपर्ने थाहा पाइहाल्ने हुँदा सम्बन्धित अभिभावकहरूले आफ्ना सुयोग्य सन्ततिलाई फलानो/तिलानो/ढिस्कानोलाई ‘अभिवादन’ गर भनिदिँदा र कथं अभिवादन गरिन अयोग्य व्यक्तिले आदर/सम्मान पायो भने अजीर्ण भइ उसको स्वास्थ्यमा समेत गंभीर असर पर्ने र नमस्तेकर्ताको सम्मान/आत्मसम्मानमा पनि अपूरणीय क्षति पुग्न जाने हुँदा बलजफ्ती नमस्ते/नमस्कार/दर्शन/कुर्नेस नगर्नु/नगराउनुहुन अकिञ्चन सम्बन्धित सबैमा यसै लेखोटमार्फत् अनुरोध गर्न चाहन्छ।

अन्त्यमा, जोरसे बोलिए: नमस्तेवाद मुर्दावाद!


Comments

Popular posts from this blog

हावामा पैसा

बेलैमा दलहरूको बुद्धि पलाओस्

Nepal needs a strategy for survival