शनिबार

आज एक दिन उड

कल्पनाको उडान

मुक्ताकाशमा

जून-तारा टिप

बादलका रंगीबिरंगी टुक्राहरू टिप

अनि बाक्लो कंक्रिट जंगलको 

साँघुरो कोठामा खुम्चिएको टुक्रे आकाश 

इन्द्रेणीका रङ्गहरूले सिँगार

आज एक दिन चढ

शरिरको इंच-इंच दुखुञ्जेल

उपलब्धिको नाकचुच्चे पहाड

अलि बिस्तारै, अलि सजिलोसँग हिँड

प्रगतिको अनन्तसम्म फैलिएको समथर मैदान

भोलि फेरि अभिमन्यु हुनु छ 

भोलि फेरि चक्रब्युहमा फँस्नु छ

शिखण्डीले छेलिएका तथाकथित महान धनुर्धारी

अर्जुनको धनुर्विद्याको निरीह तारो 

अर्थात् भिष्मपितामह हुनु छ

भोलि फेरि आधुनिक भारदारहरूले रचेको

सोफिस्टिकेटेड तर उत्तिकै घातक

कोतपर्वमा पर्नु छ, भण्डारखाल पर्वमा पर्नु छ 

युद्धका कुनै नियमहरू लागू नहुने 

आधुनिक कुरूक्षेत्रमा लडनु छ 

खिइएका हतियार लिएर 

भोलि फेरि सौखिनहरूको सोखका खातिर 

कोलोसियममा तरबार युद्ध लडनु छ 

जीवनको के भरोसा छ र ?

भोलि भाग्य बलियो नहुन सक्छ 

भोलि नयाँ जंगबहादुर उदाउन सक्छ 

अनि तिम्रो सूर्य अस्ताउन सक्छ

भोलि तिमी सहित सयौँ यात्री सवार टाइटानिक

आइसवर्गमा ठोकिन सक्छ

त्यस बेला तिम्रा लागि लाइफ ज्याकेट उपलब्ध नहुन सक्छ  

भोलि दलदलमा खुट्टा फँस्न सक्छ 

अनि तिम्रो उद्धार गर्न कुनै गजेन्द्रमोक्ष नआउन सक्छ 

भोलि प्रतिद्वन्द्वीको तरबार

तिम्रो भन्दा धारिलो हुन सक्छ 

अनि उसको प्रहार

तिम्रो भन्दा धेरै घातक हुन सक्छ   

त्यसैले आज एक दिन उड

कल्पनाको उडान

मुक्ताकाशमा

जून-तारा टिप

बादलका रंगीबिरंगी टुक्राहरू टिप

अनि आफ्नो साँघुरो कोठामा खुम्चिएको

टुक्रे आकाश सिँगार

आज एक दिन चढ

शरिरको इंच-इंच दुखुञ्जेल

उपलब्धिको नाकचुच्चे पहाड

अलि बिस्तारै हिँड, अलि सजिलोसँग नाप 

अनन्तसम्म फैलिएको प्रगतिको समथर मैदान 

शब्द तथा तस्बीरः © देवेन्द्र गौतम


Comments

Popular posts from this blog

Welcome to the countryside: This is not a one-horse town!

के गरी खाअैाला तिमीहरूले ?

Story of death, destruction and resilience: A look into Nepal's heart and soul