जीवन अर्थात् अर्थशास्त्र
केही वर्ष पहिले मैले छद्यमनाम प्रयोग गरी लेखेको र कुनै ऐरेगैरे अनलाइनमा सित्तैमा प्रकाशित कविता, महँगी र वर्तमान अर्थमन्त्रीमा समर्पित गरेको छु:
डिल्लीराज गुरू अर्थात् पूर्वव्यावसायिक शिक्षा
पाककला, माछीकाँडे र अन्य सुन्दरसुन्दर बुट्टा
केले बन्या होला सरको कहिल्यै नफाट्ने बुट्टे टोपी?
रातो कमीज, नीलो पाइन्ट, बलियो जुता
लगाएपछि जुग जाने, आरामदायी पनि
घामपानी लम्तरी डाँडा–सरस्वती निमावि देवालीपोखरा
देउराली, उकालीओराली अनि बेँसी
खै केले बन्या होलान् गुरूका ती लुगारु
आत्माजस्तै बलिया अनि टिकाउ पनि
सोध्न मन लाग्या हो विद्यार्थीवयमै
खै कहिल्यै आँटले साथ दिएन
महङ्गीले डस्या यो बेला हजुरको मूर्ख विद्यार्थीलाई
फेरि सोध्न मन लाग्या छ त्यही प्रश्न
आखिर केले बन्छन् गुरू त्यति बलिया लुगा?
+++++++++++++++++++++++++++++
तेजुराज गुरू अर्थात् एकजोर चलाख आँखा
ज्यामिति, अङ्कगणित अनि अल्जिब्रामा छुरा
अनुशासनमा कडा, तैपनि भइएन बेञ्चमा खडा
खाइएन सरको लठ्ठी, खाइएन सिस्नोपानी
भइएन फेल, भइएन त्यति गयल, खाइएन गालीपनि
उभिइएन बेञ्चमा अनि बनिएन कुखुरा
---------------------------------------------------
तर जीवन विद्यालयजस्तो हुँदैन रहेछ श्रद्धेय गुरू
किताबको अङ्कगणित, ज्यामिति, अनि अल्जिब्रा
जोड घटाउ गुणन भागा, सिधा रेखा, बक्र रेखा
फिटिक्कै मिल्दैन रहेछ, जीवन त अर्थशास्त्र रहेछ
ठूलो बजार रहेछ, अपार व्यापार रहेछ
जुन हामीले कहिल्यै पढेनौँ
धनभन्दा ज्ञान ठुलो, यही पढयौँ
र त यतिखेर म
पाठयक्रम बाहिरको प्रश्न आइदिँदा
ट्वाँ परेको विद्यार्थीजस्तो भएको छु
जीवनको परीक्षामा असफल भएको छु।
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
देवेन्द्र गौतम
Comments
Post a Comment