पहाडमें क्या रक्खा है? बहुत कुछ रक्खा है भइ

 




देवेन्द्र गौतम


इण्डियामा सत्तासीन बिजेपीका नेता शुभेन्दु अधिकारीले पश्चिम बङ्गालको सत्ताको बागडोर सम्हालेपछि सामाजिक संजालमा एउटा ‘सूचना’ वाइरल भइरहेको छ। त्यस सूचनाको भर पर्ने हो भने पश्चिम बंगालका मुख्यमन्त्री अधिकारीको पुर्ख्यौली घर नेपालको काभ्रे जिल्लामा पर्दोरहेछ।


पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको पुर्ख्यौली घर नेपालको काभ्रेमा पर्दोरहेछ भन्ने 'सूचना' वाइरल भइरहेको छ सामाजिक संजालमा अहिलेलौ उनी नेपाली मूलकै होलान् रे।

कति पुस्ता अघि गएका थिए त तिनका वंशज ‘अवसरको’ खोजीमा ‘पहाडमें क्या रक्खा है’ गाउँदै। अब उतैका भइसके, उतैको स्वार्थ हेर्छन्, हाम्रो हेर्छन् र भन्या?

महाराष्ट्रका ब्राह्मणहरू पनि अधिकारी थरका हुन्छन् है हुन त। लौ उनी नेपाली मूलकै होलान् रे, राम्रै भो।

कति पुस्ता अघि गएका थिए त तिनका वंशज ‘अवसरको’ खोजीमा ‘पहाडमें क्या रक्खा है’ गाउँदै। अब उतैका भइसके, उतैको स्वार्थ हेर्छन्, हाम्रो हेर्छन् र भन्या?

हामीलाई नाच्न, गाउन पाए, रमाइलो गर्न पाए अरू के चाहियो दुई दिनको जीवनमा?

केही दिनअघि एक हिमाली अधिराज्यको विलयको रजत जयन्ती मनाइँदाका दृश्यहरू आँखाअगाडि नाच्न थाले। केही नेपालीहरू त्यही समारोहमा नाचेका पनि देखिए। लाग्यो, हामीलाई नाच्न, गाउन पाए, रमाइलो गर्न पाए अरू के चाहियो दुई दिनको जीवनमा?


त्यस भूखण्डको स्वतन्त्र अस्तित्व समाप्त पार्ने इन्दिरा गान्धीको गुरूयोजनामा नेपालीहरू पनि संलग्न रहेको ऐतिहासिक तथ्यले झस्कायो। केही साथीहरू खोइ कुन शक्तिको निमन्त्रणमा हो प्रत्येक वर्ष त्यहाँ जान्छन्, फर्केर ती त्यहाँको सुशासन, सुव्यवस्था अनि त्यहाँको विकासको मोडेलबारे लामालामा लेखहरू लेख्छन्, झस्किने क्रम चलिरहन्छ। 


जे होस्, त्यही समारोहलाई सम्बोधन गर्दै इण्डियाका एक मन्त्रीले गरेको भाषणको आशय थियो मेरो शरीरमा पनि नेपाली रगत नै बगेको छ। आमाको माइती नेपाल नै भएको (उनी राणा खलककी छोरी हुन्) अनि श्रीमतिको पनि नेपाली हेरिटेज नै भएको उनले बताए। यी सबै पब्लिक डोमेनमै उपलब्ध सूचनाहरू नै हुन्। 

खोज्दै जाँदा डनल्ड ट्रंप पनि नेपाली मूलका देखिने हुन् कि, अमेरिकाका रेड इण्डियनहरू पनि एशियाबाटै गएका हुन् रे, ती पनि नेपाली नै हुन् कि त? ड्यारियन ग्याप पार गरेर उबेला 'अवसरहरू'को खोजीमा शाल्मली द्विप पुगेछन् कि त?

मन्त्रीजीको ‘नेपाली’ भावना’को कदर गर्दै उनले आफ्नै मावली देशको हितमा काम गर्न सक्ने कति ठाउँ छ, कति गरेको छु, आफैँलाई सोध्नुपर्छ। 

उनीजस्ता उच्चपदस्थ, प्रभावशाली व्यक्तिहरूले हाम्रा दुई देशबीचको असमान अझ अन्यायपूर्ण सम्बन्धलाई अलि सहनीय, थोरै भए पनि समान र सम्मानपूर्ण बनाउन धेरै योगदान गर्न सक्ने ठाउँ भने छ। त्यसका लागि नेपाली नागरिकता नै हातमा हुनुपर्छ भन्ने छैन, नेपाली मन भए पुग्छ। नेपाली नागरिकताधारी, दौरा-सुरुवाल-कोट-नेपाली टोपी लगाएकाहरूले त खण्डखण्डमा देश बेचेका छन्, सुगौली सन्धि हुँदै विक्रम संवत २००७ पछि हालसम्म गरिएका दुरभिसन्धिहरूले त्यो देखाएकै छन्। 

      

अमिताभ बच्चन पनि थकाली परिवारका हुन् भन्नेहरूको कोकोहोलो पनि सामाजिक संजालमै सुनिन्छ बेलाबेला। उनी आफैंले त्यसो भनेको मैले सुनेको/पढेको छैन।

खोज्दै जाँदा डनल्ड ट्रंप पनि नेपाली मूलका देखिने हुन् कि, अमेरिकाका रेड इण्डियनहरू पनि एशियाबाटै गएका हुन् रे, ती पनि नेपाली नै हुन् कि त? ड्यारियन ग्याप पार गरेर उबेला 'अवसरहरू'को खोजीमा शाल्मली द्विप पुगेछन् कि त? Who knows?

गुप्तेश्वर गुफा, बाग्लुङमा तपस्यारत उमा, महेश्वर  देवेन्द्र गौतम

म्याग्दीमा राउन्नेको पाटो भन्ने बारी नै छ, त्यहाँ रावण जन्मेको हो भन्छन्, विश्रवा मुनिको छोरा, पुलह ऋषिको नाति हो ऊ अनि उसले बिहे गरेकी मन्दोदरी थकालीकी छोरी हुन् भन्ने छ। नभन्दै पुलत्स्य-पुलहाश्रम अवस्थित नै छ पुलाडाँडा, बेनी नगरपालिका-५, म्याग्दीमै। 

शिकार खेल्न आँधीखोला आएका दशरथको वाण लागेर श्रवणकुमारको मृत्यु भएको, उनका अन्धाअन्धी बाबुआमाले पुत्रशोकले मर्नु परोस् तिमी भनी श्राप दिएको अनि तिनका आँसुले अन्धाअन्धी दह (आँधीखोला गाउँपालिका-२, स्याङ्गजामा अवस्थित) बनेको भन्ने जस्ता कथाहरू पढ्दा, सुन्दा राम पनि यतै जन्मेका त थिएनन्? भन्ने प्रश्न उब्जिन्छ नै।

अन्धाअन्धी दह, स्याङ्गजा। सौजन्य: आर्थिक आवाज

किनभने त्यतिखेर रथमा चढेर अयोध्याबाट आँधीखोलामा शिकार गर्न आउनु पक्कै संभव थिएन होला, आधुनिक युगमा, आधुनिक परिवहनमार्फत् करिब ३४५ किमि सडकमार्ग छिचोल्दै आउँदा पनि ८-१० घण्टा लाग्ने तथ्य विचार गर्दा। त्यतिखेर बाक्लो वन थियो होला, रथ-पथ अर्थात् रथको बाटो त पक्कै थिएन होला, दशरथसँग पुष्पकप्रभृति मनचिन्ते विमान पनि पक्कै थिएन होला।

हाम्रा कथाहरू बिगारेर पारीका पण्डितहरूले सबैजस्तो तीर्थस्थलहरू उतै त पारेनन् इण्डियन संकथन निर्माण गर्न, cultural hegemony कायम गर्न, उपनिवेशवादको नयाँ अध्याय आरम्भ गर्न, आफ्नो देश बलियो बनाउन, हामीलाई सधैँ माइती खलक भनेर शोषण गर्न? नभन्दै शास्त्रहरूमा अयोध्या अर्थात् युद्ध गरेर जित्न नसकिने अभेद्य किल्लाको जुन भौगोलिक अवस्थितिको वर्णन छ, त्यो पारीको अयोध्यासँग मिल्दैन यता माडीको अयोध्यासँग ठ्याक्कै मिल्छ भन्छन् विद्वानहरू।

त्यसो त थाइल्याण्डमा पनि अयोध्या छ, त्यहाँका राजा रामकै अवतार मानिन्छन्।

दक्षिणपूर्वी एशिया रामकथाहरूले भरिएको भूखण्ड हो, बाली त्यहीँ छ, पुत्रजया त्यहीँ छ, अयोध्या त छँदैछ।

मिश्र अर्थात् इजिप्टमा 'राम्सेस' राजाहरू नै थिए, त्यही वंशमा तुस्सरत नामका राजा थिए, तिनै पो दशरथ हुन् कि भन्नेहरू पनि छन्।

व्यक्तिगत/सामूहिक आस्थामा चोट पुर्याउन खोजेको होइन, लागेको कुरा मात्र लेखेको हुँ।

भन्छन् नि: हरि अनन्ता, हरिकथा अनन्ता।

त्यसो त नेटिव (आदिवासी) अमेरिकनहरू अर्थात् रेड इण्डियनहरू पनि एशियाबाटै गएका थिए रे त्यतातिर। कयौँ युग पहिले ‘पहाडमें’ क्या रक्खा है’ बोलको राष्ट्रिय गीत गाउँदै, डेरियन ज्ञापभन्दा पनि दुर्लंघ्य भन्ज्याङहरू पार गर्दै, स्याबर-टुथेड टाइगर्स, टि रेक्सस लगायतका दानवासुरहरू (dinosaurs) सँग लड्दै बडा दु:खले रस्तीबस्ती बसाएका रहेछन् कि त स्वस्ठानीकथामा वर्णित हाल डनल्ड ट्रंप नामका राजा भएको शाल्मलि द्विपमा? बोस्टन ब्राह्मिन (Boston Brahmins) हरू पनि यतैबाट गएका रहेछन् कि त? 


ती मोहिकन, अपाचे, चेरोकी, ब्ल्याकफूट, म्यासाच्युसेट्स इण्डियनहरूको पनि डि एन ए परीक्षण गर्ने पो हो कि हामीले? 

त्यसो त ल्याटिन अमेरिकाका कतिपय जनजातिको अनुहार पनि नेपालीहरूसँग मिल्दोजुल्दो देखिन्छ। ती नेफोलीहरू पनि हाम्रो असाध्यै चलेको राष्ट्रिय गीत अर्थात् साला पहाडमें क्या रक्खा है गाउँदै सुनौलो भविष्यको खोजीमा त्यतैतिर लागेका रहेछन् कि त अहिलेकाहरू ‘पानी और जवानी पहाडोमें नहीँ रह सकती’ जप्दै विदेशीएजस्तै उल्लुसभाबाट प्रवाहित करतलध्वनिबीच? 

    कालीगण्डकी क्षेत्र, रिडी, रूरू गाउँपालिका, गुल्मी  देवेन्द्र गौतम 

सृष्टिको सूर्य उदाएको हाम्रै हिमालय क्षेत्रबाट, मानवसभ्यताको कोक्रो मानिएको कालीगण्डकी क्षेत्रबाटै पलायन भएको रहेछ कि त नेफोली केन्याको ग्रेट रिफ्ट उपत्यकामा अवसरको खोजीमा, सुनौलो भविष्यको खोजीमा, भूस्वर्गको खोजीमा? त्यहाँ रहेकाहरूको पनि डिएनए परीक्षण गर्ने कि? सबैलाई द्रुतमार्गमार्फत् फटाफट नागरिकता वितरण गरी यतै भित्र्याउने हो कि? के विचार छ संसद्को, राष्ट्रपतिको?

ढाँडगैरा, सत्यवती गाउँपालिका। देवेन्द्र गौतम

इतिहास साक्षी छ, नेफोलीको चलासनधर्मिताले एउटा उपमहाद्विपको नक्सा परिवर्तन गर्ने क्षमता राख्छ।  

कसका लागि नेपाल खाली गर्न खोजिँदैछ? आकाशको छिमेकीका लागि? करिबकरिब पाली नै जोडिएका छिमेकीहरूका लागि?

कुनै बेला ‘पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेको जातिका सन्तति ‘पानी और जवानी पहाडोंमे नहीँ रह सकते गाउँदै’ विदेशिनु असाध्यै चिन्ताको विषय हुनुपर्ने हो कृष्णविवर अर्थात् Black Hole ले निलेजसरी स्वतन्त्र राष्ट्रहरू निलिने क्षेत्रमा रहेको एउटा सानो, सदा अस्थिर तर सार्वभौम देशको बागडोर सम्हालिबसेकाहरूलाई। घरघर पुगेर राहदानी वितरण गर्ने सरकारको योजनाले देश छिटोछिटो खाली गर भनिरहेजस्तो लाग्छ। कसका लागि? आकाशको छिमेकीका लागि?

करिबकरिब पाली नै जोडिएका छिमेकीहरूका लागि?
काशी कश्मीर अजब नेपाल त्यसै भनिएको होइन रहेछ कि क्या हो?

अवसरको खोजीमा साँढे, बुटवलको सडक किनारमा। देवेन्द्र गौतम  

Comments

Popular posts from this blog

दुई दिनको जिन्दगी र युगीन प्रश्नहरू

हावामा पैसा

बेलैमा दलहरूको बुद्धि पलाओस्