दु:खको बजार र सम्यकमार्ग

देवेन्द्र गौतम 

असार २०८३ का अन्तिम दिनहरू। स्वयम्भू महाचैत्यसम्म पुग्ने इच्छा जागेकोले एक रायेँ डोको (पश्चिम नेपालमा डोकाहरूमध्ये सबैभन्दा ठुलो डोकोलाई रायेँ डोको भनिन्छ) प्रश्न बोक्दै भगवानपाउ आइपुगेको छु, खलखली पसिना काढदै। 


हिमालयक्षेत्र र प्रकारान्तरले  विश्वभरि नै बुद्धधर्म फैलाउन महत्वपूर्ण भूमिका खेलेका पद्मसंभव अर्थात् गुरू रिम्पोछेको भव्य मूर्ति छेवैमा विराजमान छ। 

सडक पारीबाटै पद्मसंभवका आँखाको भाव पढ्न खोज्छु। झलक्क हेर्दा क्रोध छचल्किए जस्तो लागे पनि अलि गहिरिएर हेर्दा करूणा छचल्किएजस्तो लाग्छ। आफ्ना मनका भावहरू देखिने ऐना पो रहेछन् कि त हाम्रा मूर्तिहरू?

आफूभित्रका नीच प्रवृत्तिहरू (baser instincts) माथि विजय प्राप्त गर्न त मारको प्रलोभनबाट अविचलित शाक्यमुनि बुद्धको भूमिस्पर्श मुद्रा नै उपयुक्त लाग्छ मलाइ। तपाइँहरूलाई नि?

जे होस्, बुद्धवचनमा, बुद्धशिक्षामा केन्द्रित हुनु नै उचित होला अज्ञानवनमा थप भौँतारिनुभन्दा किनभने यो दुःखको अर्को कारण हुन सक्छ क्रोधका अलावा।

शाक्यमुनि बुद्धले दुःखको कारण मात्र देखाउनुभएन, त्यसबाट मुक्त हुने बाटो पनि देखाउनुभयो। त्यसलाई आर्याष्टाङ्गिक मार्ग भनिन्छ — सम्यक दृष्टिदेखि सम्यक समाधिसम्म फैलिएको शील, समाधि र प्रज्ञाको अनुशासन। 


सांसारिक दु:खको बाटोमा थोरै अगाडि बढ्दा एक विकलाङ्ग व्यक्ति सडक छेउमा बसेर ‘पहाडी मस्ताना तेल’का ग्राहक कुर्दैछन्। सडकमाथि फलामका रेलिङ्गहरूले बाँधिएको नानाथरी जडीबुटीयुक्त स्वयंभूको जङ्गल छ, तल रूखहरू कुल्चँदै माथिमाथि कंक्रिटको जङ्गल फैलँदो छ।  

सडककिनारका ती साना व्यापारीको प्रि-रेकर्डेड विज्ञापन माइकमार्फत् उद्घोष गरिरहेको छ: तपाइँको सबै प्रकारको दुखाइ निको पार्छ पहाडी मस्ताना तेलले…… 

प्यानासिया, सौ दर्दकी एक दवा, हर दर्दका इलाज, सिल्वर बुलेट, आदिइत्यादि भन्छन् नि ठिक त्यस्तै अर्थात् महौषधि पहाडी मस्ताना तेल। 

नभन्दै उक्त तेलमा हिमालय क्षेत्रतिरकी एक पाकी महिलाको रूचि देखियो। 

कति मिठो बोली ती तेलवालाको! 

भन्दै थिए: आमा, मसँग सस्तादेखि महँगासम्म थरिथरिका तेल छन्। ल हेर्नुस्, यसको ५० रूपियाँ, त्यसको १००, त्यसको २५०, त्यस सँगैकोको ४००, त्यो कुनाको सिसीको १,०००, त्यसको छेउको १,५००, पल्लो छेउको तेलको रू २,०००।

यो तेलको लसुनको जस्तो वास्ना आउँछ, यसमा धेरैथरी जडीबुटी मिसाइएका छन्, एक रात लगाउनुस् आमा, तपाइँको दुखाइ चट हुन्छ। म सधैँ यहीँ हुन्छु, तपाइँको दुखाइ ठिक भएन भने फिर्ता ल्याउनुस्। अहिले २५० को तेल लैजानुस्, सस्तो तेलले (मालिस गर्दा) ठिक हुन्छ भने किन महँगो लैजानुहुन्छ? ठिक भएन भने महँगोवाला तेल लैजानुहोला।

छेवैको रेलिङ्गमा अडिएर घोत्लिन्छु: दुखाइको अनुभूति जिउँदोजाग्दो हुनुको अकाट्य वैज्ञानिक प्रमाण हो, होइन र? यसो गर्दा कहिलेकाहीँ आफै पनि यस ठुलो शहरको छुटभैये दार्शनिक पो हुन थालेँछु कि भन्ने भ्रम पलाउँछ।

आहा कस्तो सुखद भ्रम! 

यहाँनेर पंक्तिकारको नि:शुल्क सुझाव छ: कथं कुनै दिन सरकारले तपाइँलाई जिउँदो हुनुको प्रमाण पेश गर्नुस् भन्यो भने पेश गर्नुपर्छ (कर तिरेका प्रमाणहरू पेश गरेर मात्रै सरकारको चित्त नबुझ्न सक्छ), त्यसैले दुखाइ जोगाएर राख्नुहोस्, दुखाइका प्रमाणहरू जोगाएर राख्नुहोस्। रह्यो प्लासेबो इफेक्टको खोजी, त्यसको खोजीमा त को छैन र?

के यी कंक्रिट, सिमेन्ट, छडले बनेका ‘आस्थाका’ केन्द्रहरू, ठुलाठुला आश्रमहरू मान्छेको अन्त्यहीन दुखाइ कम गर्ने नाममै खोलिएका होइनन् र? 

खैर……

मानिस र सवारी साधनहरूको दौडादौडमा जगजित सिंहको स्वरमा सजिएको निदा फाजलीको गीत ‘चल्ते रहते हें चल्ना हे मुसाफिरका नसिव’ गुन्गुनाउँछु। 

वकिङ अण्ड: दि इन्फ़्लुयेन्स अभ थट्स अन ए क्रेजी रोड। ए डेन्जरस प्रिअक्युपेशन, इजन्ट इट?

एक सरकारी निकायको नाकैमुनि सडककिनारका ससाना पसलहरूमा राखिएका साँघुरा पिंजडाहरूमा परेवाहरू, खरायोहरू बन्दी जीवन बिताइरहेको देख्छु, मन कटक्क खान्छ। माया एन्ज्लुको ‘आइ नो व्हाइ ए केज्ड बर्ड सिंग्स’ सम्झिन्छु, द बिटल्सको ‘फ्रि याज ए बर्ड’ सम्झिन्छु। 

एक पसलको सूचना पाटीमा ती प्राणीहरूलाई ‘सामान’ भनिएको छ। “सामान मरेमा हामी जिम्मेवार हुने छैनौँ। फिर्ता गर्नुभएमा खरिद मूल्यको आधा रकममात्र फिर्ता गरिनेछ,” यस्तै आशय छ।

अर्को पसलमा मोलमोलाइ चलिरहेको छ। “जोडी परेवाको रू १,२००,” पसले भन्छ। 

मेरा जिज्ञासाहरू संबोधन गर्दै एक महिला भन्छिन्: भाकल गरेकी थिएँ, पूरा भयो। माथि (स्वयंभू महाचैत्य) मा लगेर उडाइदिनका लागि परेवा किन्न लागेकी हुँ। 

मान्छेको लोकमा अन्य सजीव-निर्जीवहरूलाई न्याय कहाँ छ? पसले युवाहरूले अन्य कुनै न्यायपूर्ण पेशा भेट्न सकेनछन्?     

जिउको दुखाइ कम गर्न भनेरै खुट्टा तान्न निस्केको ती प्राणीहरूको बन्दी जीवनको दु:खको थोरै भार पनि थप्दै स्वयंभूको उकालो चढ्दैछु। गुरूत्वाकर्षणसँग लड्दै उकालो चढ्दै जाँदा भारी पनि थपिँदै जाला।  

हामी सबैका सबै भाकलहरू पूरा हौऊन् अनि परेवा, खरायो र अन्य बन्दी बनाइएका वन्यजन्तुहरू यस सुन्दर लोकमा स्वतन्त्र भइ विचरण गर्न पाऊन्   

भगवानपाउको उकालो चढ्दै गर्दा बाटोको छेवैमा करिबकरिब ‘सबै रोगहरूको रामवाण’ भनी विज्ञापन टाँगिएको गहुँको जमराको जुसको स्टल भेटिन्छ।    

सिद्धार्थ गौतमले निर्वाण प्राप्तिका लागि, बुद्धत्व प्राप्तिका लागि राजदरबार त्याग्नुभयो, सुखसुविधा त्याग्नुभयो, परिवारसमेत छोड्नुभयो तर वनजङ्गल, पहाडपर्वत चहार्दै, भिक्षाटन गर्दै, तपध्यान गर्दै, अनेक कष्ट सहँदै, मानव समुदायहरूमा ज्ञान बाँड्दै, ज्ञानप्राप्ति, चैतन्य हुँदै निर्वाणसम्म पुगिने लामो तथा कठिन बाटो ‘ओल्ड-फ्यासन्ड’ भएजस्तो छ ‘इन्स्टयान्ट ग्राटिफिकेशन’को जमानामा।

हामी आज पनि दुःखबाट मुक्ति दिने महौषधि खोजिरहेकै छौँ — कहिले तेलमा, कहिले जुसमा, कहिले कर्मकाण्डमा, कहिले केमा कहिले केमा। बुद्धले सम्यकमार्ग देखाउनुभयो। वैश्ययुगमा, ‘इन्स्टयान्ट ग्राटिफिकेशन’को युगमा आइपुग्दासम्म पनि भगवानपाउको त्यो बाटोले चिरकालदेखि सम्यकमार्गमा हिँड्ने एउटा यात्री पर्खिरहेजस्तो लाग्छ।

Comments

Popular posts from this blog

पहाडमें क्या रक्खा है? सबकुछ रक्खा है भइ

दुई दिनको जिन्दगी र युगीन प्रश्नहरू

हावामा पैसा