गोविन्दजी !

गोविन्दजी!
१)
तपाइँको पसिना मिसिएको
नदीको पानी कति मीठो !
पसिना त यति मीठो छ भने
तपाइँको रगत कति मीठो होला
हगि गोविन्दजी !

२)
खेतबारीमा पसिना बगाउँदा नबिर्सनुहोला
खोलाको पानीमा तपाइँको पसिना जति बगे बगोस्
रगत चाहिँ एक थोपा पनि नबगोस् है
अलिकति रगतमात्रै पानीमा मिसिएपनि
सार्क झैँ घातक महामानवहरू
शिकारी कुकुरसँगै तपाइँको शिकार गर्न
घरदैलोमै ओइरिनेछन्
किनभने उनीहरू
आफूलाई अजर–अमर पार्ने धुनमा लागेका छन् ।

३)
मलाइ शंका लाग्छ गोविन्दजी
कतै तपाइँजस्ता परिश्रमीहरूको
रगत पिएरैै
हाम्रा महामानवहरू
रक्तबीज झैँ अजम्बरी र अपराजित भएका त हैनन्?
जुकाझैँ टाँसिएर कतै
तपाइँहरूलाई सिध्याउँदै त छैनन् ?
देशभरि छरिएका रक्तबीजहरूले
तपाइँको शरीरलाई पनि गाँजेका होलान्
शरीरभरि सर्पदंशका चिन्हहरूछोडेका होलान्
एकचोटि नियालेर हेर्नुहोला है गोविन्दजी!

४)
जीवन यति कहालीलाग्दो छ
मृत्यु कति कहालीलाग्दो होला
हगि गोविन्दजी !

५)
तपाइँ खेत, बारी र कान्लाहरूमा सिर्जना उमार्नुहुन्छ
आफ्नो पसिना फुलेको देखेर दङ्ग पर्नुहुन्छ
म शब्दहरूको खेती गर्छु
तर चट्टानजस्ता मस्तिष्कहरूमा
बिचार उमार्न नसकेर हार खान्छु
मनमनै प्रार्थना गर्छु नभएका भगवानसँग
सुन्छन् कि ती कतै भनी
पाषाण–हृदय देऊ बरू
पाषाण–मस्तिष्क नदेऊ ।
६)
चेतनाको खेती उन्नत जातको बिउ जस्तो भो
बञ्जर टाउकोमा विचार उमार्न
जोगाउन, फुलाउन, फलाउन सकिएन
विचार–खेती फलिफाप भएन हार खाइयो
तपाइँसँग अलिकति जमीन होला कि ?
म पनि पाखुरा बजाउने खेती गर्न चाहन्छु गोविन्दजी !

देवेन्द्र गौतम


Comments

Popular posts from this blog

हावामा पैसा

बेलैमा दलहरूको बुद्धि पलाओस्

Nepal needs a strategy for survival